मानराजलाई उधारो हस्ताक्षरले लज्जित बनायो
लघुकथाः उधारो हस्ताक्षर
रूपा अधिकारी
समाजसेवीको नामले प्रख्यात मानराज प्रायः समाजमा भैपरी आउने विपत्ति, दीनदुःखीहरूको सहयोगको लागि नै लागिपरेका हुनेगर्थे । कहिँकसैलाई अप्ठयारो पर्यो कि मानिस उनलाई नै सम्झने गर्थे ।
उनको समाजसेवी छविलाई सरहना गर्दै देशविदेशबाट पनि राहतहरू आइरहन्थ्यो । भूकम्पपिडित र बाढ़ीपिडितको नाउँमा आएका राहतहरु केही रूपमा हिसाबकिताब नराखी उनले सहयोग पनि गरेका थिए । भोको पेटमा चौरासी व्यन्जन हैन कि मुखमा माड लगाउन पाएकाहरू उनको जयजयकार गर्थे । सानो सहयोग भए पनि पाएकाहरु उनलाई भगवान नै मान्ने गर्थे । प्रायःसभा समारोहमा पनि जयजयकार गरी खादा र मालाले भव्य ताली बज्ने पनि गर्थ्यो उनको नाममा ।
एक दिन एक समारोहमा उनलाई बोलाइयो । सधै झैं माला र खादा ओढाई आफ्नो कार्यमा ताली पिटिने प्रतिक्षामा बसेका थिए मानराज । लगभग कार्यक्रम सकिन लाग्दा पनि आयोजकले आफुलाई मञ्चमा नबोलाएको देखी आक्रोशमा थिए उनी । अन्ततः आयोजकले उनको नाम उदघोष गर्दै बोले, ‘आदरणीय समाजसेवी मानराजज्यु यस पटकको समारोहमा नगद दाताहरूलाई मात्र सम्मान गर्ने हेतुले यस कार्यक्रमको आयोजना गरिएको थियो । बर्षौबर्षदेखि हजुरले कबुलेका राहत, सहयोगका रकम हजुरको उधारो हस्ताक्षरमा मात्र निहित रहेको कारण यस समारोहले लाख उधारो दाताभन्दा पनि सानो रकम नै किन नहोस् नगद सहयोग गर्नेलाई सम्मान गर्नु आवश्यक मानी हजुरलाई सभामा उपस्थितिको स्थानमा मात्र राखियो ।’
हात्तीक़ा देखाउने र लुकाउने दाँत झैँ रहेका मानराजलाई आफ्नो उधारो हस्ताक्षरले लज्जित बनायो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)