निदाउन नसकेकी आमा
कथा
मीरा पुडासैनी
गएको वैशाखबाट १३ बर्ष पूरा भएर १४ वर्ष लागेको थियो सन्ध्या र दिनेशको छोरा दिवाकर । परिवारकै जेठो नाति ऊ बालखदेखि नै निक्कै ज्ञानी । यहि शैक्षिक सत्रबाट ८ कक्षा पुगेको दिवाकर पढाईमा पनि तीक्ष्ण ।
छोराछोरी हुर्कदै जाँदा सन्तानहरूमा देखिईदै गरेका शारिरिक परिवर्तनले बुवाआमालाई पनि बेला बेलामा झक्झकाईदिँदो रहेछ। धोत्रिईदै गएको स्वर, हलक्क बढेको शरिर र एक्लै बस्न रूचाउने स्वभावहरू दिवाकरमा देखिदै आएको थियो । बैंकर सन्ध्या र सरकारी अधिकृत दिनेश दुवै दिनभर काममा व्यस्त रहने हुदाँ छोरामा आईरहेको परिवर्तनलाई त्यति राम्ररी ध्यान दिन सकेका थिएनन् ।
उनीहरू दिनभर काममा व्यस्त भए पनि बेलुकीको समय पुर्ण पारिवारिक रहन्थ्यो ।
अहिले उनीहरूको छोरा १४ वर्षको लाग्दासम्म सन्ध्याले दिउँसोको समय परिवारलाई दिन नसके पनि माईती, मावल अथवा अफिसको कामको सिलसिलामा फिल्डमा कतै जाँदाबाहेक सन्ध्याका २ जना सन्तान र उनीहरूको सुत्ने कोठा एउटै नै थियो ।
‘ममी आजदेखि म माथि कोठामा सुत्छु है ?’, सन्ध्यालाई छोरोले माथिल्लो कोठामा नै सुत्न जाने कुरा भनेको थियो । आजकल छोराले बाआमाको साथ भन्दा एक्लै बस्न रूचाउने गरेको कुरा महसुस गरेकी थिई ।
‘अनि किन नि ? के भयो र तलाईं बाबू, सक्छस् के एक्लै माथि कोठामा सुत्न ?’
‘किन नसक्नु नि, के सोचिसेको छ हजुरले मलाई ?’
९-१० बर्षकै उमेरदेखि उसलाई घर परिवारका सदस्य र घरमा आउने आफन्त तथा पाहुनापासाले पनि ‘छोरा ठुलो भएछ, अब त छुट्टै सुत्ने बेला भईसक्यो’ भन्ने गरेका थिए । तर खै छोराले छुट्टै कोठामा सुत्ने कुरा के कारणले हो मानेकै थिएन । डरले हो वा एक्लै सुत्न बानी नपारेकाले हो । अनि उसका बाबाआमाले पनि एक्लै सुतोस् भनेर खासै चाहेका पनि होईनन् नि ।
सन्ध्याले छोराले भनेको कुरालाई विश्वास गरेकी थिईन ।
तर त्यो दिनको रातीको खाना खाईसकेपछि छोराले एक्कासी ‘माथिल्लो तलाको कोठामा जान्छु’ भन्दै थियो ।
‘जाऊ न त’ भनी सन्ध्याले । तर, उसलाई विश्वास थिएन छोरो जान्छ नै भन्ने । उमेर बढे सँगसगै छोरामा आईरहेका शारिरिक परिवर्तन, धोत्रो पर्दै गएको स्वर, एक्लै बस्न रूचाउन थालेकोजस्ता परिवर्तन जुन स्वभाविक थिए । तर आमाको रूपमा उसले छोरामा देखेको परिवर्तनले छोरा बिस्तारै आफुबाट टाढिईरहेको अनुभूति गर्दै थिई सन्ध्या भने आज त छोराले अर्कै कोठामा सुत्न जाने कुरा पो गरेको थियो त ।
खाना खाईवरी सबै अब सुत्ने तरखर गर्दै थिए । छोरा माथिल्लो तलामा उक्लियो ।
‘कोठामा पानी लिएर जा बाबू । धेरै बेर टिभी नहेर्नु नि फेरि । मोवाईलमा धेरै बेर माईन्ड क्राफ्ट नखेल्नु । १० बजे नेट बन्द गर्नु नि । सुत्नु अघि टोईलेट जानु’, यी सबै कुराहरू सन्ध्याले एकै सासमा भन्न भ्याई ।
माथिल्लो तलामा बाहिर पट्टि मात्र टोईलेट थियो । कौशीमा नै निक्लनु पर्थ्यो ।
हुन त उसको छोरा सुतेपछि एकै चोटि बिहान उठ्थ्यो, राती पिसाब फेर्न खासै उठ्ने गरेको थिएन ।
छोराले हुन्छ भन्यो कि भनेन, त्यो पनि सन्ध्याले सुनिन ।
‘हेरौ न त आज एकदिन, बिस्तारै बानी पार्न लगाउनु नि पर्छ छुट्टै कोठामा सुत्ने, लाठे भईसक्यो अब त’, दिनेशले भने ।
‘तर के सुत्न सक्ला, आजसम्म एक्लै सुतेको छैन’, सन्ध्या गनगनाउन थाल्छे ।
उनीहरूकी सानी छोरीलाई पनि दाई माथि कोठामा गएको राम्रो लागेको थिएन कि ? मलिन अनुहार बनाई ।
सन्ध्यालाई किन किन खल्लो लाग्यो, दिनेशले केही भनेनन् ।
सन्ध्या धेरै बेरसम्म पनि निदाउनै सकिन ।
छोरा केही बेरमा नै तल कोठामा आउँछ भनेर सोचेकी थिई सन्ध्याले पनि तर निक्कै बेरसम्म छोरा तल आएन ।
सन्ध्याको गनगन र छट्पटी देखेर दिनेशले गाली गरे, ‘छोरा लडाई गर्न गएको हो र चिन्ता गर्छौं । तिम्रो छोरो सधै केटाकेटी नै रहन्छ कि क्या हो ।’
छोरा सुते नसुतेको हेर्न जानू न भनी दिनेशलाई करकर गरेपछि मन नलागिनलागी दिनेश उठेर छोरा सुत्न गएको माथिल्लो कोठामा गए ।
छोरा मस्तले टिभी हेर्दै, मोवाईल पनि चलाउँदै थियो ।
ऊ निश्चिन्त थियो । कोठामा एक्लै छु भन्ने किन्चित भाव पनि उसमा थिएन ।
दिनेशले कोठामा आएर सन्ध्यालाई त्यही कुरा भने ।
सन्ध्या ख्यास्सिई, उसलाई किन किन आज यो कोठा सारै शून्य लागिरहेको थियो ।
सन्तानले आमाको दूध पिउन छोडेझैं, ओछ्यानमा पिसाब गर्न छोडे झैं, रहरहरू थपिईदै र फेरिईदै गएझैं, बाबा आमासँगै सुत्न छोड्नु पनि नियमित प्रक्रिया नै थियो । तर सन्ध्यालाई स्वीकार्न गार्हो परिरहेको थियो ।
पखेटा लाग्दै गएपछि गुडँलाई चटक्कै बिर्सिएर उड्ने बचेराको झैं कथा मानिसका सन्तानमा पनि लागू हुने गर्दछन् । आज सुत्ने कोठा छोडेको उसको छोराले उज्वल भविस्यको बहाना बनाएर भोलि घर अनि देश पनि छाड्नेछ सायद । देश नछोडे पनि घर व्यवहारको चपेटामा परेर घरैमा पनि अलग भान्सा बनाउने छ सायद । वा, घर नै पो बेग्लै बनाउने छ कि ?
आज मात्र छोराले सँगै सुत्दै आएको कोठा छोडेको पिडामा रातभर राम्ररी निदाउन नसकेकी सन्ध्याले भोलिको सम्भावित घटनाक्रमलाई कसरी स्वीकार्न सक्ली है ?
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)