‘ऊ निश्चित रुपमा कहिल्यै मर्दैन’

अमेरिकी कथाः बाँच्नु र मर्नु

अर्नेष्ट हेमिङ्गवे (अनुवाद: नवराज शर्मा)

एउटा अर्को डुङ्गा पनि तालको किनारामा तैनाथ थियो । दुईजना आदिवासीहरु उभिएर आगन्तुकहरु पर्खिरहेका थिए ।

निक र उसको बाबु आए र डुङ्गाको पुछारतिर गएर बसे । आदिवासीहरुले त्यस डुङ्गालाई ठेलेर सारे र तिनीहरु मध्ये एकजना फूर्तिसाथ उफ्रेर एउटा डुङ्गामा चढ्यो र मेशिनले जस्तै गरी चप्पु चलाएर डुङ्गा खियाउन थाल्यो । उता जर्ज काका शिविरमा भएको डुङ्गामा गएर बसे । दुबै डुङ्गाहरुले अँधेरोमा पानीको छातीमाथि यात्रा गर्न शुरु गरे । कुहिरोमा अघिपछि गरेर तर्दै गरेका डुङ्गाहरुका बहानाहरु छप्ल्याक्क छप्ल्याक्क गरेका आवाज स्पष्ट रुपमा सुन्न सकिन्थ्यो । आदिवासीहरुले निकै छिटो छिटो बहना खियाई रहेका थिए । तिनीहरुलाई हेरेपछि जसले पनि भन्थ्यो कि विचराहरु आफ्नो बलबुताले भ्याएसम्म छिटो छिटो बहना खियाईरहेका छन् ।

निकले आफ्नो बाबुको काखमा टाँस्सिएर पल्टिदै भन्यो, ‘हामी कहाँ जाँदैछौं बा ?’

‘यताको आदिवासी बस्तीमा एउटी आईमाई सिकिस्त बिरामी छिन अरे, हामी तिनलाई नै हेर्न जान लागेका हौ छोरा ।’

‘ए’ भनेर निक चुपो लाग्यो । बाबुले देख्यो कि कुहिरोमा अर्को डुङ्गा देखा पर्नै छाडिसकेको थियो ।

तालको अर्कोपट्टि किनारामा पुगुन्जेलमा अर्को डुङ्गालाई त्यही अड्याईएको पाईयो । जर्ज अँध्यारोमा उभिएर सिगार पिईरहेको थियो । उसले दुबै नाउलाई सिगार दियो र उनीहरु सबै घाँसको चउरबाट हेलिदै अगाडि बढ्न थाले । चउर ओसका कारणले लछप्पै भिजेको थियो । एउटा मानिस लालटिन लिएर उनीहरुको अगाडि अगाडि हिंडिरहेको थियो । बिस्तारै बिस्तारै उनीहरु जंगलमा पसे । अब उनीहरु एउटा गोरेटो हुँदै गएका थिए । त्यो गोरेटो बाटो बास्तवमा काठका बलाहरु ओसार्नका लागि बनार्ईको थियो । जुन अन्त्यमा पहाडतिर पुग्ने मूल बाटोमा गएर मिसिन्थ्यो ।

सडकमा नपुगेसम्म असजिलो महसुस गरिरहेका उनीहरु सबैले सहजता महसुस गरे । किन भने त्यहाँ दुबैतिरका काठपात काटिइसकेका थिए । मजाले हिड्न सकिन्थ्यो । त्यहाँ आदिवासी युवकले लालटिन पनि निभाईदियो । सबैजना उन्मुक्त भावले हिँड्न थाले ।

एउटा मोड आयो । अचानक एउटा कुकुर भुक्दै उनीहरु भएतिर आउन थाल्यो । अनि ती छाप्राहरुमा बलिरहेका बत्तीको उज्यालो देखिन थाल्यो । ती झुप्राहरुमा रुखको बोक्रा ताछ्ने आदिवासीहरु बस्ने गर्दथे । अलिकति अगाडि बढेपछि अरु धेरै कुकुरहरु पनि उनीहरुमाथि झम्टन तयार भए । तर दुबै आदिवासीहरुले तिनलाई लखेटेर टाढा पुर्याईदिए । उनीहरु छाप्राहरु भएठाउँतिर पुग्न आँटे ।

ती बिरामी महिला दुईदिनदेखि सुत्केरी व्यथाले च्यापेर व्यथित भईरहेकी थिइन् । बस्तीका पाका महिलाहरुले आ आफ्ना किसिमले उनलाई स्याहार सुसार त गरिरहेकै थिए । तर लोग्ने मानिसहरुहरु चाँहि अलि परै बाटोछेउमा आएर बसिरहेका थिए र ती महिलाको तीर्खा,चिच्याहट,रोदन क्रन्दन सुन्दै चुरोट सल्काएर तानिरहेका थिए ।

निकका बाबु, काका, जर्ज काका र अरु आदिवासीहरु पनि जब छाप्रामा पुगे ती महिला झन बेस्सरी कराई । उ अस्तव्यस्त भएर छटपटाईरहेकी थिइ । ओढ्नेहरुको कुँडुलो बनाएर लेपासिएकीले निकै ठूलो मान्छे जस्तो दखिईरहेकी थिई । उसका टाउको एकातिर ढल्किएको थियो । त्यही एउटा कुनामा उसको लोग्ने पनि ढल्किएको थियाृे । तीनदिन अगाडि ती सुत्केरी व्यथाले च्यापेकी महिलाको लोग्नेको खुट्टा पनि बन्चरोले लागेर घाईते भएको थियो । उसले तमाखु पिईरहेको थियो र तमाखुको गन्धले नाकमा एकतमासको असजिलो वातावरण बनाएको थियो ।

निकको बाबुले जेष्ठ महिलासंग भन्यो कि अलिकति पानी तताएर लेराउ । जेष्ठ महिला पानी तताउन गईन् । त्यतिन्जेल उनीहरुले निकलाई भन्दैथिए कि यी महिला गर्भवती छिन,यिनको बच्चा जन्मिनेवाला छ । ‘मलाई थाहा छ’, निक बोल्यो ।

‘तर तिमीलाई त्यो कुरा थाहा छैन कि जुन कुरा म भन्न गईरहेको छु’, उनले भने यी महिला जुन हालतबाट गुज्रिरहेकी छन यसलाई सुत्केरी व्यथा भन्दछन् । अथवा जुनबेला बच्चा जन्मिनेवाला हुन्छ । आमाले पनि उसको बच्चा चाँडोभन्दा चाँडो जन्मियोस भन्ने चाहन्छन् । त्यसैले यस अवधिमा जब यी कराउँछिन, त्यतिबेला यस्तै हुन्छ ।

‘ए’, निकको आँखा फराकिलो भयो ।

त्यसैबेला सुत्केरी हुन लागेकी महिला फेरि चिच्याईन् ।

‘बाबा के तपाईले ती महिलालाई कुन त्यस्तो औषधी दिन सक्नुहुन्न जसले यिनको दुखाई कम हुन पाओस ?’, निकले सोध्यो, ‘बिचरालाई धेरै दुखिरहेको होला हगि ?’

‘छैन्, मसंग बेहोस गराउने औषधी छैन्’, बाबुले भन्यो । फेरि यस्तो बेलामा यसको चिच्याहटको कुनै अर्थ छैन् । महत्वपूर्ण त यो छ कि उसले जब नयाँ नौलो स्वरमा सुन्न थाल्छिन… बच्चाले रोएको आवाज त्यतिबेला यी महिलाको कानमा रस घालिन्छ र उनी शान्त हुन्छिन् ।

निकले केही बोल्नुभन्दा अघि नै युवती फेरि चिच्याउन थालिन् । नजिकै कुनातिर सुतिरहेको उसको लोग्ने भित्तातिर टाँसियो ।

जेष्ठ महिलाले आएर पानी तातीसकेको कुरा बताईन् । निकको बाबु उठेर भान्साकोठातिर गए । ठूलो केट्लीबाट आधाजसो पानी खन्याएर उनले आफ्नो रुमाल फिजाए र केही औंजारहरु केट्लीमा बाँकी रहेको पानीमा डुबाईदिए ।

‘ती सामानहरुलाई उम्लिन देओ’ भन्दै सैनिक शिविरबाट आफूसंग ल्याएको साबुनले हात धुन थाले । निकले उनलाई माडिमाडिकन हात धुँदै गरेको हेरिरहेको थियो र उनी मुसुमुसु हाँस्दै उसंग कुराकानी पनि गर्दै थिए । उनले भने, ‘सुत्केरी हुनु अगाडि बच्चाको टाउको बाहिर आउनुपर्दछ । तर … कहिलेकाँहि यस्तो पनि हुन्छ कि … अथवा यसो हुँदैन कि सुत्केरी हुनको लागेकी महिला र डाक्टरलाई निकै नै असहज अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ । यी महिलाको हालत हेर्दा पनि यस्तै लागिरहेछ कि सायद मैले अप्रेसन नै गर्नुपर्ने पनि हुनसक्छ । जे होस्, केही छैन, हेरौं न के हुन्छ !’

निक अलमल्ल पर्दै ठिङ्ग उभिईरह्यो । निकका बाबुले हातलाई एकपटक फेरि हेर्यो र सफाईबाट आस्वस्त भएपछि ती व्यथाले छटपटाईरहेकी महिला भएठाउँतिर गयो जर्ज र अरु बाँकी मानिसहरु पनि उतैतिर लागे ।

निकका बाबु चाँहि युवतीको जाँच गर्दै रहे र फेरि भन्न थाले ‘अप्रेसन नै गर्नुपर्छ जस्तो छ । जर्ज यसको आढ्ने अलिकति पन्छाईदेउ त ! कतै मेरो हातहरुमा धुलो नलागोस् ।’

केही समयपछि नै अप्रेसन शुरु भयो । जर्ज र तीनवटी अरु आदिवासीहरुले ती युवतीलाई समातिरहे । युवती छटपटाईरहिन् । यहाँसम्म कि जर्जको हात नै टोकी दिईन् । जर्ज करायो ‘ए बोक्सी … ‘, एकजना आदिवासी युवक जसले जर्ज चढको डुङ्गा ख्याएर ल्याएको थियो हाँस्यो ।

निकचाँहि बाबु नजिकै बाटा बोकेर एक घण्टा बडो उत्सुकतापूर्वक यो दृष्य हेरिरह्यो । उसलाई समय वितेका पत्तै भएन् ।

अचानक युवतीको पेटतिर निहुरिदा निहुरिदै बाबुले एउटा बच्चलाई माथि उचाले । उनले त्यसको सास चलायमान गराउनका लागि त्यसलाई थुुमथुम्याए । त्यसले त्यस शिशुले दोहारो सास फेर्न थालेपछि उसलाई ती जेष्ठ महिलाको जिम्मा लगायो ।

‘देख्यौ निक ? …. त्यो छोरो हो, जसले भर्खरै भर्खरै यस संसारमा जन्म लिएको छ मेरो हातबाट … के तिमी पनि मजस्तै डाक्टर बन्न चाहन्छौं ?’

‘हो म चाहन्छु’, निकले अर्कोतिर हेरेरै जवाफ दियो । किनभने उसको उसको बाबुले जे गरिरहेको थियो त्यो उसले नदेखोस् ।

‘ल, अब काम सकियो… ‘, निकका बाबुले भने र केही चिजबिज बाटामा खन्याईदिए ।

निकले त्यो हेर्न पाएन् ।

‘अब केही टाँका लगाउन मात्र बाँकि छ’, निकका बाबुले भने, ‘मैले यी महिलाको जुन भागमा काटेकोे थिएँ, त्यसलाई सिउँदै छु । तिमीले चाहन्छौ भने हेर्न सक्छौं ।’

तर निकले हेरेन् । उसको उत्सुकता र रुचि ती महिलालाई छटपटाएर चिच्याएको हेर्दाहेर्दै सकिईसकेको थियो । निकका बाबु आफ्नो काम सकाएर उठे । जर्ज र तिनैजना आदिवासीहरु पनि उठे । जर्जले आफ्नो पाखुरा हेरे । आदिवासी युवक मुस्कुरायो । ‘म यसलाई प्याराअक्साईड लगाईदिन्छु’, निकको बाबुले भने । र, फेरि भर्खरै आमा बनेकी युवतीतिर निहुरिए । ती चुपचाप थिईन् । आँखा बन्द थिए । उनी पँहेलिएकी थिईन र उनलाई थाहा थिएन् कि उनको नवजात शिशुलाई के बितिरहेको छ ।

‘म भोलि फेरि फर्किएर आउँला’, निकका बाबुले उभिएर भने, ‘नर्स दिउँसोसम्ममा आईपुग्छन होला र जे चाहिन्छ लिएरै आउँछन् ।’

उनीहरु धेरै खुसी थिए र त्यही उत्साहका साथ कुराकानी गरिरहेका थिए जसरी बिजयी टिमका फुटबल खेलाडीहरुका बीचमा हुने गर्दछ ।

‘जर्ज, यो त पत्रिकाहरुमा छापिन लायकको खबर पो बन्यो त ! उनले भने एउटा साधारण चक्कुबाट गर्भको अप्रेसन गरेर नौ फुटको चुच्चो डोरीलाई पेटमा छिराउनु कुनै मामुली घटना होईन् ।’

जर्ज पर्खालमा टाँस्सिएर उभिएको थियो र आफ्नो पाखुराको घाउलाई हेर्दै बाबुतर्फ ईशारा गरेर भन्यो, ‘तपाई साँच्चैको महान मानिस हुनुहुन्छ ।’

यसको भाग्यमानी लोग्नेलाई पनि यस्सो हेरौं न त ! मामुली हिसावमा त यस्तो सामान्य कामको लागि पनि लोग्नेले धेरै दुःखकष्ट झेल्नुपर्ने हुन्छ । उसले श्रिमतीले छटपटाएको हर्न सक्दैन् । … तर यो मान्छेले सबैकुरा बडो शान्तिपूर्वक सहेको छ । भन्दा भन्दै उसको टाउकाबाट बर्को उठाएर हेर्दा त ! उनको हात च्यापच्याप लाग्ने पो भएछ त । उनले त्यहाँ रगत फेला पारे । त्यो मान्छे त पर्खालतिर फर्केर निश्चेष्ट उभिईरहेको थियो … र एउटा कानदेखि अर्को कानसम्म उसको घाँटी काटिएको थियो । रगत बग्दै ओछ्यानसम्म पुगेको थियो । उसको शरीर त्यसैमा गुटमुटिएर उसको बाँया पाखुरातिर टिकेको थियो । खुला रुपमा रगतले लतपतिएको चक्कु उसको कपडामा बेरिएर रहेको थियो । गरुङ्गो मन लिएर उनीहरु फर्किए ।

सडक नाघेर गोरेटो पार गर्दासम्म उज्यालो हुनै लागेको थियो । अप्रेसनको सफलताको सबै खुसी गायब भै सकेको थियो । उनीहरु आपसमा नै पश्चाताप गरेजस्तो गरी भन्दै थिए, ‘मलाई धेरै नै अफसोस लागेको छ निक, मैले तिमीलाई यहाँ ल्याए र तिमीले यस्तो भयंकर घटना देख्नुपर्यो ।’

‘अँ बाबा’ निकले आफ्नो संसय प्रकट गर्दै भन्यो, ‘बच्चा जन्माउने बेलामा महिलाहरुले यस्तै कष्ट झेल्नुपर्छ कि कसो ?’

‘सधै होईन, कहिलेकाँहि त पर्छ नै !’

‘त्यो मान्छेले आत्महत्या कसरी गर्यो त ?’

यसै भन्न सकिन्न सायद उसले आफ्नी श्रीमतीको दुःख देख्न सकेन ।

‘बाबा, धेरै मान्छेले आत्महत्या गर्छन त ?’

‘धेरै जसो त होईन निक कसै कसैले …’

‘के धेरै महिलाहरुले पनि आत्महत्या गर्छन् त ?’

‘सायद, नै कतै कसैले गरेका होलान् ।’

‘उनीहरु कहिल्यै आत्महत्या गर्दैनन् ?’

‘कहिल काँही, निकै थोरैले …’

‘बाबा !’

‘जर्ज काका कता गए ?’

‘उनी पछि आउँछन् निक, साँझसम्म ।’

‘बाबा के गर्नु, धेरै मुस्किलको काम हो …’

‘होईन, म के ठान्छु भने धेरै सजिलो काम हो …’

‘तर सबै कुरा मानिस अनुसार फरक पनि पर्छ ।’

उनीहरु डुङ्गामा सवार थिए । निक पछाडिपट्टि थियो । बाबुचाँहि चप्पु चलाईरहेका थिए । सूर्यले पहाडबाट हेरिरहेको थियो । त्यही बेलामा माछाले पानीमा पौडदै, उफ्रयो । निकले आफ्ना हात पानीमा चोबल्यो । बिहानैको ठण्डीमा पनि पानी उसलाई अलि तातै लाग्यो । उसले बाबुतिर फर्केर हेर्यो, डुङ्गा ख्याउँदै उसको बाबा बडो मायालु पाराले उसलाई नै हेरिरहेका थिए । लागिरहेथ्यो कि ऊ निश्चित रुपमा कहिल्यै मर्दैन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button