
हत्या महोत्सवः ‘या देवी सर्वभुतेषु …’
कथा
गोकर्ण भट्ट
‘आमा ! यसपाली त बुवालाई नि चढाउने रे । पर्सी माथि लगेर जाने सुनेको मैले त ।’
‘हो र छोरी ? के गर्ने यस्तै छ नियती । मेरा लागि यो नयाँ कुरा होइन पनि । यो भन्दा अघि तेरो दिदीका बुवालाई नि लगेकै हुन् । बुवा भएर जन्मिनु नै चढाउनु त हो जस्तो छ यिनीहरुलाई ।’
‘त्यहाँ लगेर के हुन्छ र आमा ?’, छोरीले सोधिन् ।
‘तँ सानै छेस्, यस्ता कुरा बुझ्दिनस् ।’
‘भन्नु न किन लग्छन् । मैले सुनेको, पल्लो गाउँबाट पनिदुई तीन लगेर जाने रे, । साथीभाई रमाउँदै थिए । ध्वजापताका नि बनाइसके रे ?’
आमाले एकछिन गम खाई । उसका लागि यो नौलो कुरा थिएन । नियती थियो । तर छोरीको चित्त पनि बुझाउनु पर्ने थियो ।
‘हेर छोरी, यो हाम्रो प्रजातिमा तेरा एकजना बुवामात्रै हुँदैनन्, यहाँ मान्छेको जस्तो हाम्रो बिहे हुँदैन । हाम्रो काम उनीहरुलाई दुध दिनु मात्रै हो । उनीहरुका जस्ता हाम्रा देउता हुँदैनन् । भगवान हुँदैनन् । अनि उनीहरुले आफ्नो घरबार राम्रो होस् भनेर देउतालाई भाकल गर्छन् । अनि तिम्रा बाहरुलाई त्यै भगवानको’मा चढाउँछन् ।’
‘अनि उनीहरुको भाकलका लागि हाम्रो बालाई किन मार्छन् त ?’
यो प्रश्नको उत्तर उसँग थिएन । उसको दिनचर्या भनेको दुध दिनु हो । बिहान दुध दियो । साँझ दुध दियो । केही पाए खायो, नपाए केही न केही ।
‘उनीहरुको भगवान् तिम्रा बाको रगत खाएर खुसी हुन्छ रे । त्यसैले होला नि छोरी’, आमाको मनमा विषाद देखियो ।
‘अनि अस्ति नै बुढाबाले बिहान त्यै भगुवानलाई पुजा गर्दा त ‘सबै प्राणीको रक्षा गरेस् भन्थे त ? हाम्रो रगत पनि खाने अनि रक्षा पनि गर्ने पनि कहीँ हुन्छ र आमा ?’, मानौं आज छोरी बहसमा उत्रेकी थिई ।
‘यो मान्छे भन्ने प्रजाती नै यस्तै हो छोरी– स्वार्थी प्रजाति । अनि तिनीहरुका भगवान पनि त त्यस्तै होलान् नि । उ त्यैँ मन्दिरमा बस्छन् रे । अनि वर्षदिनभरी हाम्रो अनि बाख्रा प्रजातीको कसैकसैले कुखुरा र हाँस प्रजातीको रगत र मासु खान्छन् रे । दयामाया काँ हुन्छ र तिनीहरुमा ।’
‘अनि बुढाबाले किन आफ्ना नातीहरुलाई बाबु, धर्मी बन्नु पर्छ, अधर्मी बन्नु हुन्न भनेर किन सिकाउँछन् त ? धर्मी बन्नेले त धर्म पो गर्नुपर्ने होइन, अरुलाई मारेर आफू खुसी हुने अनि धर्मी भइन्छ त ?’
‘खूब गर्छैन् धर्म !’, उसको मन तीतो भयो ।
यो घरमा आएको दशवर्ष हुनथाल्यो । उसकी पहिलो छोरीले पनि दुइवटा छोरी जन्माइसकी । दुध दिने बेलासम्म ठीक्क पार्न जानेका । अझ ब्याएको बेला त कुँडो खान दिने, हरियो परियो खान दिने तर बकिन्नो हुन थालेपछि बाहुनीका आँखामा ऊप्रतिको रीस । एकचोटी पेट असाध्यै दुखेर उसले दुध दिन सकिन, दुई–तीन दिनसम्म । यिनै बुढाबाले कम्ता रिस फेरका थिएनन् उसमाथि । धर्मी रे, पापीहरु पाखण्डी हुन् । झन् उसको छोरीलाई यसो दूध चटाइदिएजस्तो गरेर थना दिन्छन् । मिनेट नबित्दै तानेर लग्छन् । आफ्ना छोराछोरीका लागि भने … ।
‘पाखण्डी मान्छेको जात.. ’, उसको मुखबाट सुस्तरी निस्कियो ।
‘के भन्नु भो आमा..’, छोरी विस्मयमैं थिई ।
‘चुप लागेर बस, जा अलि उता जा, फेरि दुध चोरी भनेर तँमाथि उनीहरुको धर्मको चटारो पर्ला’, ढोकाबाहिर कसैको पदचाप सुनेपछि आमाले भनी ।
छोरी अलि पर सरेर मुख भित्तातिर फर्काएर पल्टिई ।
ढोका खुल्यो । एउटी बुढी आइमाई भित्र छिरी । परालको मुठो झिकी पल्लो कोठाबाट र उसको मुखछेऊ फालेर गई । आमाले असन्तुष्टिमा पुच्छर हल्लाई । पुच्छरका छिटा बुढीको शरीरमा परेछन् क्यारे, नमिठो शास्त्रबोली सुन्न पाई उसले ।
यसको तेश्रो दिन होला, आमाछोरी घरको पल्लोतिरको आँगनमा दाम्लोमा बाँधिएका थिए । यता ठूलो आँगनमा मान्छेहरु जम्मा थिए । सबैको मुहारमा खुसी देखिन्थ्यो । सबैभन्दा बढी खुशी केटाकेटीहरु थिए । यत्तिकैमा एक हुल मान्छेहरु हातमा ठूलो ध्वजा (जसलाई उनीहरु नेजा भन्थे) बोकेर आइपुग्यो । आँगनमा पुग्नेबित्तिकै समवेत् स्वर निस्कियो, ‘जैबोलो, भगवतीमाताकी जै, इष्टकुल देवताकी जै…।’ यो चर्को आवाजले छोरी फुर्केर डराएर यताउति नाच्न थाली, उसले हुँस्सुको आवाज निकालेर चुप लाग्न इशारा गरी ।
यसैबीच माथिल्लो घरबाट उसको लोग्नेलाई पनि ल्याइयो ।
कति सुन्दर देखिएको उसको लोग्ने आज । सफा चिटिक्क, शरीरभरी तेल लगाइएको, अबीर दलिएको छ । अनि सिंगमा रातो कपडाले बेरिएको । उसले एक निमेष हेरी आफ्नो लोग्नेलाई । एकदुई चोटीको सहबास नै किननहोस्, उसको र लोग्नेको सम्बन्धमा । मान्छेको प्रजातिको परिभाषाअनुसार ऊ नै उसको छोरीको बाबु थियो, यो र अघिल्लो पटककी छोरीको ।
उसको लोग्नेको भने उसमाथि दृष्टि परेको थिएन । उसले वाँईँ आवाज निकाली उसको ध्यान मोड्न । अब भने लोग्नेको दृष्टि यता पर्यो । उसका चम्किला आँखा ! उसलाई नजिक जाउँजस्तो लाग्यो । लोग्नेले पनि चिन्यो शायद, वाँईंवार्इँको प्रत्युत्तरले जवाफ फर्कायो ।
मानिसहरु क्रमशःजम्मा हुँदै थिए । लोग्नेकोे शरीरमा अक्षता पर्दै थिए ।

र, यो भन्दा अघि पनि देखेको दृश्य उसका अगाडि साक्षात्कार भयो । फेरी उही गगनभेदी आवाज– ‘जैबोलो… जय जय !’
उसको लोग्नेले अन्तिमपल्ट उतर्फ हेर्यो । उसले पनि टीठालाग्दो आँखाले हेरी । उसका आँखा रसाए ।
‘यो अन्तिम भेट है त’, उसको लोग्नेले वाँईँ गर्दै उसलाई विदा गर्यो ।
धर्मको नाममा बलि चढ्न गइरहेको उसको लोग्ने उसको आँखाबाट विदा भयो । लोग्नेले प्रतिवाद गर्न नखोजेको होइन । तर उसका खुट्टा र गर्धनमा कसिएका नेलले सम्भव थिएन । उसले जानै पर्ने थियो । भैंसी प्रजातिमा जन्मेकै कारण मान्छे प्रजातिको सुख, समृद्धि र खुसीको बलि चढ्नै पर्ने थियो । श्रीमतीले पो दूध दिन्छे र बाँचेकी छे, उसले त के नै पो गर्छ र मान्छेले उसलाई माया गर्न । त्यसैले लैजान्छन् मन्दिरमा काट्न । उसको मन रोयो । उसले छोरीतर्फ हेरी । छोरीका आँखामा समेत आँसु टलपल गरिरहेका थिए ।
घरभित्रबाट बुढाबा सबैभन्दा पछाडि निस्कियो, ‘या देवी सर्वभुतेषु…’ श्लोक उच्चारण गर्दै ।
उसले सोची, ‘यिनीहरुको भगवानले सबैको भलो चाहन्छन् र सबैको कणकणमा, सबै पदार्थमा, यत्रतत्र सर्वत्र भगवान हुन्छन् भने मेरा लोग्नेहरुको हत्या गर्नु त पाप पो होइन र ? मभित्र, उभित्र सबैभित्र भगवान छ । त्यसो भए मेरो प्राण हरेर अर्काको भलो कसरी हुन्छ ?’ उसलाई लाग्यो, ‘यो धर्मीहरुको नभएर अधर्मीहरुको जुलुस हो, उसको लोग्नेहरुलाई डोर्याएर मन्दिर लैजाने । एउटा जीवको हत्या गर्न तमासे बनेका आततायीहरु कसरी धार्मिक हुन सक्छन् र ?’
उसको ध्यान भंग भयो, छोरीले सोध्दै थिई, ‘आमा ! रगतको थुप्रोमा धर्म कमाउने यो चलन कहिल्यै बन्द हुन्न ?’
उससँग जवाफ थिएन । तपाईसँग यसको जवाफ छ या छैन, त्यो तपाईले आफैलाई सोध्नुहोला ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)