च्यातेर फाली बिहेका फोटा अनि पुछिदिई सिन्दुर

लघुकथा: कुण्डली

हरिप्रसाद गौतम

बिहे भएर घरमा भित्रिएको दुई वर्ष पनि पूरा नहुँदै अदितीलाई लोग्नेले धोका दियो । बिदेसिएको लोग्नले पैसा पठाउला र घर टालटुल गरूँला भन्दै बसेकी अदितीका मनमा आठ-नौ महिनासम्म लोग्नेको कुनै खबर नआउँदा चिसो पसिसकेको थियो । पुरानो फोन लाग्दैन, चिठीका जमाना छैनन्, बोलेर चित्त बुझाउने सन्तान पनि छैनन् र पनि सम्हालिएकी थिई ऊ ।

अम्मरे डाम्नो आधा भाडा बचाउने बहानामा लिभिङ टुगेदर भन्दै विदेसी युवतीसँग बसेको थियो । समुद्रपारिको यस्तो घटनामा विचरी अदिती बेखबर थिई । उसले खबर नपाए पनि उसका आफन्त र छिमेकीले गाइँगुईँ गरिसकेका थिए । एक दिन फोटै देखाइदिएपछि विचरीको मनै भाँचियो । घृणा भरियो पुरानो प्रेमप्रति । च्यातेर फाली बिहेका फोटा अनि पुछिदिई सिन्दुर पनि सधैंका लागि ।

एक वर्ष त जेनतेन कटाई । अर्को वर्ष भने गाउँलेले उसलाई एक्लै नबस्न बरू उनीहरूको सल्लाह मान्न अनुरोध गरे । गाउँलेको कुरो राम्रै लाग्यो उसलाई पनि । भर्ती भएर पल्टनमा भएका बेला श्रीमती भागेर पोइल गएपछि एक्लिएको छिमेकी दलेलाई उसले राम्ररी चिनेकी थिई । छुट्टीमा आएको मौका छोपेर सबै मिली गरिदिए दले र अदितीको बिहे ।

Ad

दले छुट्टीमा आयो र दुईचार दिन बसेर गयो । वर्ष दिन पुग्दा पनि सन्तान हुने अत्तोपत्तो थिएन । हिजो गुन गरेका तिनै छिमेकीले अदितीलाई ‘बाँझी’को संज्ञा दिँदै दलेको कान भरिदिन थाले । बल्लतल्ल मिलेको सुख फेरि खोसिने डर थपियो अदितीका मनमा । फुटेको कर्म जबर्जस्ती जोडेको भएर हो कि भन्ने चिन्ता बढ्यो । निराश अदितीले जोगी, बाबा, सन्त, पण्डित जो भेटिन्थे, सबैलाई सोध्थी आफ्नो कर्मका विषयमा । सबैले निरास पारिदिन्थे उसलाई । कुण्डलीमा एक्लिनुपर्ने ग्रह छ भनेपछि उसलाई साँचो हो कि जस्तो लाग्थ्यो । हुन त दलेले कहिल्यै नराम्रो गरेको थिएन तैपनि सन्तान नभएका कारण अरुका कुरा सुनेर धपाउने पो हो कि भन्ने लाग्थ्यो । एक्लै बस्न कति गाह्राे हुन्छ, आफन्तले कति हेप्छन् भन्ने उसलाई मात्रै थाहा थियो । त्यसैले धीत मर्नेगरी रुने गर्थी एकान्तमा ।

पारिको गाउँमा बस्ने मनोपरामर्शदाता नवीनले यो जोडीको बेथा र सन्तान नहुनाको कारण राम्ररी बुझेको थियो । यो नि:सन्तान दम्पती कसैका कुरा सुनेर फेरि एक्लिने पो हुन् कि भन्ने चिन्ता पर्‍यो उसलाई । पात्रोसमेत हेर्न नजान्ने आफ्नै मावलीबालाई यो समस्या बतायो । त्यसपछि नातिबाजे मिलेर सुन्दर योजना बनाए । योजनाअनुसार दले र अदिती घरमै भएको मौका पारी मावली बा पहेँलो वस्त्र धारण गरी जोगीजस्तै बनेर उनीहरूका आँगनमा टुप्लुक्क आइपुगे र भिक्षा मागे । अदितीले दिल खोलेरै भिक्षा दिई । जोगीबाले, ‘ल बालिके अबको एक वर्षपछि तेरो काख भरिन्छ’ भने । अदिती गदगद् भई । खाटमा बसेको दलेले पनि यो कुरा सुन्यो । उसले जोगीसँग ‘हामीले केही गर्नुपर्छ कि गुरु ?’ भन्ने प्रश्न तेर्स्यायो । जोगीबालाई उपाय बताउने मौका मिल्यो । लगातार दुईवटा पूर्णिमामा दम्पतीले सँगसँगै पूजा गर्नुपर्ने उपाय दिए जोगीबाले । थप बक्सिसको उपहार हात पारी जोगी बा आफ्नो बाटो लागे ।

दलेले एक महिनाको छुट्टी बढायो । शुद्ध शाकाहारी भोजन ग्रहण गरी दुईवटा पूर्णिमा अवधिभर सँगै रहेर पूजा गरे । अदितीको मासिक धर्मपछिका पूरै दिनहरू दुवैले खुसीमा बिताए । दले परदेश पुगेको एक महिनामै अदितीले आफ्नो महिनाबारी रोकियो भन्ने खुसीको खबर सुनाई । यता नवीनका नातिबाजे त्यो दु:खी अदितीको कुण्डली बदल्न सकेकोमा मख्ख थिए ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button