उपन्यास विमोचनअघिको रात मलाई के भयो ?

मिरा गोतामे

मेरो पहिलो पुस्तक ‘निती’को लोकार्पण समारोह आश्विन २ गतेको लागि तय भएकोले सबै तयारी पूरा भईसकेको थियो । आफूले बोल्ने कुराको तयारी गर्नु पनि जरुरी थियो । थोरै कोरकार पनि पारें । आफू शिक्षक भएको र यस्ता थुपै्र कार्यक्रम आफैंले पनि उद्घोषण गरेको अनुभव त थियो तर यो लोकार्पण समारोह भने नितान्त फरक थियो मेरा लागि ।

कार्यक्रममा विशिष्ट साहित्यिक व्यक्तिहरुको उपस्थिति गौरवशाली कुरा त थियो नै, अझ कार्यक्रमको केन्द्रबिन्दु नै म आफै हुँदै थिएँ । आफ्नाहरुको बीचमा पहिलो पुस्तकको विमोचन हुँदै थियो । यो मेरो जीवनकै महत्वपूर्ण क्षण थियो । उत्साहले उचाई लिंदै थियो ।

खुल्ला आँखाले धेरै सपनाहरु देखेकी थिएँ । कार्यक्रमको मिती नजिकिंदै जाँदा उत्साह उत्कर्षमा पुगेको महसूस भईरहेको थियो । मनमा हलचलकै अवस्था थियो । भोलि के होला ? कार्यक्रम कस्तो होला ? भन्ने कौतुहलताले मनमा डेरा जमाउनुलाई पनि स्वाभाविक नै मानें । एक गतेको रात साँच्चैको उकुसमुकुसमा बितेको थियो । निद्रा कम र छटपटी धेरै लागेको थियो मलाई ।

कार्यक्रमको दिन भने मन शान्त थियो । मानसिक रुपमै कार्यक्रमको लागि तयार थिएँ । केहि पनि नौलो लागेन मलाई त्यो दिन । म मात्र खुसी थिएँ । आफूलाई सधैं माया दिने श्रीमान, छोरा, आमाबुबा, दिदीबहिनी, हौसला र साथ दिने साथीहरु र आफन्तजनलाई अगाडि पाएर पनि होला, म त फुरुक्क भएछु । तनावजस्तो केहि महसूस भएन । डर पटक्कै लागेन । रमाईलो लागीरहेको थियो । आफ्नो विशेष दिन हो भन्ने मात्र लागिरह्यो ।

सबैसँगको भेटघाटले र बधाईका ध्वनिहरुले मन प्रफुल्ल र आनन्दित थियो । कुनैकुनै बेला मन चञ्चल अनि फुरुङग भईदिन्थ्यो । कार्यक्रममा साथीभाई र विशेषतः साहित्यिक पत्रकार संघका अध्यक्ष आदरणीय दाई राधेश्याम लेकाली र अनेसासका केन्द्रिय उपाध्यक्ष स्नेही दिज्जु बाबा बस्नेतले पु¥याउनु भएको सहयोगको वर्णन म शब्दमा व्यक्तै गर्न सक्दिन । मनमनै उहाँहरुप्रति सयौंपल्ट कृतज्ञता व्यक्त गरिरहें ।

अग्रजहरुले शीरमाथी हात राखीदिनु भएकोले पनि होला, त्यो विशेष दिन मेरो लागी अझ विशेष भइदियो । म त कार्यक्रम अवधिभर एउटी बालिकाझैं पुलकित भएछु । विशिष्ट अग्रज व्यक्तित्वहरुले आफ्नो कृतिका बारेमा सकारात्मक टिप्पणी गरिदिंदा मेरा गह भरिए । केहि राम्रै काम गरें कि भन्ने भान प्रबल भयो ।

पुस्तक लेखुन्जेल पात्र, घटना, शैली आदिमै उल्झिरहेकीले मेरो अन्यत्र कतै ध्यान गएको थिएन । लेखिसकेपछि फेरि कसरी प्रकाशन गर्ने भन्नेमा मात्र केन्द्रित रहें । प्रकाशनपछि फेरि विमोचनबारे मात्रै सोचें । अर्जुनले जस्तै लक्ष्यमा मात्र ध्यान दिएकीले होला दायाँबायाँका कुराहरुले मलाई त्यत्ति असर पारेका थिएनन् ।

त्यसैले समग्रमा भन्नुपर्दा किताब छापीएर आफ्नो हात परेको दिन र लोकार्पणको दिन नै हो मलाई सबैभन्दा विशेष लागेका । एउटा पुस्तक प्रकाशन हुनु चानचुने कुरा नभएको आभाष पनि मलाई त्यहि दिन भयो । अब अरु थुपै्र कृतिहरुकी आमा बन्ने रहर तीव्र रुपले पलाएको छ ।

साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरु आदरणीय दिज्युहरु भागीरथी श्रेष्ठ, बाबा बस्नेत, हिरण्यकुमारी पाठक, आदरणीय दाइहरु प्रमोद प्रधान तथा डा. दामोदर पुडासैनीले शुभकामना मन्तव्यका साथै मेरो कृति नितीको मुक्तकण्ठले प्रशंशा गर्नुभयो । नयाँ लेखक भएर पनि लेखन परिपक्व भएको बताउनुभयो । उहाँहरुले मेरो कृति पढेर दिनुभएका सुझावसल्लाहहरु सदैव सिरोपर गर्नेछु । आफ्नो लेखनलाई अझै परिष्कृत पार्दै लानेछु भने कमिकमजोरीहरुलाई अवश्य सुधार्ने कोसिस गर्नेछु ।

मेरो निमन्त्रणालाई स्वीकारेर आफ्नो व्यस्त समयका बाबजूद समय निकालेर कार्यक्रमका पाल्नुहुने समस्त मान्यजन, अतिथिवर्ग, अग्रजहरु, सर्जकहरु, परिवार तथा आफन्तजन, मित्रवर्ग सबैलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु । उहाँहरुको गौरवमय उपस्थितिले नै हो उक्त कार्यक्रमको शोभा बढाएको । पुस्तक पढेर प्रतिक्रिया दिनुहुने सबैमा पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु । यस्तो अवसर बारबार जुटिरहोस् । सबैको माया र आर्शीवाद मिलिरहोस् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button