
रात परेको पत्तै पाउँदिन जुरेली
कथाः जुरेली
माया पन्थी
भर्खर भुरर भुरर उडन सिकेकी जुरेली उड्दा उड्दै क्षितिज पारीको अर्को जँगलमा पुग्छे । नयाँ ठाउँमा रमाउँछे । एउटा साथी भेट्छे, सँगसँगै किरा टिप्दै एक अर्कासँग साटासाट गर्दै खान्छन् । खेल्छन् । रात परेको पत्तै पाउँदिन जुरेलीले, पहिलोपल्ट यस्तो साथी भेटेकी भएर होला । हावापानी फेरिएको पनि पत्तो पाउँदिन । जसै रात छिप्पिन थाल्छ, उसलाई घरको याद आउँछ । फर्किन खोज्छे, अँध्यारोमा कता जाने भनेर मेसो पाउन्न । दिनभरी सँगै चारो टिपेको साथीले आफ्नै गुँडमा बास बस्न भन्छ ।
यता निक्कै चिसो लाग्छ जुरेलीलाई आफ्नो घरभन्दा । गुँडमा गुँडुल्किन्छे । एक अर्काको न्यानोमा मस्त निदाउँछन् ।
जुरेलीलाई उसको न्यानो अनौठो र प्यारो लाग्छ ।
बिहानको सुर्योदय हुन्छ । जुरेली घर फर्कन्छु अब भनेर जानकारी दिन्छे । जुरेलीलाई उसको साथीले मलिन हुँदै रोक्छ । आफूले भर्खरै आफ्नालाई गुमाएको कुरा सुनाउँछ । शिकारीले निर्दयी भएर उनीहरुलाई मारेको दर्दपुर्ण बिलौना सुनेर जुरेली भक्कानिन्छे ।
आफू कति दिनदेखि एक्लो भएको र उनलाई भेटेर खुशी भएको कुरा बताउँछ ।
जुरेली आफ्ना आमा बा र अरु बचेराहरु सम्झन्छे । जान मन लाग्छ । फेरि सोच्छे उता त गुँडमा धेरै जना छन् नि । यहाँ बिचरा यो एक्लै छ भन्ने सोच्छे । जुरेलीलाई उसको असाध्यै माया लाग्छ । उसको मन दुईतिर तानिन्छ । बेसरी तानिन्छ, मुटु नै फुट्ला जस्तो गरी दुख्छ ।
साथीले हत्ते गर्न थालेपछि ऊ चुपचाप यतै बस्छे ।
अर्कै जँगल र अर्कै प्रजातीकी हुनाले उसको खानपान, चालढाल सबै फरक छन् । उसको साथी भन्दा निक्कै फरक छे जुरेली ।
यतैको हावापानी र वातावरणमा बाँच्नलाई ऊ सँघर्षरत रही । धेरैचोटी बिमार परी । उड्ने तरीका बदली । निक्कै लामो र गार्हो अभ्यासपछि अरु जस्तै जस्तै उड्न सिकी । फरक चारोमा बानी पारी । आफूलाई बिर्साउँदै नयाँ रुपमा फेरिँदै गैइ । जाँतोको हातो जस्तै, कोदालोको बीँड जस्तै बलियोसँग मिल्ने गरी अडिनलाई ताछिईरही ।

बर्षौ बिते, जुरेली यतैकी भई । उसको परिवार बन्यो । केही बचेराहरु उड्न सक्ने भए, केही अन्डाहरु कोरलिए, केहि नकोरलिँदै फुटे, फुटाईए । कहिले बेहद खुशी पाई कहिले रातभरी रोई । हासेको सबैलाई देखाई, मन दुखेको लुकाई ।
एक दिन चारो खोज्न उड्दै जाँदा उसले आफू जन्मेको जँगलमा पाईने फल फेला पारी । त्यो उसको सबैभन्दा मन पर्ने फल थियो । उसले सोची आज रमाईलो हुन्छ, सबै मिलेर खान पर्छ । यता कसैले पनि चाखेका छैनन् होला यसको स्वाद । कति खुशी होला ऊ नयाँ स्वाद चाख्न पाएर । मलाई कति माया गर्ला, प्रशंसा गर्ला ।
ऊसँग लाडिएर खाने कल्पना गर्दा गर्दै ऊ गुड्मा आईपुगी । सबै जम्मा भैसकेका थिए । चुच्चोबाट उसले त्यो फल खसाली, प्रफुल्लित हुँदै ।
जसै त्यो फल देख्यो, ऊ एकदम क्रोधित भयो । चुच्चोले टिपेर त्यो फल भुँईमा खसाल्यो । रिसले बचेराहरुलाई ठुँग्न थाल्यो, गुँड पनि भत्काउन थाल्यो ।
जुरेलीले उसको रिस नदेखेकी होइन तर आज ऊ अवाक भैइ । शुन्य र अन्धकार महसुस गरी । एकदमै तर्सिई ।
अर्को हांगामा भुरर उडेर पातहरुको मुनि आफैलाई लुकाई । असाध्यै मन रोयो उसको ।
उसको साथी रिसाउनुको कारण भने बुझ्न सकिन ।
सबेरै रुखको फेँदमा चिरबिर सुनी । थुप्रै चराहरु जम्मा भएका रहेछन् । उनीहरुको चिरबिरबाट बल्ल कुरा बुझी ।
त्यो फल उनीहरुको जंगलमा चराहरुका लागि बर्जीत रहेछ । कुनै युगमा कैयन चराहरु एक्कासी मर्न थालेछन् । त्यो युगको चराको नाईकेले यो फल बिषालु छ, खान हुन्न भनेर उर्दी लाएछ । मर्न कसलाई रहर हुन्छ र । त्यो उर्दी नियम बनेर पुस्तान्तरण भएको रहेछ ।
जुरेलीलाई त्यो जँगलमा परिवारलाई बिष खुवाउन लागेको आरोप लाग्यो । उसलाई सबैले घृणा गर्न थाले । उसँग कोही पनि नजिक पर्न र कुरा गर्न छोडे । जुरेलीले आरोपको खन्डन गर्ने मौका नै पाईन । उसलाई जँगलद्रोही घोषित गरियो ।
ऊ एक्लै छे । मन अमिलिएको छ । मनको बोझ बिसाउने ठाउँ र उपाय कसै गरी भेटेकी छैन । न फर्केर जान सक्छे न यही बस्न नै । उसको छटपटी कहालीलाग्दो छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)