हत्कडी

आर्डी भट्ट
बानेश्वर, काठमाडौं ।

आजभोलिका मान्छे
जेलभित्र हत्कडी लाउदैनन्
त्यहाँ बिना हत्कडी बस्छन् ।

हामी बाहिर बस्नेहरू
किसिम किसिमका
महँगा महँगा
रंगीचंगी
बिजुलीको भोजन गर्ने
आयातीत हतकडीहरू
आफैं किनेर आफैं लाइराखेका छौँ ।

हाम्रो हत्कडीले हात मात्र बाँध्दैन
यसले मुख थुन्छ
शरीर शान्त बनाउँछ
टाउको निहुराउँछ
घाँटी दुखाउँछ
जिउ अररो बनाउँछ
पेट अपच गर्छ
र, आँखा तिरमिर पार्छ ।

आजभोलिका हत्कडीहरू
बट्टामा प्याक भएर
पसलपसलमा बेच्न राखिएका हुन्छन्
जब यसले मान्छेका
दुबै हातहरू
चपक्क जकड्छ
यो शासन गर्न थाल्छ
सम्बन्धका तारहरू
क्षणभरमै उधार्न थाल्छ
शरीरको दूरी थोरै भए पनि
आधुनिक चारपाटे हत्कडीले
टाढाकोलाई नजिक
र, सँगै बसेकालाई बेवास्ता गर्दै गर्छ ।

आफ्नै शरीरमा बन्धक आजका आत्माहरू
हातमा बसी शासन गर्ने हत्कडीका दासी छौँ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button