
बुद्धको सन्देश झुटो ठहरियो !
कविता
रतन साउँद
नारा र जूलूसले क्रान्ति सुरु गरायो,
देव देवल अनि मठ मन्दिरहरु भत्काउन लगायो ।
दलित, जनजाति र पिछ्डा वर्ग कहलायो,
तिन्कै काँधमा चढी आफू माथि उक्लने सिँडी बनायो ।
निरंकुशतन्त्र भनी राजतन्त्र बिस्थापित बनायो,
हजारौ एक्से एक छोटे राजा हरुलाई स्थापित गरायो ।
सामाजिक मुल्य र मान्यताको अन्त्य गरायो,
सामन्तबाद, पूँजीवाद र विस्तारवाद मुर्दावाद भन्न लगायो ।
गरिबका छोराछोरीलाई टुहुरा बनायो,
नेपाली वीरका सपूत भन्दै हातहतियार बोक्न लगायो ।
विदेशीको इशारामा मूल कानुन बनायो,
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई मागी खाने भाँडो बनायो ।
विश्वसामु नेपाली हूँ भन्न लाजै लगायो,
तहखाना खन्न लगाई हजारौ दरबारहरु आफ्ना खडा गरायो ।
गरी खाने सीप र ब्यवसायहरु बन्द गरायो,
विदेशीका शरणमा देश छाड्न लगाई हामीलाई शरणार्थी बनायो ।
यो देशको आज यस्तो गति बनायो,
यहीँ त छ नि ज्ञानको मुहान, गौतम बुद्धको सन्देश झुठो ठहरियो !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
