बाबुसाहेब हुल्लड केटाहरुसहित यौन शिकार खेल्न निस्के

कथाः बठिनिया

गुरुदत्त ज्ञवाली

फुच्चे बाबुसाहेब नारायणको डेरामा आए र पिकनिक जाने कुरा गरे । पुड्के भएकोले होला उनलाई सबैले पुण्टे बाबुसाहेब भन्ने गर्थे । ठकुरीको छोरो, राजा भन्ने चलन हो त्यतातिर । उनी राजाको कारखानामा सहायक मुनिमको काम गर्ने गर्थे । त्यसैले ठकुरीको पनि दोस्रो दर्जामा परे । र, बाबु साहेब भनिए । ‘कहाँ जाने पिकनिक ?’, नारायणले प्रश्न गरे । नारायण नवलपरासीका थारु परिवारका हुन् । जागिर खान धनगढी पुगेका । त्यहाँ उनकै गाउँका पन्तजी हाकिम थिए । त्यसै अफिसमा जागिर पाए ।

पिकनिक कर्णाली नदीमा हुने कुरा बाबुसाहेबले गरे । सबै खानेकुरा नदीको किनारको जङ्गलमा पकाउने । अनि ठूलो डुङ्गा भाडामा लिएर डुङ्गामा चढेर पिकनिक खाने कार्यक्रम थियो । नारायण मञ्जुर मात्र भएनन् तम्सिए । नारायणको अफिसका र अरु चार–पाँचजना कर्मचारी समेत दशजनाको टोली बन्यो । ‘पियन तहका तीनजना केटा लैजानुपर्छ काम गर्नलाई’, नारायणले योजना नै बनाए । त्यो समयमा पनि प्रतियक्ति पाँचसयका दरले पैसा उठाइयो । त्यसबेला उनीहरुको मासिक तलब चारसय करीब थियो । सोझो पिकनिक एकसयले आँखा राता र कान ताता गराउन मनग्गे पुग्ने समयको कुरो हो ।

फुच्चे बाबुसाहेबले पिकनिकको तयारी गरेपछि उनीहरु एकाबिहानै धनगढीबाट सती बजार गए । जिप रिजर्भ नै थियो । शनिबारको दिन । कर्मचारीहरुको लागि बिदाको दिन । सतीबजार धनगढीबाट त्यस्तै साठी किलोमिटर पूर्वतिर पर्छ । कर्णालीको किनारमै बजार छ । उनी बजारमा पुगेर चिया पकौडा खाए । त्यसपछि नदीको किनारै किनारजस्तो दक्षिणतिर लागे । एउटा गुजुप्प छाप्रा भएको मानव बस्तीमा पुगे । उनीहरुले त्यस बस्तीको नाम विष्णुकान्तिपुर राखेका थिए । हरेक छाप्राको अघिल्तिर एकेकवटी महिला अझ भनौँ युवतीहरु उभिएका देखिन्थे । भद्दा शृङ्गारका युवतीहरुले फुच्चे बाबुसाहेबलाई स्वस्ती गरे र मुसुक्क हाँसे । बाबुसाहेबले सबैको मुख हेर्दै नमस्ते फर्काएर सबै छाप्रा चहारे । एउटा अलि फराकिलो छाप्राको अगाडि टुस्स बस्न भ्याएका थिएनन्, वर–परका अरु युवतीहरु पनि घिरिम्म त्यहाँ आए । एकैछिन के–के कुरा गरे कुन्नि ? त्यसमध्येबाट पाँचवटी युवतीलाई पिकनिकमा निम्तो दिए । उनीहरु बादी युवती थिए ।

त्यहाँ सानो झाडी जस्तो पनि छ । पकाउने काम शुरु भयो । त्यसैबेला सतीका बादी युवतीको टोली पनि आयो । पुण्टे बाबुसाहेब उनीहरु आउनुभन्दा पहिल्यै आइपुगेका थिए । दिनभर नाच–गान र खान–पिन भयो । बादी युवतीहरु निकै नाचे । साथमा सबै नाचे । लगभग लाज हराएको त्यो नाचमा चालक बाहेक सबै नाचे । अरु लफडा त केही गरेजस्तो लागेन तर हेर्ने र छुने अङ्ग सबै ओपन भन्छन् अचेल, खुलै थिए । रक्सीको तालमा नारायणको शब्दमा पियन केटाहरु पनि रौंसिए । पिकनिकको रङ्ग चरमचुलीमा पुग्यो । बेतालको तालमै दिन बित्यो ।

गर्र्मीको समय थियो तर टण्टलापुर घाम लाग्ने बेला भएको थिएन । जुनेली रात थिए । उनीहरुले बन्दोबस्त गरेको डुङ्गा जुनेली उज्यालोमा परबाट आयो र त्यहीँ रोकियो । डुङ्गा खियाउने दुईजना ठिटाहरु बाबुसाहेबले चिनेका मान्छे थिए । त्यस ठाउँमा त्यस्ता नाटक सधै हुने हुँदा ती ठिटाहरुलाई बानी परेको थियो । डुङ्गाको बनोट पनि त्यस्तै किसिमको थियो । पियन केटा भनिने युवाहरु र चालकलाई त्यहीँ बस्न भनेर कर्मचारीको टोली डुङ्गामा चढ्यो । साथमा बादी युवतीहरु पनि चढे ।

जुनेली रातमा डुङ्गा कर्णालीमा तैरिँदै ग¥यो र पिकनिकेहरु ती युवतीसँग रमाउँदै गरे । के–के गरे ? त्यसको बेलीबिस्तारको आवश्यकता परेन । खाने कुरा साथमा थियो रक्सीको कमी थिएन । बिहानीपख डुङ्गा किनारमा आयो । बादी युवतीहरु र डुङ्गावालाले हिसाब किताब बुझेर गए । कति खर्च लाग्यो, त्यो थाहा भएन । उनीहरुको शब्दमा मोज गरे ।

आइतबारको दिन, चारजना कर्मचारी अफिसमा गएनन् । दुईजना नारायणको अफिसका गएनन् र दुईजना अर्को अफिसका । अफिसमा नजानेमा नारायण पनि थिए । उनीहरुको हालत हिँड्ने डुल्ने अवस्थामै थिएन । त्यो कुरो पन्तजीलाई थाहा भयो । पन्तजी त्यस्तो मामिलामा सजग र संयम पनि हु्न् । ‘अरुको बिषयमा त के नै गर्न सकिन्छ र ?’ भने । धेरै बोलेनन् । कर्मचारी तीन दिनसम्म अफिसमा जान सकेनन् । तेस्रो दिन, त्यस अफिसका पन्तजी र अर्को अफिसका चन्दजी उनीहरुको अवस्था बुझ्ने भनेर जाने तयारीमा थिए । कसैले भन्यो, उनीहरु त अस्पतालमा भर्ना छन् ।

त्यो बेला अस्पतालमा डाक्टर साह थिए । उनी पनि त्यो पिकनिकमा जाने खालका मान्छे हुन् । तै त्यो दिन के भएछ, गएनछन् । ती चारजना कर्मचारीलाई सरुवा खाले यौन रोग लागेछ । त्यस क्षेत्रमा त्यस्तो रोग लाग्ने सम्भावना बढी भएकोले औषधिको ब्यवस्था अस्पताल, सबै हेल्थपोष्ट र हेल्थसेण्टरमा हुने गर्दछ । डाक्टरसाहबले उपचार गरे । त्यसैलाई त्यतातिर भर्ना भएको भनिन्छ ।

पुण्टे बाबुसाहेब कारखानाको कामले आइतबार बिहानै लखनउ गएछन् । उनी त्यस्तो मामिलामा खप्पिस हुन् भन्थे । तै थला परेनन् । तर, रोगले छोएको रहेछ । उनले लखनउमै उपचार गरेछन् । त्यसैले समाजले थाहा पाएन । अरु चार जनाको भने धनगढीमा मात्र हल्ला भएन, जहाँ–जहाँ उनीहरुको घर थियो, घरमा समेत हल्ला पुग्यो । त्यस हल्लाले त्यो धन्दामा नलाग्ने अरु कर्मचारीहरुलाई समेत इज्जत धान्न धौ–धौ भयो ।

हुन पनि दाङ, नेपालगञ्ज, सती, राजापुर, टिकापुर, भजनीलगायत त्यस क्षेत्रका युवाहरु त्यस्तो बेश्यागमनमा धेरैजसो फसेको पाइन्थ्यो । बादी समुदायमा पेशागत खुला यौनधन्दा हुनु, सरकारले नियन्त्रण गर्नुको सट्टा नियन्त्रणको लागि गएका हाकिमहरु समेत त्यसैमा चुर्लुम्म डुब्नुले लाज मर्नु अवस्था नै थियो । घरानाका बाबुहरुले अन्य समुदायका युवतीहरुलाई समेत त्यस्ता धन्दामा संलग्न गराउनुले नयाँमुलुक गन्हाएको थियो । यस्तो पनि लाग्थ्यो, त्यो खालको बदनाम नै इज्जत त होइन उनीहरुको ?

पुण्टे बाबुसाहेब लखनउमा धेरै बसेनन् । धनगढी आएपछि उनलाई मुढातिरको लगानी उठाउन पठाइयोे । केहीदिन मुढातिर बसे । त्यस गाउँमा बस्नुको कारण त्यहाँ धेरै बठिनियाँ छन् भन्ने हो । बठिनी अर्थात बठिनियाँ भनेको स्थानीय भाषामा तरुनी हो अर्थात थारु तरुनी । त्यो दिन बाबुसाहेबले धनगढीबाट अरु कर्मचारीलाई लिएर गएका थिए । जुन कर्मचारी कर्णालीको पिकनिकमा गएका थिएनन् । नारायणको टोली, उनीहरुलाई लाजको मर्नु भएको मात्र होइन, सरुवा रोगले गालेको थियो । मुढामा बाबुसाहेबको गन्तिमा ६० वटी बठिनिया रहेछन् । उनले झुठ बोलेका होइनन् भने सबै बठिनियाँहरुसँग कुनै न कुनै बेला उनको लसपस भएको थियो भन्ने कुरा उनले गर्वका साथ भन्ने गर्थे ।

त्यो रात पाँचोटी बठिनियाँ झिकाए । घर परिवारका सदस्यले मेसो नपाउने बहानामा बोलाएरै ल्याए । फुच्चे बाबुसाहेबको त्यो बेला हैकम नै थियो । अतिथि सत्कारको निम्ति कामदारको रुपमा वा खाना बनाउने बहानामा झिकाए । बठिनियाँहरुको बाध्यता त थियो नै । बोलाएपछि जानै पथ्र्याे । साथै पैसा र बैंशले पनि थोरै तानेको हुनु पर्छ भन्ने अड्कल हो । त्यो रात पनि कर्णालीको पिकनिकमा रातभर डुङ्गामा जे भयो मुढाका बठिनियाँसँग पनि त्यही भयो । फरक भनेको बठिनियाँहरुलाई धेरै पैसा दिनु परेन । बाबुसाहेबले भने पैसा तिर्दैनथे । उनको पैसाको हिस्सा त्यही ब्यवस्थापनमा जोडिन्थ्यो । यी बठिनियाँहरु भने पेशेवर थिएनन् । बाबुसाहेबहरुका शिकार हुन्, यौन शिकार । रक्सीले मातेको बेलामा फुच्चे बाबुसाहेबले भने, ‘आज दुई सय एकाउन्नौं बठिनियाँको शिकार खेलियो अरु कसैको हिम्मत छ ?’

सित्तैमा खान र थोरै पैसामा यौन शोषणमा पल्केका दास मानसिकताका कर्मचारीहरु जो फुच्चे बाबुसाहेबको पछि लाग्थे, लाचारीका साथ उनको बहादुरीको प्रसंशा गरे र ङिच्च हाँसे । भोलिपल्ट बिहानै सबै बठिनियाँहरु घरतिर लागे । त्यो कुरो उनीहरुमा तैँ चुप–मै चुपको सुत्रमा रह्यो । फुच्चे बाबुसाहेबले कथित बहादुरीको नयाँ तक्मा भिरे । लाचार कर्मचारीहरु घरतिर फर्के ।

मुढाको काम सकेर बाबुसाहेब पहलवानपुर भन्ने गाउँमा पुगे । त्यो रात त्यहीँका जमिन्दारको कोठारमा बास भयो । कोठार भनेको जमिन्दारको घर हो, शीर पनि भन्ने चलन छ । त्यहाँका जमिन्दार अरु भन्दा भलाद्मी देखिन्थे । त्यसैले फुच्चे बाबुसाहेबले कुरो फोर्न सकेनन् र कोठारीसँग सुटुक्क कुरा राखे । कोठारी भनेको सिरबार वा जमिन्दारको मुनिम । धनगढीको कारखाना जसको हो उनी धेरै ठूला मान्छे हुन् ।

उनै मालिकको नाम बेचेर धेरै मुनिम र कामदारहरु समेतका खुट्टा भुइँमा हुन्नथ्यो । समाजले त्यसै गरेर मान्थे पनि । त्यसैको साख पुण्टे बाबुसाहेबले भजाएका थिए । कोठारीले त्यो रात अर्की ओर्गानीलाई बोलाए जो बठिनियाँ थिइन् । कम्लर्नी पनि भन्ने गर्छन् । ओर्गानीहरुलाई मालिकको आदेशको अवज्ञा गर्ने अवस्था थिएन । उनीहरुको पक्षमा उनकै अभिभावकहरु पनि बोल्न सक्दैनथे । त्यस्तै भयो । तर त्यो रात भने बाबुसाहेबले सोंचेजस्तो भएन । रक्सीले मात्तिएका पुण्टे बाबुसाहेबले ती बठिनियाँसँग अनैतिक सम्बन्ध कायम गर्न त आँटे तर मानिनन् । अलि बल प्रयोग गरे तर पनि सकेनन् । उनी दारुले लट्ठ थिए । युवती जब्बर थिइन् । ताना–तानको अवस्था भयो । युवती रिसिइन् । बोल्नु भएको थिएन । अँध्यारोमा अनुहार पनि चिनिन्नथ्यो ।

उनले अस्मिता बचाउन जोडले लात्तीले हानिन् र भागिन् । संयोग, बाबुसाहेबको अण्डकोशमै लागेछ । तै मरेनन्, मुर्छा परे । बिहानपख मात्र उनको होश खुल्यो । थारु किशोरी काममा इमान्दार थिइन् । नुनको सोझो गर्न रात–बिरातमा भएपनि काममा आइन् । इज्जत बेचिनन् । महिला अस्मिता बेच्न वा बलात्कृत हुन चाहिनन् । लात हानेपछिको परिणाम पनि खासै सोंचिनन् । त्यस घटनाले पछि ठुलै हल्ला भयो । बठिनियाँ को थिइन् पत्ता लागेन । त्यस्तो सरकारी उजुरी पनि परेन । फुच्चे बाबुसाहेबको लुल त्यो दिनबाट खस्यो । लुल त उनको भन्दा धनगढीका उनका दास कर्मचारीहरुको पनि खस्यो त्यस हल्लाले ।

पुण्टे बाबुसाहेब छ महिनासम्म बिरामी जस्ता भए । काम धन्दा त गरेकै देखिन्थे । उनको यौन शक्तिमा ह्रास आयो । मानसकितामा त आएकै थियो, शारिरिक हिसाबले समेत अशक्त भए । र, उपचारको लागि लखनउ गए । लखनउ उनीहरुको राजधानी जस्तो लाग्थ्यो त्यो बेला । धेरै जमिन्दारका घर पनि उतै हुन्थे र ब्यापार पनि उतै हुन्थ्यो । त्यसैले पनि त्यता जान सजिलो लाग्दथ्यो । उनको उपचारले पूरा एक महिना खाएछ । उनको बानी ब्यहोराको बिषयमा उनकी पत्नीलाई थाहा त थियो तर सुधार्ने हिम्मत थिएन । नाम मात्रकी रानी साहेब हुन् । दासी नै हुन् भन्थे अरुले । तै उनी लखनउ भने सँगै गएकी थिइन् । सञ्चो गराएर ल्याइन् भन्नु प¥यो । फर्केपछि उनी धनगढीमा बसेनन् । कारखानाको अफिस नेपालगञ्जमा पनि थियो । उतै खटिए । नेपालगञ्जमा बस्नुको कारण बठिनिया काण्ड नै थियो ।

पुण्टे बाबुसाहेबको पुरानो घर सल्यानतिर हो । आफन्तहरुको सम्पर्कले धनगढी पुगेका थिए । त्यहाँ कुनै राजासाहेबको चामल कारखाना थियो । पछि उनले गाउँमा थोरै खेत र सानो कच्ची घर जोडेका थिए । त्यसै घरमा उनकी पत्नी, छोरा–छोरी र बहिनी बस्दथे । बहिनी उमेरले सत्र वा अठारकी थिइन् । उनले धनगढीमा पढ्थिन् । बाबुसाहेब घरमा भने खासै जान्नथे अथवा महिना दुई महिनामा मात्र जान्थे । उनको त्यो हविगत सुनेर पत्नी सँगै बस्न थालिन् । स्वास्थ्य पुरानै अवस्थामा आयो । बानी पनि पहिले भन्दा त फरक होला र पनि छोडेनन् । पत्नी सँगै थिइन् । त्यसैले पनि उनमा यौन धन्दामा नियन्त्रण थियो ।

एकदिन उनकी पत्नी गाउँमा जानु प¥यो । बाबुसाहेब फेरि फुक्काफाल भए । दिनभर जागिरको काम गर्थे र रातभर छाडा राँगोजस्तै बठिनियाँको खोजीमा डुल्दथे । हुल्लड केटाहरु र दास मानसिकताका कर्मचारीहरुलाई उनले साथी बनाएका हुन्थे ।

धनगढीका नारायणको सरुवा रोग सञ्चो भएन । उनी अफिसमा जानकारी नै नदिइकन परासी घरमा पुगे । घरमा गएर पनि लाजले खुलेर उपचार गर्न सकेनन् । पछि त उनी मरे भन्ने खबर पुग्यो । नारायणको मृत्यूले धेरै कर्मचारीलाई सतर्क गरायो ।

उता बाबुसाहेबकी बहिनीले त्यस वर्ष एसएलसी पास गरिन् । भाउजुको सल्लाह तथा आफन्तको सहयोगमा नेपालगञ्ज पढ्न जाने निधो भयो । दाजुसँग खासै संपर्क भएको थिएन र उनको निवासमा बस्नेजस्तो ठाउँ पनि थिएन । त्यसैले बाबुसाहेबले बहिनीको बारेका खासै थाहा पाएका थिएनन् वा चासो राखेका थिएनन् । उनी क्याम्पसमा भर्ना भइन् । पढाई शुरु भयो ।

एक रात बाबुसाहेब हुल्लड केटाहरुसहित यौन शिकार खेल्न निस्के । बाबुसाहेबले राम्री बठिनियाँ खोज्न पठाएका थिए । नेपालगञ्जमा थारु बठिनियाँ गाउँमा जस्तो सजिलै पाइन्नथ्यो । उनीहरुका आँखा क्याम्पसतिर लाग्ने गर्थे । कुलतमा फसेका वा फसाइएका छात्राले अलिकति बदनाम पनि गराएको थियो त्यो बेला । क्याम्पस प्रशासनले क्याम्पस चलेको बेलामा मात्र नियन्त्रण गर्ने हो । अरु समय क्याम्पसको जिम्मामा हुन सक्ने कुरो पनि भएन । बाबुसाहेबको एक जना छट्टुले कुनै राम्रो बहाना गरेर कुनै छात्रालाई फकाउँदै गरेको रहेछ । उसले आफू आफन्त भएको र अरु कुनै आफन्तकहाँ भेट गराउने बहाना गर्‍यो । सोझी छात्राले पत्याइन् ।

पुण्टे बाबुसाहेबलाई लागेको थियो, उनको फन्दामा परेपछि जस्तै नखरा गर्ने केटी पनि उनको बशमा पर्छन् । यौन शिकार सफल हुन्छ । छट्टुले ती छात्रालाई अल्मल्याउँदै राती सम्म डुलायो र उनको कोठामा फर्काउने बहानामा बाबुसाहेबको क्याम्पमा पु¥यायो । अब छात्राको मनमा भने चिसो पस्यो र उनी डराइन् । जे भए पनि उनको जोर बल चल्ने अवस्था थिएन । बोल्ने कराउने अवस्था पनि थिएन । इज्जतको डर त थियो नै साथै मृत्यूसम्म हुने गरेका घटना उनले सुनेकी थिइन् । ती छात्रा पनि त्यो समाजसँग परिचित थिइन् । उनको ब्रह्मले कसरी उम्कने भन्ने योजना त बनाएको थियो, उपाय निस्केको थिएन ।

पुण्टे बाबुसाहेबको कोठामा टुकीको मधुरो उज्यालो थियो । तेल सकिएर बत्ती निभ्नै लागेको थियो । नेपालगञ्जमा बिजुली त थियो, त्यसबेला लाइन गएको थियो । बाबुसाहेब दारुले टिल्ल थिए । उनका आँखाले खासै मान्छे चिन्ने अवस्था पनि थिएन । त्यसैमा अँध्यारो । अरु केटाहरु त्यो कोठामा थिएनन् । उनीहरु पनि दारुमै डुबेका थिए । बाबुसाहेबले ती छात्रालाई हातमा समातेर ताने । छात्रा डराइन् र ‘के गरेको हो अंकल ?’ भनिन् । आवाज कतै सुने जस्तो माने बाबुसाहेबले । तर पनि चरप्प समातेर काखमा राखे । कस्ती तरुनी रहिछ भन्ने लागे होला नि ? नजिकैको टर्च लाइट उठाएर युवतीको मुखमा लगाए । एकैछिन् त छात्राले मुख ढाकिन् तर पनि उनले बल गरे ।

त्यस्तैमा बिजुली झ्याप्प आयो । पुण्टे बाबुसाहेब बेस्सरी झस्के । उनको दारुको नशाले एकाएक छोड्यो । युवतीलाई काखबाट पर सारे । ती छात्रा, युवती भनौं, किशोरी भनौं, अथवा बठिनियाँ भनौं, उनकै बहिनी थिइन् जो नेपालगञ्जमा पढ्न बसेकी । बहिनीले, ‘दादा…’ भन्दै बेस्सरी चिहिरिएरै रोइन् । लाग्थ्यो, उनलाई कसैले फाँसीमा लट्काउँदैछ । उनले जीवनदान मागेकी होउन् !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button