हजुरलाई तीन दिन पकाउँदा यस्तो हुन्छ, हामीले त महिनाभर मिठै पकाएर खुवाउँछौँ

लघुकथा: नारनको पाक-कला

हरिप्रसाद गौतम

‘कहिले नुन चर्को, कहिले एकथरी मात्रै तरकारी, कहिले गिलो भात अनि कहिले काँचो रे ! यसपालि त सबै ठिक छ, पक्कै जस मिल्ला, सबै थोक मिठै पकाएको छु । आज त छिमेकी दिदीसँग उनले खाना मीठो भएन भनेर गुनासो गरेको सुन्न नपर्ला’, ठस ठस कन्दै पकाइसकेर नारनप्रसाद एक्लै भुनभुनाउँदै अफिस जाने तयारी गर्थ्यो ।

‘बाटुली’ त्यो घरमा भित्रिएको चौध पुगेर पन्ध्र वर्ष भएछ । महिनाबारीका बेला महिनामा तीन दिन भान्छे बन्नुपर्दा लोग्ने नारनलाई नर्क पुगेको अनुभूति हुन्थ्यो । कारण यौटै थियो : मीठो भएन भनेर बाटुलीले किचकिच गर्नु । एक मनले यी तीन दिन त अफिसै नगई बिदामै बसेर जानेजतिका परिकार बनाएर खुवाऊँ र जान्ने कहलिऊँ कि जस्तो लाग्थ्यो उसलाई ।

‘किन बार्नुपरेको होला यो महिनाबारी’ भन्दै पड्किन्थ्यो अनि गाउँमा बस्ने कडा मिजासकी आफ्नै आमालाई सम्झेर फेरि लुतुक्क पर्थ्यो । बजारबाट केही ल्याएर छाक टार्न खोजे पनि सानी छोरीलाई सञ्चो गर्दैन कि भन्ने ठानेर खुम्चिन्थ्यो । यताबाट ‘हजुरलाई तीन दिन पकाउँदा यस्तो हुन्छ, खै, हामीले त महिनाभर मिठै पकाएर खुवाउँछौँ’ भन्ने अझ कडा वाक्य सुन्दा नारनलाई आफू पाक-कलामा साँच्चै अयोग्य रहेछु भन्ने लागे पनि ऊ हार्न भने चाहँदैनथ्यो ।

आज ऊ बिहान पाँच बजेबाटै भान्छाको तरखरमा लाग्यो । अफिस पनि समयमै पुग्नु थियो । हिजै काटेर फ्रिजमा राखेको तरकारी पकायो । चामल भिजाएर कुकरको बिर्को लगायो । दाल पनि झान्यो । चटनी पनि बनायो । दाल, तरकारी र चटनीमा नुन, पिरो सबै जाँचेर ऊ आफैमा मख्ख प-यो ।

छोरी र आफूलाई टेबलमा अनि बाटुलीलाई चाहिँ भुइँमै बस्ने व्यवस्था मिलायो । अफिसको युनिफर्म लगाइसकेकाले अलि सतर्क भई घडी हेर्दै भात पस्किन चुल्हामा पुग्यो । हतारहतार कुकुरको बिर्को खोल्यो । तर, कुकरमा भात थिएन । चामल र चौलानी देखेपछि खिन्न भयो । मनमा धेरै कुरा खेलेकाले भात त पकाउनै बाँकी रहेछ । मनमनै आफूलाई धिक्का-यो । यसो मुन्टो घुमायो । छोरीको हातको चम्चा अनि बाटुलीको गोरो अनुहार देख्यो ।

केही बोल्न खोज्दै थियो तर शब्द नै भेट्टाएन ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button