बा किन नबोल्नु भएको ? यी हेर्नु त मन्त्र सुनाउने किताब

लघुकथा: बा

लता पौडेल

‘बा ! यो रुमालमा के बाँधेको ?’, अनुपले सोध्यो ।

‘कर्मकाण्डका किताबहरु, किन छोरा ?’,  गोपालले भन्यो ।

‘कर्मकाण्ड भनेको के हो ?’, पुनः अनुपमले साध्यो ।

‘बेहुली ल्याउने, ब्रतबन्ध गर्ने,  मन्त्र सुनाउने, अरु अरु पनि’, गोपालले भन्यो ।

‘मलाई कहिले बेहुली ल्याइदिने, मन्त्र कहिले सुनाउने बा ? ‘

‘तिमी ठूलो भएपछि’, गोपालले भन्यो ।

चार वर्षको नाति र उसको बाको कुरा म छेउमा बसेर सुनिरहेकी थिएँ । दुई दिनअघि मात्र गोपालले ‘कस्तो टाउको दुख्यो’ भनेको ।

बुहारीले मङ्गलबारे स्वास्थ्य चौकी लगिन् । डाक्टरले ‘आतिनु पर्दैन, औषधी पाँच दिनको लेखिदिएको छु, बेसेक हुने नहुने दुई दिनपछि थाहा हुन्छ’ भनेका रहेछन्, बुहारीले सुनाइन् ।

ऊ ओछ्यान नै लगाएर सुतेको थिएन । आज बिहानसम्म उसले एउटै भाँडाको भात खाएको । बेलुका बुहरीले उसको लागि जाउलो बनाइन् , राम्रै मानेर खायो । मैंले असजिलो भयो कि भनेर सोध्दा, ‘छैन’ भन्थ्यो । ठिकै छ भनेपछि अन्यत्र लाने कुरो गरेनौ ।

राति गोपाल अलिक खट्पटिएछ, बुहारीले सुनाइन् । म उसको छेउमा गएर बसेँ । मतिर हेरेर उसले भन्यो, ‘आमा गीता पाठ गरिदिनुहोस् न ।’

मैले पाठ गरेको सुनेर अनुपम बिउँझिएछ, छेउमा बस्दै भन्यो, ‘हजुरी किन मन्त्र पढेको ? के गर्ने ?’

म गीता पाठ गर्दैथिएँ, एक्कासी बुहारी आत्तिइन् । मैले गोपाललाई झक्झक्याएँ । बिहानको पाँच बजे उसले एकपल्ट सबैतिर आँखा डुलायो र अन्तिमपटक लामो सास छोडयो ।

‘राम !!‍ राम !!’, मेरो मुखबाट यति आयो ।

बुहारी चिच्याइछन् ।

हाम्रो आँगन एउटै थियो, बुहारी चिच्याएको सुन्नु भएछ, हतार जेठाजु जेठानी आउनुभयो ।

बिहान गोपाललाई घाट लान तयारी गरियो । छरछिमेक, यजमान सबै भेला भए ।

गोपाललाई काँधीकाठमा राख्दै गर्दा अनुपमले सोध्यो ‘हजुरी बालाई कहाँ लाने ?

मुटु मिचेर मैंले उत्तर दिएँ, ‘भगवानको घरमा ।’

त्यसपछि रुमालमा बाँधेका किताहरु मुर्दाको छेउमा राखेर उसले भन्दै गरेको मात्र सुने, ‘बा ! मलाई कसले मन्त्र सुनाउछ ? कसले बेहुली ल्याइदिन्छ ? मलाई मन्त्र सुनाएर, बेहुली ल्याइदिएर मात्र भगवानको घर जानु ।’

‘बा किन नबोल्नु भएको ? यी हेर्नु त मन्त्र सुनाउने किताब ।’

उसको कुरा सुनेर वरिपरि भएकाहरुले आँखाभरि आँसु पारे ।

बुहारी मझेरीमा मुडोझैं थिइन् ।

अहिलेसम्म थामेको मेरो मनको बाँध फुट्यो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button