पुरुष मित्रसित हिँड्दैमा सल्की कि भनी शंका गरिन्छ

दिवसको सार्थकता

प्रीति आत्रेय ज्ञवाली

दिवसको नाममा महिलाको ट्याग भिराउँदैमा
महिलाको हिंसा अन्त्य हुन्छ र !
खै ! नाममा मात्र सीमित भएका छन्
महिला लक्षित दिवसहरू ।

दिवसको नाम छ
महिला हिंसा अन्त्य
सुन्दा लाग्छ
महिलाको अब हिंसा हुँदैन
तर कहाँ अन्त्य भएको छ हिंसा !

दिनदहाडै बलात्कृत हुन्छन् र मारिइन्छन् बालाहरू
जबरजस्ती गर्न नपाए
बीच सडकमा बाटो ढुकी
किशोरीमाथि एसिड खन्याइन्छन्
एकल महिलाहरूमाथि बोक्सीको आरोप लगाई
जबर्जस्ती मलमूत्र खुवाइन्छन्
दाइजोको निहुँमा
जिउँदै जलाइन्छन् नारीहरू
आफ्नो कालो कर्तूत लुकाउन
स्वयं मार्छन् प्रहरी पत्नीहरू ।

चेलीबेटीमा गिद्धेदृष्टि लगाइन्छन्
उनको तस्वीर राखी नानाभाँती कुरा लेखी
सन्जालमा पोस्टिन्छन् पुरुषहरू
छलकपट गरी मायाको नाटक गरी
झुक्याइन्छन् ग्रामीण सोझासाझा पढ्दै गरेका किशोरीहरू
अनि पोल खुल्ने डरले
भिडियो देखाउँछु भनी
मानसिक प्रताडना दिँदै
आत्महत्या गर्न विवश पारिइन्छन् अबलाहरू ।

महिलासम्मत कानून छैन यहाँ
निर्मलाको अपराधी अझै पत्ता लाग्दैन
असली सबूत मेटाइन्छ
अपराधी लुकाइन्छ ।

महिलालाई अगाडि बढ्न दिइँदैन
चरित्रहत्या गरी कमजोर बनाउने प्रयास गरिन्छ
पाइला-पाइलामा छेक-थुन लगाइन्छ
स्वतन्त्र अभिव्यक्ति दिन खोज्दा
छाडा र बाइफालेको संज्ञा दिइन्छ
पुरुष मित्रसित बोल्दैमा, हिँड्दैमा
त्यसैसित सल्की कि भनी शंका गरिन्छ
महिलालाई नै महिलाविरुद्ध बोल्न उक्साइन्छ !

Ad

खै कहाँ छ ?
महिलामैत्री समाज
महिलामैत्री कानुन
महिलामैत्री विचार ।

भलै समाजमा,
सतीप्रथाको अन्त्य भयो
बालविवाह प्रथा पूर्णतया रोक्ने अभियान चालू छ
नारीको शिक्षा सहभागिता बढ्दै छ
लेखन र पत्रिकारितामा सक्रिय हुँदैछन्
राजनीतिमा तेत्तिस प्रतिशतको स्थान पाएका छन् ।

तर पनि
नारीप्रति हेर्ने दृष्टिकोण फेरिएको छैन
कुदृष्टि राख्न छोडिएको छैन
खुट्टा तान्न छोडिएको छैन
स्वतन्त्र विचार सम्प्रेषण गर्दा लाञ्छना लगाइन्छ
हिंसा गर्न छोडिएको छैन
शारीरिक हिंसा मात्र नभै
वैचारिक हिंसा
मानसिक हिंसा
दृष्टिगत हिंसा
कलमगत हिंसा
उति नै व्याप्त छ
विविध प्रताडनाहरू छन्
गाउँघरतिर त झनै टड्कारो र असहज ।

यी र यावत् कुराहरूमा
महिलाप्रतिको हिंसा अझै अन्त्य भएको छैन
यहाँ भने
महिला हिंसा अन्त्य दिवस भनी दिवस मनाइन्छ ।

वास्तवमा
यो दिवसको सार्थकता तब हुन्छ
जब नारी स्वतन्त्ररूपले
पूर्णतया हिंसा हुनबाट वंचित हुन्छन्
पुरुष सरह विना कुनै धक
आफ्ना नजर उठाउँदै
निर्बाधरूपले स्वतन्त्र कदम चाल्दै
समाजमा प्रतिष्ठित रहँदै
मुस्कानका साथ अघि बढ्छन् ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button