
नानीको कुरा सुनेर बहिनीले बर्रर आँसु झारी
लघुकथा: दक्षिणा
लता पौडेल
‘ममी हजुरको फोन’, नानी भित्रबाट दगुर्दै आई, म गोठमा थिएँ ।
‘कसको नानी ?’, मैले सोधें ।
‘सानीको’, उसले भनी ।
‘अहिले म गर्छु राखिदे,’ मैले भने ।
म गाई गोठको बिहानको धन्दा सकेर दुधको बाल्टी लिएर भित्र गएँ ।
‘खै नानी फोन ?’ मैले सोधें ।
‘भान्सको टेबुलमा छ, हेर्नु त’, नानीले भनी ।
मैंले बहिनीलाई फोन गरें, उसले एकै रिङमा उठाई ।
मैले सन्चो बिसन्चो सोध्न पाएकी थिईन, उसले भनी ‘फिदिम जाऔं है दिदी, ज्वाइँले जान मन गर्नु भएको छ, हजुरले पनि दशैंको टीका नलगाएको धेरै भयो ।’
हामीले दशैं नमनाएको तीन वर्ष भएको थियो । अघिल्लो वर्ष आमा बित्नुभयो । आमाको वर्ष दिन नहुँदै आधा घन्टाको बिरामले उहाँ बित्नुभयो ।
‘तिमी मलाई तुरुन्त आम्दा लिएर जाऊ, मलाई छाति दुखेजस्तो भयो, सासफेर्न गाह्रो छ’, उहाँले भन्नुभएको थियो । त्यो उहाँको अन्तिम बोली रहेछ । छिमेकी भाइ ट्याक्सी चलाउनुहुन्थ्यो । मैले उहाँलाई दाइलाई आम्दा अस्पताल लैजाउँ भने । हतारहतार गरेर पुर्यायौं । उहाँलाई हृदयघात भएको रहेछ, बचाउन सकिएन । “हाम्रो विवाह भएको दश वर्ष भएको थियो । हाम्री एक मात्र छोरी पुजा, सातवर्षकी भई । ससुरा पहिले नै बित्नु भएको । सासुससुराको एउटै मात्र सन्तान उहाँ ।
फोनमा बोल्न छोडेर म विगतमा डुबेछु ।
‘हेलो …’ उसले हेलो भन्दा मैले झस्किदै भने ‘कहिले जाने त ?’
‘एकादशीकै दिन जाऔं न’, उसले भनी ।
‘हुन्छ’, मैले भने ।
बहिनी, ज्वाइँ, छोरी (प्रकृति) र हामी आमाछोरी बिहान बिर्तामोडबाट फिदिम जाने ट्याक्सी चढ्यौं । साँझमा माइतघर (साम्दिन) पुग्यौं, बेलुकै बुबा आमाको हातको टीका लगायौं ।
भोलिपल्ट बिहानै हामी फिदिम मामाघर गयौं । मामा माईजूले हामी पाँचैजनालाई टीका लगाएर हातमा खाम राखिदिनुभयो ।
पुजा र प्रकृति बाहिर निस्किए । उनीहरुले आ.आफ्ना खाम खोलेर हेरेछन् ।
फेरि उनीहरु खुर्र भित्र आए र आ- आफ्ना आमाका खाम हेरे ।
प्रकृतिले खुशी हुँदै भनी, ‘आहा ! मामुलाई हजार, मलाई पाँच सय ।’
पुजाले रुन्चे मुख लगाएर भनी ‘सानीको र हजुरको मामामाइजू यौटै होइन मामु ?’
‘हो त, किन नानी ?’, बहिनीले सोधी ।
‘मामुको खाममा पाँच सय, अनि मेरोमा एक सय मात्र छ त ?’, उसले भनी ।
नानीको कुरा सुनेर बहिनीले बर्रर आँखाबाट आँसु झारी ।
मामा माइजूको मुख निलोकालो भयो ।