रहर एउटै थियो, शहर एउटै थियो

कविताः फरक एउटै थियो

लीना बानियाँ

मार्ग एउटै थियो
दुरी नि उति नै थियो
शुरुवात नि सँगै थियो
गन्तब्य नि एउटै थियो
तर, तिमी तिमीसँग दौडिन पायौ
मैले हामी लिएर हिँड्नु थियो
तिम्रा दुवै खुट्टाले दौडन्थे
मैले चार हात खुट्टा टेक्नु थियो ।

दृश्य एउटै थियो
ह्रेर्दा उस्तै उस्तै देखिन्थ्यो
तिमीलाई हेर्न उक्साईथ्यो
मलाई हेर्लास् भनेर डराइन्थ्यो ।

तलाउ एउटै थियो
पौडनु नि सँगै थियो
तिमीलाई तैरिन सिकाइन्थ्यो
मलाई डुब्न लगाइन्थ्यो ।

ग़ाउँ एउटै थियो
टोल नि नजिक नजिक
घर-परिवार नि उस्तै उस्तै
तिमीलाई तिम्रो घर बनाउनँ लगाइन्थ्यो
मलाई अरुको घर सजाउनँ सिकाइंथ्यो ।

वजन उति नै हुन्थ्यो
बोक्नु नि उति नै बेर थियो
तिमीले गरुङ्गो भो भन्न मिल्ने
मैले मलाई थापिदेऊ भन्नु पर्ने थियो ।

रहर एउटै थियो
शहर एउटै थियो
अनि रम्नु पनि सँगै थियो
तर, तिमी रमाउनु स्वाभाविकता हुन्थ्यो
मैले रमाउनुचहिँ उछृंखल्ता थियो ।

बन्धन एउटै थियो
धागो नि उही रंगको
बाँधेको पनि एउटै समय
तिम्रोचाहिँ इच्छाको लागि रे
मेरीचाहिँ भिक्षाको लागि थियो ।

समस्या एउटै हुन्थ्यो
समाधान मिलेर खोज्नु पर्ने
तिमीले नसक्दानि भन्न नमिल्ने रे
मैले सके पनि चुपचाप हुनुपर्ने अरे ।

आवाज उस्तै उस्तै थियो
गुन्जन उस्तै प्रकारको
तिम्रो आवाजचाहिँ गर्जन थियो
अनि मेरो आवाज गन्थन हुन्थ्यो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button