
काठमाडौं देश चपाइरहेछ
कविता
लता पौडेल
काठमाडौं
मेरो भूगोल,
मेरो गौरव,
मेरो मुटु,
मेरो जननी चपाइरहेछ ।
काठमाडौ
भव्य र सभ्य महलहरूले मात्र सजिएर,
प्रकृति मासेर विकृत बन्दै हुर्किदैछ ।
सभ्यता,
लोकतन्त्र,
प्रजातन्त्र,
निरंकुश तन्त्र ,
जहाँनियाँ तन्त्र,
जेसुकैका नामले डोरिँदै,
विना परिवर्तन नाम मात्रको,
हरेक समय फरक फरकढंगले ,
फरक फरकमानिसहरूका इच्छा र चाहनाहरूले,
बाँचिरहेछ फरक फरक अनुहारहरूका प्यासमा,
र रित्याउँदैछ आफ्नो कौमार्य ।
र, विकासको हवला दिएर देशको स्वाभिमानमाथि लात हान्ने,
सार्वभौमिकता, स्वतन्त्रता,
एकता र अखण्डताको सिकार खेल्नेहरूको पछि लागेको छ
यतिबेला काठमाडौं ।
काठमाडौं हिजोआज …
श्रम हत्याउने दलाललाई ससम्मान भित्र्याएर
स्वीकार गर्छ वेइमानका आवाजहरू,
स्वभिमानलाई बन्धक राखेर ,
भित्र्याएउँदैछ तस्करहरू ।
काठमाडौं …
अस्मिता लुटिएका चेलीहरूका आँसुमा राजनीति गर्छ,
राहातको नाममा आहात बाँडेर मनहरूलाई,
अख्तियार र अदालत सक्षी राखेर,
लङ्का बनाएर शान्ति भूमिलाई,
मार्नेहरूका नाम शहीदका बही खातामा चढाउँदै अराजकता र भ्रष्टाचार पालिरहेछ ।
ऊ यतिबेला
धमिरा बनेर भित्रभित्रै,
चपाइरहेछ देश,
क्रूर शासकहरूको इतिहास लेख्न,
नीति, नियम र विधानको धज्जी उडाउँदैछ ,
कालो पट्टी बाँधेर वर्तमानको आँखामा भविष्यको हत्या गर्दैछ ।
कतै …
देश टुक्रिएको किन नहोस्,
नदीनाला, वनजङ्गल खानी बेचिएको किन नहोस्,
सुस्ता, सन्दकपुर, टनकपुर मिचिएको किन नहोस्,
कानमा तेल हालेर,
काठमाडौं यतिबेला देश चपाइरहेछ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)