हत्तेरी ! मैले किन त्यस्तो स्क्रिन-सट पठाएँ ?

उपन्यांश

मिरा गोतामे

बेमौसममा परेको पानीले निथ्रुक्क भिजेर भर्खरै निती अस्पताल परिसरभित्र छिरेकी छे । हिँउदको महिना हो तर वर्षायामलाई बिर्साउने झरी परेको छ । अस्वाभाविक रुपमै जाडो बढेको छ । अस्पतालमा यत्रतत्र हिँडेका मान्छे लगलग् कामेका छन् ।

सम्भावनाविना नै पानी परेकोले सायद धेरै मानिसले तयारी गर्न पाएनन् । ज–जसले तयारी गरे, उनीहरू बाक्ला ज्याकेट, स्वेटर, छाता, वर्षादीका साथ देखिए । ओहो ! मौसम साँच्ची नै कस्तो आन्दोलित भएजस्तै ।

नितीलाई चाँहि पानीको होश छैन । उसको मनलाई त एक अन्जान परिणामले हरक्षण सताएको छ । परिस्थितिको विश्लेषण गर्न ऊ असक्षम छे । के गर्ने, के नगर्ने असमञ्जसमा हतारहतार आफूलाई टिपाइएको वार्डतिर लाग्छे । ‘वार्ड नं ८’ देखेपछि उसको मन अझ ढक्क फुल्छ ।

उसलाई अनायास आफ्नो सास बढेझैं लाग्छ । एकचोटि आँखा चिम्म गरेर ढोकातिर हात बढाउँछे । ढोका काठको भए पनि त्यसमा भित्र र बाहिर हेर्नलाई सीसाको सानो अंश राखिएको रहेछ । उसका नजर थाहै नपाई त्यतै दौडिन्छन् ।

भित्र बेडमा लम्पसार परिरहेको आकाशलाई देख्छे ऊ । छेउमै उसको अफिसको साथी सौरभ रहेछ । ढोका घचेटेर भित्र जाने उसलाई अझै हिम्मत छैन ।

त्यत्तिकैमा एउटी भर्खर उन्नाइ बीस उमेरकी नर्स ‘एक्स क्युज मि प्लीज’ भन्दै भित्र जान खोज्छे । उसले ढोका खोल्दा नितीका आँखा आकाशसँग जुध्छन् । यही मौकामा ऊ पनि भित्र छिर्छे र ठिङ्ग उभिन्छे । आपूmले वर्षौं माया गरेको मान्छे आज एउटा बिरामीको रुपमा अस्पतालमा भेटेकी छे उसले ।

जीवनका १४ औँ बसन्त दिनरात सँगै बिताएर सँगै मर्ने र बाँच्ने कसम खाएका उनीहरू आज एकदम अप्ठ्यारो परिस्थितिमा पाउँछन् एक अर्कालाई ।

दुवैजना मौन छन् । नितीसँग शब्द नै छैन कुराको सुरुवात गर्ने । आकाश त झन् मुन्टो बटारेर बसेको छ । मौनतालाइ चिर्नै पर्ने अवस्था महसुस गरेर सौरभ आफैँ बोल्छ ।

“भाउजू बस्नुस् न प्लीज । दाइलाई अहिले त ठीक छ । डाक्टरले आउट अफ डेन्जर भनेको छ ।”

अघिसम्म दश केजीको भारी उचाले जस्तो भएको नितीको मन एकाएक हलुको हन्छ । “ओहो ! मेरै कारण आकाशको ज्यान गएको भए मैलै परिवारलाई कसरी मुख देखाउने थिएँ ?” ऊ मनमनै सोच्छे र आस्था गर्न झण्डै झण्डै छोडिसकेको ईश्वरलाई दसौं पटक “धन्यवाद” भन्छे ।

“दाइले के खानु भयो त ? अनि औषधी नि ?” कहिल्यै फर्केर मुहार हेर्ने छैन भन्ने लागेको भए पनि उसको पत्नी—धर्मले उसलाई यो कुरा सोध्न बाध्य पा¥यो । उसलाई सौरभको अगाडि के गर्ने, के भन्ने जस्तो भयो ।

न ऊ सौरभको अगाडि आफ्नो पतिलाई माया दर्शाउन सक्थी, न घृणापूर्वक बोल्न सक्थी । मनमा त हजारौं प्रश्नहरू खेलेका थिए । लोकलाज भन्ने कुरा पनि त अझै बाँकी थियो । त्यसैले उसले आकाशतिर फर्किएर सोधी “कस्तो छ तिमीलाई ?”

माया दर्शाउँदा त रुखो तरिका अपनाउने आकाशलाई के चाहियो र ?

“किन सोधेकी ? म मरेको भए तँ खुसी हुन्थिस् होइन ? भगवान्को कृपाले म बाँचेँ । के तँ यहाँ मेरो बिजोग हेर्न आएकी ?” झोक्किएर उसले भन्यो ।

श्रीमान्—श्रीमतीको बीचमा पर्नु ठीक छैन भनेर होला सौरभ पनि फोन गर्ने बहानामा फुत्त बाहिर निस्क्यो । निती बोल्न सकिन । बोल्न खोज्दा उसका गला अवरुद्ध भए । आँखाबाट थाहै नपाई बरर आँसु झरे । एकछिन रोकिएर आँसु पुछ्दै उसले भनी ।

“किन यसो ग-यौ तिमीले ? मसँग त तिमी सधैं एउटा साहसी मान्छे जसरी कुरा गथ्र्यौ । कहिल्यै हार मान्दिन जस्तो गथ्र्यौ । आत्महत्या गर्नेलाई त कायर भन्ने गथ्र्यौ । कसरी तिम्रो पुरुषत्वले यस्तो कमजोर कार्य गर्न दियो ? मैले तिमीलाई होइन । तिमीले मलाई छोडेर गएका थियौ । फेरि यस्तो कदम चालेर कसलाई के साबित गर्न खोजेको तिमीले ?”

रोएरै भए पनि, आकाशले बुझे पनि नबुझे पनि, नितीले आफ्नो मनका सबै प्रश्नहरू उसका सामु राखिदिई । आफ्नो कमजोरी कसले पो स्वीकार्छ र ?

त्यसमाथि बहुलठ्ठी पुरुष । उसलाई त जसरी भए पनि आफ्ना क्रियाकलापको दोष अरुलाई लगाउनु छ । चाहे त्यो जीवनको अन्तिम क्षणमा नै किन नहोस् । नितीका प्रश्नले ऊ गल्दैन बरू गर्जन्छ ।

अब त्यहाँ बसिरहन उसका लागि हितकर थिएन । उसलाई आकाशको स्वभाव थाहा छ । उसको बसाइ लम्बिनु आकाशलाई विष वमन गर्ने मौका दिनु जस्तै हो । त्यसैले बहाना बनाएर त्यहाँबाट निस्की । बाटोभरि नितीको मनमा हजार कुरा खेले । पानी अलि रोकिइसकेको थियो भएपनि जाडो असाध्यै थियो ।

“पानीले फेरि कस्तो जाडो ल्याएको हगि ?”

सँगैको सिटमा बसेकी महिलाले नितीसित भनी । निती झसङ्ग भई । उसलाई त जाडो पनि महसुस भएको रहेनछ । उसको मन त अझै अस्पतालमा नै रहेछ । आकाशको सेरोफेरोमा नै घुमिरहेको । अँध्यारो भइसकेकोले सीसाबाट हेर्दा ओर्लने स्टप पनि गइसकेछ । ऊ हतारहतार बसबाट ओर्ली ।

घर पुगेर हेर्दा उसको फोनमा पचासौं मिसकल रहेछन् । मेसेज पनि त्यत्तिकै आएका । सबैको उद्देश्य एउटै । पुछताछ एउटै । आकाशलाई के भएको भन्ने प्रश्न । किन विष खाएछ भन्ने सोधाई । ऊसङ्ग जवाफ छैन गतिलो । गल्ती त नितीको एकदम गम्भीर छ ।

“हत्तेरी ! मैले किन हिजो त्यस्तो स्क्रिन-सट पठाएँ ?” निती थक्थकाउँछे ।

फेरि हजारौं सवाल उसको कानमा आफैं गुञ्जिन्छन् । ऊ हातले कान छोप्न बाध्य छे । “के जवाफ दिनु मैले समाजलाई ?” ऊ निरुत्तर छे । उसले केही गल्ती गरेकी छैन तर पनि ऊ अपराधी हो । ऊ छटपटिन्छे । आफूले आवेगमा आएर गरेको सानो गल्तीको परिणाम भयावह छ । ऊ आत्तिन्छे ।

(भर्खरै प्रकाशित उपन्यास ‘निती’बाट)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

One Comment

  1. पर्खाइले गलिसकेको नितीसँग रम्ने व्यग्र प्रतीक्षारत प्यासीलाई नितीको यो अंश मात्रै पस्केर झन् व्यग्रता थपिदिनुभो मिराजी ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button