
जसलाई छिटै जानु छ, उसैले भात पकाउने, मेरा चार वटा हात छैनन्
कथाः छुर्मुखा
गुरुदत्त ज्ञवाली
तिलोत्तमा १, रुपन्देही
“सानी…., ए सानी ..,, आज म अलि छिटै अफिस जानु छ, छिटै भात पकाउनु ल ।” भास्करले उनकी पत्नीलाई मिठा मुखले भनेका हुन् । पत्नीको खास नाम त के हो कुन्नि ? माइतमा सानी भनेर बोलाएको सुनेकोले उनले त्यसै नामले बोलाउँछन् ।
“सक्दिन मैले भात–सात पकाउन, जसलाई छिटै जानु छ उसैले पकाउने, मेरा चार वटा हात छैनन् ।” सानीले वचन–बाण हानिन् भास्करलाई । भन्न त सानीले उतै कान्छीकहाँ गएर खाए हुन्छ सम्म भनेकी हुन् । को कान्छी हो थाहा भएन । हुन सक्छ भास्करले कान्छी श्रीमती राखेको छ भन्ने आरोप होला । त्यो दिन सानीले बेलामा भात पकाइनन् नै । भाष्कर भोकै अफिस गए । त्यसो त उनी आफै भान्सामा पसेका पनि हुन् तर के गर्ने ? सानीले भान्सा छुनै दिइनन् । …को पोइले छोएको भान्सामा मैले खान्न भनेर जर्किन् ।
रुपन्देही जिल्लामा सेमलार भन्ने गाउँ छ । त्यहाँ साप्ताहिक हाटबजार पनि लाग्छ । बजार लाग्ने स्थान भन्दा अलि पर बाग्लुङ्गको छिस्ती भन्ने ठाउँबाट बसाइ सरेर आएको पौडेल परिवार छ । त्यस घरभन्दा दख्खिन त्यस्तै ३०० मीटरको दुरीमा एउटा कदमको बुटो थियो पहिले । अहिले देखिन्न । त्यसै कदमको बुटो भएको स्थानभन्दा सात घर पश्चिम, पूर्बतिर फर्केको एउटा सानो पक्की घर छ । त्यो घर भास्करको हो । भास्करकी आमा अनुहारले साठी काटेकी जस्ती देखिन्छिन् खास उमेर भने पचास मात्र हो ।
भास्करका बाउ छैनन् । आमा स्वयंपाक्य हुन् अरुले पकाएको खान्निन् । बुहारीले छोएको त पानी पनि खान्निन् भन्छन् । घरमा त्यसो गर्ने बुढी आँबैले गाउँ–छिमेकमा गएको बेला जसले जे दिए पनि हसुर्ने बानी छ । त्यो कुरो बुहारी सानीलाई पनि थाहा छ । सासु–बुहारीको ग्रह मिल्दैन । एक्लै बस्यो हाइ सुख्ख भन्ने पनि लागे होला आँबैलाई । त्यही घरको एउटा कोठामा एक्लै बस्छिन्, भात–भान्सा त्यही कोठामा हुन्छ । आँबैको बानी पनि के भन्ने । जब्बरसाँढा भन्ने कि ? बोली त दोहोरो धार भएको छुरा जस्तो छ, जे बोले पनि ताछेर बोल्छिन् । दिन भर लखर–लखर गाउँ चहार्नु र भए–नभएका कुरा दमाल्नु उनको नित्य कर्म हो । महिलामा हुने नम्रता वा आमामा हुने मातृत्व सात वटा चाल्नाले चालेर पनि उनको बोलीमा भेटिन्न । उनकै टोकसोले उनका बुढा बेला नआउँदै गए भन्ने आरोप पनि छ । एउटी छोरी, बिहे गरेर बाँसगढी दिएका हुन् । त्यहाँ अडिन सकिनछन् र दोस्रो घरबार गरिन् । त्यो घर पनि सप्रेन र छोडिन् । आमाकै कचकचले छोरीको घरबार भत्केको हो भन्छन् । अहिले छोरी हरैयातिर छन् भन्ने सुनिन्छ । अब त माइत आउन–जान पनि छोडिन् । छोरो भाष्कर, उसले घरको संगत त पाएन, स्कूलको संगतले छोएछ । एस एल सी राम्ररी ग¥यो र लोकसेवा दिएको, निस्क्यो । खरिदारको जागिर पायो । दैनिक बुटवल अप–डाउन हुन्छ ।
भास्करकी आमाको मुख हेरेर त कसैले छोरी दिएनन् । देख्दा लरक्क छैनन् । राम्रो लगाउने र मीठो खाने त बानी नै परेन । सधै भुल्ली । न कपाल कोरेको देखिन्छ न नुहाएको । छोरालाई केटा भनेर बोलाउँछिन् । बुहारीलाई भने सानी नै भन्छिन् । “भोंसी मोर्न आँटो, घाँस काट्न नमोरेर के छाँटा खेलाएर मोरेकीछेस् ? खानको काल” आाबैको बोली यही हो । छोरालाई, ए केटा यहाँ मोर पढेर के नाप्पियो ? खुरुक्क लाहुर जा” भन्ने दिन बिरिन्न । भास्करको जागिरको मुख हेरेर परार साल बिहे भयो । सानी पहिले त सोझी जस्ती थिइन् । जब सासु आमाको संगत प¥यो उनी पनि सुकेको बाँसमा आगो लागेजस्तै पड्कन सिकिन् । भास्करकी आमाको रोग पत्नीमा सल्क्यो भन्ने लागेको छ भास्करलाई । एकै बर्षमा त्यत्रो बर्ष माइतीमा रहँदा सिकेको संस्कर सानीले पोलेर खाइन् । भाउँ माइतको संस्कार पनि उस्तै थियो थाहा भएन । अब त मरिगए पनि सञ्चो हुन्न भन्छन् छिमेकीले । देख्दा राम्री हुन् सानी, पढेकी भन्नु पर्छ । एघार र बाह्रका गरेर तीनवटा बिषय लागेका छन् रे । परीक्षा दिन छोडेकी छैनन् । उनको माइत त्यतै रामापुर नजिकैको शंकरपुर हो र बाउ शिक्षक हुन् ।
त्यो दिन भास्कर समयमै अफिसमा पुगे र काममा लागे । एकैछिन त कामको चाप थियो, त्यसैले भोक–सुर्ता बिर्से । अपरान्हतिर जब काम होलो भयो भोक लागेको महसुस भयो । खाने कुरा त त्यस्तो के नै हुन्थ्यो भन्ने कि हुन्थेन भन्ने । नजिकको चिया पसलमा चाउचाउ वा चाउमिन पाइन्थ्यो । त्यतै जानुप¥यो भन्दैगर्दा घरको कुरा संझे । आमालाई त पचाएका थिए पत्नीमा पनि आमाको रोग सल्केको हो कि ? उनको मन डरायो र भोक फेरि हरायो । उनकै घरको नजिकैकी अनिता पनि त्यसै अफिसमा काम गर्छिन् । उनी आएर “जाउँ दाइ खाजा खान” भनिन् । संगै गए । त्यस्तो लगभग सधै हुन्थ्यो अर्थात धेरै साथीहरु संगै खाजा खान जान्थे । अनिता र भास्करको भने धेरैजसो अफिस जाने–आउने समय पनि संगै हुन्थ्यो । दुबैका साधन भने आफ्नै थिए । भास्करको मोटरबाइक र अनिताको स्कुटी । यन्त्र त हो, कहिले काहीँ बिग्रँदो हो । त्यस्तो अवस्थामा एउटै साधनमा पनि अप–डाउन गर्थे । त्यही हल्ला भास्करकी सानीले थाहा पाएकी रहिछन् । बश.., उनको मति खुस्क्यो । त्यसै संयोगलाई लोग्ने कान्छीतिर सल्क्यो भन्न थालिन् । अचेल भास्करले पानी खान मागे पनि “आफै खाने म नोकर्नी होइन” भन्छिन् । त्यो घरमा रडाको मच्चिन थाल्यो । भास्करले होइन भन्थे, सफाई दिन्थे अथवा जेका ते कुरा गर्थे । अहँ, सानीले पत्याइनन् ।
बुटवलमा ब्यापार मेला लागेको थियो । भास्कर सधै जस्तो बेलैमा अफिस गए । जाने बेलामा सानीले थुतुना तिखारेर भनिन्, “ होइन, आज मेला हेर्न जाने भनेको पैसा–सैसा दिने होइन ? कि उतै कान्छीलाई सिंगार्न ठिक्क छ र ? ” सानी मेला जाने भन्ने कुरा भास्करलाई थाहा पनि थिएन । राम्रै मुखले भनेको भएपनि हुने थियो भन्ने लाग्यो । च्याँठ्ठिएर बोलेकोमा रिस त उठेको थियो तर मुख फर्काएनन् । “होइन के ट्वाल्ल परेको हो ? पैसा चाहियो भनेको” सानीले फेरि चोँसो बिगारिन् । एकहजार रुपियाँ हात पारेपछि लुख्रुक्क भित्र पसिन् । भास्कर अफिसतिर लागे । नजिकैको तिनाउ खोलाको कज वे तर्दै गर्दा अनिता भेट भइन् । उनी स्कुटी बन्द गरी उभिएर रोएकी थिइन् । भास्करलाई देखेपछि आँशु पुछेर स्कुटी चढिन् । स्टार्ट भएन । पछि भास्करले सहयोग गरे । स्कुटी स्टार्ट भयो, दुबै जना गए । कुरो बुझ्दा अनिताका बुढा–बुढी बेस्सरी झगडा गरेछन् । उनका पति पेशाले जग्गा ब्यापारी हुन् । घरमा एक मानाको जोहो राम्रै छ । हिजो कुनै जग्गा पास गर्न गएका, किन्ने मान्छेले खुशियाली मनाउँदा अलि बढी पिएछन् । पिएको भएमात्र त हुने थियो, होटलमा काम गर्ने युवतीलाई यौनजन्य भाषामा जिस्क्याएछन् । युवतीले सहन सकिनन् र आवेगमा सेण्डिलले हानिन् । ठुलै बबाल भयो । त्यो कुरो अनिताले बाहिरबाट थाहा पाएकी थिएन् । पति हुन् के बोल्ने भनेर घरमा आउँदा खासै केही भनिनन् । मात्तिएका उनका पतिले भने भास्करलाई छोएर तथानाम गाली गरेछन् । उनको आरोप थियो अनिता भास्करसंग सल्की भन्ने ।
दिउसो सानी बुटवलको मेला हेर्न गइन् । बस भीडले खचाखच थियो । छिमेकी पनि धेरै नै थिए । मिलेर सीटमै बसे । संयोगले सानी र अनिताका पति संगै परे । आपसमा बोल–चाल त खासै भएन । दुबैको मनमा भने कुरा खेल्यो । सानीको मनमा मेरो लोग्नेलाई बिगार्ने यसैकी स्वास्नीले हो भन्ने भयो र अनिताका पतिको मनमा यही सानीको लोग्नेले अनितामा आँखा लगाएको छ भन्ने भयो । सोंच्दै गर्दा दुबैले रिसाएको अनुहारमा मुख हेरा–हेर गरे । दुबैका आँखा पाकेका गोलभेँडा जस्ता थिए । उनीहरुको आसमा कुनै रिस–राग थिएन । बोल–चाल गर्दै गएको भएपनि हुने थियो । मनको बाघले बोल्न मानेन । बरु दुबैजना एक आपसमा छोइने हो कि जस्तोगरेर सतर्क भएर बसे । आ–आफ्ना पति र पत्नीको बिषयमा मनमा पाप पलाएका उनीहरु बसको एउटै सीटमा बसेका र चिन–जान भएका छिमेकी भएपनि उनीहरुको आपसमा मनमा पाप पलाएन । नत्र भने पाँच किलोमिटरको यात्रामा संगै सीटमा बसेका त्यस्ता किशोर–किशोरीमा लभ पसेको भन्ने कि फसेको भन्ने देखिएको छ । बस बुटवल पुग्यो । त्यसपछि को कता गए थाहा भएन ।
…

साँझ झमक्क पर्दा सानी घरमा पुगिन् । मेला हेर्न जाँदा सानीले एकोहोरो आँबैलाई भैंसीलाई घाँस–पानी गर्नु भनेकी थिइन् । आँबेले भने कुनै प्रतिकृया दिइनन् । साँझ भने आँबैले जिम्मा दिएको काम त गरिन् बुहारीलाई कोपर्लिन् झैं गरेर हेरिन् । सानीले एक पाकेट चुरोट ल्याइदिएकी रहिछन्, दिइन् । आँबै त एकाएक मख्खै । त्यो कुरो सानीलाई थाहा थिएन । छिमेकी साथीले सिकाएका थिए । आँबैले चुरोट खाए पनि लुकेर खान्थिन् । त्यो कुरो पनि सानीलाई थाहा थिएन । आँबैले बुहारीको मुखमा हेरेर मुसुक्क हाँसिन् र भनिन्, “को¥याई…., लच्छिनकी त छे थाहा पाइ र पो । ” आँबैलाई उनले चुरोट खाने कुरा बुहारीले थाहा पाएकोमा थोरै डर त लाग्यो तर मर्म बुझिछ भन्ने कुराले प्रशन्न भइन् । भोलिबाट आँबै सोझिइन् । सानीले सधै चुरोट र सलाईं पु¥याउने भइन् । आँबै खुशी हुँदा बुहारीलाई सुख हुन्थ्यो । आँबै घरको काम एक्लै उतार्न थालिन् । हुँदा–हुँदा आँबैको अरु रहन–सहन र बोली भाषा फेरिन थाल्यो । बेला–बेलामा सानीले सासु आँबैलाई अरु खाने कुरा पनि किनेर दिन्थिन् । बिचरा आँबैले त्यो दिनसम्म चाउचाउ चाखेकी रहिनछन् तर खाने रहर असाध्यै रहेछ । सानीले त्यो रहर पनि पूरा गरिदिइन् । छुर्मुखा, छुची, फोहरी, गाउँटे, कुरौटे, भुल्ली जस्ता आमाका आरोप सबै थोरै दिनमै स्वाहा भए । घरमा अब लिप–पोत शुरु भयो , घुर कसेर हुन थाल्यो । धमिलो बत्ती उज्यालो भयो ।
मध्ये राततिर छिमेकमा एक किसिमको कोलाहल सुनियो । गुहार–गुहारको आवाज आयो । भास्करले बाहिर निस्केर कान ठनासे । आवाज अनिताको घरतिरबाट आएजस्तो लाग्यो । जाउन् भने सानीको बानी ठीक छैन । हो न हो कान्छीलाई भेट्न गयो भन्ने पो हुन् कि ? शंका र डर पनि लाग्यो । त्यसै त घर भाँडिएको छ । उनलाई सासु बुहारीको बीचमा अचानक नाटकीय सकारात्मक परिवर्तन भएको भन्ने थाहा छैन । हो न हो सानीले घर धन्दा गरेकी छ भन्ने लागेको छ । आमाको बानी खराब भएकोले उनले आमाको खासै वास्ता गर्न छोडेका थिए तर खर्च–पर्च भने पु¥याएका हुन्छन् । गाउँले सबै उतै लागे । त्यो देखेर भास्कर पनि लागे । पछि–पछि सानी पनि गइन् । आँबैलाई पनि जाउँ–जाउँ त लागेको हो, घर कुर्नु पर्ने हुनाले गइनन् र रमाइलो कुरो त आँबैलाई घर कुर्नु पर्छ भन्ने ज्ञान आयो । पहिले त्यस्ती होइनन् ।
अनिताका पतिले त्यो दिन पनि बेस्सरी पिएछन् । नपिएको बेलामा समेत पत्नीसंग टेढा कुरा गर्न थालेको धेरै भएको थियो । भास्करसंग लसपस छ भन्ने उनको आरोप हो । त्यसै झोँकमा अनितालाई बेस्सरी पिटेछन् । मुखबाट रगत बगेको थियो, दाँत भाचिएको हुन सक्थ्यो । धेरै महिलाहरुले सहानुभुति प्रकट गरे र आक्रोस समेत ब्यक्त गरे । त्यसै हुलमा सानी पनि थिइन् । सानीले के भन्ने हो भन्ने डर भास्करलाई लागेको थियो । “मेरो पोइलाई बिगार्ने यही रण्डी हो ” भन्ने खालकी हुन् सानी पनि । तर त्यहाँ बोलिनन् । अनिताका पति त्यो बेला त्यहाँ थिएनन् । उनी भागेर बुटवलतिर लागेको खबर आयो । त्यो रात छिमेकी महिलाहरुको सुरक्षा वा संरक्षकत्वमा अनिता सुतिन् ।
भोलिपल्ट, शनिबारको दिन थियो, अनिताका पति घरमा आए । गाउँमा कचहरी बस्यो । उल्टै अनिताले पतिको तर्फबाट माफी मागिन् । कुनै सजायँ नगर्न अनुरोध गरिन् । भास्करको बिषयमा त कुरो उठेन । जरुरी पनि थिएन र त्यो बिषयमा समाजलाई थाहा थियो । न अनिताको बिषयमा कसैले शंका गर्ने ठाउँ थियो न त भास्करको बिषयमा । हल्लाको बीचमा कसैले छुस्स बोलेको सुनियो । कसले बोलेको भन्ने थाहा भएन । आवाज, “अनिता दिदीलाई र भास्कर दाइलाई शंका गर्ने मान्छे त झुण्डिएर मरे हुन्छ ” भन्ने थियो । त्यो आवाज अनिताले त के गरिन् उनका पतिले सुनेछन् । र सानीले पनि सुनिन् ।
आँबैले स्वयंपाक्यको स्वाङ्ग छोडेर एउटै भान्सामा खान थालिन् । त्यो कुरो पनि भास्करलाई थाहा थिएन । पतिसंगको कुलायन नसप्रेको हुनाले सानीले पनि पतिसंग भन्ने कुरो भएन । शनिबारको दिन, खान–पीन अबेलै भएछ । सानी कचहरी हेर्न गएकी फर्केकी थिइनन् । आमाले “भास्कर बाबु भात खान आइज” भनिन् । उनलाई बिश्वास लागेन र को छ भान्सामा भनेर भित्र हेर्न गए । आवाज त आमाको जस्तो थियो । यस्तो आवाज उनका कानले पहिलो पल्ट सुनेको थियो । उनका आँखाबाट हर्षका आँशु आए । त्यो देखेर आमा पनि रोइन् । के कुरा पुगेको थिएन र आमा आज सम्म बहुलाई जस्ती भएर बसिन् र के कुरा पुग्यो र आमा खुशी भइन् ? भास्करले बुझेनन् । चुरोटले हो त ? होइन । आदरले । हो चुरोटमा आदर मिसिएको थियो सम्मानको गन्ध थियो । चुरोट त आमाले आजै पनि छोड्न सक्छिन् । भास्करका बाउ बाँचुञ्जेलसम्म कहिल्यै पत्नीसंग मीठो बोलेनन् । सोझो पनि बोलेनन् । परिणामतः आफै अकालमा मरे । स्याहार नपाएर मरे । त्यो बेला भास्करकी आमाको मन ठाउँमै थिएन । दिमागको सेटिङ्ग बिग्रेको थियो । त्यो सेटिङ्ग संभाल्ने हैसियत उनको थिएन ।
कचहरी सकिए पनि छिमेकी महिलाहरु अनिताको घरमा गए । अनिताका पति साथमा थिए । संगै सानी पनि गएकी थिइन् । सानी जाने थिइन् वा थिइनन्, अरुले कर गरेर गइन् । आखिर गाईं–गुईं कुरो त चल्यो नि । अनिताका पतिले आवेगमा बोलेको र गल्ती भएको कुरा स्वीकार गरे । सानीलाई संझाउन अलि बेर लाग्यो । उनले “के हो के हो कसको के जान्न सकिन्छ र ?” भनेर कुरो शंकाको घेरामा छोडिन् । अनिताले सबै कुरा खोलेर संझाएपछि सानीको बल्ल मन ठण्डा भयो । अनिताले एउटा कुरा समातिन् । जुन दिन उनका पति र सानी, बसको एउटै सीटमा कुम जोड्दै बसेर बुटवलको मेला हेर्न गएका थिए । त्यस घटनालाई उनीहरुको लसपस मान्ने कि नमान्ने ? यद्यपि त्यो कुरो अनिताले निहुँ बनाएकी होइनन् र अनिता त्यस्तो सोँच भएकी महिला पनि होइनन् । सानीको उपचारको लागि मात्र थियो । सानी बोलिनन् । नबोल्नुको मतलव उनले भास्करप्रति सोँचेका कुरातिर मन फर्काइन् । उनको मन फक्र्यो । अनिता र सानीले गला मिलाए । दुबै जनाले खुशीले आँशु बगाए । संगै भएका दिदी–बहिनीहरुले अनिता र सानीका आँशुमा साथ दिए ।
सानी घरमा गइन् । भास्करले भात खाएर घाम ताप्दै थिए । समय जाडोकै थियो । तै त्यो दिन कुहिरो लागेको थिएन । सानीका आँखामा फेरि आँसु आए । पतिको मुखमा पुर्लुक्क हेरिन् र भित्र पसिन् । उनको अनुहारमा पहिलेको जस्तो कुनै प्रकारको आक्रोस थिएन बरु बिनम्रता थियो । भास्कर पनि भित्र पसेर सानी …भने । सानीले हजुर .. भनिन् । बश…त्यो भन्दा दुबैजनाले कुनै कुरा बोल्न सकेनन् । भास्करको कानमा सानीको “हजुर” शब्द धेरै बेर सम्म गुञ्जिंदै थियो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)