
सुपरहिट गीतको सुपरस्याड स्टोरी
गीत गाथा
अशोक सिलवाल
‘तपाईंको अर्को सर्वाधिक प्रिय गीत छ’, भनें, ‘कसैले बुझेन मेरो मनको बहलाई ।’ ‘हो’, गायिका ज्ञानु राणाले भनिन् ।
‘त्यो गीतको कथा सुनौं न’, मैले आग्रह गरें ।
‘मेरा हर गीत पपुलर भइरहेका थिए । पपुलारिटीको पारो चुलीमा थियो । त्यति बेला म गायिकाको रुपमा भर्खरै नेपाल एकेडेमीमा ज्वाइन भएको थिएँ । तलब २ सय ५० रुपियाँ थियो । एक दिन विनोद ढकाल भन्ने भाई मलाई भेट्न आयो । भर्खरको केटो थियो ऊ । त्यस्तै २७–२८ बर्षको’, उनले सम्झिइन् ।
‘दिदी एउटा कुरा भनौं ?’
‘भन्नुस्न ?’
‘मेरो एउटा गीत गाइदिनुस्न तपाईंले । प्लिज !’
‘भाइले गीत लेख्नु हुन्छ ?’
‘हजुर । संगीत भर्न मैले शम्भुजीत बास्कोटा दाईलाई दिएको छु । तपाईंले गाइदिनुस्न ।’
‘हुन्छ भाई । तिम्रो गीत गाउन म सक्दो प्रयास गर्छु है ।’
‘जसरी पनि गाइदिनुस् है ।’
बिन्ती र आशा मिसाएर आफ्नो गीत गाइदिन आग्रह गरेर हिँडेको ऊ भक्तपुरको सल्लाघारी जाँदै गर्दा सडकमा सुकाएको गौँको छुवालीमा मोटरसाइकल चिप्लेर भएको र्दुघटनामा परेर मरेछ ।
अर्को दिन एकेडेमी पुग्नेबित्तिकै त्यो खराब खबर थाहा पाउँदा उनी शुन्य भइन् । उनलाई एकदमै थकथक लाग्यो । शम्भुजीतलाई पनि त्यस्तै लागेछ ।
‘विनोद त मरेर गयो । उसका गीत गाइदिनु प-यो । त्यसो गरे उसको आत्माले शान्ति पाउँछ’, शम्भुजीतले त्यसो भनेपछि उनले रेडियो नेपालकै स्टुडियोमा स्व. विनोद ढकालकृत गीत रेकर्ड गराइन्, ‘कसैले बुझेन मेरो मनको बहलाई ।’
त्यो गीत पनि सुपरहिट भयो ।
‘त्यो गीत गाउँदा तपाईंलाई कस्तो भएको थियो ?’, मैले सोधें ।
‘मैले त्यो भाइको गीत गाइरहेको छु । उसको आत्माले शान्ति पाओस् । उसको यो गीत राम्रो होस् । उसको इच्छा पुरा होस् । त्यो सम्झेर मैले गाएको थिएँ’, उनले थपिन्, ‘गीतमात्र होइन, त्यो गीतले त्यो भाई पनि सुपरहिट भयो । त्यो भाइ भइदिएको भए कति खुशी हुन्थ्यो होला । उसको सुपरहिट गीत उसैले सुन्न पाएन । उसको गीत सुपरहिट भएको उसैले थाहा पाएन ।’
आजसम्म पनि स्टेजमा गयो भने दर्शकहरू रिक्वेस्ट गर्छन् रे, ‘कसैले बुझेन मेरो मनको बहलाई ।’
भन्दै थिइन्, ‘उसका दुई तीनओटा गीत छन् । एउटा भक्तराजजीले पनि गाउनु भएको छ । एउटा मैले गाएँ ।’
विनोदलाई सम्झेर साह्रै ‘अफ मुड’मा त्यो गीत गाएकी थिइन् तर गीतको शब्द अनुसार उनको ‘मुड अफ’ पनि म्याचिङ थियो ।
‘घरमा पनि’, उनी भन्दै थिइन्, ‘मेरो बह कसैले नबुझ्ने के । एक पटक मलाई गीत बौलाहासम्म भनियो ।’

आफुलाई परिवारले नबुझ्दाको पीडा अनि विनोदको आत्माको शान्तिको कामना त्यो गीतमा मिसिएको थियो । मिसिएको थियो, एउटा खालीपन र आफुलाई आफ्नाले नै नबुझेको स्थितिको बह ।
विनोदको आत्मालाई चढाइएको उसैको गीत थियो त्यो । त्यो एउटा शोकधुन थियो । आत्मालाई चढाइएको आँशुको स्वर थियो ।
उसको मृत्यु । ऊसँगको एकमात्र भेट । गीत गाइदिन गरेको उसको विनित आग्रह । स्टुडियोमा ती सबले उनी एकसाथ घेरिएकी थिइन् ।
‘जीवनभर एउटा रिक्तता र खल्लोपन रहिरह्यो । जब त्यो गीत कतै बज्छ, जब त्यो गीत सम्झन्छु, मलाई एउटा एकतमासको भावना आइहाल्छ’, उनले भनिन्, ‘विनोदको असमायिक मृत्यु नभइदिएको भए उसको गीत त्यति सघन हुन्थ्यो वा हुन्थेन ? त्यति बेला गाइन्थ्यो वा गाइन्थेन वा कहिल्यै पनि गाइदैन थियो, यसै भन्न सक्दिन । त्यो त भगवान जाने । तर, मैले त्यो गीत गहिरो रेस्पेक्टले गाएँ ।’
पटक पटक उनले विनादसँगको भेटको कुरा दोहाराइन् ।
‘यस्तो पनि भयो’, विस्मयको स्वरमा भन्दै थिइन्, ‘यस्ता अनेक काण्ड छन् मेरा जीवनमा । र, तिनै पृष्ठभुमिमा जो गीतहरू गाएँ, ती कालजयी भए । सदाबहार भए । अस्ति म रेडियो नेपाल गएको थिएँ, यत्तिका बर्षपछि पनि त्यो गीतको फर्माइस आइरहेको रहेछ ।’
उनको कुराले मनमा रेडियो नेपालबारे एउटा धारणा बन्यो, ‘पहिले रेडियो नेपाल घरघरै बज्थ्यो । अहिले रेडियो नेपाल सुन्न रेडियो नेपाल नै पुग्नु पर्ने भएछ ।’
शम्भुजीतले भन्ने गर्छन् रे, ‘मेरो संगीतमा तिमीले गाएको त्यो गीत त अजरअमरै भयो ।’ तर, उनले ‘हिरा के हो चिन्नलाई यो पारखीलाई सोध’ भन्ने गीत पनि शम्भुजीतकै संगीतमा गाएकी थिइन् । ड्वेट गायनको लागि रमेश ताम्राकारले उनको स्वरकोे प्रशंसा गर्दै गीतको लागि अनुरोध गरेका थिए रे ।
त्यसपछि उनले शुम्भुजीतकै संगीतमा ‘तिम्रो तस्विर मात्र हेरी कति दिन बिताइदिएँ, तिम्रा ओठ चुम्ने रहर रहरमै बिताइदिएँ’ पनि गाएकी थिइन् । उनलाई लाग्छ, त्यो गीत पनि ‘कसैले बुझेन मेरो बहलाई’ कै लेभलमा छ । तर, त्यो गीत त्यति हाइलाइट भएन रे ।
‘गीत पनि आफ्नै भाग्य लिएर आउँदो रहेछ’, मैले भनें ।
‘हा हा हा’, उनी निकै बेरसम्म हाँसिरहिन् र अन्तिममा भनिन्, ‘सही भन्नुभयो ।’
‘कहिलेकाँही यस्तो पनि हुन्छ, तपाईंले अन्तरह्दयबाट गाउनु भएको हुन्छ । तपाई आफ्नो गायनबाट सन्तुष्ट पनि हुनुहुन्छ । तर, स्रोतामाझ गीतले गति लिदैन’, मैले व्याख्या गरें ।
‘हो । सही भन्नुभयो’, उनले फेरि सही थपिन् ।
‘समाजको साइकोलोजी कहाँनेर पुग्या’ छ ? समाज कतातिर गइरहेको छ ? समाजमा कति हिँसा वा अव्यवस्था छ ? अथवा कति रोमान्टिक भइरहेको छ समाज ? भन्ने चीजसँग पनि जोडिदो रहेछ गीतको सफलता वा असफलता’, मैले थप भनें ।
‘हो, हो । सही भन्नुभयो तपाईंले । गीतले पनि आ–आफ्नो बाटो लिएर आएको हुँदोरहेछ’, उनले भनिन्, ‘जब मैले नारायणगोपाल दाइसँग गाएँ नि, रातभर निद्रा लागेन । खुशी लागेर के ।’
गोपाल योञ्जनसँग गाएपछि पनि राती १२ बजेसम्म उनका आँखा अनिदै रहे रे । ‘कत्ति राम्रो गीत गाएँ है भन्ने लागेर निद्रा लागेन’, भन्दै थिइन्, ‘धेरै खुशी भयो भने पनि निद्रा लाग्दो रहेनछ । धेरै दिनसम्म मलाई त्यस्तो भयो । धेरै गीत गाएँ तर कुनै कुनै गीत गाएपछि त्यस्तो भएको थियो ।’
‘धुनहरू चौबिसै घन्टा दिमागमा गुञ्जिरहने’, उनले थपिन्, ‘रेडियोमा रेकर्ड गरेर फर्केपछि राती सुतेको बेला त्यो धुन यत्ति आउँछ कि के भनौं ! म चुपचाप सुतिरहेको हुन्छु तर त्यो त आत्मामा गुञ्जेको गुञ्ज्यै गर्छ । पलपलको एक–एक धुन बारम्बार आइरहन्छ । यो के हो ? गाउनेलाई मात्र हो कि सबैलाई यस्तो हुन्छ ? मलाई थाहा छैन तर यो मलाई भएको कुरा हो । यस्तो मलाई धेरै भएको छ । यो संगीत भनेको यस्तो पो चीज रहेछ ।’
शम्भुजीत, दीप श्रेष्ठ, सुक्मित गुरुङहरू एकेडेमीमै थिए । भन्दै थिइन्, ‘हाम्रो त कामै गाउने हुन्थ्यो । डान्सहरू नियमितजसो हुन्थे । कहिले भोजपुरी डान्स । कहिले रोइला डान्स । कहिले पश्चिमे चुड्का डान्स । कहिले सेलो डान्स । अनेक डान्स हुन्थे । र, त्यसका लागि मैले गाउनु पथ्र्यो । म प्लेब्याकमै थिएँ । हरेक दिन हाम्रो रिहर्सल हुन्थ्यो । अनि प्रोग्रामको सिलसिलामा अधिकाँश जिल्लामा जानुपथ्र्यो । त्यो पनि गइयो ।’
‘पचहत्तरै जिल्ला पुग्नुभयो ?’
‘पुगें म त ।’
‘जागिरकै सिलसिलामा सही तर बुवाकै पदचाप पछ्याउनुभयो । होइन त ?’
‘मलाई एकेडेमीले पु-याइदियो । पुगें ।’
‘विरलै गायकगायिका होलान्, जो पचहत्तरै जिल्ला पुगेका हुन् ?’
‘एकेडेमीको प्रोग्राममा गएँ । कहीँ आफै त्यसै घुम्न गएँ ।’
‘परिवारबाट पनि वातावरण त्यसका लागि सहज थियो ?’
‘जागिरको सवाल थियो । जागिरबाट जानुपर्छ भनेपछि त जानै प-यो नि । कि त जागिर छाड्नुप-यो । जोमसोममा पनि हाम्रो प्रोग्राम भयो । तिब्बतको ल्हासा पनि गइयो । एकेडेमीबाट म नगएको त अमेरिका र इंग्ल्यान्डमात्र हो । जापान दुईचोटि गएँ । सिंगापुर, मलेसिया, रुसलगायत अधिकाँश देश गएँ’, त्यो उनको स्वरले भरेको उडान थियो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)