उसले कुनै पुरूषसँग गलत नियतले ‘च्याट’ गर्ने गरेकी थिईन

कथाः खतराको घण्टी

मीरा पुडासैनी

मेसेन्जरमा अलिक धेरै नोटिफिकेसनको ‘टुङ्-टुङ्’ बज्न थालेको छ आजकल देवकीको ।

‘हैन, खुबै म्यासेज आउन थाल्यो त आजकल, कसको हो ?’, रमणले अलिक ठट्टा गरे जसरी तर शङ्कालु भावले श्रीमतीलाई सोध्छ । शनिवारको दिन थियो । त्यसैले दुवै सँगै घरमै थिए ।

ऊ अक्मकिन्छे, ‘के भनुँ के भनुँ’ हुन्छ उसलाई । प्रोफाइल पिक्चरमा श्रीमान, श्रीमती र उसको हँसिलो पारिवारिक फोटो छ । कभर पिक्चरमा पनि पारिवारिक फोटो नै राखेकी छे । सामान्यतया उसले नामसहित सबै वास्तविक जानकारी नै राखेकी छे, आफ्नो प्रोफाइलमा । पुगनपुग ३ सयजना साथी भइसकेका छन् फेसबुकमा उसका पनि । कसैले रिक्वेस्ट पठाउँदा पनि ‘म्युचियल फ्रेन्डमा को को छन्’, श्रीमान तथा कुनै पारिवारिक सदस्य म्युचियल फ्रेन्ड भएको भए हेरेर मात्र स्वीकार्ने गरेकी छे देवकीले । आजकल अलि धेरै रिक्वेस्ट आउन थालेको छ उसलाई ।

अहिले त मोवाइल, फेसबुक, भाइवर, इन्स्टालगायत सामाजिक सन्जाल मानिसको जीवनको अभिन्न पाटो नै बनिसकेको छ । ऊ पनि यी कुराहरूबाट अछुतो कसरी रहन सक्थी र ?

दिनभरी त घरबाहिर अफिसकै काममा व्यस्त हुन्छे अनि साँझ बिहान घरको काम, भात भान्सा गरिसकेपछि मात्रै उसले बचेको समय मोवाइलमा यिनै सामाजिक सन्जालका पेजहरू नियाल्ने गरेकी छे ।

‘हेर्नु न चिन्नु न जान्नुका मान्छेले रिक्वेस्ट पठाउँछन् भन्या ! कस्तो नचिनेको मान्छेलाई पनि साथी बनाउन मनलाग्ने क्या ! मलाई त आफै कसैलाई रिक्वेस्ट पठाउन मनै लाग्दैन’, सहज हुँदै श्रीमानलाई उत्तर दिन्छे ।

यी श्रीमान-श्रीमतीको एकअर्कामा विश्वास र समझदारी छ । प्राय सबै कुराहरू एक अर्कालाई भन्ने गरेका छन्, विश्वस्त छन् एक अर्काको, काम, जिम्मेवारीप्रति दुवैजना । एकअर्कामा अनावश्यक शङ्का उपशङ्काको गुन्जायस नै छैन । विवाह भएको यतिका समय हुदाँसम्म पनि श्रीमान श्रीमतीबीच आजसम्म त्यस्तो कुनै ठुलो असमझदारी उत्पन्न भएको पनि छैन । त्यसो त धेरैजसो हाई हेल्लो, नमस्ते, शुभप्रभात ईत्यादि गर्ने फेसबुके साथीहरूलाई भ्याएसम्म जवाफ फर्काउने गरेकी छे उसले पनि ।

नियत त एक दुई पटक कुरा गर्दैमा कस्को पो थाह हुन्छ त सजिलै ? यस्तो भर्चुअल दुनियाँको जमानामा अनुहारै नदेखिने र भौतिक रूपमा चिनजानै नभएकाले कुन नियतले कस्तो कुरा गरेको छ भनेर कसले बुझ्न सक्छ त ? एकदम चिनेजाने जसरी नै उसँग दुई चार जनाले नियमितजसो कुरा गर्ने गरेका थिए । प्रोफाइल हेर्दा भलाद्मी लाग्ने, घर, परिवार र सामाजिक व्यक्तित्व नै पनि थिए कतिपय देवकीसगँ कुराकानी गरिरहनेहरू । सामान्य कुराकानी हुन्थ्यो, सन्चो विसन्चो, काम, र घरपरिवारकै विषयमा कुराहरू हुन्थे यदाकदा ।

सुरू सुरूमा सामान्य विषयमा कुराकानी हुदाँहुँदै एक दुई जना यस्तै भलाद्मी लाग्ने मानिसहरूले उसलाई चियाकफीको निम्ति भेट्ने प्रस्ताव राख्ने गरेका थिए । उसका सामाजिक सन्जालका पोस्टहरूबाट निक्कै प्रभावित भएको कुराहरू गर्ने गरेका थिए । मेसेन्जरमा मेसेज गर्दा शनिवार र विदाका दिनमा ‘भेटौं न, चिया, खाजाको निम्ति’ भनेर दई चार जनाले भनिरहन्थे । उसँग ‘मेसेन्जर कल गरौं न’ पनि भन्थे । उसले अडियो कलसम्म उठाउँथी । उसले पनि भेटौंला नि कुनै दिन भनेर टारिरहेकी थिई । कता, कहाँ हुनुहुन्छ, उसैलाई पायक पर्ने ठाउँमै भटौं न भनेर पनि नभनेका हैनन् कतिले, तर उसले ती सबैलाई ईग्नोर गर्दै आईरहेकी थिई ।

शुरू शुरूमा त ‘सामान्य कुराकानी गरेर के होला त, किन भाउ खोज्नु’ झै लागेर कुराकानी गर्ने गरेकी थिई देवकीले । तर, ‘भेट गरौं, भिडियो कल गरौं न’ भन्ने जस्ता कुरा गर्न थालेपछि चाहिँ उसले ती व्यक्तिहरुसगँको कुराकानीमा कमी गर्न थालेकी थिई । उसलाई प्रत्यक्ष नचिनेका पुरूषहरूको त्यस्तो प्रस्ताव उचित लागेको थिएन । त्यो दिन पनि युगिन भन्ने व्यक्ति, जसले उसलाई पटक पटक भेट्न खोजेको थियो, उसैको म्यासेज आइरहेको थियो । संचार जगतमा राम्रो उपस्थिति बनाएको युगिन दुई सन्तानको बावु भएको कुरा उसको प्रोफाईलबाट सजिलै थाह पाएकी थिई देवकीले । उसो त देवकी पनि दुई सन्तानकी आमा थिई, जुन कुराकानीकै क्रममा उसले नभनेकी पनि हैन नि । तर, युगिनको कुराकानीको भावमा देवकीले आफुलाई असहज पाउन थालेकी भएर आजकल उसले युगिनसगँको कुराकानीलाई क्रमश कम गर्दै लगेकी थिई ।

उसलाई किन किन हिनतावोध हुँदै थियो । प्रत्यक्ष चिन्दै नचिनेको मानिसले पटकपटक एउटी करिवकरिव प्रौण उमेरको लयमा हिँडिरहेकी कसैकी श्रीमती अझ दुई सन्तानकी आमासँग कस्तो सम्वन्धको नाममा बारम्बार भेट्न चाहिरहेको छ त ? यो कुरा उसलाई पटक्कै चित्त बुझेको छैन । यो सँगै अब उसले अरू एक दुई जनासगँको फेसबुके कुराकानी पनि कम गर्दै जान थालेकी छे ।

युगिनले त दिनदिनै धेरै पटक उसलाई मेसेज गर्न थालेको थियो । देवकीले गरेका पोष्टमा पहिलो कमेन्ट पनि उसैको नै हुने गर्थ्यो । उसले हाल्ने गरेको फोटोहरूमा पनि तत्काल लभ रियाक्ट गर्दै कमेन्ट हाल्ने गरेकाले आजकल उसले आफ्नो फोटो हाल्नै छाडेकि थिई । देवकीका श्रीमान श्रीमती बीच यति धेरै माया र विश्वास थियो कि एक अर्काको मोवाइलको पासवर्डदेखि सम्पुर्ण कुराहरूका बारेमा जानकार रहन्थे । यति हुँदाहुँदै पनि उनीहरूले कहिल्यै एकअर्काको मोवाइल हेर्ने, मेसेज पढ्ने र एक अर्काको गोपनियताका बारेमा हस्तक्षेप गर्ने गरेका थिएनन् । यहि कुराले गर्दा देवकी मानसिक तनावमा पर्दै गईरहेकी थिई ।

हुन त उसको नियत खराब थिएन, उसले कुनै पुरूषसँग फेसबुक च्याट गर्दा गलत नियतले गर्ने गरेकी थिईन । सामान्य कुराकानी, नमस्कार, हाई हेल्लोबाट शुरू भई चिया सँगै पिऊँ न भन्ने प्रस्तावसम्मको स्थितिलाई देवकी जस्ती शिक्षित महिलाले नराम्रो र गलत नै मान्नु पर्छ भन्ने थिएन । कुनै दिन भेटेरै चिया पिउँला नि त भन्ने सोचेकी पनि हो । तर, युगिनको नियत चिया सँगै पिउनुभन्दा माथि नै गइरहेको महसुस हुँदै थियो देवकीलाई । त्यसैले उसले ऊसँगको कुराकानी निकै कम गरिसकेकी थिई । उसलाई आफूले के के न अपराध गरे झैं भइरहेको थियो । उसको श्रीमानको आफुप्रतिको विश्वास देखेरै आफुले ठुलै अपराध नै गरेकी भन्ने भान परेको थियो । यति सामान्य कुरा पनि उसले श्रीमानलाई भन्न सकिन । आम मानिसको बुझाइमा महिलाले अझै विवाहित महिलाले त अरू पुरूषसँग बोल्नु तथा मित्रता बनाउने छुट समाजले नपचाउने भएरै हो कि उसलाई पनि त्यस्तै लाग्न थालेको थियो अनि अपराधबोधले भित्रभित्रै जल्न थालेकी थिई । अब उसले युगिन तथा अरू एक दुईजना जोसगँ मेसेन्जरमा कुराकानी गरिरहेकी थिई, तिनीहरू सबैलाई व्लक गर्दिने निर्णय गरिसकेकी थिई ।

अब देवकीको मेसेन्जरमा धेरै नोटिफिकेसन बज्न छाडेको छ र बजे पनि वास्ता गर्दिन त्यति । र, ती नोटिफिकेसनहरूले उसलाई तनाव दिन छाडेको छ । कतिपय पुरूषहरूले महिलाको सोझोपनको फाइदा उठाएर घरपरिवार नै तहसनहस भएका कतिपय घटनाहरू हाम्रा समाजमा बग्रेल्ती पाइन्छन् । त्योबाट बच्ने उपाय बेलैमा नपहिल्याउँदा छँदाखाँदाको परिवार ध्वस्त भएका छन् । यहाँ देवकीजस्ता कैयौं महिला र कयौं पुरूष पनि सामाजिक सन्जालको गलत प्रयोगमा परेर फसेका उदहारणहरू देख्न, सुन्न र पढ्न पाईन्छ ।

कतिले बुद्धिविवेक लगाएर समस्याको समाधान गर्न सक्छन् भने कत्तिले नसकेर अनावश्यक तनाव व्यहोर्न बाध्य भई आफ्नो जीवन नै बर्वाद पारेका पनि छन् । आजकल त सामाजिक सन्जालमै पनि हेर्न नसकिने गरी छताछुल्ल पोखिईन थालेका छन्, यस्ता सामाजिक विकृत घटनाहरू । यो हुनु पक्कै पनि राम्रो हैन । खतरा बाजा बजाएर आउँदैन ।

खतराको घण्टी बज्नुभन्दा पहिल्यै सजग हुन जरूरी छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button