व्यंग्य कविताः गणतन्त्रका मुखियाहरु

नारायण भट्टराई

छिमेकीको बालीमा गोरु चराउन बानी परेका
मुखियाबुढाका नातीहरु हुर्किए छन्
अनि त टाठाबाठा र ‘लाटा’हरुलाई
आधुनिक मुग्लानतिर पठाएर
बाजेले बनाइदिएको सत्ताको महलमा
उप्पर खुट्टी लगाएर
खाडीको घाममा सपना डढाइरहेका
सर्वहाराको वेदनाको विभत्स दृश्य
टिभी स्क्रिनमा नियाल्दै
सम्बृद्धीको सपना बुनिरहे छन्
गणत्रन्तका मुखियाहरु

भोक, शोक र रोगले ब्याकुल
मान्छेको भिडलाई रामराज्यको
नागरिकता दिलाउने सपना देखाएर
क्रान्तिको नशा पिलाई रगतको होली खेलाएर
रगतको छिटाबाट बच्न बंकरमा लुकेर
सत्तारोहणको सपना देख्ने
क्रान्तिकारी काजीहरू, आज त्यही
क्रान्तिको होलीमा अस्तित्व गुमाएकाहरुको भुतसँग
डराएर सत्ताको सरणमा परी
आ आफ्नो सासको रक्षा गर्न
अभ्यस्त छन् गणतन्त्रका मुखियाहरु

भोक, रोग र महामारीको चक्रब्यूहमा फसेका
रणभुल्ल मानिसहरुको भिडलाई
विकासका सुरिला भजनमा अल्मल्याई
आफ्ना आसेपासेका लागि सत्ताको भागबन्डा गर्न
ब्यस्त काजीहरू
बन्डा मिलाउन नसकी
आफ्नै फन्दामा बेरिएर
भीरको चिचिन्डो झैँ
बिचल्लीमा परेका छन्
गणतन्त्रका मुखियाहरु

(प्रिय साथी !
तपाईं पनि नारायणजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना र अनुभवहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको कलाक्याफेमा । तपाईंकै लागि हो कलाक्याफे । र, nepalnamcha@gmail.com कलाक्याफेको इमेल । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button