बुवा ! किन निदाउन्नन् नेताहरु ?

कविता

धनन्जय दवाडी

मसँग प्रश्न छन् बुवा !
आज तपाईं हुनुहुन्न ।

हजुरका परिपक्व, चिम्सा र गहिरा आँखाहरु हेरेर
सोध्नुपर्ने धेरै प्रश्नहरु थिए मसँग ।

किन बुवा
जिन्दगी भरी दु:ख गरेर पनि
दुई छाक खान नपाउने भयौं ?
कामै नगरेर पनि काकाहरु सम्पन्न छन् ?

बुवा
इतिहासका शिक्षक भन्छन्–
गरिवको इतिहास लामो हुन्छ
तर खै त गरिवको इतिहास आजसम्म लेखिएको ?
दर्शनशास्त्रका गुरुले आफूलाई थाहा नभएको जान्न प्रश्न गर्नुपर्छ ।

तर बावा !
वर्तमानको राजनीतिमा प्रश्न सुन्नासाथ
किन तर्सिरहेकाछन्– नेताहरु ?

बुवा !
हरेक साँझ भोकले निदाउँछु
प्रत्येक बिहान म गरिवीको डसाइले व्युँझन्छु
तर
मेरै ताकतमा सत्तामा पुगेर
स्कचमा रमाएका
दललाई दलदल बनाएका
मेरा दले नेताजीलाई
अब नयाँ इतिहास लेख्नुछ
गरिवको आँखाबाट पनि संसार हेर्नुछ ।

भनेपछि
किन निदाउन्नन् बुवा
नेताहरु ?

तर मेरा प्रश्नहरुमा
आजकल किन
महलहरु
मालिकहरु त्रसित छन् ?

बुवा
तर पनि म प्रश्न सोधिरहेछु– नेतालाई
नेताजी
चन्दा उठाएर झुपडीमा बास बस्ने तिमीले
कसरी जोड्यौ आलिसान महल ?

राजनीति बेचेर महल खरिद गर्यौ
कि नैतिकतासँग साट्यौ ?

सत्ये सत्ये बुवा !
मेरा प्रश्नको जवाफ दिनु पर्ला भनेर
नेताहरु आजकल प्रश्न सुन्दैनन् ।

मेरा मनमा प्रश्नहरु छन्
ती दनदन दलिरहेका छन्
प्रश्नै प्रश्नमा म पो खरानी हुन्छु कि बुवा !

म प्रश्न सोध्न चाहन्छु
तर, तपाईं हुनुहुन्न क्यारे बुवा !!

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button