… जब माइती लिन आएर रित्तै फर्कन्थे

टीका आत्रेय 

भदाैजस्तै आँखाबाट
हाम फालेर झर्थे खहरेहरु,
प्वाल परेकाे बाँसमा
बतासले हिर्काउँदा बजेकाे धुन झै
फुत्किरहन्थे सुस्केरा
हृदयकाे खड्प्वालबाट,
जब माइती लिन आएर रित्तै फर्कन्थे
दर खाने दिन
-आमा भन्नुहुन्थ्याे ।

आँखामा चाैपट्टै आउँथ्याे बाआमाकाे झझल्काे
जिब्राेमै रसाएर निलिन्थ्याे माइतकाे दर
कानमा ठाेक्किएर फर्कन्थे सखीका आवाजहरु
गाेडासम्मै आएर डराउँथ्याे नृत्यकाे झङ्कार
ओठैमा आएर निरीह फर्कन्थ्याे तीजकाे संगीत
म झरिरहन्थे गालाकाे बाटाे भएर
-आमा भन्नुहुन्थ्याे।

अग्ला थिए रहरका वृक्षहरु
तीभन्दा अग्ला थिए
वाध्यताका पर्खालहरु
‘बुहार्तन’ नामकाे संस्कारले
नेलकडी लगाइरहन्थ्याे
म झ्यालखानाभित्र बसेकाे कैदीझैँ
जिन्दगीभित्र थुनिइरहन्थेँ
-आमा भन्नुहुन्थ्याे।

काेही लुगाभरि तीज फुकाउँथे
काेही गहनाभरि तीज देखाउँथे
आँगनभरि पाेखिएर तीज
मैले कहिल्यै उठाउँन पाइनँ
हावाभरि मगमगाएर पर्व
मैले कहिल्यै उड्न पाइनँ
पाेल्टामा भरेर खुसी
म कहिल्यै रमाउन सकिनँ
-आमा भन्नुहुन्थ्याे ।

आज समयकाे अर्काे किनाराबाट
छाेरी आउने आशामा
आमा रित्ताे बाटाे हेरिरहनुहुन्छ
र आँसु चुहाउनुहुन्छ
दरखाने दिन ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)


                          

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button