
प्रिय ! म निदाउन सक्दिनँ
ध्रुव पौडेल
तिमी र म
मेरो र तिम्रो बीचमा
प्रिय ! आँधी छ हुरी छ
प्रिय ! आकाश र धर्ती जत्तिकै दूरी छ
तसर्थ प्रिय ! म र मेरा हराएर
एकोहोरो प्रिय ! तिमीहरूलाई जिताउन सक्दिनँ
कोखभरिका दाह्रा
अगाडि र पछाडि म
प्रिय ! तिमीसँग निदाउन सक्दिनँ ।
प्रिय ! तिम्रो संगत वादसँग छ
झुक्याएर चल्लो टिप्ने वाजसँग छ
पाखुरा सुर्किने अभिजातसँग छ
ऐश्वर्यको लीला बोक्ने रातसँग छ
अजङ्गको सम्राटसँग छ
अझै धर्म संकट त प्रिय ! घातप्रतिघातसँग छ
प्रिय ! म विचरो !
मेरो कुरा …
सदा दाल र भातसँग छ
छुताछुतको पीडित जातसँग छ
भोलि भोक जन्माउने रातसँग छ
श्रमले पटपट ! फुटेका ती पसिनाका हातसँग छ
प्रिय ! घात र प्रतिघात कहाँ हो र !
क्षमा र क्षमताको साथसँग छ
तसर्थ
यो बेमेलको धरातल
म सर्वस्व हारेर
एउटै बिस्तरामा
प्रिय ! बिताउनै सक्दिनँ ।
तिमीसँगै म
प्रिय ! अब निदाउनै सक्दिनँ ।
स्थापना खोइ प्रिय ?
विस्थापनको खेती गर्छौ !
दु:खका चित्र मन पराउने ,
अनि खिचिक्क पार्छौ
दुर्दिन अरूको प्रिय !
तिमी सुनको अण्डा पार्छौ
विचरा ! म
कठै ! मेरो…..
मकैको घोगो बाँदर झिक्छ
गहुँको दानो भँगेराले टिप्छ
सुनौलो बाला पुतलीसँग उड्छ
प्रिय !
यो डालको तिमीसँग
यो चालको तिमीसँग
प्रिय !
अब म सुकर्म चिताउनै सक्दिनँ ।
न्यानो बिस्तारामा सँगै म
प्रिय !
निदाउनै सक्दिनँ ।।
प्रिय !
तिम्रो त
दुई भिन्न दाँत छ
अरूकै,
रगतपसिनामा गाड्ने आँट छ
सत्य मरेको,
तारा झरेको
बनाउने गाँठ छ !
विचरा ! म
न साम्राज्यवाद छ
न रगतको स्वाद छ
न खाने देखाउने ,
दुई दाँत छ !
मात्रै मसँग ,
श्रम गर्ने गर्ने दुई हात छ !
तसर्थ
सर्वस्व म हारेर
पाप कुण्डमा आफैँलाई पारेर
प्रिय ! जीवन बिताउन सक्दिनँ ।
अब म प्रिय ! एक पल पनि निदाउन सक्दिनँ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)