किन जोड्नु सुन ? महँगो भयो गरिबलाई त छाक टार्ने नुन

मुक्तक

लता पौडेल

कालो धन्दाले बजारमा सुन महँगो भयो
बिरामीको अनुहार हेरी खुन महँगो भयो
किन जोड्नु सुन यहाँ केलाई लाउनु खुन ?
गरिबलाई त छाक टार्ने नुन महँगो भयो ।

हान्न बाँकी रहेको हातको तासको महत्व हुन्छ
जे कोहीलाई आ-आफ्नौ बासको महत्व हुन्छ
जीवनमा अरुका खुट्टा तानेर थाक्दैन मान्छे
मर्ने बेला मात्र एकैमुठी सासको महत्व हुन्छ ।

आकाशको जून अनि तारा हरायो
हेर्दाहेर्दै सुन्दरताको त्यो रारा हरायो
कोरोना महामारीको अदृश्य युद्धमा
एकाएक धेरैको बाँच्ने सहारा हरायो ।

ऐँचोपैँचो धेरै चल्थ्यो बाका पालामा
मकै आलु साटिन्थ्यो थुन्से डालामा
हेर्दा हेर्दै कस्तो आयो फेरियो जमाना
रुपयाँ पैसाको मूल्य छैन सालाखालामा ।

हुनेलाई होइन नहुनेलाई काम देऊ सरकार
बिहान बेलुकी खान पुग्ने दाम देऊ सरकार
यो देश बाँचे हामी बाँच्छौं हामी बाँचे देश
गरिबलाई पहिचान खुल्ने नाम देऊ सरकार ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button