
सुखको पलमा वाहवाह, दुखको पलमा छ्याछ्या
हरिप्रसाद गौतम, भिमेश्वर नगरपालिका, चरिकोट, दोलखा ।
कभरमोडलः क्षितिजा श्रेष्ठ
जिन्दगीको परिभाषा कसरी गर्छौ
जसरी बाँचेका छौ, त्यसरी गर्छौ
सुखको पलमा वाह वाह जिन्दगी
दुखको पलमा छ्या छ्या जिन्दगी ।
बाँच्ने रहरमा बाँकी के राख्छौ
हिड्ने हतारमा न कहिले थाक्छौ
समयसँगै चाल्न नजान्दा पाइला
बितिसकेपछि किन गर्नु रोइला ?
बाँचुन्जेलसम्म जिन्दगीको कथा
हाँसो र आशु मिस्रित हुन्छ ब्यथा
जान्दा नजान्दा सकिन्छ एकदिन
रोकिदैन कदापि भनेर एकछिन ।
थाह छैन कहाँ लगेर पछार्छ
कहिले कोपार्छ। कहिले चिथार्छ
हाड मासु छालाले जेलिएको हुन्छ
दुःखमा कसैको भित्री मन छुन्छ ।
हातमा कोरिएका रेखा हेरी हेरी
बाँचेको हुन्छौ सुख दुःख फेरि
जन्मेदेखि मरुन्जेलको कथा
नाटकरुपी मन्चन अथाह ।
परिभाषित गर्न कसरी सकिन्छ
त्यसरी बाँच जसरी सकिन्छ
नगुथाइ पगरी र घमण्डको माला
परिभाषा गर्दै जीवन बितिजाला ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)