श्रीमतीले विदेशबाट पठाएको पैसा पटक्कै दुरुपयोग नगरी बालबच्चा स्याहार्ने श्रीमान
आफ्नै उपन्यासका पात्रबारे
मीरा गोतामे
निती पढेर साथीभाइ र आफन्तहरुबाट प्रतिक्रिया आउने क्रम सुरु भईसकेको छ । बिशेषतः उपन्यासको अन्त्य र केहि पात्रहरुबारे चर्चा हुने गरेको छ । नितीको चरित्रलाई सबैले माया वर्षाउनु भएको छ । धेरैलाई यसको अन्त्यले प्रभाव पारेको रहेछ । उसको पीडालाई सबैले आफ्नै पीडा ठान्नुभएकोमा खुसी पनि छु ।
मेसेन्जरमा आफ्ना पूराना साथीहरुले खुसीका साथै आश्चर्य पनि व्यक्त गर्ने गरेका छन् । लेख्ने विचार कसरी आयो भनेर धेरैले सोध्नुभएको छ । साहित्य पढ्ने बानीको विकास भएपछि केहि लेख्न पाए हुन्थ्यो भन्ने त सधैं लाग्थ्यो । आफुले सुनेका देखेका तर पटक्कै चित्त नबुझेका धेरै कुराहरु थिए आफ्नै वरिपरी । त्यस्तै कुराहरुलाई समेट्ने विचार थियो मेरो ।
लेखनयात्रा सुरु गर्न मात्र गाह्रो रहेछ । लेख्न सुरु गरेपछि कलमले रोकिने नाम नै लिएन । फेरि म उपन्यास वा कथा भनेर विधा छुट्टयाएर लेख्न बसेकी पनि थिईन । मलाई त बस् एउटा किताब लेख्नु थियो, जसमा आजका नारीहरुले आफूलाई पाउन् । नारीहरुलाई समस्या पहिले पनि थियो, आज पनि छ । रुप मात्र फरक भएको होजस्तो मलाई लाग्छ ।
पहिले घाँसदाउरा र उकाली ओरालीका गीत गाउने नारीहरु अहिले जागीर र घर गर्नुपरेको व्यथा सुनाउँछन् । बालबच्चा हेर्ने समयसम्म पाउँदैनन् । कामकाजी महिलाहरु पनि तेहेरो मारमा परेकै छन् । घरका सदस्यहरु सहयोगी नभएपछि एउटी महिलालाई जीवन बाँच हम्मे हम्मे त पर्छ नै । त्यसमाथि सामाजिक संजालको दुरुपयोग बढ्दो छ । सबैको जीवन तनावग्रस्त भएको पाउँछु ।
महिलाहरुका थुप्रैै समस्या देख्ने र सुन्ने गरेकी छु समाजमा । परिवारमा गल्ती वा समस्या जसको भए पनि त्यसको दोष एउटी महिलामाथि नै थोपर्ने चलन छ । अझ एउटी नारीमाथि अन्याय गर्ने पात्र पनि अर्की नारी नै भईरहेकी हुन्छिन् । यी सारा समस्याहरु एउटा कथाले समेट्नै सक्दैन थियो । किताब नै लेख्नु जरुरी थियो । निती लेख्दै गर्दा विभिन्न पात्रहरुको परिकल्पना पहिल्यै गरेकी थिएँ । नितीलाई नरुचाउने उसकी नन्दको परिकल्पना गरिसकेकी भए पनि नन्दका श्रीमानको चरित्रचाँहि लेख्दालेख्दै विकास भएको हो ।
उसकी नन्द आशाका श्रीमान सुमन जागिर खान रुचाउँदैनन् । बेरोजगार भएर सबैको हेलाँको पात्र भए पनि उनी घरधन्दा गर्न, खाना पकाउन अनि छोराछोरीको स्याहारसुसार गर्न मन पराउँछन् । जेठानले धेरैतिर भनसुन गर्दा पनि अफिसियल काममा उनको मन जाँदैन । उनी आफू बेरोजगारै भएर बाँचिदिन्छन् । बरु अरुको घोचपेच सहेर बस्छन् । उनको बानी थाहा पाएर उनकी श्रीमतीले बरु आफू वैदेशिक रोजगारमा जाने कठिन निर्णय लिन्छिन् । यता सुमनले पनि श्रीमतीले पठाएको पैसा पटक्कै दुरुपयोग नगरी आफ्ना बालबच्चा स्याहारेर समाजमा एउटा उदाहरण पस्कन्छन् ।
यो उपकथाबाट मैले दिन खोजेको सन्देश के हो भने घरायसी काम जसले गरे पनि फरक पर्दैन । यो त लोग्नेस्वास्नीको आपसी समझदारीको कुरा हो । यसमा तेस्रो व्यक्ति बोल्न आवश्यक नै छैन । अर्को कुरा, बैदेशिक रोजगारमा जाने महिलाहरुलाई समाजले हेर्ने नजर राम्रो छैन । तर सबैलाई एउटै तराजुमा राखेर हेर्न मिल्दैन । बिग्रन चाहने मानिस बिग्रेरै छाड्छ, उसलाई अग्ला पर्खालले पनि रोक्न सक्दैन । चरित्रवान् मान्छेलाई जति स्वतन्त्र छाडे पनि उसले संस्कार विरुद्घ काम गर्दैन । लोग्नेस्वास्नी एक अर्कामा समर्पित छन् भने सातसमुद्र पारी भए पनि दुरीले के फरक पार्छ र ? सबै विश्वासमा भर पर्ने कुरा हो ।
सुमन पात्र सृजना गरेपछि म आफैलाई सन्तोष मिलेको थियो । बेरोजगार भए पनि चरित्रवान पुरुषका रुपमा उपन्यासमा उनलाई उभ्याउँदा उनको चरित्रप्रति आफैलाई ईष्र्या लागेको थियो । नारीपुरुषले समाजले तोकिदिएका काम नै गर्नुपर्छ भन्ने छैन भन्ने कुरा दर्शाइरहँदा छुट्टै आनन्दको अनुभूती भएको थियो । नारीहरुले दुःख पाएका प्रसंगहरु लेख्दा आफ्नै आँखाहरु धेरैपटक रसाए पनि सुमनको चरित्र कोरिरहँदा यो पात्रप्रति न्याय गरें भन्ने लाग्यो ।
बेरोजगार हुनु आफैंमा गलत होइन । कार्यालयमा अरुको अधिनमा बसेर काम गर्न मन नलाग्नु पनि गलत होईन । तर घरको काममा पनि सहयोग नगर्नु चाँहि गलत हो । बरालिएर हिंड्नु गलत हो । कार्यालयमा काम गरेकै आधारमा, थोरै आर्थिक उर्पाजन गरेकै आधारमा घरकी गृहिणीलाई मान्छे नगन्नु पनि गलत हो । त्यस्तै श्रीमतीले घरको आर्थिक बोझ सम्हाल्दा पनि केहि बिंग्रदैन । दम्पत्ति मिलेर जसलाई जे कुरामा रुचि छ, त्यहि गरेर मात्रै घरलाई स्वर्ग बनाउन सकिन्छ ।
सबैको काम र जिम्मेवारीको कदर हुनैपर्छ । यसर्थ आशाले लिएको अडान र सुमनको जिम्मेवारीबोध धेरै पाठकले मन पराएका छन् । ज–जसले पुस्तक पढेर विभिन्न माध्यमबाट प्रतिक्रिया दिनुभयो सबैप्रति आभारी छु । पढ्न बाँकी हुनुभएकाले पनि मेरो यो मस्तिष्कमन्थन पढेर निती पढ्ने जमर्को गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)