नामै त कन्यादान !

कथाः विद्रोहपछि

सागर ‘मणि’ थापा

मेरी जेठी छोरी प्लस टु मा पढ्थी । नाम पिन्टू । उसको पढाइ गतिलो थिएन । एघार कक्षामा उसले दुई विषयमा आलु खाई ।

मातातीर्थे औँसीको दिन थियो । यसपालि पनि म माइत जाने सुरसारमा थिएँ । आमाले तीन–चार दिन बस्ने गरेर आउन आग्रह गर्नुभएको थियो ।

दराजबाट रातो सारी झिक्दै गर्दा पिन्टुले आलोचना गरी— ‘कत्ति त्यही मात्र सारी लगाउन मन लागेको होला यो मामुलाई । अर्को लगाउन मन पर्दैन हजुरलाई ?’

पिन्टुको कटाक्षप्रति मैले हाँसी हाँसी व्यङ्ग्य मिश्रित भाव प्रकट गरेँ— ‘तेरो बाबाले प्रशस्तै लुगा ल्याइदिएका छन् । छान्नलाई अल्छी लागेर यही पुरानो सारी लगाउन लागेकी नि । अब भन्नु केही छ ?’

‘बाबालाई हेलाँ गरेर भन्नुभएको होइन हजुरले ?’, जेठी छोरी पिन्टुको थुतुनो तीखो सुइरोमा अनुवाद हुन थालेको थियो । मेरो अन्तः करणले उतिबेलै ठम्याएको हो— म सामन्ती परिवारमा भित्रिएछु ।

पिन्टुले असभ्य लवजमा गाली गरी, ‘हजुरले बाबाको कमाइ छैन भनेर व्यङ्ग्य गरिस्या होला । यो घरभन्दा पनि ठूलो घरमा बिहे गरिस्या भे हुँदैनथ्यो ?’

‘पिन्टु…।’

अचानक मेरो हात उसको बायाँ गालामा बज्रिन पुग्यो । म चाहन्थेँ, उसको बकबक रोकियोस् । अफसोस ! सासूको प्रवेश सँगसँगै ममाथि मौखिक प्रहार भइहाल्यो, ‘काम नपाएर पिटेकी ? बिचरी मेरी नातिनी ! च्वच्वच्व..।’ उहाँले जेठी नातिनीको गाला मुसार्दै लोलोपोतो देखाउन थाल्नुभयो । उहाँले मत्याइको श्रृङ्खला सुरू गर्नुभयो, ‘नानुलाई दुख्यो होला हगि ? ल ल भो नरोऊ । म छु नि तिम्री हजुरमुमा ।’

त्यसपछि मतिर फर्किनुभयो, ‘लोग्नेको रिस छोरीमाथि पोखेकी ? अचेल उसको कमाइ छैन भनेर त होला नि । यो घरमा के चीजको कमी छ तिमीलाई ? खान पाइनौ कि ? लाउन पाइनौ…।’

लाउने कुराको प्रसङ्ग सँगसँगै उहाँका नेत्र मेरो दराजतिर परे । तब त रामायण सुरू भैहाल्यो— ‘ल हेर, आज पनि त्यै पुरानो सारी लगाएर माइती जान लागेकी ! सधैँभरि एउटै सारी लगाएर जाँदा सम्धिनीले के ठान्नु होला ! मैले हेलाँ गरेजस्तो ठहरिन्न ?’

सासूले आफ्नो कोठाबाट एउटा सारी ल्याएर दिँदै भन्नुभयो– ‘यो सारी मैले एकचोटि मात्र लगाएकी छु ।’ सासूले माइतीको धाक लगाउन छाड्नु भएन । त्यो जडेउरी सारी उहाँको भाइले तिहारमा उपहार दिएका थिए ।

अझ पिन्टु त बूढीसासू पो भइदिई । ऊ अर्ती दिन्छे, ‘फेरि हजुरले मामाघरमा भन्नुहोला नि, ‘सासूमुवाँले पुरानो सारी दिनुभएको’ भनेर । त्यस्तो भयो भने त हजुरमुमाको इन्सल्ट हुन्छ । होइन त हजुरमुमा ?’ जेठी नातिनीको विचारप्रति मेरी सासूले समर्थन गर्दै हो नि मेरी नातिनी । तिमीजस्ती नातिनी पाएर म धन्य भएकी छु भन्दै म्वाइँ खाएर फुक्र्याउनुसम्म फुक्र्याउनुभयो ।

मैले कालो सारी लगाएँ । त्यो मेरो साङ्केतिक विद्रोह थियो । पिन्टुले फेरि भाँजो हाल्न खोज्दै हजुरलाई पनि त माइत जानुपर्छ नि होइन र हजुरमुमा ? भनेर सम्झाइदिई । तब त सासूले आजै घर फर्कनू भनेर कडा आदेश जारी गर्नुभयो । पिन्टुले साङ्केतिक भाषामा मलाई खुच्चिङ भनिरहेकी थिई ।

म खाना नखाइकनै बाहिर निस्किँदै थिएँ । ससुरासँग अलिकतिले टाउको जुधेन । म शरमले निहुरिएँ । उहाँ ङिच्च हाँस्नुभयो । उहाँको अनुहारले जति सरल देखिनुहुन्थ्यो, त्यसको दसौँ गुणा कठोर र असहिष्णु हुनुहुन्थ्यो ।

मेरो ससुराले सरकारी बैंकमा करिब तीस वर्ष सेवा गर्नुभयो । प्रवन्ध निर्देशकजस्तो उच्च र गरिमामय पदबाट अवकाश प्राप्त गर्नुभयो । त्यत्रो वरिष्ठ मानिस असहिष्णु ! वास्तवमा नपत्याउने कुरा थियो त्यो । तर सत्य त्यही थियो । मेरो ससुराको आनी—बानी थाहा पाउनेहरूले पछिल्तिर कुरा काट्दथे । थुक्थे पनि । त्यस्तो मानिसलाई मैले सम्मान गर्नुपथ्र्यो ।

उहाँले कुरा बटारेर भन्नुभयो, ‘आजै फर्किन्छ्यौ हैन तिमी ? तिम्री सासू पनि माइत जाने हो क्यारे । नातिनीहरूले पकाएका खाना मलाई हुँदैन भन्ने कुरा तिमीलाई थाहै छ ।’

सासूरूपी पर्खाल त नाघेँ तर ससुरारूपी तगारो अगाडि तेर्सियो । मैले उहाँको आज्ञा अक्षरसः पालन हुने कुरा गरेपछि लोलोपोतो देखाउँदै विप्लव घरमा छैन ? बाइकमा सरर्र पु¥याएर आएको भए हुने नि भनिटोपल्नुभयो ।

मैले भैगो, म बस चढेर गैहाल्छु नि बुबा भन्दै बिदाइको स्वस्ती गरेर बाटो लागेँ ।

माइतीघरमा आमासँग दुःख–सुखका कुराहरू भए । घरबाट एकदिन पनि बिदा नदिएकोमा जाबो एकरात पनि बस्न नपाउने मेरी छोरीले ? म ऐल्यै कुरा गर्छु सम्धिनीज्यूसँग भन्दै मेरी आमा रिसाइन् । मैले रोक्दै त्यसको आवश्यकता छैन आमा भनेँ । अनि आमको मोबाइल खोसेर राखेँ ।

मैले नचाहेरै ससुराज्यूलाई मेरै भान्छा चाहिन्छ । तपाईँलाई थाहै छ नि उहाँको दीर्घरोगका बारेमा भनी पीडा लुकाउने चेष्टा गरेँ । तब त मेरी आमाको चित्त दुखेर बिचरा सम्धीज्यू ! बाँचुन्जेली सुगर रोगले नछाड्ने भो भन्दै आँखा भिजाइन् ।

मेरी आमा बहकिन थालिन् । यस्तैमा मेरी प्यारी सखी कृतीको आगमन भयो । उसलाई देख्नासाथ म पुलकित भएँ । रमाएर गाला जोड्न अघि सरेँ । तर मेरी आमाको अनुहार एक्कासि अँध्यारो भयो । नीलो आकाशमा कालो बादल छाएजस्तो ।

Ad

त्यसमाथि कृतीले सोझै भन्दिई, ‘भगवानलाई धन्यवाद दिनुपर्छ । धन्न इन्सुलिन दिनुपरेको रहेनछ । तेरी सासूलाई पनि हाई ब्लड प्रेसर छ होइन विद्या ?’

‘यी सब कुरा कसरी चाल पाइस् तैँले ?’, आमा एक्कासि झोक्किन थालिन्, ‘तेरो त्यो पुरानो बानी अझै गएन होइन कृती ? अर्काको निजी कुरामा कत्ति चासो लिनुपरेको हँ तँलाई । यो आइमाईको लैलैमा नलाग् है छोरी ।’

उनी फन्केर कोठाबाट गइन् । मैले कृतीलाई चित्त नदुखा है ? भनेँ । तर अनायासै त्यो कालो अतीतको छायाँ आएर हामीलाई ढपक्कै ढाकिदियो ।

मेरो बिहे हुनेताका कृतीले सचेत गराएकी थिई । मेरो हुनेवाला दुलाहा विप्लव साह्रै विप्लवी छ रे । नशाको कुलतमा फँसेको छ रे । जागीर पनि उसको बाबुकै सोर्सको भरमा पाएको हो रे । विचार नगर्ने हो भने तँलाई पछि दुखः हुन्छ ।

तर मलाई मेरो परिवारले त्यही घरमा पठाए । तपसीलका खोक्रा आश्वासन दिलाएर जन्मघरबाट निकालेका थिए ।

१. खानदानी घर हो ।
२. धनाढ्य परिवार हो ।
३. दुलाहाको सरकारी नोकरी छ ।
४. बिहेपछि पनि पढाइदिन्छन्, एम.ए.सम्म ।
आदि । आदि ।

पाटन नमुना मच्छिन्द्र क्याम्पसमा आई.कम.मा भर्ना भएकी मात्र थिएँ । मलाई बिहे गरेर पठाइहाले । मेरो दुलाहाको विप्लवी चरित्र सुहागरातको पलङभरि छरपस्ट भयो । टन्न रक्सी धोकेको गनाउने मुखद्वारा जुठिन पुगेँ म । ममाथिको वैधानिक वलात्कार थियो त्यो । नामै त कन्यादान । दानमा पाएको वस्तुलाई जसरी उपभोग गरे पनि भयो नि !

मेरो सपनाको आकाशको अर्को टुक्रा त्यो दिन झर्न पुग्यो, जुन दिन मेरो ससुराले मेरो विषयमा कुनिणर्य सार्वजनिक गरेका थिए । मेरो दुःख बिसाउने चौतारी पति मात्र थिए । अतः मैले सुत्ने बेलामा गुनासो गरेँ, ‘बुबाले मलाई भोलिबाट क्याम्पस जान मनाही गरिसेको छ । हजुरलाई कस्तो लाग्छ ? के त्यो निर्णय सही हो ?’

‘ठीकै त भन्नुभयो बुबाले ।’ पतिले आक्रोसपूर्ण स्वरमा भनेका थिए— ‘एक त तिमी दुई जीउकी भैसक्यौ । दोस्रो कुरो, तिमीले पढेर के काम ? हाम्रो खानदानमा आइमाईको कमाइ खाने चलन छैन । त्यसैले म पनि भन्छु कि तिम्रो पढाइलेखाइ टोटल्ली बन्द होस् ।’ त्यसरी सङ्कुचित मानसिकताको शिकार बनाइयो मलाई ।
त, आजको भेटले कृतीलाई साहै्र नै दुःखी बनायो ।

अन्ततः मुख फोरेर भन्न वाध्य नै भई कृती, ‘तपाईँ मलाई जे ठान्नोस् काकीआमा । वास्तवमा त्यो घर होइन । मसानघाट हो । के सन्तान जन्माउने मेसिन मात्र हो यो विद्या ? खै, कहाँ पुग्यो उनीहरूको त्यो वाचा ?’

अहँ, मेरी आमाको घुच्चुकमा पसेनन् कृतीका सत्वाणीहरू । उल्टै झपारिन् बूढीले, ‘तँ किन यस्तो घरभँडुवा कुरा गर्छेस् हँ ? विद्याले सुख पाएकी कुराले असह्य भो तँलाई ?’ बिचरी कृती । सहनै नसकेर चियासमेत नपिई त्यहाँबाट फर्किई ।

म माइतीघरबाट फर्किएकी औँसीकै रातमा मेरो घरमा ताण्डव सुरू भैगयो । मेरो पतिले बेसरी जाँड धोकेर आएका थिए । सासूले तीतो कुरा सनाइदिनु भयो, ‘अब म सक्तिनँ । भिन्दो राखिदिन्छु । तँ जाँडको पुङ्गोलाई यो घरबाट निकालेपछि मात्र शान्ति होला । नत्र भने बाँचुन्जेल…।’

बस्नुप¥या छैन यो घरमा भन्दै अंश नलिई निस्कन्छु भन्ठान्या छ तपाईँहरूले ? मलाई जाउलाखेलको घर दिनोस् । म भोलि नै परिवार लिएर जान्छु । अनि हजुरचाहिँ छातीमा च्यापेर राख्नोस् यो घरलाई भनेर मेरो जँड्याहा पतिले चुनौती दिए ।

बुबाले पनि उस् लेलास् तैँले त्यो घर भन्दै छोरामाथि आक्रमण गर्नुभयो । उहाँले भएको जागिर छोडिस् । घरचाहिँ करोड मूल्यको ताक्छस् ? भनेर लोप्पा ख्वाइदिनुभयो । मेरो ससुरा निकै तनावमा हुनुहुन्थ्यो । किन कि नातिनीहरूका सारा खर्चको बोझ उहाँमाथि परेको थियो ।

भएको एउटै छोराको बानी खराब भएकोले उहाँ बम्किनु नाजायज थिएन । छोराले नक्कली प्रमाण–पत्र पेस गरेर जागिर खाएका रहेछन् । त्यसो त बुबाकै गल्ती थियो । सोर्सको आधार उहाँ नै हुनुहुन्थ्यो । सरकारी छानबिनमा परेपछि मेरो पतिको जागिर चट् भयो । रक्सीको मात्रा बढ्न थालेको त्यही बेलादेखि हो ।

अर्को दिन मेरो पति विप्लवले जाँड नखाएको बेलामा भने, ‘मलाई अलिकति पैसा मिलाइदेऊ न विद्या । म विजनेस गर्छु ।’ मैले विवशता प्रकट गर्दै हजुरलाई मैले कहाँबाट पैसा ल्याएर दिऊँ भनिस्यो त ? मेरा माइतीहरू सक्षम थिएनन् । त्यो थाहा भएकै कुरा हो भनेँ ।

यसचोटि पनि जेठी छोरी आगोमा घिउ थप्न आइपुगी र दिस्योस् न गहना फुकालेर । आखिर ती गहनाहरू बाबाले नै किन्दिसेको हो क्यारे भन्दै उसको बाबालाई उचाल्न थाली । त्यसपछि बाबा हंसमुख पारेर मेरो जीउका गरगहनातिर आँखा गाड्न थाले ।

मैले कान्छी छोरीबाट थाहा पाएँ, पिन्टु एउटा स्कुटी किन्ने सुरमा रहिछ । बाबा र हजुरमुमाको तावेदारी गर्नुको मतलव त्यही थियो । मैले विप्लवप्रतिको रिस उही पिन्टुमाथि पोखिदिएँ । त्यस बखत वर्षौँदेखिको मेरो कुण्ठा घरभरि छरपष्टिएको थियो ।

घरमा मलाई तैँले एउटा छोरो जन्माउन सकिनस् भन्ने भावको मेन्टल टचर दिइरहन्थे । ममाथि वंशविनाशको तथाकथित आरोप लाग्दै आएको थियो । छोराको लोभमा मेरो ज्यानमाथि अत्याचार भैरह्यो । म चा–चारओटी छोरीहरूकी आमा बन्न पुगेँ ।

मैले सासू—ससुरालाई सुनाएर मेरो शरीर खत्तम पार्ने हजुरहरू नै हो भन्दै मेरो पढाइमाथि बलात् हस्तक्षेप भएको पनि हजुरहरूकै कारण हो भनिदिएँ । तब त रोगी ससुराको अनुहार हेर्न लायकको भयो । उनको पुख्र्याैली सामन्तवादी सोचप्रति आज यसरी आफ्नै बुहारीबाट प्रहार होला भन्ने उनले सपनामा पनि सोचेका थिएनन् ।

केही घण्टापछि नै हाम्रो घरको कुरा गाउँतिर पुगेछ । सुन्नेहरूले जिब्रो टोकेछन् । मेरी साइँली छोरी ज्ञानी र मेधावी छे । उसले मलाई साथ दिएकी थिई । आक्रोस पोख्दै छोरीमान्छे भनेर हेपिस्या हजुरहरूले ? हजुरमुमा पनि त छोरी होइन र ? एउटी छोरीले अर्की छोरीलाई हेलाँ गर्न सुहाउँछ ? भनिस्योस् त, सुहाउँछ ? भनेर धेरै सवाल गरी । साइँली छोरी दीपिकाले मज्जाले भन्दिई, ‘हाम्री मामुलाई पढायो भने ड्याडीलाई जितिसिन्छ भन्ने पीर थियो होइन हजुरबुबा ? मामुले जागीर खानु भएको भए आज हजुरहरूले हेप्न सक्नुहुन्थ्यो ? त्यो पल्लो घरकी कान्छीको जत्ति पनि भाउ छैन मामुको यो घरमा ।’

‘छोरी, चुप लाग तिमी ।’ सीमा नाघ्न लागेकी दीपिकालाई मैले रोक्न खोजेँ, ‘मान्छेहरूले सुन्छन् नानी । धेरै नबोल ।’

हजुर चुप लाग्नोस् मामु भन्दै दीपिकाले सामन्ती सोचाइ छ यो घरमा । अब विद्रोह हुन्छ । यो घरमा ठूलै विद्रोह हुन्छ भनेर बेसरी कराई । तब त हजुरआमाको धैर्यता टुट्यो र साइँली नातिनीलाई तँ थुतुने भएर निस्किछेस् भन्दै भकुर्नुभयो । ब्लडप्रेसरको रोगी । आपैmँ ढलिन् । अनि त एम्बुलेन्स बोलाउन हतार भइहाल्यो ।

अर्को दिन अस्पतालको बेडबाट सासूले घोषणा गर्नुभयो, ‘अब म सक्तिनँ बुहारी । तिमीले नै सम्हाल घर–परिवार ।’ घरको तालाचाबी मेरो हातमा दिनुभयो ।

ससुराले पनि पश्चाताप गर्दै मलाई क्षमा गर बुहारी भनेर हात जोर्नुभयो । उहाँले वास्तवमा मैले तिमीमाथि ठूलै अन्याय गरेको छु । तिम्रो विगतलाई फर्काएर दिन त सक्तिनँ तर भविष्यको लागि केही गर्न सक्तछु भन्दै जावलाखेलको घरजग्गा मेरो नाममा नामसारी गरिदिने वचन दिनुभयो ।

नभन्दै महिनामा एक लाख रुपैयाँ घरभाडा आउने घरजग्गा मेरो नाममा आयो । त्यसपछि त मेरी जेठी छोरी पिन्टू लाइनमा आई । मेरो पति पनि सुध्रिँदै आए । विद्रोहपछि घरको सबै हक, अधिकार मेरो अधीनमा आयो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button