आफू काँडामा हिँडेर मलाई फूलमा देख्न चाहनुहुन्छ

मेरा बा

श्रीकृष्ण शर्मा
पोखरा

बा ! मेरा बा
मेरा अङ्गअङ्गमा हुनुहुन्छ
जीवनका नवीन रङ्गरङ्गमा हुनुहुन्छ
मस्तिष्कका हरेक ज्वारभाटारूपी तरङ्गमा हुनुहुन्छ ।

मेरा बा
भित्र यो मनको अन्तरङ्गमा हुनुहुन्छ
आँखा खोल्दा आँखै अगाडि पाउँछु
आँखा बन्द गर्दा आँखाभित्रै नचाउँछु ।

मेरा बा
मेरो प्रेरणाको स्रोत हुनुहुन्छ
दयामाया र स्नेहले ओतप्रोत हुनुहुन्छ
आफू काँडैकाँडाको बाटोमा हिँडेर
मलाई फूलको राजमार्गमा देख्न चाहनुहुन्छ ।

मेरा बा
मेरा लागि असह्य दुःख सहनुहुन्छ
त्यै पनि केही दुःख छैन भनी
मलाई कहनुहुन्छ ।

मेरा बा
मेरो मुटुमा रहनुहुन्छ
त्यसैले त मेरो धड्कन चलेको छ ।

मेरा बा
मेरो नसामा हुनुहुन्छ
त्यसैले त मेरो जीवन चलेको छ ।

मेरा बा
दियालो बन्छन्
र, त मेरो सानो झुपडीमा सूर्य बलेको छ
मानौँ निष्पट्ट अन्धकार चिर्न
यौटा मैन आफैमा जलेको छ ।

मेरा बा
मेरो विश्वास हुनुहुन्छ
मेरो जीवनको सुपर हिरोसरी खास हुनुहुन्छ ।

मेरा बा
म तपाईँलाई पलपल फेरिरहन्छु
र त बाँचेको छु
त्यसैले मेरा बा मेरो सास हुुनुहुन्छ
उही गाउँको पुरानै घर
जहाँ म जन्मेको थिएँ
त्यहीँ ब्रह्म मुहूर्तमा गुन्जिने
वेदका ऋचाऋचामा
मेरा बा हुनुहुन्छ ।

सादा जीवन जिएर उच्च विचार राख्ने
मेरा बा
अहिंसाका पक्षपाती हुनुहुन्छ
आमा भन्नुुहुन्छ
तिम्रा बा साह्रै जाति हुुनुहुन्छ
तर
म भन्छु
बा हजुर
साह्रै खराब हुनुहुन्छ
तपाईँ गाउँ पञ्चायतमा हुँदा
भ्रष्टाचार गर्न सक्नुभएन छ
गरिबलाई शोषण गरेर मोटाउन सक्नुभएन
गाउँभरका मुद्धामामिला मिलाउँदा
तातो गोजी पारेर असत्य बक्नुभएन
तैपनि बा
म साह्रै खुसी छु
जीवनमा केही पीर छैन
धेरै कुरा नभए पनि मेरो झुकेको शिर छैन ।

साँच्चै बा हजुर
सेतै फुलेको काँस हो
मेरो गाँस हो
हाम्रो परिबारको छाता आबास हो
लाज जोगाउने न्यानो कपास हो
आमा धर्ती बाँचेको वास्तवमा निलो आकाश हो ।

बा तपाईँ
सम्झिँदा
हुन्छ अहो गम्भीर, शान्त न आदि न अन्त
सधैँ अनन्त आकाश हो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button