स्वामी धनेश्वरानन्द मागेर खान्छन्

कथाः स्वामीजी

गुरुदत्त ज्ञवाली
तिलोत्तमा १, रुपन्देही

“सुन्नु भो ? यसो घरको कामधन्दा पनि गर्ने हो कि त्यसै लख्रलख्र डुलेर हुन्च र भन्चु ?” धनेश्वरकी श्रीमतीले अझै पतिको कामको डण्डी बसेको नदेखेपछि गन्गनाउँदै भनिन् । “नकरा, भाग्य भएछ भने बेला आफै आउँच ।” धनेश्वरले श्रीमतीलाई ठाडो जवाफ दिएर घरबाट लुसुक्क निस्के । उनी कहाँ के काममा जान्छन् भन्ने कुरा श्रीमतीलाई खासै थाहा हुन्न ।

धनेश्वर, नामअनुसार धनेश्वर भएका त होइनन्, शुरुको अवस्था निर्धनेश्वर नै हो । टाकटुक दुई छाकको ब्यवस्था भएका । निर्वाहमुखी जीवन । त्यो पनि अलि बढी पसिना खल्काएपछि मात्र । उनी, देख्दा राम्रा र खाइलाग्दा हुन् । धेरै पढ्ने रहर हो तर के काकताली मिलेन कुन्नि ? पढाइ टाकनटुकन नै भयो । धेरै नपढेको हुनाले राम्रो जागिर पाउन सकेनन् । सानातिना जागिरमा आँखा गएनन् । घरको काममा डिल बसेन भन्छन्, खासै काम गर्ने बानी परेन । बाउआमाको एउटै सन्तान, त्यसमाथि छोरो । छोरो भनेपछि हुरुक्कै हुने सामाजिक संस्कार पनि त हो । त्यही बानी छ । जवानी अवस्थामा पनि त्यसै बाउँठिँदै हिँड्छन् ।

उनी धतङ्गिँदै हिँड्दा कुनै दलको पुच्छर बन्न पुगे । राजनीति बुझेर होइन, हुल्लड राजनीतिमा लागेर । पुच्छरे राजनीतिले ज्यान पाल्नेसम्म भए । नेता कार्यकर्ताको हुलमा मिसिएपछि खान पाइन्थ्यो । खास नेताका त माखा धपाउन पनि सकेनन् । कसैले पत्याएन । नेताका माखा धपाउन पनि त अलि हैसियत चाहिन्थ्यो होला । टपर्टुइँया भए । जब चुनावको बेला आयो । उनी लुसुक्क भागेर अर्को दलमा प्रवेश गरे । प्रवेश त के गर्नु थियो र ? भीडमा हेलिए । अनि जिन्दावाद र मुर्दावादको नारामा सामेल भए । त्यहाँ त झन् कसैले टेरपुच्छरै लगाएनन् । “साला भगौडा, भाते ।” यस्तै यस्तै गाली खाए । भनाभन हुँदा मुक्कामुक्की पनि भयो । मुक्का साहित्य पो पढे । कहिले त बेस्सरी कुटाइ खान्थे । त्यहाँ पनि माखा धपाउने हैसियतमै जान सकेनन् ।

हैरान भएर घरमा फर्के । घरमा बाआमाले त खासै गाली गर्दैनथे । एउटो छोरो, पुल्पुलिएको । श्रीमती भने, “पोइको टुप्पीमा समातेर रिँगाउने खालकी हुन् ।” यसो भन्छन् छिमेकीले । “काम गरेर खानु पर्छ ।” श्रीमतीको भनाइ ठीक हो । त्यो भनाइ धनेश्वरलाई पचेन । उनी फेरि भाउन्निए । घर छोडेर गए ।

यस पटक भने धनेश्वरको मन पोल्यो । उनको पुरानो घर पर्बतको कुर्घा हो । मावल पाङ । पछि बाउकै पहलमा बसाइ सरेर गैँडाकोटको विजय एफएमको आसपासमा बसे । अलि बर्ष त्यहीँ बसेपछि कूलकुटुम्ब चाहिन्छ भन्ने भएछ, रुपन्देहीको नयाँमील भन्ने ठाउँमा सरे । नयाँमीलमा सायद कुर्घेलीहरुको समाज छ ।

नयाँमीलकै कुरो हो यो, यो ठाउँ साविकको शङ्करनगर गाबिस ५ र हालको तिलोत्तमा न पा १ मा पर्छ । त्यसै सम्बन्धले उनी नयाँमीलबाट पर्बतको पाङ गए । मावल गए । पाङ शास्त्रीय शिक्षाको हिसाबले शिक्षित ठाउँ हो । ज्योतिष शिक्षामा त नामै चलेको ठाउँ । प्युठान, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, गोरखा, बाग्लुङ लगायत धेरै ठाउँबाट ज्योतिष पढ्ने जाने ठाउँ हो । भनिन्छ, “पाङका बाच्छा बाच्छीले पनि ज्योतिष पढेका हुन्छन् ।”

धनेश्वर बाउको सल्लाहमा ज्योतिष पढ्न गए । त्यहाँ गएपछि मावली हजुरबाको संगतले छ महिनामा टाकनटुकन पात्रो हेर्न र राशीफल पढ्न सिके । पात्रो हेर्न सिक्नु पनि चानचुने मेहनतले पुग्दैन । हजुरबाले, “अझ छ महिना पढ् नाति, तेरो दिमाग तेज छ, चिना हेर्ने हुन्छस् ।” भनेका हुन् । धनेश्वरको धैर्यताको बाँध भत्क्यो क्या र ? त्यत्तिको पढेपछि जान्ने भइयो भन्ने लागेछ । अब त के चाहियो र ? उनी ज्योतिष बने, स्वघोषित ज्योतिष ।

पाङबाट फर्केर सरासर घरमा आए, नयाँमील । पाङमा पढेको भनेपछि समाजले पनि सुल्टो नजरले हेर्न थाल्यो । क्रमशः घरमा चिना हेराउनेको भीड लाग्न थाल्यो । त्यो क्रम अलि बर्ष चल्यो । त्यही अलिबर्षमा उनी साँच्चैको धनेश्वर बने । पैसा कमाए भनौँ । बिहे भएकै थियो । छोराछोरी जन्मे, हुर्के । श्रीमतीले काम गरेर खानु पर्छ भनेकी मात्र हुन् पहिले । अब त्यसो भन्नु पर्ने अवस्था रहेन । धनेश्वरको नजरमा श्रीमती पनि लच्छिनकी लाग्न थालिन् ।

चिना हेराउनेमा धेरैजसो महिला नै हुन्थे । अन्य पुरुषहरु पनि मध्यम चेतनाका बढी हुन्थे । धेरैजसोको चाहना छोराछोरीको बिहे कहिले हुन्छ ? बुढाको भिसा कहिलेसम्म लाग्छ ? मेरो लभरले बिहे गर्छ कि छोड्छ ? पेटको बच्चा कसको जिम्मामा लगाउँ ? दुकान खोल्ने साइत कहिलेलाई छ ? किन काममा जाँगर लाग्दैन ? ग्रहदशा कहिलेबाट सोझिन्छन् ? यस्ता अनेक प्रश्न हुन्थे । ती सबै कुरा न चिनामा लेखिएका हुन्छन् न त धेरै गिदी पगाल्नु पर्छ । ग्राहकहरुको चिना होइन मुख हेरेर अड्कल गर्ने कुरा पनि हुन् । धनेश्वर त्यस्ता कुरामा सिपालु हुन् । ट्याक–ट्याक्ति भन्न सक्ने । खास गरेर गुपचुपका कुरामा अलि पैसो पनि झथ्र्यो । उनी सफल देखिए ।

एक दिन चिना हेर्ने क्रममा एउटी बल बैंस भएकी युवतीसंग धनेश्वर नजिक भए । संयोग, त्यो दिन छड्के कुराको भेउ पाउने अरु ग्राहक थिएनन् । सिधासादा ग्राहक आफ्नो कुरा राखे । मन बुझाए भनौँ र फर्के । ती महिलासंग साना भाइबहिनी थिए । उनीहरुले गहिरा कुरा बुझेनन् । युवतीले मन फुकाएर प्रश्न राखिन् । धनेश्वरले उनको मनको भाव बुझेर जवाफ दिए ।

शुरुमा दुबैजनाको मन सोझै थियो । कुरा पनि सोझै भए । एकाएक धनेश्वरले “मैयाँको बिहे भा’छैन ?” भनेर सोधे । युवतीलाई मैयाँ भनेर गरेको सम्बोधनले झ्याप्पै लट्ठ्याएछ । आँखाले एकपटक भुइँतिर हेरिन् । र, पुर्लुक्क धनेश्वरको मुखमा हेरिन् । “भ’छैन” युवतीले लज्जालु पाराले जवाफ दिइन् । राम्री र नरम स्वभावकी थिइन् । उनीहरुका कामुक आँखा जुधे । जुधेका जुध्यै भए । लामो गफ भयो । मजाक मजाकमै शुरु भएको कुरो अन्ततः ती आँखा जुधाइले उनीहरु बिहे गर्ने चरणमा पुगे । दोहोरी गीतमा फसेको पिरति जस्तो पनि भएन । कहाँको धनेश्वरको पारिवारिक जञ्जाल, युवतीको घरको हालत कस्तो हो ? नाटक खेल्दा पनि तामझाम मिलाउनु पर्छ । तर, उनीहरुको कुरो मिल्यो ।

Ad

मगरकी छोरी, हङकङको आइडी भएकी हुनाले धनेश्वरको मन लोभिएको हुनुपर्छ । युवतीको घरतिर कसरी कुरो मिल्यो थाहा भएन । कुरो मिलेछ । अलि महिना कुरो गुपचुपमै रह्यो । धनेश्वरकी श्रीमतीले त बिचरा सन्धगन्ध पाइनन् । अरु समाजले पनि सुइँको पाउन सकेन । पछि सरकारी कानून वा लेखापढी मिलाएर ती युवतीले धनेश्वरलाई हङकङ तानिन् । वडा अध्यक्षले चासो राखेका त हुन् तर कताबाट मेसो मिलाए, थाहा भएन । तब मात्र समाजमा राइँराइँ भयो । धनेश्वरको घरमा पनि खबर पुग्यो । धनेश्वरले, “हङकङ जानलाई नक्कली बिहे गरेको हो” भनेछन् । समाजमा यदाकदा त्यस्तो गरेको पनि पाइन्छ । धनको मोह, धनेश्वरले धन कुम्ल्याउने भए भन्ने पनि त परेको होला ?

धनेश्वर, एउटै सन्तान हुन्, त्यसमा पनि छोरो । आधुनिक समाजका आदर्शका कुरा एकैछिन पन्छाएर हेर्दा छोरा र छोरीमा कतै न कतै विभेद छ । हामीकहाँ अलि बढी छ अझ । एउटै सन्तान, त्यो हालतमा, धनेश्वरका बाले त्यो पीडा सहन सकेनन् । उनी बिभन्निए । सिल्ली भए । डाँको छोडेरै रोए । उनलाई संस्कारको पीडाले त गाल्यो नै, छोराले बिठ्याइँ गरेको भेउ पाए । त्यस पीडाले अझ बढी गाल्यो । समाज तमासे बन्यो । नरुनुस् त भन्यो, भन्यो हिँड्यो । छोराछोरी नाबालक नै थिए, अवाक भए । श्रीमतीको आक्रोश बढ्यो । कराइन्, रोइन् । भाग्यमाथि भारी बिसाएर मन थामिन् । अलि दिनमा छोराछोरीको मुख हेरेर चित्त बुझाइन् । धनेश्वरकी आमा भने रोइनन् । उनले, “ मर्दको छोरो, परदेशमा पौरख गएको छ आउँछ ।” भनिन् । छोरालाई सरापिनन् ।

बाको मानसिक बिचलन भएछ, सिकिस्त बिरामी भए । बिस्तरामै परे । एकदिनको बिहानपख, “हजुरबा उठ्नुस् ।” ठूलो नातिले मीठो स्वर बोलायो । उसको मनमा हजुरबाले पीर मानेर बिरामी भएको कुरा अड्कल काट्यो । हजुरबाले शुरुमा नातिले बोलाएको कुरो पत्याएनन् । सपना जस्तै मानेछन् क्यार ? नातिले नजिकै गएर फेरि बोलायो । उनी सुस्तरी उठे । उनको आँखाका कोशमा आँशुका ढिका टिल्पिलाएका थिए । नातिले हजुरबाका आँशु पुछिदिँदै भन्यो, “अब नरुनुस् हजुरबा, म छु नि ।” हजुरबाको गहभरि हर्षाश्रु र ओँठमा मुस्कान एकैचोटी छचल्कियो । “नाति केटो औषधि पो बन्यो ।” मनमनै गमे । अनि नातिको गालामा च्याप्प समातेर चिमोटेको जस्तो गरे र त्यही हात आफ्नो मुखमा लगेर च्वाप्प चुम्बन गरे ।

धनेश्वर ज्योतिष भएपछि शाकाहारी बनेका हुन् । अलिदिन आडम्बरी शाकाहारी बने । पछि त बानी नै परेछ, पक्का शाकाहारी बने । कान्छी श्रीमतीको सङ्गतमा परेपछि खानपीन तथा अरु रहनसहन पटक्कै मेल खाएन । मगर संस्कृति त्यसै भिन्न, कान्छी अझै भिन्न । लवाइ, खवाइ, डुलाइ धेरै कुरामा मेल खाएन । यहाँसम्म त ठिकै हो भनेर मान्दा पनि हुन्थ्यो होला, आपसमा लसपस नै हुन सकेन । “न ब्याउती न गहुँत ।”

हङकङ पुगेपछि पनि धनेश्वरले ज्योतिषी पेशा अँगाले । नेपाली समाजमा फेला पारेछन् । पैसा पनि गजक्कै कमाए तर आम्दानीको स्रोत बैध भएन । त्यसैले कान्छीको जिम्मामा दिए । पहिरन, खानपान र अरु ब्यवहारमा उनी ब्राह्मण संस्कारमा रहे । “अलि आधुनिक बन्नु नि !” कान्छीले भनेकी हुन् । हङकङका लाहुरे, त्यसमाथि मगर संस्कार । मगर परिवारमा बाहुन घरज्वाइँ । अझ कान्छीले धनेश्वरकै सामुन्नेमा मदिरापान गर्छिन् ।

अन्ततः उनीहरुको बिछोड भयो । त्यो बिहे छ महिना टिकेन । हुन सक्छ, धनेश्वर पनि थोरै आधुनिक बन्नु पर्दो हो । बन्न सकेनन् । कान्छीले पनि त बाहुनलाई पति मानेपछि पतिको मर्म बुझ्नु पर्ने थियो । टेरिनन् । बिछोड त भयो तर छनकले धनेश्वरको नेपालमा भएको आधा सम्पत्ती जाने भयो । र, उनले हङकङमा कमाएको नगद पनि गयो । कान्छीले नेपाल आएर अंश लिइन्, कानूनले अंश दिलाएरै छाड्यो । र, उनी आफ्नो बाटो तताइन् ।

अनि मात्र धनेश्वर थुर्मी जत्रो मुख लिएर घरमा पसे । उनी अचेल अलि जिम्मेवार पनि भएका छन् भन्ने अनुमान हो । घरमा आए पनि जेठी श्रीमतीले टेरिनन्, पत्याइनन्, स्वीकारै गरिनन् । “बैँश थाम्न नसकेर आँखा जुधेको भराँ क्याकन महारानी बनाउँछु भनेर उसको पछि हेल्लियौ । अहिले सुनको भाउभन्दा महङ्गो, मुटु जस्तो घडेरी चरर्रर चिरेर दिन परो । फोक्कैमा फक्लक्क सम्पत्ति चिरेर दिएपछि कसको मन पोल्दैन ।” श्रीमती जङ्गिइन् । तै कान्छीलाई अंश दिँदा बाआमा, जेठी श्रीमती र उनका छोराछोरी एवं स्वयम् धनेश्वरको समेत अंश लगाइएको थियो । समाजले जग्गाको मूल्याङ्कन मालपोत कार्यालयले निर्धारण गरेको दरमा गरेर चलाखी गरे । कान्छीले टाकटुक गरेर नगदै बुझिन् ।

श्रीमतीले धनेश्वरलाई घरमा पाइलो हाल्नै दिइनन् । थुकिन् । “झुण्डिएर मर” भनिन् । बाआमाले पनि कुनै चासो राखेनन् । अहिले बाआमाको मानसिक अवस्था छोराको बिषयमा चासो राख्ने हैसियत समेत छैन । सबै ब्यवहार बुहारीको हातमा छ । समाज पनि बुहारीकै पक्षमा छ । धनेश्वर लखबन्धमा परे । बाटे ज्योतिष पनि बनेनन् ।

त्यही रनाहामा फनक्क फर्केर हिँडेका उनी, अलि दिन बेपत्ता भए । समाजको नजरमा हराए । कसको संगतमा परे कुन्नि ? अचेल उनी उही धनेश्वर छैनन् । एकाएक गेरु वस्त्र धारण गरे । स्वामी भएका भयै भए । स्वामी धनेश्वरानन्द । मागेर खान्छन् । बस्ने ठरठेगान छैन । सबैले स्वामीजी भन्छन् । उनको मनमा रहेको डहनको आगो निभेको छैन तर आवरणमा शान्ति शान्ति भन्छन् । मानौँ उनले साढेसातीको शान्ति जप गर्दैछन् । शान्ति, उनकी जेठी श्रीमतीको नाम पनि हो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button