
बबिता ढुङ्गेलको ‘जस–अपजस’
कथा
दुई रुपैयाँको सिक्का देखाउँदै ‘बाबा ! यो मनीले साइकल आउँछ ?’ भनी आफ्नो पाँच वर्षे छोराले प्रश्न गर्दा रोशनलाई सारै नमज्जा लाग्छ । आउँछ भनौँ, बालकले साइकल ल्याउन ढिपी गर्ला । आउँदैन भनौँ, त्यो कलिलो मनलाई नरमाइलो लाग्ला । असमञ्जस्यमा पर्छन् उनी ।
छोरालाई अनेकन कुराले भुल्याए पनि उनको मनले भने त्यो भुल्नै सक्दैन । मन मनै आगामी दिनमा किनिदिने बाचा चैँ गर्छन् उनी ।
रोशन उच्च शिक्षाका लागि काठमाडौँ छिरेका थिए । सरकारी सेवामा नाम निकाल्ने उनको चाहना । काम, पढाइ अनि घर व्यवहारलाई एकै साथ व्यहोर्दा सफलता हासिल गर्नै सकेनन् । त्यसैले शिक्षण पेसामा आएका हुन् उनी । आफ्नो विषयमा भने निकै पोख्त छन् ।
छोरा जन्मिए पछि शिक्षण पेसामै आवद्ध रोशनकी श्रीमती मीनाले बाध्य भएर जागिर छोड्नु प-यो । आफ्नो जागिर टिकाइ राख्न गाउँमा भएका सासू ससुरासँग सहर आएर केही समय बसिदिनका लागि हार गुहार नगरेकी होइन उसले । त्यसको खासै सुनुवाइ नै भएन ।
एक जनाको कमाइले घर परिवार धानेर जेनतेन गुजारा गरिरहेकै छन् उनीहरु । ‘पढेको छोरो उतै सहरमै जागिर खानु, केही गर्न नसकी गाउँ फर्किँदा छरछिमेकले के भन्लान्’ भन्ने बुवाको वचन राख्न पनि सहर बस्नु परेको छ रोशनलाई । आफ्नै गाउँ फर्किएर केही गर्ने इच्छा नभएको त कहाँ हो र ! उसलाई पनि ।
उसका घरका मानिसलाई भने सहरमा रुपैयाँ रुखबाट पत्ता टिपेझैँ सहजै पाइन्छ भन्ने लाग्दो रहेछ कि क्या हो ! त्यस्तै हुन्थ्यो त्यहाँ । सहरबाट गाउँ जाने कोही छ भन्ने खबर सुनेपछि बुवाआमा, दिदीबहिनी अनि दाजुभाइबाट केही न केही कुराको माग भइहाल्थ्यो ।
नपठाऊँ चित्त दुख्ला, पठाऊँ सीमित बजेटले घरव्यवहार धान्नै मुस्किल । जिन्सी सामानमा भएको खर्च गणनै हुँदैन । बेला बेलामा नगद पनि घरमा पठाउनै पर्ने । आफूले तलुवा खिएको जुत्ता लगाएर भए पनि घर परिवारको माग गर्न सके जति पूरा गरिदिन्थ्यो ऊ । एक चोटी कान्छी बहिनीले राम्रो मोबाइल पठाइदिन रोशनलाई भनेकी थिई । भनेको समयमा बहिनीको माग पूरा गर्न नसकेकाले आज सम्म पनि उसले लोभीको संज्ञा पाइरहेकै छ । इच्छा लागेको कुरा फ्याट्ट मागिदियो, पूरा नभए रिसाइदियो । कति सजिलो । अभावका कुरा घर तिर सुनाउँदा ‘सहरमा बसेको छोरो घरमा पैसा पठाउला भनेको त उल्टै पो माग्छ’ भन्ने जवाफ आइहाल्थ्यो ।
मीना पनि आफ्ना इच्छा आकांक्षा पाखा लगाएर भए पनि घर परिवारलाई खुसी राख्न चाहन्थी । यति हुँदाहुँदै पनि ‘सहरमा बसेकी छे, मस्ती छ नि त्यसलाई’ भन्ने आरोप बेला बेलामा खेप्न विवश छे ऊ । कहिले काहीँ त कुरै कुरामा ‘हुन त आजभोलि गाउँ पनि के कुरामा कमी छ र अलिकति अवसरको कमी त हो’ भनेर कुरालाई सामान्य पार्छे । खेतीपाती, कुखुरापालन, बाख्रा पालन राम्रै आयश्रोत हुन्छ, बरु गाउँमा ।
प्रायः रोशनकहाँ पाहुना टुट्दैनन् । कोही बिरामी भएर औषधोपचारका लागि आउँछन् । कोही विदाको समयमा राजधानी घुम्न आउँछन् । कोही पढाइको तयारीका लागि त कोही जागिर खोज्न । काम नसल्टिउञ्जेल त्यहीँ बस्छन् ।
मामाघरकी हजुरआमा बिरामी पर्नुभयो । उहाँलाई उपचारका लागि काठमाडौँ ल्याउनु पर्ने भयो । काठमाडौँमा आफ्नै घर भएका आफ्ना आफन्त त धेरै थिए । मामाले रोशनलाई नै सबै कुराको चाँजोपाँजो मिलाउन खबर गर्नुभयो । हजुरआमालाई ब्लडप्रेसर थियो । धन्न बेलैमा उपचार हुन पाएकाले प्यारालाइसिस चाहिँ भएन । अबको केही महिना हजुरआमा काठमाडौँ नै बस्नु पर्ने भयो । उपचारकै लागि भए पनि ।

घर व्यवहारका अनेकन काम बितिरहेका छन् भन्दै मामा गाउँ फर्कनु भयो । हजुरआमालाई रोशनकै जिम्मामा छाडेर । हजुरआमालाई बारम्बार अस्पताल लगिरहनु पथ्र्यो । रगत जचाउन, फिजियोथेरापी गर्न, कहिले डाक्टरलाई नै भेटेर परामर्श लिन ।
रोशनको प्राइभेट स्कुलको जागिर अनि मीनालाई सानो बच्चा, काम पुगिहाल्यो । कहिलेकाहीँ त कामबाट विदा लिन्थ्यो ऊ । कहिले समयमै आइएला नि भनी अड्कल गरेर हजुरआमालाई अस्पताल पु¥याउँथ्यो । अड्कलेझैँ कहाँ हुन्थ्यो र ! विद्यालयमा धेरै बिदा लिएको अनि समयमा नआएकामा विद्यालय प्रशासनबाट उसले कयौँ चोटी चेतावनी पनि पाउँथ्यो । तर बाध्यताका अगाडि कस्को के नै लाग्छ र !
यता मीनाको हालत पनि उस्तै । सानो बच्चा, उसलाई पनि हेर्नै प-यो । त्यसबाहेक घरका कामधन्दा अनि बिरामीको स्याहार सुसार । टुसुक्क बस्ने पनि फुर्सदै हुँदैनथ्यो उसलाई । रोशनले हजुरआमालाई अस्पताल लैजान नभ्याएको बेलामा त कयौँ पटक त्यो सानो छोरालाई छिमेकीको जिम्मामा छाडेर पनि गएकी छे ऊ ।
बिरामी हजुरआमालाई भेट्ने आफन्तहरुको आवागमन पनि निकै हुन्थ्यो । कोही एक छिन् भेटघाट गरेर फर्किहाल्थे । कोही त केही दिन नै बस्ने गरेर समेत आउँथे । अनौठा अनौठा स्वभावका आउँथे पाहुना पनि । कसैलाई कालो चिया मनै नपर्ने रे ! कोही खाजामा मिठो मिठो खाऔँ न भनी अर्डर गर्ने खालका । कोही तिमीहरुले गर्नु गरेका रहेछौ भनी प्रशंसा नै गर्थे । कोही भने बिरामीको राम्रो हेरचाह नै भएको रहेनछ भनी औँला उठाउने खालका पनि । जे जस्ता पाहुना आए पनि मीनाले व्यहोरकै थिई ।
रोशनकी सानीमा पनि बिरामी आमा भेट्न आउनुभयो । बिरामीलाई बेलाबेलामा डाइटफूल कुरा खुवाऊ भनेर मीनालाई निर्देशन दिनु भयो । काठमाडौँमै आफ्नै घर भए पनि आमालाई लैजान्छु भन्ने आँट भने गर्नै सक्नु भएन । घरमा हुर्केका छोराछोरी अनि फुर्सदिलो उहाँ पनि हुनुहुन्थ्यो ।
औषधी अनि डाक्टरको उपचार खर्च मामाले थेगे पनि बाँकी सबै रोशनकै थाप्लोमा थियो । ती विविध खर्चको लेखाजोखा भने कतै हुँदैनथ्यो । रोशनलाई व्यवहार धान्न हम्मे हम्मे परेको थियो । मनको बह कसलाई पो कह ? ऊ मीना बाहेक कसलाई पो सक्थ्यो र आफ्नो दुःख बिसाउन । साथीहरुसँग पनि अर्को महिनाको तलब आएपछि तिर्ने भाकामा सापटी त लिन्थ्यो तर समयमै फिर्ता गर्न नसकेकोमा लज्जित हुनुपथ्र्यो । आफन्तसँग पैसा मागौँ कोही सापटी शब्द सुन्न नि चाहँदैनन् । जुन कुरा उसले छोरा बिरामी हुँदाकै दिनमा भोगिसकेको थियो । अझै मागौँ व्यर्थमा बँचेखुचेको सम्बन्ध पनि बिग्रन्छ । यी सम्पूर्ण कुरा सम्झेर चाल्न लागेका कदम पनि रोक्थ्यो ऊ ।
उता गाउँमा भएकी रोशनकी आमा भने आफ्नी आमाको हेरचाह अनि खानपानमा कुनै कमी नहोस् भनी बारम्बार छोरा बुहारीलाई सम्झाइरहनुहुन्थ्यो ।
रोशनकी अर्की सानीमाकी छोरी बिरामी हजुरआमालाई भेट्न आइन्, शनिबार पारेर । नातिनी आए पछि हजुरआमा असाध्यै खुसी हुनुभयो । बिरामी अवस्थामा कोही भेट्नमात्रै आयो भने पनि त्यो अविस्मरणीय हुने कुरा गर्दै हुनुहुन्थ्यो हजुरआमा । सानीमाकी छोरीले हजुरआमाका लागि ब्लाउजको कपडा र अङ्गुरको जुस ल्याएकी रहिछन् । दिनभरी बसिन् उनी । आफैँ थेगिएर बस्न नसक्ने हनुरआमालाई उनी स्वयंले जुस खुवाउनै सकिनन् । जुन काम मीनाले नै गर्नु पर्यो ।
हजुरआमा त्यो व्लाउजको कपडालाई ओल्टाइ पल्टाइ पारेर घरी घरी हेर्नुहुन्थ्यो । एक छिन् पछि त रोशन र मीनालाई त्यो जुसको बट्टा अनि ब्लाउजको कपडा देखाउँदै ‘तिमीहरुले म यहाँ यत्रो दिन बसुञ्जेल के ग-यौ ? हेर त यसले मेरा लागि यत्रो खर्च गरेकी !’ भन्नुभयो । यत्रो दिन बस्दा पनि हजुरआमालाई केही किनिदिएको छैन ? सानीमाकी छोरीले रोशन र मिनालाई हेर्दै आश्चर्य भावमा प्रश्न गरिन् ।
रोशनको निरीहता माथि नराम्ररी प्रहार भयो । मीनालाई त झन् प्रत्येक शब्द शब्दले घोपेझैँ भयो । उसले आफूले भोक तिर्खा अनि थकान नभनी गरेको स्याहार सम्झी । कयौ पटक हजुरआमाका लागि भनेर त्यो बालक छोराको भागको दूध काटेको सम्झी । रोइरहेको छोरालाई पराइको जिम्मामा छोडेर हजुरआमालाई अस्पताल पु-याएको सम्झी । यी बाहेक पनि उसले अनेकन कुरा सम्झी । आफूले गरेका हरेक काम मूल्यहीन भएझै लाग्यो उसलाई । एक टुक्रो ब्लाउज र एक बट्टा अंगुरको जुसले महिनौँको स्याहार सुसारलाई अर्थहीन बनाएझैँ लाग्यो । सेवाको सह्राना नभएकोमा अझै नरमाइलो लाग्यो । व्लाउजकै कपडा अनि अंगुरकै जुस नकिनिएको भए तापनि हजुरआमाको सहजताका लागि सारी विस्थापित गरी सहज पहिरन लगाइदिएकै थिए । बिरामीको आवश्यकता ख्याल गरी खुवाउनु पर्ने कुरा खुवाएकै थिए ।
रोशन त झन् नाजवाफ नै भयो । उसँग उत्तर दिने कुनै शब्द नै भेटिएनन् । उसले आफूले भ्याइ नभ्याइ खर्चिएको अमूल्य समय सम्झियो । विद्यालय प्रशासनले दिएको धम्की सम्झियो । आफ्नो गुमेको स्वतन्त्रता सम्झियो । यति मात्रै कहाँ हो र ऋण तिर्न नसकेर लज्जित हुनु परेको क्षण पनि सम्झियो । छोराले देखाएको दुई रुपैँया र उसको रहरको साइकल त झन् धेरै सम्झियो । तर दुवैले निरीहतापूर्वक ओठमा मलिन मुस्कान भने छरिरहे ।
छोराले देखाएको दुई रुपैँया अनि उसको रहरको साइकल सम्झँदा उसले मनमनै भन्यो, ‘मैले तिम्रो बाबा भएर पनि, तिम्रो त्यो साइकल किन्ने इच्छा अझै पूरा गर्न सकिनँ । मेरो सानो छोरा, तिम्रो इच्छा पूरा हुन तिमीले अझै कैयौँ महिना कुर्नु पर्ने हो ! मलाई माफ गर बाबु !’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Great post