कोठा सुनसान देखेर सीतालाई सोधें, उनीहरु अघि नै गइसकेका रहेछन्

लघुकथा: प्रारब्ध

लता पौड्याल

‘हार्दिक बधाई हजुर, दाम्पत्य जीवनको शुभकामना’, कानमा यही गुञ्जिरह्यो ।

हाम्रो प्रेम विवाह भएको अठाइस वर्ष भयो । उनी निजामती सेवामा । मेरो बैंकको जागिर । विवाहपछि आठ वर्ष हामी सँगै बस्यौं । हाम्रा जुम्ल्याहा सन्तान जन्मिए, दीपा र दीपक । उनीहरु अहिले काठमान्डौ विश्वद्यिालयमा विज्ञान विषयमा स्नातकोत्तर तहमा अध्ययन गर्दैछन् ।

इलामबाट राष्ट्र बैंक उठ्ने भएपछि मेरो बिराटनगर सरुवा भयो । उनले काठमान्डौ सरुवा गरिन् । म बिराटनगर बस्दाबस्दै रङ्गेलीमा दुई कठ्ठा जमिन किनेर घर बनायौं । म सेवानिवृत भएपछि बुढानिलकन्ठमा बाह्रानी जग्गा किनेर घर बनायौं । म बिराटनगरबाटै सेवानिवृत भएको थिएँ ।

विवाहपछि उनीसँगको सहवासले म बानी परिसकेको रहेछु । मैले बिराटनगरमा बस्दा समझदारीमा महिलाहरुसँग सम्बन्ध राखें । पछि उनले यो कुरा थाहा पाइन्, त्यसपछि हामी बिचमा यौनका विषयमा खास राम्रो सम्बन्ध हुनसकेन । एकपटक मेरो विषयले ठुलै समस्या आयो । उनले नै मसँग जोडिएकी महिलालाई अदालत जान नदिई पुलिस अफिसमै मिलाइन् । घटना छोराछोरीले पनि थाहा पाए ।

जति ठक्कर खाए पनि मैले आफूलाई नियन्त्रण गर्न सकिन, पानीको प्यासझैँ यौनको प्यास ममा रहिरह्यो ।

पाँच वर्ष अघि सीता बहिनीका श्रीमान् दक्षिण कोरियामा खसे । उनीहरु रामेछापका नेपाली रहेछन् । होटल मेनेजमेन्टमा स्नातक तहमा पढ्दै गरेको सीताको एक मात्र छोरो अहिले दुवैमा इन्ट्रनसपिका लागि गएको थियो । सीतासँग छिमेकीको नाताले मेरो आउनेजाने क्रम थियो । चारवर्ष जति भयो उनीसँग मेरो लुकीछिपि सम्बन्ध रहेको ।

यसपटक उनको आन्तरिकबाट उपसचिवमा बढुवा भयो, बढुवासँगै विरगञ्ज महानगरपालीकामा पदस्थापन भयो ।

मैले यसपालिको जाडो छल्न दुई तीन महिना बिराटनगर बस्ने उनीसँग सल्लाह गरें । उनले मन्जुर गरिन् । सीता र म दुई दिनको अघिपछि गरेर काठमान्डौबाट बिराटनगर आयौं । हामी बसेको डेढ महिना भइसकेको थियो, छिमेकीले थाहा पाएर उनलाई फोन गरिदिएका रहेछन् ।

बिहान एघार बजेतिर गेटको बेल निरन्तर बज्यो, कौशीबाट चिहाएँ कोही देखिन । म गेट खोल्न तल झरेँ । गेट खुल्दा नखुल्दा छोराछोरी र उनलाई देखेँ । सीता माथि नै थिइन्, म छाँगाबाट खसे झैं भएँ । उनीहरु सरासरी माथि उक्लिए । म आफ्नो कोठामा पसेछु केही थाहा पाइन । पछि नानीहरुलाई लिएर उनी कोठामा पसिन् ।

‘हजुरको गल्ती ढाकछोप गरेको यो परिणाम भोग्नुपर्यो, आफू त गनाउनु भयो भयो,  हामीलाई समेत समाजमा मुख देखाउन नसक्ने बनाउनु भयो’ यस्तै के के भनिरहेकी थिईन् उनी । उनको कुराले मलाई अत्यन्तै लज्जाबोध भयो’ म केही बोल्न सकिन ।

निधार चिसो भयो, ‘उनीहरुले हामीलाई टीका लगाइदिएका रहेछन् ।’

‘बधाई छ हजुर, दाम्पत्य जीवनको शुभकामना,’ कानमा यति मात्र गुञ्जिरह्यो ।

कोठा सुनसान देखेर सीतालाई सोधें, उनीहरु अघि नै गइसकेका रहेछन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button