
दिलभित्रकै रानी बन्यौ र पो प्रेम गर्छु !
मुक्तक
एक्लो प्रितम खड्का
रुपन्देही
रुन छाडेँ बैगुनी खुसीमा, रमाको छ नभनिदेऊ
बिर्सी मलाई पराइ हात, समाको छ नभनिदेऊ
यात्रा गर्दा कहिलेकाहीँ मन्द मुस्कान निस्किदैमा
अतीत बिर्सी नयाँ घरजम जमाको छ नभनिदेऊ !
तिर्खा मेट्ने पानी बन्यौ र पो प्रेम गर्छु
प्रेमामृतको खानी बन्यौ र पो प्रेम गर्छु
आफ्नै दुनो सोझ्याउने स्वार्थीको माझ
दिलभित्रकै रानी बन्यौ र पो प्रेम गर्छु !
सयपत्री फुलको मलाई हार बनाइदेऊ
मेरो मार्गमा खुकुरीको धार बनाइदेऊ
खुसी लाग्छ मेरो लागि गर जे पनि तिमी
कि त मलाई वार कि त पार बनाइदेऊ !
आँसु बेची खुसी कहिँ किन्न पाइन्छ र,
बाहिरी आवरण हेरि कहाँ चिन्न पाइन्छ र !
बलेको आगो ताप्छ्न ताप्नु पनि जायजै हो
खोली तरि लौरो बिर्सि हिन्न पाइन्छ र !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)