जमरा जस्तै हुनु, सजाउनु सबैको शिर

कविताः शरदको खुसी

ऋषभदेव घिमिरे

प्रिय शरद
तिमी असँख्य आशिषका थुँगा भएर आऊ
मेरै वासन्ती वागमा फुलेर रमाऊ
र, भर सबैमा इन्द्रेनी रङ ।

तिमी परिवर्तित ऋतु
उन्नतिको बाली
तिमी नै हौ उज्यालो शारदीय दशैं ।

रागिनी तालमा रचेका स्तुति गानमा रमाउँदै
म गाउँछु समयको मालश्री धुन
बजाउँछु जीवनको विणा
पिङको लठारोमा बाधेर पुर्खाको संस्कार
कवच, अर्गला र किलकका मन्त्रोच्चरणले
पुलकित बनाउँदै मनको सुन्दर आँगनमा
फुलाउँछु जमरामा खुसी
प्रिय शारदा तिमी
जमरा जस्तै हुनु
सजाउनु सबैको शिर
र, बचाउनु मानिसको जीवन ।

नवपत्रिकामा बाधेर सगुन
रोप्नु मनको बगैचामा
कहिल्यै नवैलने बज्रदन्ती वृक्ष
भगाउनु हलेदोले रोग
गलामा धारण गरेर तोरण
हटाउनु दुख र भोकहरू ।

गरेर शारदाको पुजा
अञ्जुली भरि थाप्नु
जननीको असंख्य आशिर्वाद
गहिरो पीडाका कालरात्रिमा पनि
मनाउनु नौरथा
शरदकी शारदाले ल्याउने
नव उमङमा रमाएर मनाउनु
देश, विदेश र परदेशमा दशैं
सम्झेर आमा, बा र मान्यजन
लगाउनु भगवतीको प्रसाद ।

एउटै कामना छ
यहि दशैंदेखि भगाउनु
आफुभित्रको महिषासुर
षोडशोपचारको पुजाले
विनष्ट पार्नु रोगहरू
आराधना गरेर अपराजिता
जित्नु कर्मको युद्ध
सजिएको हेर्नू
सबैको ओठमा दही र अक्षता ।

सतत कामना छ मेरो
दिनहीनहरूको घरमा
पाकुन् दशैको परिकार
हेर्नुछ नाङ्गा आङहरूमा दशैंको पहिरन
हे शारदे १
तिमी सबैको आँगनमा
खुसीको दशैं भएर आउनु
र, पोतिदिनु मुहारमा
कहिल्यै नमेटिने शारदी शोभा ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button