
रविन्दर मुसहर नराम्रोसँग चिरिएको छ
कविता
सुमन घिमिरे
सर्लाही
चिरिएको छ-
रविन्दर मुसहरको भूगोल ।
खोक्थ्यो ऊ आफ्नै भूगोलमा
हाँस्थ्यो,
नाच्थ्यो,
रमाउँथ्यो,
र तन्नेरी पुस्तालाई सिकाउँथ्यो- भूमि र मान्छे ।
साँच्चै, ऊ भूमिपुत्र हो-
ऊ, त्यही माटोमा लेटिएर हुर्केको हो ।
उसले सुनेको छ-
उसका पुर्खाहरू त्यही माटोमा जन्मे,
हुर्के,बढे र मरे ।
तर आज,
भूगोलसँगै ऊ पनि चिरिएको छ ।
उद्रिएको छ; उसको मन पनि
धस्किएको, कुहिएको थोत्रो टालो जस्तै भएर ।
बाँडिएका छन्-
उसका परिवारका सदस्यहरू
ऊ `देश´ लिन जान्दैन
तर
देशलाई दिन जान्दछ ।
तापनि देश देशजस्तै किन हुन नसकेको हो ?
रविन्दर मुसहर देशको किन हुन नसकेको हो?
‘रविन्दरले मात्र दिएर कहाँ देश बन्छ र !’
सोच्दै छ-
रविन्दर मुसहर !
जो यस भूगोलको सीमान्त मान्छे ।
यहाँ त विभिन्न झन्डाको नाममा देश लुट्ने छन्,
यहाँ त विभिन्न जातिको नाममा देश लुट्ने छन्,
यहाँ त विभिन्न भाषाको नाममा देश लुट्ने छन्,
यहाँ त विभिन्न वादको नाममा देश लुट्ने छन्,
रविन्दरको नाममा देश लुट्नेहरू पनि धेरै छन्,
कहिले भूगोल चिरेर,
कहिले मान्छेको मन चिरेर,
त्यसैले,
रविन्दर नराम्रोसँग चिरिएको छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
