गैरी खेतको शिरै हान्यो

इपिसोड ४

अशोक सिलवाल

उनले पहिलोटपटक निर्देशन गरेको कथानक चलचित्र चेलीबेटी हो, २०४५ सालमा । अध्ययन, अनुसन्धान गरेर समाजहितको सन्देशसहित सिनेमा बन्नु पर्छ भन्ने मान्यतासहित उनी (यादव खरेल) सिनेमा क्षेत्रमा आएका थिए । भन्छन्, ‘समाजको हित हुने खालको जल्दोबल्दो इस्यु खोज्दा नेपाली चेलीहरू प्रति बर्ष सात हजार जति बम्बई, दिल्ली, कलकत्ता आदिका वेश्यालयहरूमा बेचिन्थे । तीमध्ये धेरैजसो उनीहरूको खुसीले बेचिएका हुँदैनन् । आर्थिक बाध्यता र झुक्यानमा परेर बेचिएकाहरू बेश्यालबाट उम्कन सक्दैनन् । मलाई लाग्यो, यो समस्यामा चलचित्र बनाऊँ । त्यसरी मैैले चेलीबेटी बनाएँ ।’

यो चलचित्रमार्फत उनीहरूको पुनस्थापनामा जोड दिए । सम्झन्छन्, ‘अपराधबाट पिडित हुन् उनीहरू । नायक र सहनायकले वेश्यालयमा बेचिएकाहरूलाई बिहे गरेका छन् । यो एउटा पुनस्थापनाको सामाजिक सन्देश थियो । बेचिनेहरू कसरी झुक्यानमा पर्छन् ? चलचित्रमा त्यो पनि देखाइएको छ । जो बेचिए, उनीहरूको अपराध थिएन । त्यो पनि देखाइएको छ ।’

सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भयो । चलचित्रबाट भयो । एउटा व्यक्तिबाट भयो । यद्यपि त्यो व्यवसाय पनि थियो । एनजीओ र आइएनजीओले डलर खन्याए झैं गरेर गरेको भनिएको काम उनले चलचित्रमार्फत गरे । समाजमा चेतनाको सन्देश पनि गयो भने अर्कोतिर उनकोे सिर्जनशीलता पनि सकृय भएकोमा उनी दोहोरो रुपले सन्तुष्ट हुँदै थिए ।

यो सिनेमामा उनी निर्देशक मात्र थिएनन् । निर्माता पनि थिए । यो सिनेमामा अर्जुनजंग शाही, टीका पहाडी, गौरी मल्ल, मिथिला शर्मा, शर्मिला मल्ल आदिको अभिनय थियो ।

चेलीबेटीको प्रदर्शनीताका नेपालमा प्रजातन्त्रको आन्दोलन भइरहेको थियो तर त्यही बेला चलचित्र चेलीबेटीमार्फत सामाजिक चेतनाको अर्को आन्दोलन पनि भइरहेको थियो । त्यसका कमान्डर थिए, निर्देशक यादव ।

त्यसपछि उनको निर्देशन र निर्माणमा ‘लोभीपापी’ आयो । वासु शशीको कथामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल र राजाराम पौडेललाई मुख्य कलाकार बनाएर उनले त्यो बनाए । सम्पूर्ण रुपमा हास्यपात्रहरूलाई नै नायक बनाएर हास्यव्यङ्यप्रधान चलचित्र त्यसअघि बनेकै थिएन । तर, त्यसमा गहिरो अर्थ थियो । मानिसको वयैक्तिक स्वतन्त्रताभन्दा ठूलो कुरा केही छैन भन्ने सन्देश समेटिएको छ । प्रस्तुति हास्यात्मक भए पनि भौतिक उपलब्धिसँग मान्छे आफ्नो स्वतन्त्रता साट्न सक्छ कि सक्दैन भन्ने मुलभुत प्रश्न त्यहाँ उठाइएको छ ।

गौरी मल्ल र विनोद खरेललाई मुख्य कलाकारको रुपमा प्रस्तुत गर्दै तेस्रो चलचित्र आँधीबेहेरी बनाए उनले । नारी जातिमा आँधीबहेरीमा जस्तै शक्ति हुन्छ भन्ने सन्देशसहितको यो चलचित्रले महिला सशक्तिकरणका लागि जोड दिएको थियो । त्यो छुवाछुत र जातभातविरोधी चलचित्र पनि हो । महिलालाई हिरो बनाइएको त्यो चलचित्रको सन्देश दलितहरूको पक्षमा छ । आँधीबेहेरी शब्द आफैले पनि विद्रोहको सन्देश दिन्छ ।

त्यसलगत्तै ऐतिहासिक पृष्ठभुमिमा लेखिएको बालकृष्ण समको प्रेमपिण्डलाई चलचित्रमा रुपान्तरण गरे । मानिसको जीवनमा मायाभन्दा ठूलो कुरा वैभव, सम्पन्नता र शक्ति होइन भन्ने सन्देश त्यस चलचित्रमा छ । सरोज खनाल, सनी रौनियार, नीर शाह, राजाराम पौडेललगायतलाई प्रमुख भुमिकामा अभिनय गराएर उनले यो चलचित्रमार्फत राणाकालीन समाजको चित्र पस्के ।

प्रेमपिण्डका सबै गीतहरू पनि उनैले लेखे । त्यसका सबै गीतहरू असाध्यै लोकप्रिय भए ।

‘गैरी खेतको शिरै हान्यो
बर्षा यामको दरौंदीले
नौनी जस्तो मेरो मन
चीरा पा-यो उसको रुपको करौंतीले ।’

त्यो सिनेमा बनेको २०-२२ बर्ष भइसक्यो । सिनेमाका गीतहरू अझै चलिरहेका छन् । स्कुलका कार्यक्रमहरूमा नमुना गीतकै रुपमा ती बजिरहेका छन् । ती गीतहरू कालजयी भए । समीक्षकहरूले त्यो चलचित्रलाई नेपाली सिने क्षेत्रको एउटा कोशेढुँगाको रुपमा व्याख्या पनि गरे ।

प्रेमपिण्ड बनाइसक्दा यादव निर्देशकका रुपमा निकै अग्ला भए ।

अर्को, श्री स्वस्थानी पौराणिक विषयमा नेपालमा बनेको पहिलो चलचित्र थियो । हरेक गाउँगाउँमा हरेक माघमा पढिने र सुनिने कथा हो, त्यो । त्यहाँ बैकुण्ठ छ । कैलाश छ । इन्द्रलोक छ । स्वर्गलोक छ । ईश्वर लोक छ । त्यसको संरचना नेपाली सिने क्षेत्रमा एउटा महत्वपूर्ण प्रयोग पनि थियो । जल शाह र पूजा चन्द त्यस चलचित्रका प्रमुख कलाकार थिए ।

त्यसपछि उनले गोपालजी नेपालीको कथामा शिव श्रेष्ठ, करिष्मा मानन्धरलाई मुख्य कलाकार बनाएर ‘नासो’ बनाए । त्यो प्रेम कथा थियो । प्रेम असफल भएपछि बुद्धपथमा नायिका गएकी छ । गुम्बामा गएकी छ । शान्तिको मार्गमा गएकी छ ।

बुद्धम शरणम गच्छामी ।

उनी त्यसपछि चलचित्रको माध्यमबाट भाषामा हामफाले । अत्यधिक पढिएका आदिकवि भानुभक्तमाथि सिनेमा बनाउनु पर्छ भनेर भानुजन्मस्थल विकास समितीसँग मिलेर ‘आदिकवि भानुभक्त’ बनाए । दीलिप रायमाझी, अनिता सिलवाल, विक्की शाह, कमलमणि दीक्षित, हिउँवाला गौतम आदिले अभिनय गरेको त्यो सिनेमा मात्र थिएन, सिनेमाको माध्यमबाट नेपाली भाषा–साहित्यको गहिरो सम्मान पनि थियो । उनले यसरी नेपाली भाषाका आदिकविको जीवनीमार्फत व्यक्ति, उसको जीवन र कर्मलाई सिनेमामा देखाए ।

त्यो सिनेमा निर्माणका लागि उनी भानुजन्मस्थल तनुहँ मात्र पुगेनन्, भानुभक्तका जीवन, कृतित्व र त्यसको प्रभाव बुझ्न नेपालकै पनि अरु थुप्रै ठाउँ पुगे । उनको विस्तारित आयामलाई बुझ्न र बुझाउन यादव भारत र वर्माका विभिन्न स्थानमा समेत पुगेर सकेसम्म गहिरो र फराकिलो अध्ययन–अवलोकन गरे । सो सिनेमामार्फत उनले भानुकालीन नेपाली समाजको चित्र प्रस्तुत गर्दै ’खोलो तरेपछि लौरो बिर्सने‘ सामाजिक चरित्रलाई व्यवहारिक रुपमै गलत सावित गरिदिए ।

त्यसपछि राजेश हमाल र रेजिना उप्रेतीलाई मुख्य भुमिका दिएर ‘हत्तेरिका’ बनाउँदै थिए । त्यही बीचमा उनी चलचित्र विकास बोर्डको अध्यक्ष भए । फेरि त्यो नयाँ अड्डाको आधारशीला बनाउन लागे । त्यहाँ उनी दुई बर्ष रहे । त्यसअघि संचार मन्त्रालयको पहलमा संचार परिषद गठन भएको थियो । त्यसमा उनी चलचित्र समितीका संयोजक थिए । चलचित्र क्षेत्रको विकासको लागि सरकारले एकद्धार प्रणाली लागु गर्नु पर्छ भन्ने सुझाव दिएका थिए । र, त्यसका लागि विकास बोर्ड चाहिन्छ भन्ने उनका तर्क थियो । विकास बोर्ड पनि बन्यो र त्यसको संस्थापक अध्यक्ष पनि उनी नै भए ।

त्यसपछि उनले महाकवि देवकोटाको निर्देशन गरे । त्यो पनि महाकवि लक्ष्मीप्रसाद देवकोटा, उनको योगदान र समग्रमा नेपाली भाषा–साहित्यप्रतिको उनको गहिरो अभिव्यक्ति थियो ।
यी र यस्ता विविध विषयमा सिनेमा बनाएका यी निर्देशकको जन्मस्थान खरेल थोक काठमाडौंबाट ५६ किलोमिटर टाढा थियो । उनी जन्मँदाताका त्यहाँ बत्ती थिएन । सुदुर र अनकन्टार भुगोलको एउटा खास हिस्साजस्तो ठाउँ थियो त्यो । भक्तपुरबाट दिनभर हिंडेपछि अध्याँरोमा गाउँ पुगिन्थ्यो । तर, उनी आफ्ना सिर्जनामार्फत उज्यालो बाँडन हिंडेका सतत् यात्री हुन् । त्यसरी जीवनलाई अगाडि बढाउँदै गरेका उनीसँग त्यसबीचका अनेक मीठातीता अनुभव र अनुभुति छन् ।

भन्छन्, ‘व्यक्तिगत व्यवसायिकताभन्दा पनि समग्र सिर्जना संस्कृतिकोे संस्थागत उत्थानमा लाग्न चाहें । तर, सोचेजस्तो नहुँदा कहिलेकाँही दुख पनि लाग्छ ।’ नेपाली संगीत र सिनेमा क्षेत्रका महत्वपूर्ण संस्थाहरूको स्थापनामा उनी जहाँतहीँ देखिन्छन् । संस्थापक नेतृत्वका हैसियतले तिनको व्यवसायिक विकासको उनले जुन जग हाले, पछि सो अनुसारका काम नहुँदा उनलाई दुख लाग्नु स्वभाविक पनि हो ।

सुर्यबहादुर थापा प्रधानमन्त्री हुँदा नारायणगोपाल राष्ट्रिय नाचघरका जीएम थिए । केही समस्या पर्यो कि उनी यादवलाई सम्झिहाल्थे रे, ‘यसमा के गर्ने यादव ? भनँ न ।’ यसरी उनी अनेक खालका बाधाअड्काउ फुकाउका माध्यम भएका थिए । उनी कलामात्र होइन, कानुन पनि बुझ्थे । उनले कानुनमा पनि स्नातक गरेका थिए ।

Ad

जे गरे, त्यसमा आफ्नो तर्फबाट शतप्रतिशत लगाउने स्वभावका उनी जीवनका महत्वपूर्ण समय चलचित्र क्षेत्रको प्रशासनिक पाटोमा लागे । त्यसबाट त्यति धेरै उचित परिणाम नआएको देख्दा भने उनलाई दुख लाग्छ तर सिर्जनाको अनेक पाटोमा निरन्तर लागिरहेकोले त्यसबाट प्राप्त आन्तरिक सन्तुष्टिले जीवनमा सन्तुलन कायम गरिरहेको उनको अनुभुति छ ।

राष्ट्रिय चलचित्र नीतिका निर्माणका लागि संयोजक भएर उनले राष्ट्रिय चलचित्र नीति बनाए । भन्छन्, ‘किन हाँगाको पछि लाग्ने भनेर रुख सपार्नतिर लागें । तर, त्यहाँ पनि सोचेजस्तो भइरहेको छैन ।’ उनलाई लाग्छ, चलचित्र बनाउनेहरू कतिपयमा अहिले पनि चेतनाकोे अभाव छ, ।’ त्यही कारणले यो क्षेत्रमा संख्या बढे पनि स्तर बढाउन अझै धेरै गर्न बाँकी छ ।

‘तर, नयाँ पुस्ता अध्ययन र चेतनासहित यो क्षेत्रमा बढिरहेको छ’, अनुहारलाई उज्यालो पार्दै उनले भने ।

आफ्ना र अरुका पनि चलचित्रमा गीतहरू थुप्रै लेखे । चलचित्रका गीतहरू एउटा कथा वा सिच्युएसनमा लेखे । ती कथामै पनि स्वतन्त्रता र सिर्जनशीलताको यथेष्ट उडान भर्न सकिएला । जनजिब्रोमा झुण्डिएका कयौं त्यस्ता गीतहरू लेखेर त्यो प्रमाणित पनि गरिसकेका छन् उनले ।

‘उडुँ कि गुडुँ
ए चरी सररी उड्न सिकाइदेऊ
ठूली भएँ अब मलाई
कुहिरोको घुम्टी झिकाइदेऊ ।’

उनी सामान्यतया दुई तरिकाले गीत लेख्छन् । भन्छन्, ‘एउटा चाहिं स्वतन्त्र भएर लेख्ने । स्वतन्त्र भएर लेख्ने भन्या बिजुली चम्केजस्तो । फुर्ने । कतिखेर कहाँ झ्वाट्ट चम्कन्छ ? भन्न सकिन्न । जीवन त द्धन्दात्मक छ । त्यहाँ घर्षण छ । संवेदनशीलताको घर्षण । त्यसरी लेखिन्छ ।’

‘यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कैले–कैले
कसैलाई माया गर्नु एउटा भूल गरें मैले ।’

अर्को चाहिं सिनेमाको गीत । भन्छन्, ‘त्यहाँ बिजुलीको चम्काईलाई कुरेर बस्ने भन्ने हुँदैन । त्यहाँ पहिल्यै कथा हुन्छ । त्यही कथाको डोरीमा गीत लेख्नु पर्छ ।’

‘तिम्रो आँखाको सागरमा
लहर–लहर दौडिरहेछ
त्यही लहरमाझमा
मेरो सपना पौडिरहेछ
मेरो सपनालाई तिमी किनार समाउन देऊ !’

तर, स्वतन्त्र गीत लेख्दा वा चलचित्रको गीत लेख्दा पनि लेख्ने क्षमता चाहिन्छ । कल्पनाशीलता चाहिन्छ । संवेदनशीलता चाहिन्छ । उनलाई त्यस्तो लाग्छ ।

उनले आफ्नाबाहेक पनि नेपालीबाबु, स्वर्ग, जालीरुमाल, छोरीबुहारी, अग्निपरीक्षा, मुस्कानलगायत झन्डै चालिसवटा नेपाली चलचित्रमा गीत लेखेका छन् । आफ्नो चलचित्रको, अरुको चलचित्रको र स्वतन्त्र गर्दा उनका पौने ३ सय जति गीत रेकर्ड भएका होलान् ।

गीतबारे संगीत रोयल्टी संकलन समाजको संस्थापक अध्यक्ष समेत रहेका उनी भन्छन्, ‘गीत लेखनको तीनओटा आयाम हुन्छ । पहिलो शब्द । दोस्रो संगीत । तेस्रो स्वर । एउटा, गीतमा गीतकारले शब्दको माध्यमबाट सुरुमा व्याख्या गर्छ । त्यसपछि संगीतकारले संगीतको माध्यमबाट त्यसमा व्याख्या थप्छ । त्यसपछि गायकले स्वरले । र, तीनओटा व्याख्या मिलेर एउटा खास व्याख्या बन्छ । त्यसलाई मन पराउने हो जनताले । त्यही भएर गीतलाई त्रिवेणी भन्छौं । जहाँ तीनओटै कुरा मिल्छ, त्यो अजम्बरी हुन्छ ।’

सिनेमाको गीतमा भने चौथो आयाम हुन्छ । त्यो भनेको दृश्य हो । गीत संगीत र शब्दले संप्रेषण गर्न खोजेको कुरालाई दृश्यले पुर्नव्याख्या गर्नुपर्छ । तर, कहिलेकाहीँ दृश्य आयामले गीतका शब्दहरूलाई न्याय नगर्दा चलचित्र निर्माता संघका पनि संस्थापक अध्यक्ष समेत रहेका खरेललाई खल्लो लाग्छ । र, उनलाई त्यस्तो धेरै पटक भएको पनि छ रे । निकैवटा असाध्यै घतलाग्दा प्रसंग सुनेर मलाई उनले निकै पटक धेरै बेरसम्म मज्जैले हँसाएका थिए ।

गीतको मर्मलाई दृश्यले एक छेऊ पनि नछुँदा भने उनलाई दिक्क लाग्छ ।

बुढाबुढीकै लागि भनेर ‘टुहुरो ईश्वर’ शीर्षकको साँगीतिक एल्बमै पनि निकालेका खरेललाई भने बुढ्यौलीको कुनै धर्कोले छोएको छैन । समय व्यवस्थापनमा सटिक उनी गीतीनाटकलाई किताबकै रुपमा निकाल्ने अन्तिम तयारी गर्दै थिए ।

बहुआयमिक जीवनलाई सरल किसिमले अभिव्यक्त गर्छन्, ‘छरिएको छु । र, पनि सक्रिय छु । अब अरुतिर खासै रुचि छैन । लेखनमै सकृय हुनेछु ।’ यही हो गीतकार खरेलको जीवनको गीत । र, उनले भविष्य–भविष्यसम्म आफ्ना गीतहरूमार्फत जनतासँग सम्वाद गरिरहनेछन् ।

दुई बर्ष साप्ताहिक पत्रिका घुँएत्रोका सम्पादक र प्रकाशक पनि रहेका खरेलको साहित्य, संगीत र सिनेमाको छविले उनका जीवनका अरु आयामलाई एक प्रकारले छोपिदिएका पनि छन् । नेपाल आँखा अस्पतालका कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्ष भएर नेपालको आँखा उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका उनी बागमती सभ्यता समितीमा रहेर बागमती नदी सफाइमा पनि प्रभावकारी भुमिका खेले । उनको जन्मगाउँ खरेलथोकको भगवती उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भएर गाउँको शिक्षाका लागि उनले सक्दो गरे । जहाँ खोज्यो, त्यही भेटिने खरेल बौद्धिक सम्पति संरक्षणको राष्ट्रिय नीति मस्यौदा समितीका सदस्य पनि थिए । धेरै बर्षअघि ठूलो राशिको पुरस्कारका रुपमा प्रसिद्धी पाएको बासुदेव लुईंटेल पुरस्कारसँग पनि उनको सुरुवाती समयदेखि नै महत्वपूर्ण भुमिका रह्यो ।

कुनै बेला नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य समेत रहेका खरेलको जीवन लोभलाग्दो रुपले व्यवस्थित छ । होइन भने स्रस्टाहरू अव्यवस्थित जीवनको अर्को नाम जस्तो लाग्छ, यहाँ । उनी सुखद अपवाद हुन् ।

जीवनका अनेक योग र योगदानको कदरस्वरुप उनलाई दिइएका असंख्य मानसम्मानले भरिभराउ कोठामा बसेर साहित्य, संगीत र सिनेमाबारे कुरा गर्दै गर्दा म सोच्दैछु, ‘नेपाली सिनेमा क्षेत्रका गुरु जस्ता लाग्ने यिनले अनेक विषयमा अनेक सिनेमा बनाए । र, यिनको जीवन आफै एउटा गज्जबको सिनेमाको कथाजस्तो छ ।’

सुरुमा कविताको किताब लेखेका उनले नाटक, नियात्रा, हास्यव्यङ्य, मुक्तक, कथा, पटकथा, गीत धेरै विधामा उत्तिकै सशक्त ढंगले कलम चलाए । जीवनमा जस्तै सिर्जनशीलतामा पनि उनी बहुआयामी छन् । यो बहुआयामको मुख्य आधार भनेको उनको कहिल्यै खाली नबस्ने स्वभाव हो । तर, त्यतिले मात्र यो सम्भव हुँदैन । उनमा रहेको बहुप्रतिभाको अभिव्यक्ति पनि हो, त्यो ।

जीवन विविधतामा भोगे उनले । देश भोगे । विदेश भोगे । काठमाडौं भोगे । पहाड भोगे । तराई भोगे । अरु थुप्रै अनुभवका बाटाहरूमा हिंडे । तर, बेला बेला सोच्छन् उनी, ‘म धेरैतिर छु तर म कहाँ छु ?’

एउटै जीवनमा धेरै जीवन बाँच्न पाउनुको सुन्दरता खोज्न यादवलाई भेटे हुन्छ ।

उनले मायाप्रितीको गीत लेखे ।

‘के भनुँ, म कसो गरी परेँ
मोहिनीको माया जालैमा ।
बोलाइरहने, टोलाइरहने
त्यो आँखाको नीर तालैमा ।।’

देशभक्तिको गीत लेखे ।

‘पराइको रमझममा आफन्तलाई भुल्न गाह्रो छ
जहाँ पुगे पनि मलाई मेरो देश नेपाल प्यारो छ ।
तिहार, दशैं, तीज, चहाड पर्व खोज्दो रहेछ
एकान्तमा मनले सधें, मेची–काली सोच्दो रहेछ
संसार सारा छोडे पनि, संस्कार छोड्न सारो छ ।।’

बालगीत लेखे ।

‘मेरो घरको पालीमुनि
दाउरा छ दाउरा
दाउराको खलियोमाथि
चार गोटा छाउरा ।।’

बुढाबुढीहरूको गीत लेखे ।

‘बुढी व्यथा फुकाउँछे, बुढो कथा सुन्छ
यौटा मन, यौटा मुटु कुना पसी रुन्छ ।’

गीतबाट जीवनका अनेक मोड र कोणका भाषा बोले । यसरी गीतभित्र पनि जीवन र जगतका अनेक रंग पोखे । अनेक उमेर र अनुभतिका गीत लेखे । अनेक विषय र बहसका गीत लेखे । यही यहो यादवको गीती बहुआयाम ।

‘भोलिको गुरु आजको शिष्य हौं ।
म यो देशको स्वर्णिम भविष्य हुँ ।
निर्मल छु, निष्कपट छु
म शुद्ध छु
त्यसैले त म बुद्ध छु ।’

समाप्त

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button