
नवउदारवादले फलिफाप
लघुकथा
प्रेमलकुमार खनाल
सरकारी क्याम्पसमा प्राध्यापक हुनुको मान(सम्मान नै अर्कै थियोे । थोरै अध्यापन गरे पुग्ने अनि रिसर्चतिर समय दिनु पर्दैनथ्यो । अनि आफूसहितको अनुभवी प्रा. र डा. हरुको सहभागितामा कलेज खोलियो । कलेज त देशकै एक दुई नम्बर मै गणनामा आउने भइहाल्यो । क्याम्पसमा विद्यार्थी नहुँदा हाजिर मिलाएर गर्दै गर्दा पनि यस पटक प्रोफेसर भइएको छ ।
क्याम्पसमा सेवा प्रवेश गर्न अगाडि शिक्षा सेवा आयोगबाटै बतासे माविमा पोष्टिङ भयो । गाउँमा प्राय रेमिट्यान्स नआउने घरै थिएन । गाउँमा सबैतिरबाट बोर्डिङ खोल्न सुझाव आउन थाल्यो । यता घरमा श्रीमतीजीले अंग्रेजी बिषयमा बिएड उतीर्ण गरेपछि घरसल्लाह गरियो । बोर्डिङ खोल्ने र श्रीमतीजी प्रिन्सिपल हुने । बतासे माविभन्दा माथि डाँडामा थप केही विद्यालयका सरहरुको लगानीमा बोर्डिङ स्कुल खुल्यो ।
राजनीतिमा पनि हाम्रो राम्रै सहभागीताले प्राय गाउँका विद्यार्थी हाम्रैतिर आउन थाले । पहिलोपटकको ब्याचकै एसएलसीमा विद्यार्थी शतप्रतिशत उतीर्ण भएको नतिजा आएपछि हाम्रो विद्यालयमा गाउँका विद्यार्थीको घुँईचो नै लाग्न थाल्यो । यता बतासे माविमा पुर्वाधार र दरवन्दी नथपेपछि गुणस्तर खस्किन थाल्यो । विद्यालय चल्न नसकेर मर्जर गर्ने कुरा हुँदै गर्दा मेरो विश्वविद्यालय आयोगको रिजल्ट भयो र उपप्राध्यापकमा सिफारिस भयो ।
उता माइलो भाइ पनि हाम्रो बोर्डिङ खोल्ने साल नै मेडिकल अफिसरमा जिल्लामा नै पोष्टिङ भयो । जिल्लामा डाक्टर नहुँदा उपचार गर्न राजधानी धाइरहेका जिल्लावासीलाई भाइको जिल्ला आगमनले जिल्लावासीले ठुलै राहत अनुभव गर्न थाले । दिनहुँजसो बिरामीहरुको घुइँचो बढ्न थाल्यो ।
डाक्टर र स्वास्थ्यकर्मीको दरबन्दी नथपिँदा भाइलाई नि निक्कै प्रेसर हुन थाल्यो । यता हाम्रो कमाई राम्रो हुन थालेपछि एक नर्सिङ होम खोल्ने घर सल्लाह भयो । बिहान बेलुकी भाइले समय दिन थालेपछि हाम्रो नर्सिङहोममा निक्कै नै चहलपहल बढ्न थाल्यो । बैंकहरु छ्यापछ्याप्ती भएकाले र बैंकहरु यस्तै सेवामुलक क्षेत्रमा लगानी गर्ने नीतिमा हुँदा हामीलाई पूँजी लगानीमा कुनै समस्या नै भएन । बोर्डिङ, कलेज र नर्सिङहोमको कमाई पनि राम्रै भयो ।

हामीले राजधानीतिर पनि जग्गा प्लटिङमा लगानी गर्ने सल्लाह गर्यौ । साइलो भाइ भर्खरै ईन्जिनियर सकेकोले उनकै सुपरभिजनमा जग्गा प्लटिङ शुरु गरियो । थ्री ब्रदर्श कम्पनीको नामबाट कोलोनीमा आवास निर्माणको कार्यारम्भ भयो । बैंकहरुबाट हाउजिङमा नै लगानी केन्द्रीत गरेपछि घर बुकिङ गर्नेहरुको हाम्रै कोलोनीमा भीड लाग्न थाल्यो । घर निर्माण, बिक्रीवितरणले हाम्रो कम्पनी राजधानीमा निक्कै नै चर्चामा आयो । कोलोनीभित्रै हाम्रा ३ वटा आधुनिक बंगला भए । थ्री ब्रदर्शकै नामले कोलोनीको नाम रहने सल्लाह भयो ।
निर्वाचनमा पार्टीलाई पनि राम्रै सहयोग भयो । अझ खासखास नेतालाई सहयोग पनि राम्रो नै भएको थियो । प्रत्यक्षमा टिकटको पनि अफर भएको थियो । तर मेरो शहरतिरकै बसाई र पार्टीको जनाधार राम्रो नभाले त्यतिखेर जित्नेलाई नै टिकट दिन सुझाव गरेँ । पुःन राष्ट्रियसभामा ब्यवसायीबाट आउन अफर भयो । पार्टीप्रति मैले गरेको योगदानलाई सम्झेकोमा मैले आभार ब्यक्त गर्दै स्वीकार गरिदिएँ ।
संसदमा हाम्रो ब्यवसाय अनुकुलका कानुन बनाउन मेरो प्रतिनिधित्व उचित नै भयो । यसरी नवउदारवादी नीतिमा हामीले काम गर्न थालेपछि हाम्रो जीवनस्तर वृद्दि मात्रै होइन, देशमै आज हाम्रो मान सम्मान भएको छ ।
धन्य छ नवउदारवादका प्रणेताहरुलाई ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)