लोग्ने कुनै पनि बेला उत्तेजित हुन सक्छ
कथा: गोमतीको भक्कानो
दिनभरको लठारो सकेर गोमती काखे छोरालाई दूध चुसाउँदै खटियामा लेटेकी छ । यो गाउँका गोमती र गोमतीहरूलाई फुर्सद भनेकै राति सुतुञ्जेलमात्र न हो । त्यही पनि कहाँ सञ्चोले मस्तसँग निदाउन पाउँछन् र उनीहरू ? सँगै टाँसिएर सुतेको बच्चा कुनै पनि बेला च्याँठ्ठिएर उठन सक्छ वा छेवैमा लम्पसार परेर घुर्दैं गरेको लोग्ने कुनै पनि बेला ब्युँझिएर आफ्नो मर्दानगी प्रमाणित गर्न उत्तेजित हुन सक्छ ।
यस्ता स्थितिहरूमा यी गोमतीहरूले आफू थाकेको छु भन्न पाउँदैनन् । यतातिरको चलन यस्तै छ, लोग्नेमानिसले बिहान, दिउँसो, राति जतिखेर चाह्यो त्यतिखेर फुर्सद निकाल्न सक्छन् तर स्वास्नीमानिसलाई फुर्सद निकालेर आराम गर्ने अधिकार छैन, संविधानमा, ऐन÷कानुनमा र महिला अधिकारका राष्ट्रिय÷अन्तर्राष्ट्रिय दस्तावेजहरूमा जेसुकै लेखिएको भए पनि । गोमतीहरूको दैनिक जीवन घडीको सुइजस्तै एकनासले चलिरहेको हुन्छ, अविराम ।
गोमती निदाउन लागेकी थिई । अचानक ढोका ढक्ढकाएको आवाज आयो । उसले लोग्ने घर आएको ठानी र ढोका खोलिदिई । तर लालटिनको मधुरो प्रकाशमा उसले देखी, ढोकाबाट हुत्त भित्र पस्ने मानिस उसको लोग्ने होइन । भित्र पसेपछि एउटा हातमा बन्दूक बोकेको त्यो मानिसले अर्को हातले गोमतीलाई अँठ्यायो । ऊ छट्पटाई र फुत्कने प्रयास गरी तर सकिन ।
‘अपनी मरदकेसाथ जो खेल खेल्ती हे वही खेल मुझसे खेल, बस् । तुँ भी बच जाएगी, मेरा भि काम हो जायगा । बेकार मे काहेको नखरा करती है । अपनी जान प्यारी नही हे क्या ? नही तो भुन्दुँ तेरे लौन्डेको ? सा…ली ।’
सीमापारिको बर्दीधारीले यसो भन्दै खटियामा सुतिरहेको ढाई वर्षको छोरोतर्फ इन्सास बन्दूक ताकेपछि गोमती अड्न सकिन । ‘यहाँसे चले जाओ, नही तो स्वर मचा दुँगीं’ भन्दै प्रतिवाद गरिरहेकी गोमती खटियामा निदाइरहेको छोरोतर्फ बन्दूक तेर्सिएपछि भने बर्दीधारीको खुट्टा समाउन पुगी । त्यसपछि के भयो, त्यो बर्दीधारीले उसलाई के के गर्यो त्यसको बेलीविस्तार लगाइरहन आवश्यक छैन ।
गोमती जिउँदो लास बनिरही । कतिखेर त्यो बर्दीधारी रित्तियो र गयो उसले हेक्का राखिन । रातको सन्नाटालाई चिर्दै उसको छोरो रुँदै ब्युँझिएपछि मात्र गोमती सकिनसकी उठी र छोरोलाई काखमा च्यापी ।
आन्दोलन सुरु भएदेखि कल्लु अर्थात गोमतीको लोग्नेको घरमा बास छैन । चार दिनअघि आएको थियो, हतारहतार तीनवटा चपाती खायो र हाफ स्विटरमाथि कुहिनो प्वाल परेको फुल स्विटर लगायो । गोमतीले के के कुरा सोधी तर ऊ राम्ररी जवाफै नदिइ हिँडिहाल्यो । कल्लुको दिमागमा अहिले आन्दोलनबाहेक केही पनि छैन, न घर, न स्वास्नी, न नाबालक छोरो ।
पारिको बर्दीधारीले गोमतीलाई जिउँदो लास बनाएको पर्सिपल्ट ऊ आयो । सधैँ हाँस्ने, बोल्ने गोमती यसपालि केही बोलिन, चुलोचौकामै अल्मलिइरही । उसले स्वास्नी नबोलेकीमा त्यति अनौठो पनि मानेन । ऊ घरमा नबसेकाले ठुस्किएकी होली भन्ने ठान्यो । निकैबेरसम्म पनि केही बोलचाल नभएपछि उसले कारण सोध्यो ।
गोमतीले सञ्चो नभएकाले बोल्न मन नलागेको भन्ने छोटो जवाफ दिई । ऊ आफैँ आन्दोलनकारी भएकाले उसलाई राम्ररी थाहा छ, अहिले गोमतीलाई जँचाउन कुनै अस्पताल पुर्याउन सम्भव छैन ।
ऊ आज एक रात घरमै बसेर गोमतीलाई फकाइफुल्याई गरी भोलि बिहानै धर्नामा जाने विचार गरेर खटियामा लेट्यो । झपक्क निद्राले मात्र के छोपेको थियो उसको मोबाइल फोन घन्किन थाल्यो । उसले हत्तपत्त फोन उठायो । धर्नास्थलबाट फोन आएको रहेछ ।
कल्लुले जवाफ दिँंदै भन्यो, ‘ठीक है बिरादर ठीक है, मै अभी आया ।’ आजको रात गोमतीलाई न्यानो अँगालोमा च्यापेर घरमै बिताउने इच्छालाई उसले तिलाञ्जलि दियो, एक कर्मठ आन्दोलनकारी भएकाले । गोमतीलाई केही नभनी छोरोको गाला मुसारेर राति नै कल्लु बाहिरियो । गोमतीले पनि केही भन्न, सोध्न आवश्यक ठानिन ।
केही दिनपछि गाउँ, सहरको वातावरणमा अनायास नयाँ रङ्ग देखियो । ठाउँठाउँमा विजय जुलुस निस्किए । गोमतीका छिमेकी महिलाहरु पनि उत्सुक भएर रमिता हेरिरहेका थिए । यस्तैमा विजय जुलुसको एउटा झुण्ड नारा लगाउँदै गाउँ परिक्रमा गर्न थाल्यो । त्यसैक्रममा त्यो झुण्ड गोमतीको आँगनमा आइपुग्यो । जुलुसका सबै अबिरले रङ्गिएका थिए, अनुहारै नचिनिने गरी । गोमतीले पहिला त आफ्नो लोग्ने कल्लुलाई पनि चिनिन । सबै जना उसको आँगनमा नाँच्दै उफ्रिँदै थिए । त्यसैमध्येबाट एउटा अलि पाको मानिस अघि बढ्यो र ढोकाको छेउमा ठिङ्ग उभिएर टोलाइरहेकी गोमतीलाई रातो टीका लगाइदिन खोज्यो । गोमती टीका नलगाई दौडेर घरभित्र पसी ।
‘शर्माती है, रहने दो चाचा रहने दो, चलो आगे बढें’, कल्लुले जुलुसलाई आफ्नो आँगनबाट अघि बढायो ।
सीमापारिको बर्दीधारीले आफूलाई जिउँदो लास बनाएपछि गोमतीले बोल्न र हाँस्न बिर्सेकी थिइ तर रुन भने सकेकी थिइन । आज अचानक गोमतीको भक्कानो फुट्यो । ऊ रजाईमा अनुहार घोप्ट्याएर रोई रही निकैबेर… ।
विजय जुलुस नारा लगाउँदै गाउँ परिक्रमा गर्न व्यस्त थियो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)