आफ्नै कथनविपरीत केही शब्द

‘मेरी आमा एक दृढ प्रतिज्ञ नारी’बारे मेरा शब्दहरु

डाक्टर अर्जुनदेव भट्टले ‘मेरी आमा एक दृढ प्रतिज्ञ नारी’ नामक कृतिको भूमिका लेखिदिन आग्रह गर्दै भन्नुभयो- ‘कता हो कुन्नि तपाईँले म भूमिका लेख्दिनँ भनेको पढेझैँ लाग्छ । तैपनि तपाईँलाई नै आग्रह गर्न मन लाग्यो ।’ सत्य हो, मैले भूमिकाको अनावश्यकताको चर्चा गर्दै अनेक पटक भनेको छु- ‘पुस्तकको भूमिका गोरुको जुरोजस्तै हो । गोरु जुरो भए पनि गोरु हो, नभए पनि गोरु नै हो । पुस्तकको आरम्भमा भूमिका राख्नुको अर्थ पुस्तक पढ्नुअघि नै पाठकलाई पुस्तकबारे आग्रहको भारी बोकाउनु हो । मलाई लाग्छ, यो व्यर्थको भारीले पाठकलाई खुलाआँखा र खुलामनले पुस्तक पढ्न दिँदैन । पाठकले प्रायः पुस्तक पढ्दैन, केवलभूमिकाले थोपरेको आग्रह पढ्छ ।’

डाक्टर भट्ट स्वयंको कथनलाई कारण बनाएर म यो लेखनकर्मबाट सजिलै पन्छिन सक्थेँ । तर सकिनँ । कहिलेकाहीँ व्यक्ति विशेषको विनयशील आग्रहलाई ‘नाइँ’भनेर नकार्न साह्रै गाह्रो हुन्छ । जो नजरशर्मी छ, उसका लागि झनै गाह्रो । यो ‘गाह्रो’को नेपथ्यमा व्यक्तिप्रतिको आदरभाव वा कृतज्ञता वा यस्तै अरु केही भावको आन्तरिक दबाब हुनसक्छ । जे होस्, प्रत्येक मूलनियमको अपवाद हुन्छ भन्ने सूत्रवचनको स्मरण गर्दै म अहिले आफ्नै कथनविपरीत केही शब्द लेख्न बसेको छु ।

म यो जे लेख्दैछु, यो भूमिका होइन । यो केवल डाक्टर भट्टकृत यो मातृगाथाको सानो पाठक प्रतिक्रिया हो ।

हजरु बा र हजुरआमा गोपालदेव र जगतकुमारी भट्ट । आमा र बाबु हीरादेवी र जयदेव भट्ट । दिदीबहिनी एक एकजना, दाजु दुई जना, भाइ दुई जना । पाँचभाइमध्ये डाक्टर भट्ट साइँला, जन्मथलो पाल्पा । बाबु जयदेवको जागिरको पछि लागेर परिवार कहिले कता, कहिले कता । पौरखीबाबुको जागिर टहलुवाबाट शरुु भई सर्वोच्च अदालतको न्यायाधीशमापुगेर टुङ्गियो । मूलतः बाबुको यही जागिरको आर्जन, पहिचान, प्रतिष्ठा, पहँचु र दाजु आनन्ददेव भट्टको प्रभावले होला सायद उनका सबै छोरालाई उच्चशिक्षाको भ-याङ चढ्ने अवसर प्राप्तभयो ।
अतिव्यस्त डाक्टर भट्टको यो संस्मरण व्यस्तताबीचको अस्तव्यस्त लेखनी होला भनी मैले लख काटेको थिएँ । तर जब यो पढेँ, म अभिभूत भएँ । यो त सूक्ष्म संवेदना र तीक्ष्ण अनुभूतिको कलात्मक कलेवरमा बडो आवेगमय अभिव्यञ्जना रहेछ । सोचेँ- यो परिमार्जित लेखनीमा साहित्यको पठन तथा स्वनामधन्य लेखक ठुल्दाजु आनन्ददेव भट्ट र निकट सम्पर्कका अन्यसिर्जनशील जनहरूबाट पा्र प्त प्रेरणा र संस्कारको छाप अवश्य होला । र, डाक्टर भट्टको समानता र न्यायप्रतिको मुखर झुकावमा सात साले क्रान्तिको हलचल, बाल्यकालमा सुदूर पश्चिम भेगमा अनुभूत गरेका न्यायपथिक विद्रोही भीमदत्त पन्तका पदचापको छाप र सोभियत समाजवादको प्रभावको अवश्य केही न केही भूमिका होला ।

डाक्टर भट्टमा सामाजिक समानताएवं न्यायको चेतनाप्रबल छ । शोषण र दोहान, दमन र उत्पीडन, चोरी र ठगी, दुराचार र भ्रष्टाचार एवं झुट र ढोङ डाक्टर भट्टका कट्टर शत्रु हुन् । आफ्नो पेशाको वृत्तभित्रहोस् वाबाहिर, वास्तवमा डाक्टर भट्टकावचन र कर्महरू जीवनका यिनै दुष्प्रवृतिहरूविरुद्ध समर्पित छन् । आफुसमेत चार जनाको सानो लर्को लिएर सोभियत संघबाट फर्किँदा दिल्लीमा ट्रान्जिट परेको थियो । जगत् जान्दछ- दिल्ली ट्रान्जिट आफ्नो सदाबहादर बद्नामीद्वारा परिचित छ । दिल्ली टान्जिटको यो कुख्यात परिचय डाक्टर भट्टको हकमा पनि सर्लक्कै प्रकट भयो । सुटकेसमा डाक्टर भट्टको चार सय पन्नाको जनरल सर्जरी विषयक बडो उपयोगी पाण्डुलिपि थियो । त्यो डाक्टर भट्टको दुःखले आर्जन गरेको ज्ञान र कडा मिहिनेतको प्रतिफल थियो । दिल्ली ट्रान्जिटमा त्यो अमूल्य चीज चोरियो । उसो त नयाँ सानदार सूट पनि चोरियो । यसरी अहिंसाका उपासक महात्मा गान्धीको देशमा डाक्टर भट्टको भावनामा चोरीजन्य हिंसा थोपरियो । यो थाहा पाउन गान्धी बाबा जीवित थिएनन्, उजुर गर्न डाक्टर भट्टका लागि कुनै भरपर्दो न्यायदायी निकाय थिएन । विश्वको ‘विशालतम् लोकतन्त्र’को ट्रान्जिटमा भएको यो चोरीप्रतिको तिक्तएवं क्षुब्धप्रतिक्रियामा दुराचार र भ्रष्टताप्रति त डाक्टर भट्टको कठोर भाव सहजै बुझ्न सकिन्छ ।

कशुल सर्जन भएर स्वदेश फर्केपछि डाक्टर भट्टलाई जलेश्वर अस्पतालमा जागिर मिल्यो । यो मातृगाथामा यो जागिरकालमा डाक्टर भट्टले जलेश्वरमा देखे– भोगेको कतिपय सहकर्मी डाक्टरको मति र कर्मको वृत्तान्तचित्तमा दिगमिग पैदा गर्ने खालको छ । तिनका उक्त मति र कर्मले जनमानसमा अनेक भ्रमको सिर्जना गरिदियो । जसले बढी औषधि लेखिदियो, उही बढी जान्ने डाक्टर ! जसले सुई लगाइदियो, उहीनामी डाक्टर ! हुँदाहुँदा कहाँसम्मको नाटकीय ढोङ देखियो भने दुखेका घुँडा जचाउन बिरामी आए डाक्टर घुँडामै स्टेथेस्कोप लगाएर सुनेको छलकारी अभिनय गर्ने । ठुलाबडा, प्रभुत्वशाली र पहुँचवालहरू आफ्नो निहित स्वार्थको लागि डाक्टरी प्रमाणपत्र लेखिदिन बाध्य तुल्याउने । स्वास्थ्यसेवा क्षेत्रको यो बेथिति र डाक्टरहरूको पेशागत संहिताविपरीत यो आचरण वास्तवमा जलेश्वरको अपवादजन्य दृष्टान्त होइन । यो सामान्यतः देशभरकै बेथिति र डाक्टरी दुराचरणको प्रतिनिधिमूलक दृष्टान्त हो । यो बेथिति र दुराचरण जब डाक्टर भट्टका आँखामा पर्छ, उहाँ त्यसैत्यसै मुर्मुरिनु हुन्छ ।

बाबु र आमासँगधित मर्ने गरी बात मार्न नपाएको धोकोले डाक्टर भट्टलाई सधै पछ्याइरहन्छ । बाबु घरमा समेत पनि अड्डाकै काममा लीन हुन्छन् । बेलुका खाना खायो कि कागज–कलमलिएर लेख्न बसिहाल्छन् । एक त डाक्टर भट्ट आफै पलपल व्यस्त, अस्पतालबाट घर फर्केपछि आमासँग यसो एकाध बात मारुँ भन्यो, आमा सधैँ आफ्नै सुरमा व्यस्त ।

जब आमा घुँडा दुख्ने रोग र मूत्ररोगले ओछ्यानको कैदी बनेर ‘आफ्नै प्राङ्गण परेदश’ सरह भयो, अब भने डाक्टर भट्टलाई आमालाई भेट्ने र बात मार्ने पर्याप्त मेसो मिल्यो । आमा बिरामी, छोरो ‘दाङदर’ । बिरामी र दाङदरको यो नाताले पनि बात मार्नका लागि आवश्यकता र अनुकूलता दुबै भयो । डाक्टर भट्टका शब्दमा ‘बिरामीआमा सुत्ने कोठा हलजस्तो’ बन्यो, जहाँ सारा परिवारजनको कुँडुलो लाग्नथाल्यो ।

डाक्टर भट्टका बाबु जयदेवको एकदमै कारुणिक र क्रोधबद्र्धक निधन भएको थियो । सामान्य बिमार लागेर ठमठम हिँड्दै गएका बाबु जयदेवलाई वीर अस्पतालमा आज भर्ना गरियो, केही घण्टा पछिनै उनको निधन भयो । नशामा कुनै तर उनका निम्ति सायद विषाक्त सुई दिँदा हठात् हृदयाघात भयो र अनाहकमा र असमयमा बाबुको ज्यान गयो । दिवंगत जयदेवका एकाघरका प्रियजनहरूका कोमल चित्तमा लागेको त्यो मर्मान्तक चोट अकथनीय थियो । पति जयदेवको कू्रतम् अवसानले पत्नी हीरादेवीको मनमा अस्पताल र आधुनिकउपचार प्रति नै भयङ्कर भय र तीव्र वितृष्णाको भावना जगाइदियो । आमा हीरादेवी डाक्टर भट्टलाई उनको बाबुको निधनको चर्चा गर्दा ‘तेरो इच्छा के छ भनेर नसोधी आधुनिक विज्ञानले मेरो सिउँधो सिङ्गार्ने पतिलाई मृत्युदण्ड दण्ड दियो’ भनी सन्तापमय आक्रोश प्रकट गर्नुभएको छ । मेरो विचारमा यो दारुण घटनामा दोष आधुनिक विज्ञानको किमार्थ होइन । आधुनिक विज्ञान त सदैव निर्दोष र निष्पाप हुन्छ । दोष त वास्तवमा आधुनिक विज्ञानको दुरुपयोग गर्ने अल्पज्ञानी दृष्टि र अकुशलहातको पो हो ।

२०५५–५७ सालताका घरमा आमा हीरादेवी मूत्ररोगले छट्पटाइरहेकी छन्, उनकाप्रिय छोरा ‘दाङदर’ भट्ट मूत्ररोगका वरिष्ठ विशेषज्ञ हुनुहुन्छ । तर जति सम्झाइ–बुझाइ गरे पनि, जति कर गरे पनि, आमाउपचार गर्न मरिगए मान्दिनन् । डाक्टरी उपचारले गरेको पतिको ‘हत्या’को प्रेतले आमालाई पलपल गाँजिरहन्छ, अत्याइरहन्छ । आमाको दारुण दशा टुलुटुलु हेर्दै डाक्टर भट्ट मनमनै ‘धिक्कार छ मेरो डाक्टरी डिग्रीलाई’ भन्नुहुन्छ ।

मूत्ररोगको दशा निकै नै दयनीय भएपछि आखिरमा आमा क्याथेटर उर्फ पाइप राख्न मन्जुर हुन्छिन् । छोराका कुशल हातले पाइप राखेपछि आमालाई हाइसन्चो हुन्छ । मूत्रथैलीमा मूत्र गानिएर, तपतपी चुहेर, लुगा भिजेर, गनाएर हुने हैरानी अब दूर हुन्छ । आमाको ज्यानमा आफ्नो कौशल प्रयोग गर्न पाएकोमा छोरालाई गहिरो सन्तोषको अनुभूति हुन्छ । ‘दाङदर’ छोराले आफ्नो अथाह कष्ट दूर गरिदिएकोमा आमालाई गर्वको अनुभूति हुन्छ । अलि दिनपछि आमा ह्वीलचेयरमा बसेर यताउता घुमाइन पनि मन्जुर हुन्छिन् । ‘प्राङ्गण नै परदेश’ सरह भएको आमाको कैदीजीवनको साँघुरो वृत्त विस्तारित हुन्छ । र, आमा एवं उनका सबै सन्ततिलाई बिछट्टको सुखानुभूति हुन्छ ।

जब आमाको मृत्युको घडी नजिक-नजिक आउँछ, आफ्ना ज्ञानचक्षुले त्यो प्रत्यक्षदेख्ने कोमल–हृदयी ‘दाङदर’ छोराको बेचैनीपलपल बढ्दै जान्छ । आमाको जब मृत्यु हुन्छ, छोराको रोदनले आकाशै तरङ्गित हुन्छ ।

बस, यही हो यो मातृगाथाको मोटामोटी अन्तरकथा । यो एक कर्तव्यपरायण छोराको जन्मदातृ आमाप्रतिको कृतज्ञताको सुन्दर कथा हो ।

अन्त्यमा, डाक्टर अर्जुनदेव भट्ट एक अर्थमा मेरा लागि पुनर्जीवनदायी आमा सरह हुनुहुन्छ । म आजसम्म सिर्जनात्मक क्रियाशीलतासाथ जीवित रहनुमा डाक्टर भट्टद्वारा प्रदत्त पुनर्जीवनको हात छ । गैरभूमिकाको बान्कीमा कोरिएका मेरा यी कोरा हरफहरू डाक्टर भट्टबाट प्राप्त पुनर्जीवनप्रति हार्दिक कृतज्ञताका मेरा अभिव्यक्ति हुन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button