
प्रेमको बदलिँदो रङ्ग
रोशनी घिमिरे
मानिसको मनमस्तिष्क कहाँ एकनासको हुने रहेछ र ? कहिले आँधी तुफान आइदिन्छ र उडाएर कहाँ मरुभूमिमा पुराई थचारिदिन्छ ।
म अनि मेरो ऊ सम्झिन्छु, मुनामदनको प्रेम होस् या लैलामज्नुको प्रेम, हाम्रो अघि फिक्का जस्तो लाग्दथ्यो । पुस्तकमा पढिने कहानी जस्तो लाग्दछ विगतका दिनहरु । कहानी थियो, पढियो, सकियो, यथार्थ भैदिएको भए जीवन्त रहिरहने थियो । जब रात छिप्पिँदै जान्छ छोरी मस्त निन्द्रामा हुन्छे, अन्तरमनले पढ्न थालेको आफ्नै जीवनकथा आँशुले भिजेको सिरानी पल्टाउँदै रात छर्लङ्ग बित्छन् । पढ्दापढ्दै पीरले सुकेका ओठ नुनिलो आँशुले भिजिदिन्छन् । उपहार लाग्दोरहेछ कसैले दिइएको त आँशु पनि संगालिराखौँ, लाग्छ कि गिलास थापौँ र एक गिलास आँशुले उही प्रेमको प्यास मेटाउँ । भौतिक शरीर एकअर्काबाट धेरै टाढा भइसक्यो तर मनमस्तिष्कबाट टाढा रहन नसकेकी म अनि छोरी । मेरो सहारा जिउने आधार उसैको खातिर अडिएको यो एकमुठी श्वास चिन्तै चिन्ताले कुन दिन फुस्स जाने हो, थाहा छैन । छोरीको भविष्य सम्झिन्छु, ऊ छोरीको भविष्यप्रति चिन्तित छ या छैन म जान्दिन । धेरै भयो, बाबा छोरीको कुराकानी नभएको सन्तान उसको पनि त उत्तिकै हो नि । आमाको जस्तो मन कहाँ हुनेरहेछ र ।

थाहा थिएन, प्रेमका परिवर्तनशील रङ, कहिले गाढा, कहिले फिक्का त कहिले पूरै साधा । कुनै समयको गाढा प्रेम हरपल साथ रहने रमाउने चाहनाअनुरुप विवाहबन्धनमा बाँधिएको हाम्रो सम्बन्ध केही वर्षपछि फिक्का हुँदै पूरै साधा भइदियो । आखिर प्रेम त प्रेम नै हो नि विवाह अघिको होस् या पछि, सुखमा होस् या दुःखमा । जुन समय एक चम्चा न खाइदिए खाना नरुच्ने मान्छे ऊ, बिरामी पर्दा एक गिलास तातोपानीसम्म नसोध्दा यो मन कति रोयो होला, जुन समय एकैछिन नबोल्दा छट्पटीले बस्नै नसक्ने मान्छे ऊ, बिरामी पर्दा एक शब्द हालखबरसम्म नसोध्दा यो मन कति रोयो होला, जुन समय एकपल टाढा रहन नसक्ने मान्छे ऊ, महिनौंदेखि ओछ्यान पर्दा एक्कैछिन छेउमा बस्ने फुर्सद नहुँदा यो मन कति रोयो होला ।
आश्चर्यलाग्दो प्रेमको रङ, हो मैले खोजिन पहिलेको जस्तो गाढा रङ्ग । फिक्का हुँदै गएको प्रेमको रङ आखिर चित्त बुझाएकै त थिएँ । एकाएक उसको मस्तिस्कमा आएको आँधी तुफानका कारण जिन्दगी नै उडाएर मरूभूमिमा ल्याई थचारिदियो । उसको इच्छा उसको खुशीका खातिर टाढा भइदिएकी म डढेर राख भएको यो मन आखिर शुभकामना नदिई कहाँ बस्न सक्यो र, नवदाम्पत्य जीवन सुखमय रहोस् सदा एकनास गाढा रहिरहोस्, त्यो प्रेमको रङ्ग, हार्दिक बधाई तथा शुभकामना ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)