भो, नलेख भन्छन् कविता

कविता

रुपा पौडेल

कविताले देश बन्दैन,
नलेख भन्छन् कविता
कविताले पेट भरिदैन,
नलेख भन्छन कविता ।

भोकाएको पेटले कविता माग्दैन
खाना चाहिन्छ
विभेदको द्वेषले कविता माग्दैन
समानता चाहिन्छ ।

खै के दियो कविताले ?
न फेरियो देशको मुहार
न फेरियो मानसिकता
भो, नलेख भन्छन कविता ।

आज पनि सुन्तली
धारा भर्न पाउँदिनन्
आज पनि हर्कबहादुर
मन्दिर पुज्न पाउँदैन
खै के गर्यो कविताले ?
नलेख भन्छन् कविता ।

यूगौंदेखि कविता चिच्याइरहेछ
कहिले कवि बनेर
कहिले महाकवि बनेर
‘मानिस ठूलो दिलले हुन्छ
जातले हुँदैन’
कसले सुन्यो खै कविता ?
कसले पढ्यो खै कविता ?
भो, नलेख भन्छन् कविता ।

न बदलिए कविता सुन्नेहरु
न बदलिए कविता पढ्नेहरु
अनि किन लेखुँ म कविता
यदि बुझ्दैनन् भने कविता ।

कविता कवि हो
कवि म हुँ
म ऊ हो
ऊ हामी हौं
फेरि किन बुझ्दैनन् कविता ।

कविता देश हो
कविता माटो हो
कविता आवाज हो
कविता जीवन हो
तर, भो नलेख भन्छन् कविता ।

के तिमी देश पढ्न चाहदैनौं
के तिमी माटो छाम्न चाहदैनौं
के तिमी जीवन बुझ्न चाहदैनौ
बुझेर पनि अबुझ बन्ने तिमी
भो, किन नलेख भन्छौं कविता ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button