
‘गण्या ल्वार’को मुक्ति
र, उता महामहिम अध्यक्ष कमरेड ‘एक्काइसौं शताब्दीमा वर्ग विश्लेषण र जनवादको सैद्धान्तिक प्रयोग’को प्रतिवेदनका लागि गोकर्ण रिसोर्टको भिआइपी कक्षमा विराजमान थिए ।
गोकर्ण भट्ट
साँझपख घरछेऊ ठडिएको शौचालय बिहानैपख उठ्दा गायब भएपछि कस्तो अनुभूति होला ? यस्तै भयो अकस्मात उनीहरुलाई । पेट र अनपेक्षित परिस्थितिले निम्त्याएको विवशताबीचको युद्धको कुनै हल थिएन उनीहरु सामु । त्यसै पनि समस्या आफैमा समस्या भएर आउँछ । समस्यालाई हल गर्ने समस्या गरीबहरुका लागि सबैभन्दा ठूलो समस्या हो ।
जिन्दगीका हरेक पानाहरुमा दुख, हैरानी, चाकरी र विवशताहरु लेख्दै हुर्किए पनि, भोकै बसे पनि, डर, धाक, धम्की र त्रासमा दासजस्तो जीवन बिताउँदै आए पनि उनीहरुले दिशापछिको आनन्द लिएकै थिए ।
तर अकस्मात राती सुतेका मान्छेहरु बिहानपख उठ्दा सौच नै नपाउँदा हैरान भए । स्वभाविकै थियो, रातारात यस्तो कायाकल्पको सपनामा पनि कल्पना गरेका थिएनन् उनीहरुले । त्यसो उनीहरुको जात र समुदायमा सपनाहरु देख्नु पनि अपराध मानिन्छ । र, आधुनिक बन्नैपर्ने उर्दीका कारण प्रकृतिमा जान समेत उनीहरुलाई बन्देज गरिएको थियो । यता छेउको शौचालय वेपत्ता छ, त्यसको खाल्डोमा आलो माटो पुरिएको छ ।
बीसदिन अघिसम्म उनीहरुका लागि प्रकृतिका ओत लाग्न सकिने ढुंगा, कछेटो, रुख, बुट्यान र कान्लाहरु गउण (शौच)का लागि उपलब्ध थिए । तर एकाएक गाउँमा उर्दी आयो, ‘लौ, तिमीहरुले गर्दा राष्ट्रिय बेइज्जती भयो ।’ शहरबजार गाउँभरी एक साँझ लाखौं लिटर रक्सी र हजारौं खिल्ली चुरोट उपभोग हुँदा उकालो लागेको स्वास्थ्य सूचकांकहरु खोल्सो या गराका कान्लाहरुमा उनीहरुले स्वतन्त्र दिशा गर्दा संकटमा परे । उर्दी मान्नु उनीहरुको परम्परा हो, त्यसैले उनीहरुले चुपचाप स्वीकारे ।
‘जसले खुला आकाशमुनि शौच गर्छ, उसको गरिबी कम गरिदैंन’, गरिबी कम गर्ने अभियानकर्ताहरुको उर्दी ।
‘जसले चुकुल थुनेर नित्यकर्म गर्दैन उसको सन्तानको शिक्षामा सहुलियत छैन’, शिक्षाका देवदूतहरुको उर्दी ।
यस्ता उर्दीहरु गाउँपिच्छे सुनिए र उनीहरुले पनि भने, ‘लौ, हाम्रै कारण सबै समस्यामा पर्ने हुन भने एकदुई दिन शौच नै नगर्दा के होला र ?’ तर एउटा उर्दी भने अचम्मकै थियो, ‘लौ, यो समुदायका लागि शौच गर्ने कोठा हामी बनाम्छौ ।’ बुढापाकाले भने पनि, ‘अग्गास धेकिन्या छत, खानाकी केइ न पाया, बनाया हग्दाकी घर यी कसा दिन आया ।’
र, आधा आकाश देखिने खरको छाप्रोमुनि बास बसेकाहरुका लागि सिमेन्ट र बालुवानिर्मित शौचघर उपलब्ध भयो । सेतो चिल्लो प्वालभित्र दिशा फाल्नुपर्ने, यो सकसमा कतिपयले प्वाल बन्द गरेर त्यहाँ चुलो जोरजाम समेत गरे । गाउँभरी यो सुविधा उनीहरुको समुदायलाई मात्रै थियो । यो दयामाया थियो या के थियो तर यो कोठा बनाउँदा ‘तिमीरु जुगौंदेखि शोषणमा छौ त्यै भर तिमीरुले यो पा’को’ भनेको उनीहरुले सुनेका थिए ।
नयाँ कोठाले उनीहरुको दैनिन्दिनमा भने कुनै फरक पर्नेवाला थिएन र परेन पनि । छोराछोरीले स्कूल जान पाउने थिएनन, उनीहरुको स्कूल नै जंगलमा गोरुबाख्रा चराउनु थियो, आईमाईहरुका लागि खेतमा कोदो, मकै गोड्नु अनि पुरुषहरुले दाउरा चिर्ने, हलो जोत्ने र अरनखटन बमोजिम काम गर्नैपर्ने थियो । यस परम्पराको उल्लंघन गर्नु पाप थियो किनभने जन्मिने बित्तिकै उनीहरुले गायत्री मन्त्र सुनेका हुन्थे– उहिल्यै, एकासमयमा तिम्रा बाजेले तिम्री बज्यैलाई भित्र्याउँदा केही सयका बिटाहरु रिणमा लिएका, हामीले सहयोग नगरेको भए अहिले तिमीहरुको वंश नै नचल्ने आदि, इत्यादी ।
‘हो त है बराजुहरु कति ज्ञानी, कति दयालु । कुन जमानामा बाजेले रिण लिए तर यतिका पुस्तापछि पनि हाम्लाई हेरेकै छन् । वर्षमा यसो फाटेपुरानो लुगा दे’कै छन् । हप्की, दप्की र गाली दिए नि उबे्रको भात दे’कै छन् । माथि उराठे डाँडोमैं सही, एउटो कान्लो झुप्रो ठड्याउन दे कै छन् ।’
यही बीचमा पल्लो गाउँमा एउटा घटना घट्यो । यो तुफान तीब्र गतिमा यो बस्तीमा नै छिर्यो शौचालय नै उडाइदिने गरी ।
भएछ के भने बगरकोटका उनीहरु जस्तै पुस्तौंपुस्ता ‘दयावान’ मालिकहरुको पाउको सेवा गर्ने ‘अवसर’ पाएकाहरुको बस्तीमा यस्तै कुनै ‘दयावान’ संस्थाले ‘गउण’कोठा बनाउन थालेपछि मालिकहरुले आफ्नोमा समेत बनाउनुपर्ने अड्डी कसेछन्– कि हाम्रामा नि बनाओ, होइन भने ती डूम्याहरुकोमा बनाउन दिन्नम् । बडा आका दलित उत्थानवाला ।
पन्तदेखि चटौतसम्मका प्रभावशाली ‘दयावान मालिक’हरु बस्ने कोटमा मालिकहरुको उपेक्षा गर्न सम्भव थिएन तर ‘दयावान’ संस्थाको बजेटमा भूल, लाबड, सार्की, ल्वार, वि.क.हरुको मात्रै लगत थियो, पन्त, विष्ट, चटौत, पनेरु, भट्ट, माली, कठायत, जोशी, पाण्डेहरुको लगत थिएन । हो, यस्ता सार्की, ल्वारहरुको नाम उनीहरुले सदरमुकाममै तयार भने गर्न सक्थे, त्यहीँको लगबुक र प्रोग्रेस रिपोर्टमा लिखित शौचकोठामा लागेको सिमेन्ट, बालुवाको खर्च तयार गर्न भने गारो थिएन । कागज बोल्ने देशमा कागजकै प्रगतिबाट ‘दयावान’ संस्थाका कतिपय मालिकहरु राजधानीमा कारमा नहिँडेका पनि होइनन । तर उनीहरु मालिकहरुलाई ल्वार बनाउन भने सक्दैनथे । सिष्टम सिष्टम थियो, नियम पु¥याएर मान्छे नै मारे पनि फरक नपर्ने ।
भनाभनबाट सुरु भएको विवाद डडेल्धुरा जिप्रकासम्म पुग्यो । सेवकहरुका घरबस्ती जलाए दयावान मालिकहरुले रातारात ।

यो तुफान फैलिन समय लागेन र यो गाउँको त्यो बस्तीका वासिन्दाको ‘गउण घर’ रातारात हरायो । खरको झुप्रोलाई जिस्क्याउँदै उभिएको पक्की गउणघर बिहानपख वेपत्ता थियो । खाल्डो पुरिएको थियो ।
यिनै अभागीहरुमा थियो गणेश लुहार जसको झुप्रो वरिपरि एक मिटेर मात्रै स्थान छोडेर रातारात बार लगाइएको थियो । मतलब नाकाबन्दी गरिएको थियो । पछाडिबाट माथि निस्किने एक फिटे बाटो र झुप्रोबाहेक उसका लागि पाइला टेक्नेसम्म जमिन थिएन । वर्षौदेखि यही माटोमा रगत र पसिना बगाए पनि ऊ आफ्नै पसिनाको गन्धले बसाएको जमिनमा उभिन पनि नसक्ने हुन पुग्यो ।
के प्रलय आयो रातारात । आईमाई केटाकेटीहरु पेट च्याप्दै रुवावासी गर्न थाले ।
सबै रनभुल्ल थिए, विकल्पीहीन ।
निकैबेर हैरान र परेशान भएपछि गणेश लोहारले भित्रबाट प्लाष्टिक खोजेर ल्यायो अनि लालाबालाका अगाडि फालेर हप्कायोे– पारे पुतलाबाट झाइबर हग डरहाल्लो, (पल्लो कुनातिर गएर दिशा गर खाल्डोमा पुर्न नसकेका असत्तिहरु)
भएको के हो, उसले अझै भेउ पाएन ।
तर छिटै नै अर्को उल्कापात आइलाग्यो ।
घरमाथिको बाटोबाट एक हुल मान्छेहरु तल झर्दै थिए । एकछिनमैं उसको आँगनमा सुकिला दयावान मालिकहरु उभिन पुगे ।
‘एई गण्या (गणेशको मालिकीय नाम) बासासम्म अफन सामान–पन्तुरा बादिबर अफन बाटो तताए ।’ मानौं कसैले उसको मनमा बज्रले ठोक्यो ।
‘भोल येई झोपडामा एकजनालै धेक्याबरे हातखुट्टा एकलै साबुत नाइरन्ना याद गरे हाँ ।
अचानकको यो भूकम्पबाट कम्पित गणेशले भन्यो, ‘मालिकौउ, मैले कि गल्ती गर्या ब ।’
‘साला डुम्या, आजि मुखै लागन्छै, सोध्दै ब तेरा हिमायतीनलाई । बडो ट्वाइलेट चाइन्या भयाको, डुम्या बिनवुवा ।”
‘ह्जूर, उनौनले आफुई आइबर बनाया हो’, भित्रबाट जसोतसो शब्द समेट्यो गणेशले ।
‘पल्ली अफन जग्गा खोज, उतिपाछा बना जिज्ज्या बनौन्छै । अफन्ज्या ह्लीन्या साला’
गणेश अर्थात् गण्याहरुका लागि यी शब्दहरु नौला थिएनन । मालिकहरुको सभ्य भाषाशास्त्रमा गणेशहरुका लागि फन्ज्यापई, बिनबुवा, अफन्ज्या ह्लीन्या, कोडी, डुम्या, चोर, तेरीज्या ठाँसलै जस्ता शब्दहरु विशेषरुपमा तयार गरिएका हुन्थे जसलाई प्रयोग गर्नुमा मालिकहरुको शान मानिन्थ्यो ।
विचरा गणेश, निरुपाय, असहाय टाउको निहुराएर बस्यो । धन्न उसको जातीका अरुहरुजस्तो लात्ता र मुक्का खाने नियमित अवसर उसले पाएन
‘साला डुम्या, बडा मुक्तिवाला हुनान, आज अर्खाआ जग्गामा गौण बनौन्ना, भोल यो जग्गा हमरो हो भणन्ना, पाछा यो घरलै हमरोई भणन्ना…‘. बर्बराउँदै उनीहरु फर्किए ।
गणेशलाई लाग्यो, मानौं सिंगो आकास उसमाथि खसेको छ । मानौं उसको पाइताला मुनिको धर्ती नै भासिँदैछ । उसले के नै पो अपराध गरेको थियो र आफ्नै जहानबालकका अगाडि यसरी अपमानित हुनुप-यो । आफूले कुनै गल्ती नगरेको कुरामा, उनीहरुले नै गउण बनाउने, उनीहरु नै भत्काउने, उनीहरुले नै फेरी आएर धम्क्याउने, गाली बेइज्जती गर्ने । के जुनीमा बाँच्नु प-यो । कमसेकम कुकुरले त आफूखुसी हिँडडूल गर्न पाउँछ । उसले आफ्नी जहानका आँखामा टिलपिल आँसु झर्दै गरेको देख्यो । मनमा आँधी चल्न थाल्यो । मथिंगल रिँग्न थाल्यो । निरुपाय ऊ त्यहीँ टाउको हातले समाउँदै थचक्क बस्यो ।
निकैबेरपछि ऊ उठ्यो । कसैसँग केही नबोली सुरुवाल लगाएर निस्कियो घरबाट । श्रीमातीले कता जान थालेको भनेर सोधिन तर ऊ केही बोलेन, सरासर निस्कियो घरबाट ।
दुईघण्टापछि ऊ एउटा कुर्सीमा बसेको थियो । उसको सामुन्ने एउटा मानिस सिक्रीहरुमा बेरिएको तर चिच्याएको जस्तो पोष्टर टाँसिएको थियो । अगाडि दुईतीन जना मानिसहरु थिए । एउटा दराजको फाइलमा उसको गाउँको नाम लेखिएको थियो ।
–अहँ, हामी केही गर्न सक्दैनौं । त्यो हाम्रो कार्यक्रमभित्र पर्दैन ।
–हजुर म बर्बादै भया । दया राखिबक्स्यो ।
–हेर भाई, हामी वातावरण र गरीबि निवारणमा काम गर्ने मान्छे । तिम्रो समस्या जग्गाको । हामीले तरकारी लाउने, सीप, बाख्रामा सहयोग गर्ने हो । तल्जातीहरुमा स्वास्थ्यचेतना जगाउत चर्पी बनाउने कार्यक्रम चलाइरा हो अैले । जग्गा खोज्न्या, हलियाका लागि साहुसँग जग्गा माग्ने हाम्रो पोर्जेक्टमा छैन ।
–तम्ले ट्वाइलेट नबनाया भ्या मेरो उठ्विास त नाइ हनाथ्यो ।
–हाम्रो फाइदाका लागि बनाको हो र ? राम्रो गरे नि यो जातलाई नहुने ।
एकछिन कोठामा मौनता छायो । गणेशसँग कुनै शब्द थिएनन् । मात्र बाँधिएको मुटु थियो, एउटा बाँध फुट्न खोजेजस्तो । उसकै मनोदशा भएको अर्को पोष्टर पनि टाँसिएको भित्तामा । उसले केही बुझेन, अधिकार भन्ने शब्दबाहेक ।
–हाम्ले के गर्न सक्छौं । बरु बाख्रा पालन गर्ने हो भने अर्को फिस्कल इएरमा तिम्लाई प्राइरोटीमा राखम्ला । एकछिनको मौनता भंग गर्दै अगाडि बसेको व्यक्तिले भन्यो ।
उसले के जाती रोटी त बुझेन तर बाख्रा दिन खोजेको भने बुझ्यो । उसको पारो तात्यो । ‘हग्दकी ठौर छैन, बाख्रा काँ पाल्लो भाडमाई ?’ उसले जंगिएर सोध्यो ।
–‘झुपडामाई बस्दौं । बर्खामा चुइन्छ । हनिका हना त नाआन झूपडो बनाइदिना । आया न्यारीभाती, गउण बनाइगया । आब तसै गद्धा घरबारी उजडी । तम केइ नसक्द्या भ्या हमरा नाउमाई क्याइ खान लागिराछउ ?’ ऊ नियन्त्रणमा थिएन ।
–भाई हामीसंग रिसाएर केही हुँदैन । गएर तिमी जसको जग्गामा बस्या छौ उसलाई नै कुरा गर ।
ऊ फेरी फत्फतायो तर केही हल निस्केन । फर्कियो मलिन मुहार लिएर आँसु पिउँदै घरतिर ।
कथाकार उदयप्रकाशको शैलीमा वर्णन गर्दा, ठीक यसैबेला यता राजधानीमा गणेशहरुको मुक्तिको घोषणा माननीय क्रान्तिकारी श्री११ सर्वाहारा कमरेडले मिडियासामु गर्दै थिए । ‘आजका मितिदेखि नेपालमा कोही भूदास छैन, कोही हलिया छैन । १० वर्षको हाम्रो महान गौरवशाली संघर्षमा हजारौं शहीदहरुको बलिदानको यो उपलब्धि हो ।’
घर पुग्न भ्याएको थिएन, बाटोमैं एक हुल मालिकहरुसँग जम्काभेट भयो ।
‘जदौ मुक्त कमरेड…..’ एउटा व्यंगसँगै एकजना ‘दयावान मालिक’को हत्केला जदौको शैलीमा नाच्यो ।
‘आब त यी लै ठूला होइग्या । बामनौनका हैलै ठूला ।’ अर्को मालिकले भन्यो ।
‘तिम्री मा ठास्न्या साला डूम…। खुसी होइर्यो हनोहै आब त … बासासम्म मेरा जग्गामाई है अफन नाम निसाना मेटाए न त पाछा मुई गर्लो तेरी मुक्ति ।’
दयावानहरुको रौद्ररुप देखेर उसले केही भन्ने साहस जुटाउन सकेन । घोसोमुन्टो लगाएर ऊ उभिइरह्यो ।
थकित, क्लान्त, दुखी गणेश साँझपख घर पुग्यो । जहानले बाटो हेर्दै थिइन ।
उसको मनभित्र के चल्दैछ, श्रीमतीले अनुमान गर्न सक्थिनँ, त्यसैले केही सोधिन । एकछिन यताउता फन्केपछि गणेशले भन्यो, ‘जा, भितरका चिथडामिथडा एक बोरामा हालीबरे हिट्टाकी तयारी गर ।’ उसलाई लाग्यो उसको स्वर नै भासिएको छ कतै गहिरो कुवाबाट आएको शब्द जस्तो ।
उसकी जहानले उसको अनुहारमा हेरी अनि सोधिन्, ‘काँ जान्या येइ हालतमी ।
ऊ केही बोल्न सकेन । गला मानौं अवरुद्ध भएको थियो ।
एकछिन जसोतसो सास समेटेर उसले भन्यो, हामी ह्याँ बस्न मिल्दैन, सरकारले हाम्लाई मुक्ति दिईसकेको छ ।
भोलीपल्ट गणेशहरुको कतै नामोनिशान थिएन । उनीहरु मुक्त भइसकेका थिए । भीरमा ठडिएका दर्जनबढी झुप्राहरु रित्ता थिए ।
र, यसको एक हप्तापछि, चर्पी वितरक दयावान संस्थाको वार्षिक कार्यक्रममा माननीय सर्वाहारा मन्त्री कमरेड, आदरणीय गाउँका भलादमी दयावान मालिकहरुसँग भलाकुसारी गर्दै थिए लेनिनग्रादको सेतो झोलको स्वाद लिँदै ।
र, यसैबेला एक हुल युगौंदेखिका अभिसप्तहरु वनावासको बस अड्डामा बसको पर्खाइमा थिए मुक्ति उत्सव मनाउन कालापार हिमान्चलका सडकहरु खन्न जाँदै ।
र, यही समयमा क्रान्तिको एउटा अध्याय पुरा भएको थियो । बाँकी, मात्र आर्थिक क्रान्ति थियो ।
र, ठीक दुई महिनापछि एक हुल नेपालीहरु जातीय मुक्ति र सहअस्तित्वको अनुभव सुनाउन दक्षिण अफ्रिकाको यात्रामा थिए । यो टोलीमा दयावान मालिक र दयावान संस्थासहित मुक्तिदाता मन्त्री समेत सामेल थिए ।
र, उता महामहिम अध्यक्ष कमरेड ‘एक्काइसौं शताब्दीमा वर्ग विश्लेषण र जनवादको सैद्धान्तिक प्रयोग’को प्रतिवेदनका लागि गोकर्ण रिसोर्टको भिआइपी कक्षमा विराजमान थिए ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)