कविताः वेवारिसे जिन्दगी
गोपीकृष्ण ढुंगाना
ऊ अर्थात्,
एउटा वेवारिसे जिन्दगी
सडकजस्तै लथालिंग…
बादलजस्तै बेहिसाबको यात्री…।
कहिले सडक यात्रीका पछिपछि
कहिले सडकमा गुड्नेका पछिपछि
केवल आशाको त्यान्द्रोमा अल्झिएर
मानौं, रानोमौरी भेट्टाएको छ उसले ।
भोलिको सुन्दर सपनामा
प्रत्येक रातहरू बिताउँछ ऊ
अनि प्रत्येक बिहान
अनि क्रमशः दिउँसो…
नउसिनिने ढुंगो पाक्ने आशमा झैं
दिनहरूलाई किनारा लगाउँदै जान्छ ।
प्रत्येक दिनको घामसँगै
भोकको रास डाँडामाथि अग्लिन्छ उसको,
सहरका तिनै फोहोरका थुप्रामाथि
उसले विजय प्राप्त गर्नैपर्छ, अन्ततः ।
तिनै थुप्राबाट पाएको
मैलो, थोत्रो अनि च्यातिएको
पातलो सर्ट र हाफपाइन्ट
पुस, माघको सशक्त प्रतिद्धन्द्धी बनेका छन् ।
अघाउँजी एक पेट,
आङ ढाक्ने भनौं वा
जाडो छल्ने न्याना कपडा ।
उसका यिनै ‘सुनौला सपना’
सडक किनाराभरि
छताछुल्ल छन् सधैंभरि
सडकजस्तै छरिएर, लम्बिएर
कहिल्यै नटुंगिने, कतै नपुग्ने
गन्तव्यहीन बनेका छन् ।
एउटा, अर्को अनि धेरै…
पैदल, साइकल, मोटरसाइकल अनि कारमा
पटकपटक, हजारौंपटक हिँडे
त्यही लम्पसार परेको
उसको वेवारिसे लासजस्तै जिन्दगीको छेउबाट ।
रोकिएनन् कुनै पाइला उसका लागि
प्रत्येकको आगमनसँगै
उ निल्छ थुक, ‘घुटुक्क’ ।
मनमनै भन्छ, ‘ममा त्यस्तो के स्वार्थ देख्छन् ?,
र रोकिन्छन् कोही ?
पाउनु के नै छ र ?,
खिचिन्छन् कोही ?
गुमाउनु कसलाई छ र ?,
मसामू अडिन्छन् कोही ?’
हो, उसँग सुन्दरीको षोडसी जोवन छैन
न त उसका रात नगरबधुका झैं छन्
किन हेर्छन् उसलाई ?
किन छुन्छन् उसलाई ?
किन आकर्षित हुन्छन् उसित ?
न छ पद वा पैसा नै
किन पछि लाग्छन् कोही ?
सत्ता, शक्ति र सुन्दरीको
पछि लाग्ने समाजमा ?
कोही किन चुन्छन् ?
वेवारिसे जिन्दगी… ?
(प्रिय साथी !
तपाईं पनि गोपीजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना र अनुभवहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको कलाक्याफेमा । nepalnamcha@gmail.com कलाक्याफेको इमेल । सम्पादक)