दोस्रो बिहे
कथा
गुरुदत्त ज्ञवाली
उनी मोजा नलगाइकन खुस्रुक्क जुत्ता लगाए । र, पिठ्यूँ पछाडि कमीजमा छाता अड्याएर हिँडे । मुख्य पेसा त उनको खेती नै हो । जागिरको हिसाबले शिक्षक हुन् । सबैले मास्टर साहेब भन्छन् । स्कुलमा भने सर भन्ने चलन छ । स्कुल, घरभन्दा टाढै छ, आउ–जाउ हुन्न सधै । शुक्रबारे हुन् । अरु बिदाको दिन बाहेक शुक्रबार घरमा आउँछन् र आइतबार एकाबिहानै दगुर्नु पर्छ । यसपटक तीन दिनको बिदा लिएरै आएका छन् । घरमा आएको दिन साँझ श्रीमतीसँग अँध्यारो मुख लगाए । श्रीमतीले सोधेकी हुन् । एकछिन् त बोलेनन् । त्यसपछि “मेरो ठूलो खड्को छ रे । खोई बाँचिन्न कि क्या हो ?” भन्दै मुख फालेर जवाफ दिए ।
बाटोमा एकजना जोगीले हात हेरेर भनेको कुरा पनि श्रीमतीलाई सुनाए । श्रीमती त्यसै पनि सोझी मान्छे, पतिको खड्को भनेपछि त हंशले थात छोड्यो । र पनि चिन्तै चिन्तामा खानपीन गरेर सुते । सुत्ने बेलामा श्रीमतीले “त्यस्ता फक्कड जोगीले भनेर हुन्न । भोलि ज्योतिषकहाँ हेराउन जानुस्” भनेपछि मास्टर साहेबको राहतको बाटो खुल्यो । उनको मुहार थोरै हँसिलो देखियो ।
मास्टर साहेब आफू बाहुन हुन् । अचेल धेरै कुरामा बाहुन र नबाहुनको कुरो त चल्दैन । तर, धार्मिक परम्परा तथा संस्कारका कुरामा भने चल्छ । लागू हुन्छ । त्यसैमा अझ दोस्रो बिहे ! के चाहियो र ? उनले पढाउने स्कुल प्राइमरी हो । लगभग हाम्रै घरको सेरो फेरोमा छ । त्यो गाउ,ँ मगरहरुको बस्ती भएको गाउँ हो । गाउँमा बुढा–पाका र केटा–बेटी बाहेक धेरैजसो बिदेशमा हुन्छन् । खास गरेर पल्टन भन्छन्, भारतीय सेनामा । पल्टनमा हुनेहरु मध्ये आधासरो त भारतीय पल्टनमा छन् । नेपाली सेनामा निकै थोरै होलान् । नेपाली सेनालाई भने पल्टन भन्दैनन् । अरु बृटीश आर्मीमा छन् । परिवेश नै त्यस्तै छ । त्यो गाउँको भर्ति हुन नसक्नेहरु मात्र अरु जागिरमा लागेका हुन् कि जस्तो । पेन्सनमा आएकाहरु पनि खासै बुढा देखिन्नन् तर पनि भन्नेले बुढाहरु भन्छन् । त्यसैमध्येका हुन् सुबेदार बुढा । भन्दा सुब्दार साहेब भन्छन् । उमेर त्यस्तै पचास–पचपन्नको सेरो–फेरो हो । टाठा छन् सुब्दार साहेब ।
सुब्दार साहेबले जागिरको पहिलो झोँकमा पहाडतिरै रज्ज–गज्ज पारे । पछि तराइतिर पनि ब्यवस्था गरे । अलिकति खेत किने र एउटा घर बनाए । उनी आफू भने तराइमा कमै बस्छन् । छोरा–बुहारीलाई जिम्मा दिएका छन् । छोराहरु मिलेर बसेका छन् । उनीहरु पनि पल्टनीया हुन् । खास भन्ने हो भने तराइको घर ब्यवहार दुईटी बुहारीले धानेका छन् । पहाडमा सुब्दार साहेबका बुढा–बुढी र एउटी छोरी छन् । छोरी कान्छी हुन् । छोराहरु दुबै उनका दाजु हुन् । मगर सभ्यतामा हुनुपर्ने राम्री, बिहेको उमेर पुगेकी, बैंसले उन्मत्त हुने उमेर हो । औसतमा सम्यम् हुन् भनौं । अझ ।
आर्थिक हिसाबले धनी बाउकी छोरी । हुन सम्मकी राम्री छन् छोरी । हाइ स्कूल पढेकी हुन्, पास फेल के भइन् थाहा भएन । बिहे त त्यस्तै हो, आफै रोजेर गर्ने संस्कार पनि हो । उनीहरु अथवा त्यो ठाउँमा मगर भाषा जान्दैनन् । आम नेपाली भाषा हो बोल्ने । बोलीको टोन वा लवज उही मगर लवज छ तर पनि उनीहरु अलि राम्रो बोल्छन् ।
त्यसै घरमा मास्टर साहेबको डेरा छ । किराय तिर्नु पर्दैन, उस्तै परे खाएको पैसा लाग्दैन । त्यहीँ खान्छन् । यसो बेला–बेलामा कोसेली लैजान्छन् । कोसेली भनेको त्यस्तै अम्मल–सम्मल हो, खास गरेर जल अम्मल । लोकल त घरमै हुन्छ । ठाउँ अनुसार अरु के लैजान्छन् उनैले जानुन् ।
धेरै समयसम्म सँगै बस्दा मास्टर साहेब उनै मगर कन्यासँग लहसिएछन् । दिन–प्रतिदिन माया–जाल बढ्दै गयो । उनले दुईटा जाल थापेका हुन् । एउटा यौन र अर्को धन । फसाए । धेरै सुन भएको घर, नगद पैसा पनि त्यस्तै । मास्टर साहेबकै मद्दतले पैसा बैंकमा राख्ने गर्दथे, बैंक नजिक थिएन । कैयौँपटक त ती युवतीसँगै उनी बैंकमा जान्थे र पैसा खातामा राखेर फर्कन्थे । कहिले त रात उतै काट्थे । त्यो समाजमा त्यसरी अरु पुरुषँंग रात काटेको कुरामा खासै चेवा चर्चा हुन्न । बच्नु पर्ने त मास्टर साहेब मात्र हो । सुब्दार साहेबले सबै घर ब्यवहार र धन पैसा छोरीकै जिम्मामा दिन्छन् । लाखौं छ नगद मात्र । सुन त गाग्री ताउला बनाउन पुग्छ भन्छन् । होला पनि । मास्टर साहेब लोभिए । यस केटीलाई लैजान पाए त …?
बिस्तारै ती युवतीको मन पनि बाहुन बाजेतिर सल्केछ । मास्टर साहेबले अब चाहेर पनि छोड्न नसक्ने अवस्था आयो । बाहिर त, “हुन्न केटी, कहाँ म बाहुन, कहाँ तिमी मगर भन्दा हुन् ।” भित्री कुरा अर्कै थियो, “केटी राम्ररी जालमा परी भन्ने भयो होला ।” यो कुराको छनक सुब्दार साहेबले पनि पाएका छन् तर ठिकै छ भन्ने सोंचे वा पत्याएनन्, बोलेनन् । मास्टर साहेब र ती युवतीको कुरोकानी भयो । बिहे गरेरै जाने सल्लाह गरे ।
सोझी मगर्नी, त्यसपछिको परिणाम के हुने हो भन्ने पनि सोंचिनन् । माया लाग्यो त लाग्यो । बाहुनी बज्यैकी सौता बनिएला भन्ने डर पनि लागेन क्यार ? अथवा मास्टर साहेबले घरका सबै कुरा कि त भनेकै छैनन् वा ढाँटेका छन्, मिलाएर भनेका छन् । उनको उमेर पनि खासै धेरै भएको होइन, लक्का जवान देखिन्छन् । बेलैमा बिहे गरेछन् र हो, नत्र भर्खर बिहे गर्ने बेला पनि हो । मास्टर साहेबले घरतिर अब के नाटक गर्ने हो भनेर ताना–बाना बुन्न थाले र एक दिन खास्सा नाटक गरे ।
मास्टर साहेबलाई कुनै जोगी–सोगीले हात हेरेको थिएन । त्यो त बहानाको पहिलो पाठ थियो । प्रेम कथाको लेशन प्लानमा पहिलो अभ्यास । पहिलो अभ्यामै बिशिष्ट श्रेणी हासिल गरे । हो, त्यसै प्रशङ्गको चिना हेराउन जाने क्रममा निस्केका । अलि पर पुगेपछि के मन भएछ कुन्नि ? श्रीमतीलाई पनि सँगै लग्योभने झनै पत्यारिलो होला भन्ने लाग्यो । उनी मोजा लगाउन बिर्सेको बहाना गरेर घरमा फर्के र श्रीमतीलाई सम्झाए । फकाए र सँगै लिएर गए ।
यसपटक भने जुत्तामा पालिश लगाए, मोजा कसे र लुगा पनि अर्को फेरे । लोर्के देखिए । दुई घण्टा पैदल हिँडेपछि ज्योतिषको घरमा पुगिन्छ । त्यहाँ सामान्य बजार पनि छ । फलफूल किने । अनौठो कुरो त उनले श्रीमतीलाई उनकै हातले केही नकिन्ने मान्छे, राम्रो सारी, शुट र अरु मेकअपका समान पनि किनीदिए । श्रीमती हुनसम्म फुरुङ्ग भइन् । अनि श्रीमतीलाई एकैछिन् पसलमा बस्नु भनेर यस्सो निस्केका ज्योतिष बाजेकहाँ पुगेछन् । सुटुक्क उनको समस्या बताए र अलिकति पैसा पनि त्यतिबेलै दिए । ज्योतिष बाजेले पनि हुन्छ, हुन्छ भने ।
अपरान्ह चार बजेपछि मात्र हेराउने काम शुरु भयो । करीब पैंतीस जनाको भीडमा मास्टर साहेबको पालो त्यस्तै मध्येभागमा थियो । कसैका बिहेका कुरा थिए, कहिले हुन्छ भन्ने, कसैका लभ सफल हुन्छ वा हुन्न भन्ने हुन्थे । साइतका कुरा, सन्तानका कुरा । पेटमा छोरो छ वा छोरी छ भनेर पनि सोधे । ज्योतिष बाले चश्मा नलगाईकन एक पटक सबैको अनुहार नियाले । त्यपछि चश्मा लगाएर हेरे र फेरि चश्मा नाकको डाँडीमा झारेर चश्मा भन्दा माथि आँखा तानेर हेरे । अनि मन्त्र–सन्त्र पढेपछि चिना हेर्न शुरु भयो ।
जानेर हो वा त्यसै ठोकेर भन्छन् । सबैले चित्त बुझाएर गएको देखिन्थ्यो । एक जना युवकले बिहे कहिले हुन्छ भनेर सोधे, ज्योतिष बाले त युवकको छाला काढे । ती युवकका दुईटा सन्तान समेत भएका कुरा गरे । एकैछिन् त युवकले प्रतिवाद गरे, लडे । अन्तमा फेल खाए । उनले भित्र–भित्र बिहे गरेर श्रीमतीलाई गोप्य रुपमा राखेका रहेछन् । बाले कसरी भने थाहा भएन । त्यहाँ बसेर हेर्ने सुन्ने मान्छे अचम्म परे । कोही त खराब कुराको पोल खुल्ने हो कि भन्ने डरले बिचैबाट भागेको पनि ।
”यस्तैमा मास्टर साहेबको पालो आयो । निकै बचेर बोले ज्योतिष बा । “श्रीमतीको माइत भन्दा पूर्व, क्षेत्री बाहुन बाहेक, उमेर मिल्दो कन्याकेटी तीन महिना भित्रमा बिहे नगर्ने हो भने छ महिना भन्दा बढी बाँचुला नभने हुन्छ” भने । मास्टर साहेबकी श्रीमतीलाई त, “मैले भनेको कुरा नपत्याउने हो भने दश हातका दुइटा कोराका धोती किनेर बस्न,ु किरिया बस्न तयार भए हुन्छ” भनिदिए । अब भएन बर्बाद ….? हस् हजुर भनेर हिँडे । गाउँमा हल्ला भयो । फलाना मास्टरले मगर्नी बिहे नगर्ने हो भने मर्छन् रे भनेर । त्यस क्षेत्रमा बैश्य भनेको मगर मात्र बुझिन्छ, अरु जात खासै छैनन् ।
मास्टर साहेबले ती मगर कन्यालाई बिहे गरेरै छोडे । मगर परम्परामा भगाएर लैजानुलाई नराम्रो मानिन्न । भित्र भित्र सुब्दार साहेबकातिर पनि हल्ला भएको थियो । मास्टरसँग जाने भइ भन्ने कुरामा सबै छिमेकी सकारात्मक थिए । कसैले भने, बाहुनसँग जान मरिछ भन्दथे ।
कान्छी दुलही भित्रिइन् । जेठीले स्वागत गरिन् । उनलाई त पतिको दीर्घायुको कामना थियो, प्रशन्नै भइन् । छिमेकीहरुले गाईं–गुईं गरेका हुन् । घरकै श्रीमतीले स्वीकारेपछि सबै लफडा खण्टे खलाँस…। मगरकी छोरी, त्यो पनि बाहुन समाजमा नबसेकीले संस्कारका धेरै कुरा जानिनन् । जे होस् बिवाह सम्पन्न भयो । मास्टर साहेबले नयाँ वा दोस्रो सुहागरात मनाए । त्यो बेला भने जेठीको मन चसक्क चस्केको हो र पनि सहिन् ।
एवंरीतले घरबार शुरु भयो कान्छीको । मास्टर साहेब स्कुल जान थाले । अब भने उनी पुरानो डेरामा बसेनन् । जहाँ बस्न थाले त्यसै घरका केटाकेटी पढाइदिएर खाने बस्नेको जोहो गरे । शुक्रबार मात्र घरमा जाने क्रम छँदै छ ।
यता दुईटी सौता–सौता मिलेर काम गर्छन् । खास गरेर भात–भान्सा र आजा–पूजाको काम जेठीले गर्छिन् । कान्छीले मेला–पात र बाहिरका सबै काम गर्छिन् । हेर्दा जेठीका सुखका दिन आएको जस्तो पनि छ । यदाकदा संस्कारले हान्छ । फलानाले मगर्नी ल्याएको भन्छन् । कान्छी प्रेमको शिकारमा त राम्ररी फसिन् । दोस्रो शिकार बनेको मेसो पाएकी छैनन् र त्यो षडयन्त्रको पोल खुल्ने भएर होला मास्टरसाहेबले अरु कसैलाई भनेकै छैनन् । जुवाको खाल राम्रो बनेको छ, छुक राम्रो छ, चाखे पनि थापेकै छन् । चौका पर्न बाँकी छ ।
कान्छीसँग बिहे भएको वर्षदिन भित्रै मगर परम्परा अनुसार ढोग–भेट फर्काउने काम भयो । रक्सी, बटुक, सेलरोटी, बोकेपाठो तयार पारे । सबै बिधि मास्टर साहेबले बाहिरबाटै ब्यवस्था गरेर र कान्छीलाई लिएर ससुराल गए । सुब्दार साहेबले पनि धन–दौलत बेस्सरी दिए । उनलाई बाहुनको संस्कार थाहा थियो । त्यसैले त्यसको कदर गरे । उनले छोरीलाई पछि दुःख नपरोस् भनेर खान बस्न पुग्ने सम्पती ब्यवस्था गरिदिने कबुल समेत गरे । सम्पती त अरु के हुन्थ्यो र ? पाखो पखेरो दिएर कुनै अर्थ थिएन । खेत थिएन । पैसै दिने कबुल गरे । दिनु भन्ने मात्र हो सबै छोरीकै नाममा थियो । बुढालाई पेन्सनको पैसा नै फालाफाल हुने अवस्था छ । छोरीलाई त्यति भनेपछि पुग्यो । यो कुरा सुनेपछि मास्टर साहेब मुसुक्क हाँसे । सुब्दार बुढा पनि सोझिए भन्ने लागे होला । सुब्दार्नीलाई खासै मतलव छैन । उनी त्यसै मख्खै…।
त्यो वर्ष पनि बित्यो । मास्टर साहेबले कान्छीसँग यसरी भने, “हेर कान्छी, जमाना खराब छ । तिम्रो नाममा रहेको बैंकको खाताको पैसामा दाजुहरुले रीस गर्न सक्छन् । मुद्दा हाले भने सबै फिर्ता गर्नु पर्छ । मेरो नामा सारौँ । आखिर मैले कान्छीलाई छोडेर जेठीतिर लाग्ने कुरो भएन केरे । तै पनि जेठीलाई के कुराको नपुग्दो छ र ?”
कान्छीले एकै वचनमा हुन्छ भनिन् । बैंकको करीब बीस लाख रुपियाँ मास्टर साहेबले आफ्नो नाममा सारे । त्यस्तै झण्डै तीस तोला सुन माइतबाट झिकाएर उनकै नाममा त्यही बैंमा राख्ने भनेर हात पारे । सुन भने सुटुक्क बेचेर त्यो पैसा पनि बैंकमै राखे । कान्छीलाई मेला पर्वमा लगाउने एकसरो अरु गहना पनि दस तोला भन्दा कम थिएन । जेठीका बरु खासै गहना थिएनन् । कान्छीले माइतबाट ल्याएको भनेर होला, इष्र्या पनि जागेन । टाकटुक मास्टर साहेबले कान्छीतिरकै रकम पचास लाख पु¥याए । अब उनलाई जागिर खान मन म¥यो । तै सरुवा भए, राम्रै भयो भनेर कोशिश गरेका भनेकै ठाउँमा परेछन् ।
तराईतिर सरुवा भयो । जम्मा गरको पैसाले जग्गा किने । किन्न त किने उनलाई कान्छीको अझै डर लागेको छ । कतै चित्त नबुझेको बेलामा अलग्गै बस्छु भनेर अंश माग्ने पो हो कि ? त्यसैले उनले त्यो जग्गा सुटुक्क जेठीको नामा पास गरे । त्यो बेला मात्र उनले जेठीसँग थोरै कुरा खोले । र पनि, सबै कुरा भनेनन् । त्यही केटी किन बिहे गरेको भन्ने मात्र खोले । ग्रह दशाका कुरा त कहिल्यै भन्ने पक्षमा छैनन् । उनले नभनेपनि उनको समाजले थाहा पाएको छ ।
मगर्नी केटी ठगिएको कुरा उनको समाजले मास्टर त बहादुर हुन् भनरे गर्व गरे । बाहिर कुरो फुस्केन । पछि त पहाडतिरको जग्गा पनि सबै बेचे । सबै सम्पती जेठीकै नाममा भयो । बल्ल जेठीका नाकका फोन्द्रा बढे । कान्छी मगर्नी क्रमशः मगर्नी कान्छी हुँदै गइन् । गोठाल्नी कान्छी । यसो हुँदासम्म उनी ठगिएको मेसो पाएकी छैनन् । लाउन खानको समस्या छैन, काम–धन्दा, माया गरे पनि त्यही हो, गरेकै छन् । पति सधै बाहिर हुन्छन् । घरमा आएको बेलामा भेटघाट संपर्क हुन्छ । सौता बाहुनी बजैको ताल त्यस्तै हो भन्ने लागेको हुनु पर्छ । सन्तोष देखिन्छिन् कान्छी ।
समय थोरै पर धकेलियो । कान्छीका दिन झनै जटिल बन्दै गए । हुँदा–हुँदा नोकर्नीको जस्तो ब्यवहार हुन थाल्यो । जेठी पहिले सोझी हुन् । समाजको संगत र सम्पतीले बाठी भइन् । कान्छीलाई मगर्नी कान्छी सम्म भ्याइन् । जबकी पहिले बहिनी भन्ने गर्थिन् । मास्टर साहेबले पनि कान्छीको बारेमा खासै चासो दिएको पाइन्न ।
दशैंको बेला थियो, घरमा चहल पहल थियो । सबैले नाना–चाचा फेरे, कान्छीले पाइनन् । खान–पीनमा समेत अर्गल्याईं हुन थाल्यो । कान्छीलाई अब बल्ल शङ्का लाग्न थाल्यो । उनले ल्याएको पैसा, सुन र धेरै कुरा कहाँ गयो भन्ने प्रश्न उठ्न थाल्यो । एकाएक उठेको लाटो रीस…, प्वाक्कै मुख फोरिन् पतिसँग र भनिन् , “ए काठा मेरो सम्पती खोइ ? तेरो नोकर्नी हुन आएकी हुँ म ?” मास्टर साहेब छाँगाबाट खसेजस्तो भए । उता जेठी श्रीमती पनि झस्किन् । घरमा सन्नाटा छायो । कान्छीले फेरि थपिन्, “के ठानेको छस् ? मेरा सबै मान्छे मरिसके ? सुब्दारकी छोरी हुँ म बुझिस् ?”
रीसको झोँकमा कान्छी कतै लागिन् । कहाँ गइन् एकछिन थाहा भएन । जेठीतिर दुईटा छोरा खासै उमेर भएको थिएनन् । कुराको रहस्य बुझेनन् । “कान्छी आमा किन रिसाउनु भएको हो बाबा” भनेर सोधे बिचराले । छोराहरुले कान्छी आमालाई मन पराउँछन् । कारण, कान्छी आमाले पनि माया गर्छिन् । कान्छीतिर एउटी छोरी, सानै छ । उ दाजु र अरु परिवारसँग रमाएकी छ । उसलाई झन त्यस्ता कुराको मेसै छैन ।
दशैं खल्बलियो । मनमा कालो त थियो नै । कान्छीलाई बोलाएर सम्झाउने कुनै बहाना तथा कुरा थिएनन् । चाहने हो भने कान्छीका मान्छेले जे पनि गर्न सक्छन् भन्ने पनि छ । त्यसै पीरले मास्टर साहेबको टाउको रननन्न रिँगायो । हाइ प्रेशरका बिरामी छँदै थिए, ढले । उनलाई तुरुन्तै अस्पताल लगियो । चार दिनपछि तै होशमा आए । कान्छीले कताबाट थाहा पाइछन् र उनी हिँडेको भोलिपल्टै अस्पतालमा पुगिन्, पतिलाई छामिन्, सुम्सुम्याइन् र आफूसँग रहेको ५ हजार दिइन् । त्यस घटनाले त्यहाँ उभिएका आफन्तका आँखा रसाए । कान्छीलाई स्नेहको सन्तुलनमा राखेको भए मात्र कुरो सकिएको थियो । अब त्यो कुरो पुरानो भएको छ । सबैले मुखामुख गरे ।
मास्टर साहेबलाई कसैले तुरुप हानेर उनलाई मगरहरु मिलेर सत्यनाश पार्छन् भनेर सुनाइदिएछन् । कान्छीले पनि पख्लास् काठा भनेकै थिइन् । हो न हो त्यही मगर्नीको कारणले यहाँ सम्म पुगियो र आज उसैको कारणले मरिने भयो भन्ने लागेछ ।
जेठीतिर भएको खेत बाँडेर ब्यवहार मिलाउने सम्भावना थिएन । जेठी झनै जब्बरसाँढा निस्केकी थिइन् । पहिले मास्टर साहेबले सिकाए पेवा हो भनेस् भनेर । पछि त पतिलाई तिम्रो के छ र ? भनेर झपार्न थालेकी थिइन् । मास्टर साहेब बोल्न सकेका थिएनन् । समाज बोल्नु प¥यो भने कान्छीकै पक्षमा बोल्नु पर्ने हुन्थ्यो । कानूनका आँखा कता फर्कन्थे थाहा भएन । त्यसै बेलादेखि जेठीको मनमा चिसो पस्यो । जेठी र मास्टर साहेब दुबैजना बिरामी परे । कान्छी आखिर त्यही घरकी सदस्य हुन्, रीस मरेपछि घरमा आइन् । छोरा–छोरीको माया पनि लाग्ने नै भयो ।
धेरै महिनासम्म जेठीको रोग सञ्चो हुनुभन्दा झनै खराब हुँदै गयो । मानसिक कारणले शुरु भएको रोग के–के भयो के–के । उनको दिमागले काम गर्न छोडेको जस्तो भयो । र, अन्तमा कता भौँतारिइन् थाहा भएन । धेरै खोजी गरेका हुन्, कसैले फेला पारेनन् । मास्टर साहेबको पनि अवस्था राम्रो छैन । घर अब कान्छीकै हातमा आयो । किन हो कुन्नि ? कान्छीले पतिको निकै स्याहार–सुसार गरिन् । पहिलो पटक हो त्यति नजिकै रहेर त्यसरी सेवा गर्न पाएको । जेठी हुँदा उनी घर भित्र के भएको छ भनेर समेत मेसो पाइनन् ।
छोरा–छोरीको सेवा तथा मायामा समेत उनले कत्ति कसर राखिनन् । खास गरेर छोराहरुले आफूलाई जन्म दिने आमा हराएको पीर त छ तर उनीहरुले के पो गर्न सक्थे र ? पीडा बिर्संदै गए । मास्टर साहेबलाई सामान्यतया ठीक हुँदै गए पनि पुरानो हैकममा फर्कने अवस्था देखिएन । औषधि र कान्छीको सेवाको भरमा मात्र दिन गन्दै छन् । उता कान्छीका माइती पक्ष अझै थोरै समय हेरौँ भन्ने छन् । हुन त कान्छीले माइतमा कुरा लगाएकी होइनन् र पनि थाहा पाएछन् । ती सबै कुरा मास्टर साहेबले थाहा पाएका थिए । त्यस्तैमा जेठी बिक्षिप्त अवस्थामा अथवा सडक छापको अवस्थामा भेटिएको खबर आयो । खोजेर घरमा त ल्याए । तर, उनको अवस्था ब्यवहारमा सहयोग पुग्ने खालको थिएन ।
जेठीको नामको जग्गा नामसारी गर्ने कुरो भयो । कागज–पत्र तयार गरे र सबै कान्छीको नाममा पास गरे । कान्छी अचम्मै परिन् । त्यतिका बर्षसम्म उनको जग्गा कति छ भन्ने थाहा पाएकी थिइनन् । चासो पनि राखेकी थिइनन् । ६ बिगाहा रहेछ जग्गा । मास्टर साहेबले यो घर र यी बाल–बच्चा सबै तेरो जिम्मा छ राम्ररी स्याहार गर्नु भने । त्यस्तैमा उनलाई लहरे खोकी आयो । खोक्दा खोक्दा फेरि बेहोश भए । हर्ट एट्याक भयो क्यार ? अहिले भने उनको होश खुलेन । अस्पताल लैजाने समय पनि भएन । छिमेकी बोलाएर मैरामा सारे । कान्छीले एक घुट्को पानी खुवाइन् । जेठी भने एक सुरकी थिइन् । उनको दिमागले केही ठम्याएन । छोएन । मास्टर साहेबको देहान्त भयो ।
काज किरिया सकियो । जेठीको अवस्था उस्तै छ । कतै भौँतारिएर हिँड्ने पो हुन् कि भन्ने डर पनि छ । अब भने कान्छीका माइती आउने जाने गर्न थाले । आइपरेको बेलामा सहयोग समेत गर्न तयार भए । कान्छीले अरु केही कुराको गुनासो गरिनन् । पहिले पनि कहिल्यै घरको बिषयमा माइतीमा गुनासो गरेकी थिइनन् । यस पटक दाजुहरुसँग एउटै सहयोग मागिन् । त्यो हो दिदीको उपचार । दाजुहरुले पनि बहिनीकी सौता हो, कुनै समयमा दुःख दिएकी थिइन् भन्ने कुरा सोँचेनन् । र, एक हप्ता मानसिक अस्पतालमा लगेर उपचार गरेर ल्याए । सञ्चो भयो ।
आज दिदीको पुरै होस खुलेको छ । सबै कुरा सपना जस्तो लागेको छ उनलाई । पति बियोगको घाउ पनि आजै दुखेको जस्तो लाग्छ । “जे हुनु भयो दिदी, मैले सबै ब्यवस्था गर्छु, पीर नमान्नुस् ।” भनेर कान्छीले सम्झाइन् । दिदीका आँखाबाट बरर्र आँसु आए । त्यो देखेर कान्छी पनि रोइन् । छिमेकी आएका, उनीहरुका समेत आँखा रसाएका देखिन्थे । त्यस्तैमा छोरी ठुली आमाको काखमा गएर बसी र नरुनुस् मम्मी भनी । उसले दुबै आमालाई मम्मी भन्छे । ठुली आमा झन् रोइन् । छोराहरु भने कान्छी आमाको नजिकै थिए । कान्छी आमाले दुबै छोरालाई काखमा राखेर मुसारिन् ।
जेठीको अनुहारमा कान्ति र कान्छीको अनुहारमा शान्ति धप्प बलेको दृष्य मास्टर साहेबले देखेनन् बरा !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)