
भीमेश्वरको मेला, भेट भएको बेला
गीत गाथा
अशोक सिलवाल
फिल्म ‘के घर के डेरा’ बन्ने सुरसारमा रहेछ । ‘भीमेश्वरको मेला, भेट भएको बेला’ भन्ने गीत कम्पोज भएछ ।
‘मेल सिंगर त कुमार बस्नेत भइहाल्नु भयो । फिमेल सिंगर को राख्ने ? त्यति बेला त तारादेवी दिदी, अरुणा लामा दिदी, तारा थापा, मीरा राणालगायत थुप्रै थिए’, भन्दै थिइन्, ‘तर, त्यहाँ सबैले मेरो नाम प्रस्ताव गरेछन्, ज्ञानु राणाले नै राम्रो गाउनु हुन्छ । उहाँको भ्वाइसमा लोकगीतको फ्लेवर एकदम राम्रो आउँछ ।’
राणालाई फोन आयो । फिल्म स्टुडियो पुगिन् । उनलाई गीत सुनाइयो । फिल्मसम्बद्ध प्रदीप रिमालले भने रे, ‘प्रविधी (स्टुडियो)को हिसाबले चलचित्रका लागि गीत गाउन यहाँ हामी समर्थ छैनौं । कलकत्ता जानुपर्छ ।’
तारा थापा, दीपक खरेल, शम्भुजीत बास्कोटा, कुमार बस्नेत, प्रदीप रिमाललगायत उनीहरू रक्सौलबाट रेलमा कलकत्ता गए ।
पहिलो दिन नै कुमार बस्नेत र उनको रेकर्डिङ थियो, ‘भीमेश्वरको मेला, भेट भएको बेला ।’
रेकर्डिङ सुरु भयो । गीत सुनेर बंगालीहरूसमेत निकै प्रभावित भए रे ।
‘खुब भालु गाना गाछे । अप्ना कन्ठी खुब भालु’, त्यसरी उनीहरूले ज्ञानुको प्रशंसा गरे ।
तीन टेकमै त्यो गीत ओके भएछ ।
ओमविक्रम विष्ट पनि संगै गएका थिए रे । उनले पनि एउटा गीत गाएका थिए, ‘को हो त्यो, जसले मलाई … ।’
दीपक खरेल र तारा थापाको चाहिँ ड्वेट थियो । उनीहरू सात दिनमा फर्के । दुई महिनापछि फिल्म सुरु भयो । सबभन्दा हिट गीत त्यही भयो, ‘भीमेश्वरको मेला, भेट भएको बेला ।’

त्यति बेला उनी जुन गीतमा स्वर दिन्थिन्, त्यही गीत हिट भइहाल्थ्यो । त्यो उनको समय थियो । कतिसम्म भने उनको स्वरमा बज्ने विज्ञापन समेत हिट थिए । उनको पपुलारिटी क्लाइमेक्समा थियो र रातबिरात घर फर्किनु पथ्र्यो । तर, परिवारलाई त्यो त्यतिविधि मन पर्थेन ।
‘राष्ट्रको निधी जस्तै भइसक्नुभएको थियो नि तपाईं’, प्रशंसा सुनेर उनले प्रतिकृया दिइन्, ‘तैपनि रिसाउने । त्यो बानी नै परिसकेको थियो । म राणा परिवारकी सदस्य थिएँ ।’
‘घरतिर आउँदा तपाई घिसारिएर आउनु हुन्थ्यो । जाँदाको जस्तो पखेटा हुन्थेन तपाईंको । बाहिर जाँदा त तपाईं मुक्त भएर हिँड्नु हुन्थ्यो’, मेरो भनाईमा उनले थपिन्, ‘आउँदा त डराउँदै आउँथे । डर र त्रासको भारी हुन्थ्यो मसँग, घर पुगेपछि के के गाली खानुपर्ने हो ? के के हुनुपर्ने हो ?’
‘घर आउँदा हत्तारिएर, हुत्तिएर र बतासिएर आउने मन हुन्थेन ?’
‘हुन्थेन ।’
‘तपाईंको मनको मन्दिर, आत्माको मन्दिर र गीतको मन्दिर घरबाहिर थियो । तर घरमा गीतको वातावरण थिएन ?’
‘हो ।’
‘अनि घरमा रेगुलर रियाज गर्नु हुन्थेन ?’
‘रेगुलर हुन्थेन । लुकेर कहिलेकाहीँ गर्थें । मेरो बुवाको घरमा हार्मोनियम थियो, बेला बेला म त्यहाँ जान्थें । र, रियाज गर्थें ।’
‘तपाईंले बिहे गरेर आएपछि हार्मोनियममा कहिल्यै पनि रियाज गर्नुभएन ?’
‘पछि बुवाको हार्मोनियम आफ्नो घरमा ल्याएपछि चाहिँ रियाज गरें । बुवाले भन्नुभयो, मेरो हार्मोनियम लैजाउ । हार्मोनियम ल्याएँ र बिहान अरु कोही उठ्नुअधि नै मैले रियाज सकाइसक्थें । दिउँसो त मेरो चान्सै थिएन ।’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)