
मनमुटु दुःखेको बेला सहानुभूति राख्ने कोहि हुन्नन्
कविताः बिन्ती छ वर्षा !
मीरा गोतामे
धमिल्याएर मुहार आफ्नो मनको अवस्थिति बुझाउन सक्छ्यौ तिमी
थौरै थोरै आवेगलाई छिटा छिटा बनाएर पोख्न सक्छ्यौ तिमी
थाम्नै नसक्नेगरी आक्रोशित भयौ भने पनि
मुसलधारे वर्षा बनेर सबैकुरा ठप्प बनाइदिन सक्छ्यौ तिमी
बदलाकै भाव आएछ भने बाढी बनेर तहसनहस पार्न सक्छ्यौ तिमी ।
बिन्ती छ वर्षा ! मलाई पनि सिकाई देऊ मनको बह पोख्ने हो कसरी
म रुँदा त सधैं एक्लै हुन्छु, कारण सोध्नेसम्म कोहि हुन्नन्
क्रोधले त म आफैं स्वाहा हुन्छु, भावना बुझ्ने कोहि हुन्नन्
जसले दिन्छन् दुःखपीडा, उनीहरु नै हिंड्छन् ठालू बनी
तिम्रो जस्तो साहस, तिम्रो जस्तो गडगडाहट म ल्याऊँ कसरी ?

तिम्रो त आवेग पनि शक्तिशाली, आँसुमा पनि छ शीतलता
रिस तिम्रो सबले बुझ्छन्, बुझिदिन्छन् आँसुका भावहरु
कसले सकेको छ र तिम्रो निन्दा गर्न, हेप्न अनि बशमा पार्न ?
तिमी नभई हुन्नन् पूरा कसैका स्वार्थका लगावहरु
सबको प्रिय भईकन पनि कसरी सक्छ्यौ सन्तुलन गर्न ?
बिन्ती छ वर्षा ! मलाई पनि सिकाईदेऊ सन्तुलनका पाठहरु
वाक्कदिक्क छु म पनि, भताभुङ्ग छन् सबै सपनाहरु
मनमुटु दुःखेको बेला, सहानुभूति राख्ने कोहि हुन्नन्
जब गर्छु आशा अरुबाट, साथ दिने कोहि हुन्नन्
तिम्रो जस्तो साहस, तिम्रो जस्तो गडगडाहट म ल्याऊँ कसरी ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)