दुर्गमको कोटामै किन मख्ख कर्णाली ?

कर्णालीका कुरा

विष्णु पादुका
कागकोट, डोल्पा

भूगोलकै पृथकिकरणले
तिमीलाई धनी बनाएको छ
यहि कुराको ख्याल हुनुपर्ने
तर दुर्गमको कोटामै तिमी
किन मख्ख कर्णाली ?

कोरोनाले बाटो हेरेको छ
उसलाई पनि शहर प्रिय हुने रहेछ
सबैको ध्यानाकर्षण शहरमै छ
कोरोनाले रुवाए पनि
रुवाउन छुटाए पनि
आँसु जमाएर बसेको छ ।

फाटेका पैताला र टालेका लुगाको
तस्विर भजाउनु अब नौलो उद्योग रहेन
च्यातिएका बाटा चुटेका पुल
भत्केका मन टालटुल पारेर
राजनीतिको जागिर
जोगाउनको साटो
छातीमा हात राखेर सोच्ने कि ?

शहरको हावा गाउँ पसेर बिग्रियो
गाउँले युवा शहरमा फसेर बिग्रियो
बिग्रेको फेहरिस्त अझै लामो छ
नेतृत्व ठेक्काकै खालमा बसेर बिग्रियो
पैसाका प्वाँख उमारेका चराले
कर्णालीको आकाश छोपिएको छ ।

हतियार जाल र पासो थाप्नेहरु
उहिलेदेखि उन्नतिको शिखरमा छन्
हेरेर र्‍याल चुहाउनेहरु
खाली र्‍यालीमा शोभनीय छन् ।

मान्छे थोरै
भूगोल धेरै
सम्भावना धेरै
विकास थोरै
देखेको कुरा ढुक्कसँग नभनिने
बोल्नेहरु सबै नेतृत्वमा गनिने
अञ्चलबाट राज्य बिस्तारित भए पनि
कर्णाली उस्तै छ ।

क्याल्जन एउटा क्याप्सुल नपाएर
मर्न छुटेको छैन
छेतेनले स्कुल छोडेर
लेक बस्न छुटेको छैन
चिनिया चिया घ्यु र नुनको लागि
क्याराभानमा चौंरीसँग
च्याङ्वाहरु घट्न छुटेको छैन
गणतान्त्रिक छापहरु काँधको झोलामा
अझै तुर्लुङ्ग झुण्डिएकै छन् ।

अनुदानका मिसिल
तयार गरी पठाउनु सायद विकास होइन कि ?
नियमित नियमन बिनाको लगानी
कर्णालीका सहायक नदिहरुमा
धेरै बगिरहेको छ
तर कहिलेसम्म ?

सहनशीलता आगो हो
बल्नु अघि तुच्छ छ
बलिसकेपछी पनि शान्त
फेरि पनि बल्नुको क्रमबद्धता
झेल्न अस्वीकार्य भै रहेछ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button