मध्यरात मध्यबानेश्वरको रेष्टुरेन्टमा के के भयो ?

कथाः रङ्गहरुको शहर

गोविन्द श्रृङ्खला

मौसममा एउटा अनौठो मादकता, सडकका मध्य भागमा गाडीहरुको एकोहोरो तँ छाड म छाड । हल्का झरीले अघिसम्म उकुसमुकुस वातावरणमा केही राहत । दिनको उज्यालोलाई पछि पार्दै घाम डाँडा पारी पुगिसकेको छ । साँझको सात बजे ।

काठमाडौंको मध्य बानेश्वरको एउटा रेष्टुरेन्टबाहिर बाइक, कार र जिपहरुको लामै ताँती, पार्किङ्ग क्षेत्रमा ठेलमठेल् । रेष्टुरेण्टको सजावट ओहो ? मधुरो बत्तिको झिलीमिली । राता नीला हरिया वैजनी रङ्गका बत्तीहरु झिमिकझिमिक गरिरहेका छन् । संगीतको मधुरता छ । वेटरहरु ग्राहकको सेवाका लागि कुदिरहेका छन् । एक एक वेटरले एक एकवटा टेवुल जिम्मा लिएका छन् । सायद उनीहरुलाई टिप्सको लोभ छ । प्रत्येक टेवलहरु समावेशी देखिएका छन् । समावेशी यस अर्थमा कि अब नारी पुरुष समान हुन्, प्रायः सवै टेवलमा युगलकै बाहुल्यता छ । कुनै कुनै टेवुलमा एक्ला मान्छेहरु पनि फाट्ट फुट्ट देखिन्छन् । धेरै जसो टेवलहरुमा ह्विस्कि, वियर र वाइनका बोतलहरु सजिएका छन् । एकआध टेवुलमा ह्विस्कि वियर र वाइन होइन चिया कफिका कपहरु देखिन्छन् । मादकतामा रमाउने संस्कारले अब भने चिया कफीलाई विस्थापित गरे झै लाग्छ । मेरा आँखाले सबै दृश्यलाई क्यामराले तस्विरलाई कैद गरे झै गरिरहेको छ ।

पर कुनामा रहेको क्याविन जस्तो टेवलमा अन्दाजी २४–२५ बर्षको युवक र यस्तै १९–२० बर्ष कि युवती जिस्किदै एउटै गिलासमा वाइनको मज्जा लिइरहेका छन् । उनीहरुमा डर त्रास लाज संकोच केही पनि छैन । स्वछन्द र उन्मुक्त वातावरणमा रमाइरहेका छन् । मानौ उनीहरु आपसमा यसरी जिस्किनु भनेको उनीहरुकोे लागि गर्वको विषय हो अनि उनीहरुको यो चर्तिकला सहज जीवनको दैनिकी हो । यसमा लाज संकोच मान्नु पर्ने के नै छ र ? जिन्दगीको सुरुवात गर्दै गरेका यी जोडिले जीवनको उर्वर समयलाई कसरी उपयोग गरिरहो छन् ? मलाई घोत्लिन मन लाग्छ । सोच्छु, यी युवाका पनि घर परिवार होलान्, आमा वावु दाजु भाई होलान् । वावु आमाले उनीहरुको सुन्दर भविश्यसँग जोडेर धेरै सपनाहरु सजाएका होलान् र आफ्ना सन्तान अत्यन्तै होनहार छन् भनेर गर्व गर्दा होलान् । केयौं मादकताको चरमोत्कर्षले उनीहरुका बावु आमाको सपना साकार होला त ? यस प्रश्नले मलाई वारम्वार झक्झकाइ रहेको छ ।

यस्तै सँगैको टेवलमा अलि पाको उमेरको देखिने लोग्नेमान्छे र ऊ भन्दा झण्डै आधा उमेरकी स्वास्नीमान्छे वियरको स्वादसँग खेलिरहेकी छिन् । उनीहरुमा पनि उही स्वच्छन्दता छ । कसैको संकोच छैन । खुला परिवेशमा उन्मुक्त विचरण गरिरहेका छन् । वेला बखत युवतीको लहराउंदो केश हातमा लिंदै पुरुष मादक हाँसो हास्दै छ । युवतीमा कत्ति लज्जा र संकोच छैन, ऊ पाको उमेरको पुरुषको अँगालोमा निर्धक्क समाहित भएकी छे । उनीहरुको स्वच्छन्दताको तमासा रेष्टुरेण्टका अन्य ग्राहकको आँखाको विष मार्ने विषय बनेको छ । पुरुष त जातैले लज्जाविहीन हुन्छ भन्छन् तर युवतीले केही संकोच मान्नु पर्ने अँ हँ त्यहाँ त्यस्तो छैन । उनीहरु पति पत्नि हुन त ? मलाई जिज्ञासा उत्पन्न हुन्छ । तर उनीहरुको हाउभाउले त्यो युवती कुनै पनि अर्थमा विवाहित झै लाग्दिन् । त्यसैले ऊ त्यस पुरुष कि श्रीमती हुन सक्दिन । ऊ कसैकी श्रीमती भैनसकेकोले कसैकी छोरी जस्ती छे । अझै विहे नभएकी कसैकी छोरी । लाग्छ, वावु आमाले ठूलो सपना सजाएर शहर पढ्न पठाएकी छोरी ।

मसँगैको पल्लो टेवलमा तीसको हाराहारी की महिला र झण्डै उस्तै उमेरको पुरुष निक्कै गफिदै छन् । उनीहरुका बीचमा निक्कै आत्मियता देखिन्छ । उनीहरुको जोडी गजवको देखिन्छ । एक आपसमा निक्कै खुलेका झै देखिन्छन् । उनीहरुका वीचमा कुनै पनि सीमा छैन, अत्यन्तै अन्तरङ्ग सम्बन्ध भए झै लाग्छ । ह्विस्किो घुट्को सँगै कान र मुखको दूरी घटाउंदै सानो स्वरमा गफ गर्दै छन् । पुरुषको झिनो स्वर सुनिन्छ “ए तिम्रो श्रीमान्को खवर के छ नि ?” महिलाले पल्याकपुलुक यता उता हेर्छे अनि साउतीको स्वरमा भन्छे, “के हुनु नि ! ऊ उतै कमाउनमा व्यस्त छ ।” युवकको रसिलो आवाज मेरो कानमा ठोकिन्छ, “उसले नकमाए तिमीले कसरी मोज गर्न पाउँथ्यौ त ?”

“पैसाले मात्र हुन्छ र ? खोइ त मेरो भावना बुझेको उस्ले ? यो उमेरमा एक्लो जीवन …”, महिलाको गुनासो सुनिन्छ । उसको भावना के हो ? के बुझ्नु पर्ने ? उसलाई के को कमी छ ? युवकको आवाज अस्पष्ट सुनिन्छ, “तिम्रो भावना….. म छदै छु नि ।” युवती मस्किन्छे । लाडिदै हास्छे अनि बोल्छे, “छ्या के बोलेको होला” ? उसको त्यस भनाइमा कति रोमाञ्चकता लुकेको छ, सहजै अनुमान गर्न सकिन्छ । भविश्यको सुन्दर कल्पनामा ती महिलाको श्रीमान् पराइ ठाउँमा कति विघ्न परिश्रम गरिरहेको होला ? श्रीमती घर परिवार भेट्ने आशामा हरेक दिन क्यालेण्डरका गते र वारहरुमा चिन्ह लगाइरहेको होला तर उसको अनुपस्थितीमा यता श्रीमती भने …। ओहो कस्तो समाजको निर्माण भइरहेको छ? मलाई कहाली लाग्छ । पूरै रेष्टुरेण्ट फनफनी घुमे झै लाग्छ । बेस्सरी टाउको समात्न पुग्छु । एक छिन झोक्राउँछु अनि सहज बन्ने प्रयास गर्छु ।

म वसेको पारीपट्टिकोे टेवलमा अन्दाजी पैतीस वर्षको पुरुष र तीस बर्षकी महिला श्रीमान श्रीमती जस्तै देखिने एउटा जोडी र सात आठ बर्षको छोरा बसेका छन् । श्रीमानको अघिल्तिर ह्विस्कि छ । श्रीमतीले वियर समातेकी छिन् । छोराले कोक र पिज्जाको मज्जा लिइरहेको छ । ती जोडीको आज विवाहको दशौ बर्षगाँठ रे । उनीहरुले गरेको गफमा सुनेको । मलाई लाग्छ, यो जोडीको जीवन कति सुखी छ । यी महिलालाई सगैको टेवुलकी युवतीको जस्तो पति वियोगको पीडा पनि छैन न उसको पति झै त्यो पुरुष घर परिवारबाट अलग्एिको छ । रेष्टुरेण्टमा पनि सग्लो परिवारका साथमा उनिहरु रमाइरहेका छन् । हुन त जिन्दगीलाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छ । त्यस युवतीलाई जिन्दगी जिउने त्यही परिपाटी बढी आनन्ददायी हुन सक्छ ।

भनौ, त्यहाँ हरेक टेवलमा फरक फरक इच्छा, चाहना र उद्धेश्यहरु छन् । सबै दृश्यहरुलाई नियालेर हेरिरहेको छु । हरेकका आ–आफ्नै धुन छन् । अब यो शहर पहाडको त्यो गाउँ जहाँ म जन्मेको थिए त्यस्तो छैन, समाजले मान्छेलाई निर्देशित गर्न सक्दैन । सबै आआफ्नो इच्छाका मालिक छन् । मलाई लाग्यो, हाम्रो शहर निक्कै एडभान्स भएछ ? अब त पश्चिमा देश र युरोपको जीवनशैलीभन्दा हाम्रो शहरको जीवनशैलीमा के नै भिन्नता छ र ? जीवनलाई मान्छेले कसरी बुझेको छ । हरेकको जीवनदर्शन समान हुँदैन तर पनि जीवनका भोगाइमा केही न केही समनाता भने अवश्य हुन्छ, प्राकृतिक नियमको समानता र मान्छे हुनुमा गर्वको समानता ।

मलाई कथाको विषय चाहिएको छ । यो रेष्टुरेण्ट मेरा लागि कथाको भण्डार बनेको छ । हरेक घण्टा यहाँ पात्र फेरिन्छन्, नयाँ कथाको पटाक्षेप हुन्छ । मैले कफिको चुस्की लिइरहेको छु । मेरा कथाका सबै पात्रहरु फेरिएका छन् । कुनाको क्याविन चालीसकी हाराहारीको अधबैसे महिला र तीसको हाराहारीको युवकको भागमा परेको छ । महिला संभ्रान्त परिवारकी जस्तै देखिन्छे । उसको पहिरन र चालढाल हेर्दा उच्च वर्गकै हुनुपर्छ । हुन त मान्छेलाई पहिरनले मात्र ठम्याउन सकिँदैन । दुवै निक्कै छिल्लिएका झै देखिन्छन् । महिलाले युवकको गालामा टोकेको दृश्य मेरा आँखाले छल्न सकेनन् । झण्डै वीस पच्चिस जना ग्राहक रहेको यो सार्वजनिक ठाउँमा महिलाको क्रिया थियो त्यो । घरि अंगालो हाल्छन् त घरि कटि प्रदेशमा हात पु¥याउँछन् । उनीहरुलाई लागेको छ, त्यहाँ रहेका कुनै पनि मान्छेले त्यो क्रिया देखेका छैनन् । त्यहाँ उपस्थित सबैलाई उनीहरुको हरकत अलि बढी नै लागेको छ सायद । कसैले मुख बिगारेका छन् । कसैले जिव्रो टोकेका छन् । झण्डै दश बाह्र बर्षको अन्तरका यी युगल के श्रीमान् श्रीमती नै होलान् त ? मनमा जिज्ञासा उत्पन्न हुन्छ । श्रीमान् श्रीमती भएको भए त छिल्लिने र मस्किने वातावरण घरमै मिल्थ्यो होला । यसरी रेष्टुरेण्टमा आएर गर्नुको के अर्थ ? अन्तरमनले मलाई कोट्याउँछ । मनले निष्कर्ष दिन्छ, यी जोडी पनि श्रीमान् श्रीमती हुन सक्दैनन् । त्यहाँ युवकभन्दा महिला बढी उत्तेजित देखिन्छे । उसको हाउभाउ र कटाक्ष अलि बढी नै हेर्न लायक छ । हुन त मेरो पुरुष आँखाले त्यस्तो देखेको पनि हुन सक्छ ।

Ad

सँगैको टेवुलमा पनि पात्र फेरिन्छन् । एउटी अत्यन्तै सुन्दर महिला र हब्सीजस्तो देखिने पुरुष टेवुललाई आफ्नो बसाइका लागि रोज्छन् । महिला अत्यन्तै गम्भिर छिन् । उनमा न कुनै उत्साह छ न कुनै रसरङ्ग छ । हेर्दा लाग्छ, अत्यन्तै निरस छिन् । उनको मुहारमा त्यहाँको परिवेशले रमाइलो छर्न सकेको छैन । कालो पुरुष रिसाह पाराको देखिन्छ । वोलीमा पनि मिठास छैन । वेटरलाई बोलाउंदाको कर्कश स्वर मेरो कानैबाट ठोक्किएर गएको छ । उनीहरुको यो जोडी खै के जोडी पत्याउनै गाह्रो पर्ने । पुरुषको सानो तर रोविलो स्वर सुनिन्छ, “ए ! किन चुप ?के नाटक गरेको ?” उसको यो क्रियाबाट मैले अनुमान लगाएँ, युवती पुरुषसँग सन्तुष्ट छैन । कुनै बाध्यताको सिकार भएकी छे । यो रेष्टुरेण्टसम्म आउनु पनि सायद उसको बाध्यता हो । पुरुष मदिरापान गर्ने तरखरमा छ । महिलाले भने मदिरा खान मानिरहेकी छैन । तर पुरुषले कर गरिरहेको छ ।

“खा न खा के को नखरा गरेको” ? पुरुषले कर गर्छ ।

“नाइ, मलाइ मन पदैन”, नाक खुम्च्याउँदै महिला पन्छिन खोज्छिन् ।

“यो नखाए के को रमाइलो ?” पुरुष रोमिाण्टिक हुन खोज्छ । त्यहाँ एक किसिमको असहज वातावरण देखिन्छ । महिला कत्ति पनि खुशी छैन । सबै चिज पुरुषकै करवलले भैरहेको छ ।

यो कस्तो रमाइलो हो जहाँ दुई मनहरु मिलेका छैनन् । महिलामा के बाध्यता छ, जसले पुरुषको हरेक आज्ञाको पालना गर्नु पर्नेछ । आज मैले हेरेका हरेक दृश्यमा कहिँकतै पनि समानता छैन । कहिं महिलाले आफ्नो अस्मिता लिलाम गर्न उद्धत देखिन्छन् भने कहि पुरुष आफ्नो लिगबाट हटेका भेटिन्छन् । समाजको नियमभन्दा फरक विचलित । यस ठाउँमा धेरै स्वभावहरु देखिए सबैका अभिरुचिहरु बीचमा कत्ति पनि समानता छैन ।

रेष्टुरेण्टका हरेक टेवलहरुले फरक फरक अभिरुची र फरक फरक पात्रहरुको स्वागत गरिरहेका छन् । केही क्षण अघिका व्यक्तिको अभिरुचि फेरि आउने नयाँ ग्राहकसँग मेल खाँदैन । यहाँ पात्र फेरिन्छन् । सन्तुष्टि फेरिन्छ र अभिरुची फेरिन्छ । ओहो, कस्तो संसारको संरचना ? मैले झण्डै तीन कप कफी तुरिसकेको छु । मेरो मोवाइलमा धेरै पटक घण्टी बजेको छ । मलाई वास्ता छैन, म कथाको विषयवस्तुमा लीन छु । घडीले एघार बजाइसकेको छ । अब रेष्टुरेण्टमा क्रमशः ग्राहकको उपस्थिती पातलिदैं छ । पात्रहरु क्रमशः रेष्टुरेण्टबाट बाहिरिदै छन् । म पनि उनीहरु जाँदै गरेको बाटो हेरिरहेको छु । मेरा आँखा अघिको पुरुष र महिलामाथि पर्छन् । उनीहरु रेष्टुरेण्टको आँगनमा उभिएका छन् । दुवैका बीचमा अझै पनि मन मिलेको छैन । नजीकै ट्याक्सीले उनीहरुलाई कुरिरहेको छ । महिला ट्याक्सीमा बस्न आनाकानी गरिरहेकी छे । उनीहरुको यो क्रियालाई नियालेर हेर्दै अर्को जोडी पनि बाहिरिएको छ । सबै पात्र बाहिरिएसँगै म पनि गन्तब्यका लागि रेष्टुरेण्टबाट बाहिरिन्छु । मनमा रङ्गहरुको शहर र शहरका रोमाञ्चक पात्रहरुको क्रिया प्रक्रिया सजिव राख्दै अघि बढ्छु । मेरो बाइक रातको सुनसान सडकलाई चिर्दै कुदिरहेको छ । मलाई म बस्ने भाडाको कोठाले प्रतीक्षा गरिरहेको छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button