यो सत्य हो

कविता

राजु झल्लु प्रसाद

नजाउँ त्यता भन्छु, पुगिहाल्छु ।
नहेरौं त्यता भन्छु, हेरिहाल्छु ।

कति अटेर गर्छु, पुग्दिन त्यो उचाइसम्म भन्छु ।
कति विश्वास गर्छु, पुग्दिन त्यो खोचसम्म भन्छु।

भनेको हुँ, अब तगाँरो खोल्दिन ।
भनेको हुँ, अब आँगन नाघ्दिन ।

एउटा नदि म नेर आएर बहुलाउँछ ।
एउटा पहिरो म छेउ आएर खस्छ ।
एउटा चट्याङ मेरो छाती मै बज्रन्छ ।

भयो अब, जुत्ता फुकाल्छु भन्छु ।
भयो अब, श्रीपेच उतार्छु भन्छु ।
एक टुक्रा धर्ती मलाई बोलाइहाल्छ ।
एक टुक्रा आकाश मलाई तानीहाल्छ ।

ईश्वर छैन भन्छु, चिबे चरा एउटा प्वाँख छोडेर भुर्र उडेर जान्छ ।
सत्य केही छैन भन्छु, चिबे चरा उड्दै आउँछ, त्यो प्वाँख टिपेर जान्छ ।

मलाई कति गार्हो छ
म कति मर्कामा छु,
बारबार आफैंलाई ढाँट्न,
बारबार आफैँलाई घात गरिरहन ।

गरेको हुँ प्रेम तिमीसँग
अब यो सत्यलाई कतिपटक झुटो बनाइरहुँ ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button