शर्माजी माइली श्रीमतीको खोजीमा हिँडे

कथाः शर्माजी

गुरुदत्त ज्ञवाली

शर्माजी, उनी वेदाचार्य, ब्याकरणाचार्य, संस्कृतबाट साहित्याचार्य र अंग्रेजीमा एम ए पास गरेका मान्छे हुन् । यति धेरै बिषयमा एम ए गरेका मान्छे हुन्नन् होला । यदि हुन्छन् भने सद्दे हुन्नन् भनेर उनको बिषयमा कुरा चल्दा चर्चा हुन्छ । उनको व्यवहार वा घटनाले पनि त्यस्तै भन्छ । धेरै हाइस्कुल चहारे, क्याम्पस चहारे । उनको पढाइकै दम्भले कतै टिकेनन् । अरु शिक्षक वा प्राध्यापकलाई त मान्छेको भाँडो गनेनन् । तर, उनले पढाएका बिषयमा कहिल्यै कुनै बिद्यार्थी पास पनि भएनन् । पढाए पो पास हुनु ? क्लासमा पसेपछि मैले यसरी यति धेरै पढेँ, तिमीहरुले पनि पढ्नु पर्छ भन्छन् । यसो पनि भन्न भ्याउँछन् कि उनी चानचुने मान्छे होइनन् । ग्रहदशाले गर्दा त्यस्ता शिक्षण संस्थामा परेका ।

अहिले उनी प्रायः सबै ठाउँबाट बहिस्कारमा परेका छन् । अचेल किन घरमा बसेको ? भनेर कसैले सोध्यो भने पि.एच. डी. गर्न भन्छन् । शायद कुन बिषयमा पि.एच.डी गर्नुहुन्छ भनेर कसैले सोधेको छैन होला । सोध्यो भने चारै बिषयमा भन्न बेर छैन । कहिलेकाहीँ उनीसँग उनले पढेको भनेका बिषयमा बहस चल्यो भने कर्मकाण्डका उदाहरण दिएर हैरान पार्छन् । कर्मकाण्डमै पारङ्गत भएपनि त ज्यान पाल्न हुन्थ्यो । त्यता पनि ठण्डाराम !

उनले पढेर सकेँ भनेर घरमा जाँदा उनको गाउँमा खासै पढेको मान्छे उनले देखेनन् । जिल्लामै देखेनन् । पढे–लेखेका महिला त नेपालमा हुँदै हुन्नन् भन्ने लागेछ । कसैको कुरो खाएको भए मरिजाम् । त्यसैले होला उनले देहरादूनकी कन्या बिहे गरे । देहरादूनमा उनका मावली पर्ने मान्छेका आफन्त रहेछन् । उनले पढेको पनि देहरादूनमै त नहोला काशी–साँशी त्यस्तै कता हो । जोसुकैलाई भन्दैनन् ।

कहाँ देहरादूनको सभ्यतामा हुर्केकी छोरी, नेपालको बिकट गाउँमा जहाँ न बजार, न यातायात, न शैक्षिक वातावरण छ । पकाउने खाने प्रविधिको समेत भिन्नता । टिक्नै सकिनन् । बोली–भाषा वा संस्कार पनि मिलेन । कन्या दिनेले धेरै पढेका मान्छे भनेर दिए होलान् । हुन त प्रवासी नेपाली रहेछन् त्यसैले सामान्य नेपाली बोल्न जानेकी । पृथ्बीनारायण शाहको पालामा गएका होलान् देहरादूनमा । नाम वा बंशका मात्र नेपाली । यसरी शर्माजीको जोडी गाउँ छोडेर सहरतिर हान्नियो । श्रीमतीको पढाइको बिषय के थियो कुन्नि ? यता त्यो बिषय कतै मेल खाएन । बिषय मिलेन । अन्तमा श्रीमती केवल सन्तान जन्माउने कारखाना भइन् । अरु कामको सिन्को सार्न जानिनन् वा गरिनन् । यसो पनि हुन सक्छ, उनको माइती परिवारमा कहिल्यै काम गर्नु परेन ।

देहरादून जाउँ मैले पाल्छु भन्थिन् श्रीमतीले । ससुरालीमा गएर बस्न शर्माजीले मानेनन् । यता जागिरको खोजीमा डुल्दा–डुल्दै समय बित्दै गयो र सन्तानले घर भरिदै गयो । चार, पाँच, छ, सात गर्दै नौवटी छोरी भए, लगभग बर्सौंटे । त्यसबेलासम्म त्यो जञ्जाल बोक्दै नेपालका पचहत्तर जिल्लामा साठी जिल्लाका स्कुल र क्याम्पस चाख्दै हिँडे । भन्न त शर्माजीले मन नपराएर सबै शिक्षण संस्थामा छोडेको कुरा गर्थे । कुरो अर्कै हो ।

यता नौवटी छोरी हुँदासम्म छोरा भएनन् । चिना हेराए, भक्कल गरे । कुनै देवताले टेरे पो ..? मेडिकल साइन्सप्रति उनको बिश्वास छैन । उनले पढेका शास्त्रमा भाग्यको कुरा रहेछ, श्वर्ग र नर्कका कुरा पनि रहेछन् । विज्ञान शून्य । यस्य नास्ति स्वयं प्रज्ञा…. भन्न जानेका छन् प्रज्ञा उनैमा छैन । र, कुन पण्डितले दोस्रो बिहे गरेमा छोरा हुन्छन् भनेका । जेठीलाई एक आखर नसोधिकनै छोरी भन्न मिल्ने कन्यासँंग बिहे गरे ।

अलिदिन त तमासा हेरिन् नयाँ दुलहीले पनि । त्यो महापुराण पार लाग्ला जस्तो लागेनछ । पतिसँग खासै कुरो पनि मिलेन, बाह्रसम्म त पढेकी थिइन् । कतै जागिर खान पनि त्यो जञ्जालले दिएन । एकदिन अलि सञ्चो भएनछ । पेट दुख्ने, उकउकती हुने, काममा जाँगर नहुने जस्तो समस्या भयो । पतिले गाली गरे, अलच्ल्छिनी भने, बहाना गरेको भने । मुटु हान्ने गरी भने । शर्माजीको बोल्ने शैली त्यस्तै हो । उनले सहन सकिनन् र माइत जान्छु भनेर हिँडेकी, सरक्क गइन् । उनी त्यो घरमा फर्केर आइनन् । आउँदै आइनन् । माइतैमा बस्न पनि के लफडा प¥यो कुन्नि ? मन लागेन । कुन बाटो तताइन्, माइतीलाई पनि थाहा भएन ।

शर्माजीका ग्रहदशा हेर्ने ज्योतिषहरु फेल खाँदै गए । छेउ–टुप्पो कसैले मिलाउन सकेनन् । नौ वटी छोरी हुन्छन् भनेर पनि भनेका थिएनन्, भए । दनादन छोरी हुँदा त, के भन्ने ? सातो जानुपर्ने हो शर्माजीको । तर, हरेश भने खाएका छैनन् । चिनामा लेखेको छ कसरी हुन्न छोरो भन्ने उनको अडान कायमै छ ।

एकदिन एउटा भुईंफुट्टाले तेस्री पत्नीबाट छोरै हुन्छ भनेर ठोकेछ । फक्कड मान्छे, भन्यो हिँड्यो । त्यसैको पत्यारमा शर्माजीले तेस्रो बिहे पनि ठोके । उनले समाज र आफन्तका कुरा पनि सुन्दैनन् । हुँदा–हुँदा त्यो घर तमासे बन्यो, सबैले उनको बारेमा तमासा हेर्ने बाहेक केही हुन सकेनन् ।

कान्छी श्रीमती कुन जालले ल्याए त्यो पनि कसैले मेसो पाएन । शायद आचार्यको योग्यता भजेको हुनु पर्छ । कान्छीबाट पनि अहँ, दुई बेत सम्म छोरी नै पाइन् । सुत्केरी हुने बेलामा के जन्म्यो ? भनेर सोध्थे । जे हो त्यो भन्नै प¥यो । छोरी भनेको सुनेपछि ‘लौ मारिछ’ भन्दै लुख्रुक्क काममा जान्थे । तर पनि छोराको आशा मारेका छैनन् । एघारवटी छोरी भए । जेठी माईली भन्ने चलन छैन र हो, नत्र बर्णमालाले नपुग्ने अवस्था आयो । कुखुराका चल्ला जस्तै भए छोरीहरु । परिवार भित्रको मेसो खस्कँदे गयो । छोरी पढाउन सक्ने अवस्था रहेन । आहाराकै समस्या पर्न थाल्यो । तै बाउको छाला भन्छन्, भाइ अंशमा पाएको जग्गाको टुकुरो रहेछ । निर्वाह चल्दै गयो ।

एकदिन शर्माजीको मनमा बिरह छुट्यो । अरु कुराले होइन, छोरी धेरै भएको कुराले पनि काम ज्वरो काढेका छैनन् । छोरो कसरी जन्मन्छ भन्ने पिरलो छ । फेरि हेराउन गए । अहिले चिना होइन हात हेराउन । हात हेराउनेले बितेका कुरा फटाफट भन्दोरहेछ । जस्ताको तस्तै भन्छ बा… ! छोरो भने माइली श्रीमतीबाट हुनुपर्छ भन्यो । माइलीले घर छोडेको धेरै भएको थियो । उनी कहाँ बसेकी छन् भन्ने सम्म कसैले वास्ता गरेको थिएन । अर्को पुरुषसँग गएको हल्ला कतै सुनिएको छैन ।

शर्माजी माइली श्रीमतीको खोजीमा हिँडे । आफैले त के खोज्थे र ? तै हिँडे । कहाँ जाने ? माइतीतिरका आफन्तबाट सुईंको पाए । उनी देवघाटको एउटा बृद्धाश्रममा सानो जागिर गरेर बसेको कुरासम्म थाहा भयो । आश्रम उनैको जिम्मामा रहेछ जिम्मेवारीको हिसाबले ठुलै । शर्माजीले त्यहाँ गएर संपर्क राख्ने हिम्मत राखेनन् । कुनै साथीको सहयोग लिए । साथीले सबै बिवरण बुझेर आए । श्रीमतीले मानिनन् । के भनेर बोलाउने ? छोरो पाइदिन आइज भन्नु भएन । माया ममता छैन, संबन्ध त छँदै छैन । सम्पतीको हक दावी गर्ने अवस्था पनि छैन । बेरोजगार, धेरै पढेर पनि मुर्ख पति, दुइटी सौता र एघार–एघारवटी छोरी । भन्ने पनि कसरी ? लाजको मर्नु ।

देवघाटको अस्पष्ट खबरले दिक्क मानेका शर्माजी पहिले त काशीतिरै गए । त्यता पनि टिकिएला जस्तो लागेन । फर्केर नेपाल आए । माइली श्रीमतीको खोजीमा आफै गए देवघाट । र, एउटा संस्कृत पढाउने विद्याश्रममा संपर्क राखे शुरुमा । विद्याश्रम भनेपनि क्याम्पसै स्तरको रहेछ । उनले उनको उद्येश्यको कुरा गरेनन् । शैक्षिक योग्यता र रोजगारको कुरा गरे । संस्कृतका विद्वान थिए नै प्रमाणपत्रका हिसाबले । गुरुकूल शिक्षापद्दति, जसरी पढेका थिए त्यस्तै खालको जागिर पाए ।

त्यो दिनदेखि उनी क्रमशः सन्त भए, एक प्रकारको जोगी । रुप फेरियो, थोरै गुण फेरियो । उमेरले पनि नेटो काटेकै थियो, कपालका रौं सेता भएकै थिए, पक्का साधु । दिनानुदिन उनले घरको कुरा बिर्से, पत्नीहरु बिर्से, छोरीहरु बिर्से, सारा समस्या बिर्से । नैतिकरुपले गैह्र जिम्मेवार भए, फक्कड भए र समाजको नजरमा । पापी तथा बेइमान भए । एकप्रकारको पागल घोषणा ग¥यो समाजले उनलाई । तर उनी देवधाटमा छन् भन्ने कुरा गोप्य राखेका थिए । कसैले थाहा पाएनन् ।

शर्माजी हराए भन्ने भयो । त्यो अवस्था भएपछि उनका छोरीहरुको शिक्षा–दीक्षा, श्रीमतीहरुको रोजगारको सामान्य अवस्था उनीहरुकै अन्य दाजु–भाइको सकृयतामा समाजले ग¥यो । जेठीका माइती आएर धेरै सहयोग गरे । कान्छीका माइतीले पनि सक्दो सहयो गरे । उनीहरुको बसोबास सहरमा सरेको थियो पहिल्यै । पढे, हुर्के र समाजमा बिक्ने खालका भए छोरीहरु पनि । जेठी र कान्छी मिलेरै बसे, साँच्चै दुई बहिनी जस्तै ।

देवघाटको सम्पर्कले शर्माजीले नैतिक शिक्षा प्राप्त गरे । चिन्तन त उस्तै हो, स्वर्ग र नर्कको । यो लोक र परलोकको । धर्म र पापको । र पनि त नैतिक शिक्षा त छ नि त्यता अलि । अझ भनौं, अपवाद बाहेक त्यतै बढी छ । उनका आचार्यमध्ये एउटा आचार्यले काम पाएको हो शुरुमा । पछि सबै आचार्यको प्रयोग हुन थाल्यो । बिलक्षण प्रतीभाका गुरु बने । नाम पनि शर्मा रहेन यद्यपि शर्मा त थर हो । उनको नाम शालिकराम शर्मा हो । भन्नेले शर्मा मात्र भन्ने गरेका हुन् । अंग्रेजीमा एम ए गरेपछि शर्मा लेख्ने चलन रहेछ । अब उनको नाम नयनाचार्य भनेजस्तै नाम फेरियो र पनि विद्याश्रममा गुरु भन्न थाले । त्यहाँ पुगेपछि उनले माइली श्रीमती, छोरो पाउने रहर आदि सबै कुरा बिर्से । त्यता सोंच्ने फुर्सदै भएन । योग, ध्यान, शिक्षण, प्रवचन के के हो के के । उनको शर्माजी होइन नया नाम चल्दै गयो । सम्मान पाउँदै गए । दाह्री कपाल पालेका, पहेँलो गेरुवा वस्त्र । पहिलेका आफन्ले चिन्ने अवस्था नै रहेन । आफन्तले त कतै वाराणसीमा हेलिए कि भनेर पनि सोँचे । खोज्न भने कोही गएनन् ।

उनकी पहिलेकी माइली श्रीमती, जो हाल देवघाटको बृद्धाश्रममा छन्, उनी माइतबाट पनि सल्लाहले हिँडेकी थिइनन् । मनमा चोट परेर हिँडेकी हेटौँडा पुगिन् । यो पुरानो कुरो हो । चरित्रवती भएकीले स–साना झट्काले छुन्नथ्यो र बलवती पनि । बोल्न सिपालु थिइन् । कामको खोजीमा कोही आफन्तको सल्लाहले देवघाट पुगेकी । शुरुमा त एउटी भक्तिनीको आश्रयमा रहिन् । त्यस बेला उनलाई एउटा ठुलै समस्या आइपरेको हो । भक्तिनी आँबैले उद्दार गरेकी हुन् । त्यो कुरो पछि आउला । त्यहीँबाट बृद्धाश्रममा काममा लागिन् । पहिले कार्यालय सहयोगी वा पियनको जागिर पाइन् ।

एक वर्षमै उनको कामको मुल्यांकन भएछ र सहायक भइन् । अर्को एक वर्षमा त संस्थाकै प्रमुख भइन् । आवास सुबिधा पनि पाइन् । नायबसुब्बा सरह । शर्माजीका साथी उनीसँग भेट गर्न जाँदा बृद्ध–बृद्धाको सेवामा थिइन् । धेरै कुरा खोलिनन् माइतीका कुरा र बिहे भएर छोडेका कुरासम्म भनिन् । पतिको नाम भनिनन् । तर साथीले कुरो बुझे ।

साथीले पनि पुरानो घरबारमा फर्कने बिषयमा के विचार छ भनेर सोधेका हुन् । उनले नकारात्मक जवाफ दिइन् । शर्माजीका साथी पत्रकार थिए, पत्रकारकै हैसियतले कुरा गरे । उनीसँग बृद्ध–बृद्धा धेरै प्रशन्न रहेको कुरो आयो । एउटा राम्रो समाचार बन्यो र त्यो समाचार निकै चर्चामा आयो पनि । एउटा कुरा, जो भक्तिनी आँबैले उद्दार गरेको भन्ने आयो । पत्रकार साथीले खोतल्न खोजेका हुन् । त्यो दिन भनिन् र कुनै बेला भनँुला भनेर टारिन् ।

पत्रकार साथी एक हप्ता त्यतै बसे । उनी शर्माजीकै काममा बसेका होइनन् । उनको भरतपुरमा अरु पनि काम थियो । त्यसै अवसरमा उनी फेरि बृद्धाश्रममा पुगे । यस पटक भने ती महिलाले कुरो रोक्न सकिनन् । महिला बेदना खास गरेर आमाको बेदना छचल्किएर आयो र यथार्थ कुरो भनिन् । पत्रकार साथीप्रति उनको विश्वास बढ्दै गयो ।

शर्माजीकी माइली श्रीमती बनेकी उनी गर्भवती रहिछन् । शुरुको अवस्थामा उनैलाई अड्कल भएन । उमेर काँचै थियो । उकउकती भएको गर्भवती भएर रहेछ । माइतीमा पनि कुरा गरिनन् । तर पछि सन्तान जन्मने अवस्था आयो । समाजले पतिको घर छोडेकै जति महिना भयो गर्भ पनि उति महिनाकै छ, यो कसको भुँडी हो भन्ने जस्ता कुरा गर्न थाले । त्यही चोटले हिँडिन् । घरमा जाने वातावरण नै भएन र गए पनि स्वीकार्ने हुन् वा होइनन् शङ्का भयो । त्यसैबेला भक्तिनी आमाले सहयोग गरिन् । नौ महिनाको पेट लिएर त्यहाँ पुगेकी, बच्चा त्यहीं जन्म्यो । छोरै जन्म्यो । बाउको नाम शालिकराम शर्मा नै कायम रह्यो ।

शर्माजी त्यस विद्याश्रममा सेवा गर्न थालेको पनि धेरै वर्ष भइसकेको थियो । अहिले त प्रधानाचार्यको जिम्मा पनि उनैले पाएका छन् । कुशलतापूर्वक चलाएका छन् । एकदिन, त्यो दिन श्रीपञ्चमीको दिन थियो । शर्माजीको विद्याश्रममा निकै चहलपहल थियो । हिन्दू गुरुकूल परम्परानुसार सरस्वतीको पूजा–आजा हुने दिन । नया विद्यार्थी भर्ना हुने दिन पनि रहेछ ।

बाल–बालिकाले अक्षरारम्भ गर्ने दिन भए पनि त्यहाँ प्राथमिक शिक्षा भने हुँदो रहेनछ । सिधै प्रथमाबाट कक्षा सञ्चालन हुने । प्रथमा भनेको आठ कक्षा सरह हो । र त्यस्तैमा एउटा विद्यार्थी गुरुको चरणमा पुग्यो । ढोग ग¥यो र त्यसै विद्याश्रममा भर्ना हुने कुरा ग¥यो । गुरु उनै शर्माजी हुन् । गुरुले मौखिक जाँच गरे । विद्यार्थी खरो देखियो । तेज देखियो । उसले देवघाटकै अर्को कुनै विद्याश्रममा प्रारम्भिक शिक्षा हासिल गरेको रहेछ । गुरुले उसको नाम सोधे, नवीन रहेछ उसको नाम । घर कहाँ हो भनेर सोधे, बाउ–आमाको नाम सोधे । उसको जवाफ दिने शैली चातुर्य देखेर आश्चर्यमा परे । अनौठो प्रतीभाको विद्यार्थी आएजस्तो लागे होला । त्यस बाहेक गुरुको मनको कुरो थाहा भएन ।

त्यो बालकको कुरा सुन्दा उनको मनमा एक किसिमको तरंग उत्पन्न भयो । र उनले संरक्षकलाई लिएर आउनु भने । नवीनकी आमा सँगै गएकी थिइन् । उनी अरु विद्यार्थी भन्ने कि भर्नार्थीका संरक्षकसँगै आगन्तुक कक्षमा थिइन् । गुरुको कक्षमा जान अनुमति चाहिन्थ्यो । गुरुले के सोँचे कुन्नि ? सहायक गुरुकहाँ जान भने । र त्यतैबाट विबरण मगाएर हेरे । आमा–छोराका कुरा मिल्यो । ‘यो विद्यार्थी असाधारण छ वा अरु भन्दा धेरै तेज छ मेरो जिम्मा दिनुस् मैले उसले जे पढ्छ त्यसै अनुसार पढाउँछु ।’ भन्ने सन्देश पठाए । आमाले प्रशन्नताका साथ टाढैबाट हस् गुरु भनिन् । गुरुले सुने वा सुनेनन् । आमा–छोरा बाहिर निस्के । नवीन भर्ना भयो । गुरुलाई त्यसपछि के समस्या प¥यो वा मनमा के कुरा खेल्यो कुन्नि ? अनुहारमा परिवर्तन आएजस्तो देखियो र आश्रमबाट बिश्रामतिर लागे ।

नवीनले पूर्वमध्यमा पास ग¥यो, त्यो भनेको एस.एल सी सरह हो । गुरुको चेलो, त्यसै पनि छोरो सरह गरेर पढाएका छन् । बिदाको दिनमा बाहेक नवीन गुरुकै आश्रममा बस्छ, गुरुको सेवा पनि गर्छ । त्यसै पनि त्यो विद्याश्रम आवाशीय हुँदै हो । त्यसैमा गुरुभक्त । तबसम्म शर्माजी वा त्यस आश्रमका गुरुजीले घर परिवार खोजेका छैनन्, संझेका छैनन् । अथवा बाहिर प्रकट गरेका छैनन् । अहिले भने उनको मन परिवारको संझनाले कुत्कुत्यायो । उनको जीवन पद्दतिले मेलो समातेको छ । समाजिक मर्यादा बढेको छ । सांसारिक जीवनको मूल्य मान्यताको परिभाषा पनि फेरिएको छ । कुण्ठा समाप्त प्रायः छ ।

मानव गुण हो ! माया ममता त छँदैछ । त्यसै ममताले तान्यो । उनको एउटा इच्छा अघोषित रुपमा पूरा भयो भन्ने पनि लागेको छ मनमा । इच्छा परिवर्तन भएर पूरा भएको हो वा के हो ? त्यो कुरो कतै ब्यक्त गरेका पनि छैनन् र ब्यक्त गर्ने चाहेपनि त्यस्तो ठाउँ पाएका छैनन् ।

एक हप्तापछि गुरुको जन्म दिन रहेछ । उनलाई एउटा बहाना पनि चाहिएको थियो । त्यसै दिन परिवारका सदस्यलाई बोलाउने निधो गरे । शुरुमा त के बहाना गरेर बोलाउने भन्ने भयो । शालिकराम शर्मा नाम गरेका मान्छे मानसिक बिचलनको अवस्थामा भेटिएको छ, हो होइन हेर्न आउनु भनेर घरमा खबर गर्न लगाए । त्यस आश्रमको गुरुको हैसियतले जो सुकैलाई पठाएपनि मान्ने अवस्था थियो । घरमा खबर पुग्यो र दुबै श्रीमती, छोरीहरु, त्यो बेला कुनै छोरीको त बिहे पनि भइसकेको रहेछ, ज्वाईं र शर्माजीका दुइटा दाजु समेतको उधारो खुशी र शङ्काको दोसाँधको मानसिकता लिएर तोकिएको दिनमा देवघाट पुगे ।

परिवारजनमा पागलै भए पनि ज्युँदै भेटिने संभावना भएपछि खुशीको सीमा रहेन । उनीहरु सानो गाडी रिजर्भ गरेरै गएका थिए । मध्यान्हतिर विद्याश्रममै पुगे । गुरुकहाँ खबर पुग्यो । नवीन त त्यहीँ छँदै थियो उसकी आमालाई गुरुको जन्मोत्सव मनाउने निमन्त्रणा गएको थियो । उनी पनि आइन् । अरु परिवारलाई भने जन्मोत्सवको कुरो गरेका थिएनन् । खास गरेर गुरुसँगको सरोकारको कुरो पनि थिएन । गुरुको त सन्देश मात्र थियो । पहिले गुरुको जन्मोत्सवको शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम रह्यो । आश्रमतिर लागे ।

गुरुको आश्रम देख्दा सामान्य छ, कटेज । बैठक कोठा सानो–तिनो हल जत्रै, कोठामा सोफासेट आदि भने छैनन् । भुईंमा गुन्द्री–काम्ला बिछ्याइएको, गुरुको आसन पनि त्यस्तै छ । बोलाइएका आफन्त तथा पाहुनाहरु मेलैसित बसे । पुरुषहरु उत्तर फर्केर बसे भने महिलाहरु पश्चिम फर्केर बसे । गुरुको आशनको मोहडा पूर्व फर्केको छ । अरु साज–सज्जा खासै छैन । सबै गुरुको प्रतीक्षामा छन् । गुरु त्यस कक्षमा आउँदै हुनुहुन्छ भनेर नवीनले जानकारी गराएको छ । नवीनसँग तीन–चारजना उसका सहपाठी पनि संँगै छन् । यस्तैमा एउटा जोगी जस्ता मान्छे, सेते फुलेको र लामो दाह्री–कपाल, कुर्कुच्चासम्मको गेरु बस्त्र वा गाउन लगाएका, देख्दै धप्प बल्ने जस्तै अनुहार भएका मान्छे त्यस कक्षमा प्रवेश गरे । सबैले सजिलै अनुमान गरे गुरु उनै हुन् भनेर । गुरुले सबैलाई अभिवादन गरे । अरुले पनि गुरुलाई प्रणाम गरे । गुरु आसनमा बसे । एकैछिन के सोँचे कुन्नि ? नबोलिकन भुईंतिर हेरे र सबैतिर हेरेर औपचारिक परिचय मागे । सबैले परिचय दिए ।

शर्माजीका जेठा दाजुले गुरुको मुखमा निकै गढेर हेरे । हेर्न त कस्ता गुरु रहेछन् भनेर हेरेका थिए तर गुरुको र उनका भाइको अनुहार ठ्याक्कै मिल्ने देखे । अरु बानी–ब्यहोरा पटक्कै मिल्दैन । त्यस्तै शर्माजीकी जेठी श्रीमतीलाई पनि लागेछ । उनका पतिको निधारमा भएको खत, निधारमा त्रिशुल जस्तै धर्सा र ती गुरुको मुखाकृति मिलेजस्तो लाग्यो । तर, उनका पति ज्युँदा होलान् जस्तो नलागेकोले त्यो भन्दा धेरै अड्कल गर्ने ठाउँ थिएन । उनले जेठाजुको अनुहारमा हेरेर आँखैले प्रश्न गरिन् । त्यो कुरा जेठाजुले पनि बुझे तर आँखाकै इशाराले चुप लाग्न भने । त्यस्तै नवीनकी आमामा पनि यी गुरुलाई कता–कता देखे जस्तो लाग्यो । अरुले मेसो पाएनन् र शर्माजीको बिषयमा खबर सुन्न सबै आतुर थिए ।

त्यस्तैमा गुरुले स्वागत मनतब्य दिए र अरुले बसेरै उनको जन्मोत्सवको शुभकामना दिए । त्यसपछि फेरि सन्नाटा छायो । कोही बोलेनन्, कारण अब गुरु बोल्दै छन् भन्ने छनक पाए । शरुमा कुरो नघुमाइकन गुरुले उनकै परिचय दिए । ‘मेरो खास नाम शालिकराम शर्मा हो र उहाँ मेरा दाजुहरु हुनुहुन्छ ।’ यो भनाइले मात्रै सबैको मन खलबलियो । उनले फेरि भने, ‘उनी मेरी जेठी श्रीमती, उनी कान्छी, यी सबै छोरीहरु । यही कुरा भन्न मन लागेर मैले बोलाएको हुँ । सिधै किन भन्ने भन्ने लागेर यसो गरेको हूँ । धैर्य रहौँ, शान्त रहौँ र संयम रहौंँ भने । त्यहाँ रहेका कसैको पनि धैर्यताको बाँध रोकिएन । ओहो….भन्दै आँखाबाट आँशु चुहाए ।

डाँको छोडेर कोही रोएन । र, पनि नवीनकी आमाको मन अलि बढी भक्कानिएछ । बढी आँशु आए । बढी भावुक बनिन् । उनी उनै महिला हुन् जो बृद्धाश्रमको जिम्मा लिएर बसेकी छन् । कुराको काकताली बिग्रेन भने शर्माजीकी माइली श्रीमती हुन् र नवीन छोरो हो । गुरुले उनका साथीबाट सबै खबर लिएका थिए । नवीनकी आमाको राम कहानी पनि गुरुले नै बताए । सबै छाँगाबाट खसेजस्तै भए । कहाँको शर्माजीको बारेको जिज्ञासामा आएका शर्माजीसँगै भेट भयो । त्यसपछि धेरै अरु कुरा भए । नवीनकी आमाप्रति झनै भावुक भए सबै । नवीन कुनै धार्मिक कथा सुनेजस्तै गरेर सुनेको छ । कुरो त बुझेको छ तर अपत्यारिलो जस्तो । हो, मेसो बिग्रेन भने, नवीनकी आमाको धारणा टेढिएन भने नवीन त उनै गुरुको छोरो पो हो ।

कुराको दोस्रो चरणमा गुरुले आफै भने, ‘म अब ग्राहस्थ जीवनमा फर्कन्न । यो परिवारसँगको माया–ममता छ, हुन्छ । त्यसैले यसरी जमघट हुने मौका मिल्यो । मैले लिनु पर्ने ठाउँमा जिम्मेवारी पनि लिन्छु, सहयोग गर्छुृ तर मेरो जीवन पद्दति फेरिएको छ ।’ उनले यो पनि भने, मैले सुन्दा, बुझ्दा नवीन मेरो छोरो ठहर्छ, उनकी आमा मेरी माइली पत्नी हुन्छिन् । र पनि उनी स्वतन्त्र छिन् उनको विचार र अडानमा । मैले यस कुरामा केही भन्दिन । अब छोरो नभएर मरिहत्ते गर्ने मेरो पुरानो मानसिकता पनि छैन ।

मेरा बिगतमा के कमजोरी थिए, के गर्नु पर्ने थियो त्यो हुन सकेन । यस कारणले मेरा परिवारका सदस्यको मन कुँडिएको हुन सक्छ । इष्र्याको भावना हुन सक्छ, पीडाको घाउ दुखेको हुन सक्छ । म ती सबै कुराबाट मुक्त छु र सबैलाई पुराना नराम्रा कुरा बिर्सन आग्रह गर्दछुृ’ । यसो भनेर नवीनकी आमाको मुखमा हेरे । उनले चाहन्थे उनी आफै केही बोलुन् । नवीनकी आमा धेरै बेरसम्म बोल्न सकिनन् । सबैलेभन्दा धेरै चोट उनले पाएकी थिइन् । अरु सदस्यहरु पनि बोल्न सकेका छैनन् । बोल्ने कुरा गुरुले सकेका छन् । यति कुरा सुनेपछि नवीनका आँखा बल्ल रसाए । उ त आश्चर्यमा परेकै छ । उसैले मुख फो¥यो, गुरुवर, ‘हजुर मेरा पिता हुनुहुँदो रहेछ, मेरो र मेरी आमाको सौभाग्य, धेरै कुरा त मेरो मुटु भरिएको हुनाले बोल्न सक्दिन, मसंग धेरै बोल्ने कुरा पनि छैनन् । हजुरले सबै भनिसक्नु भएको छ । आमालाई मैले संझाउँछु । मैले जिम्मा लिन्छु ।’ नवीनको कुराले फेरि त्यहाँ सन्नाटा छायो । फेरि सबैका आँखाबाट सुखद वा संयोगका आँशु आए । गुरु भने भावुक त बने तर रुँदा पनि रोएनन् र मुसुक्क पनि हाँसेनन् । उनी चेतनाको उच्चतम् शीखरमा छन् उनको शास्त्र अनुसार । नवीनकी आमालाई सबैले घेरे, श्रद्धाले, मायाले, सहानुभुतिले । उनले एउटै वाक्य बोलिन्, ‘उहाँ र हजुरहरुले जे भन्नु हुन्छ ।’ गुरुले नवीनकी आमालाई धन्यवाद दिए, धेरै धेरै धन्यवाद । उता शर्माजीको बिगतको धोको, गुरुजीको आजको धोको, परिवारको सुखद अवस्था त्यसै दिन पूरा भयो । ‘छोरो माइली श्रीमतीबाट हुन्छ’ भनेर एउटा अनपढ हात हेराउने मान्छेले भनेको कुरो । त्यो आजै पुरा भएर आयो ।

त्यसपछि जलपानको तयारी रहेछ, त्यो पनि पुरा भयो । त्यस प्रतीक्षाको घडिमा अरु धेरै कुरा भए । दन्त्य कथा जस्तै पनि भयो । अनि गुरुले भुईंतिर हेरेर घोरिएिता पनि एउटा हातले दाह्री मुसार्दै के सोँच्दै थिए । जेठा दाजुलाई तीन भाइ अलग्गै बसेर गफ गर्न मन लागेको रहेछ, त्यसैले, ‘भाइ…..’ भनेर गुरुतिर संकेत गरेर बोलाए । त्यसपछि लगत्तै गुरुले हातैले छोएर अरु सबैलाई आशिर्वाद दिए, छोरीहरुलाई स्नेह पूर्वक चुम्बन गरे र तीन भाइ अर्को कक्षतिर लागे । नवीनलाई सबैले अंकमाल गरे । मुसारे । दिदीहरु त झनै प्रशन्न भए र भने, ‘भाइ……..।’ सबै नवीनतिर झुम्मिए । तबसम्म साँझ परेको थियो । देवघाटका मठ मन्दिरमा शंख–घण्ट बज्न थाले । त्रिशुली र कालीगण्डकीको संगमस्थल नजिकै थियो । दुबै नदीको प्रवाह ठोक्किँदा छर्लाङ्ग आवाज आएको सुनिन्थ्यो ।

सायद शर्माजी अर्थात गुरु परिवारको मिलनको प्रशन्नताले गङ्गाजीलाई पनि छोयो कि ?

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button